Comments Add Comment

भारतमा लकडाउनले ४ करोड बालबालिका संकटमा

Photo Credit : GETTY IMAGES

३० चैत, काठमाडौं । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि भन्दै २१ दिन लकडाउन गर्ने निर्णय गर्‍यो । सरकारको यो निर्णयको कारण अहिले भारतमा धेरै किसिमको समस्या देखिएका छन् ।

अहिले हजारौं मानिसले हेल्पलाइनमा फोन गरेर सहयोग माग्ने गरेका छन् भने त्यतिकै संख्यामा मानिसलाई सधैं खानेकुराको चिन्ता हुने गरेको छ ।

यसैबीच भारतमा रहेको बालिबालिकाको विषयमा मानिसहरुले चासो व्यक्त गर्न चालेका छन् । भारत विश्वमा सबैभन्दा धेरै बालबालिका भएको मुलुक हो । भारतमा ४७ करोड २० लाख बालबालिका छन् । जसमध्ये करिब ४ करोड बालबालिका गरिब परिवारमा छन् ।

गरिबी परिवारका बालबालिकाहरु फार्म वा ग्रामीण क्षेत्रमा खेतीपातीको काम गर्ने गर्छन् । साथै, कबाडी सामग्री उठाउने वा बेलुन, पेन, सजाउने सामग्रीहरु बेच्ने बालबालिका पनि धेरै छन् ।

भारतको दिल्लीस्थित बाल श्रम तथा सडक बालबालिकाको विषयमा काम गर्ने संस्था चेतानाका निर्देशक सञ्जय गुप्ता भारतका सहरहरुमा लाखौंको संख्यामा सडक बालबालिकाहरु रहेको बताउँछन् । ‘लकडाउनमा सरकारले सबैलाई घरभित्र बस्न निर्देशन दिएको छ । तर सडक बालबालिकाहरु के गर्छन् ? उनीहरु कहाँ जान्छन् ?’ उनी प्रश्न गर्छन् ।

एक आँकलन अनुसार भारतको राजधानी सहर दिल्लीमा ७० हजारभन्दा धेरै सडक बालबालिका छन् । तर, वास्तविक संख्या भने यो भन्दा धेरै रहेको गुप्ता बताउँछन् । यी बालबालिकाहरु धेरैजसो आत्मनिर्भर हुन्छन् । उनीहरु आफू बाँच्नको लागि आफैं जोहो गर्छन् । तर, पहिलोपटक अहिले उनीहरुलाई सहयोगको खाँचो परेको उनको भनाइ छ ।

तर अहिलेको अवस्थामा उनीहरु सरकारको प्रणालीभन्दा बाहिरका मानिसहरु हुन् । त्यसैले उनीहरुलाई खोज्नु पनि अहिलेको अवस्थामा एक कठिन काम हो । यस्तो अवस्थामा कुनै पनि संस्थाले पनि उनीहरुलाई कफ्र्युको पासबिना उद्धार गर्न सक्दैन ।

त्यस्तो पास सरकारले दिँदा पनि दिँदैन किनकी चेतनाजस्ता संस्थालाई आवश्यक सेवा मानिँदैन । त्यसैले अहिले गुप्ताको संस्थाले नयाँ उपायको खोजी गरेर उनीहरुलाई सहयोगको काम गरिरहेको छ ।

सडक बालिकालिकाहरुमध्ये अधकांशसँग मोबाइल फोन हुने गरेको गुप्ता बताउँछन् । किनकी उनीहरु पनि एक समुहमा बस्छन् । त्यसैले चेतना संस्थाले उनीहरुलाई आवश्यक सुरक्षाको लागि टिकटक भिडियो वा म्यासेज पठाउन थालेको छ । उनीहरुले पनि संस्थालाई जवाफमा भिडियो म्यासेज पठाउने गरेका छन् । उक्त भिडियोमा उनीहरुले आफ्नो जीवनयापनको अनिश्चयको बारेमा बताउने गरेका छन् ।

यस्तै बालबालिकामध्ये सडकमा बस्ने एक बालकले भने, ‘कहिलेकाँही मानिसहरु आएर खाना बाँड्छन् । उनीहरु को हुन् भन्ने मलाई थाहा छैन तर उनीहरुले बाँडेको खाना निकै कम हुन्छ । हामीले २/३ दिनमा एकपटक मात्र खान पाउँछौं । उनले लकडाउनको कारण आफ्नो नियमित काम बन्द भएकाले सरकाले आफूलाई सहयोग गर्नुपर्ने बताए ।

दिल्ली कमिशन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सले दिल्लीमा सडक बालबालिका र कमजोर अवस्था भएका परिवारलाई खाना वितरण गरिरहेको छ ।

अन्य सहरमा पनि स्थानीय सरकार र विभिन्न संस्थाहरुले बालबालिका र घरबारविहीन मानिसलाई खाना वितरण गरिरहेका छन् । तर, समस्या भने बढ्दो क्रममा छ । गुप्ता पूर्ण लकडाउनको क्रममा सरकारले बालबालिकाहरुलाई एक दिनमा तीनपटक खानाको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

मुख्य सडकभन्दा पनि भित्री सडकमा बस्ने बालबालिकाहरु त्यति धेरै मानिसको नजरमा पर्दैनन् । यसरी भित्री सडकमा पनि हजारौं बालबालिका रहेको गुप्ताको भनाइ छ । सरकारले बालबालिकाको सहयोगको लागि २४ सै घण्टा उपलब्ध हुने फोन हेल्पलाइन राखेको छ ।

यसमा पनि मार्च २४ मा लकडाउन शुरु भएयता उल्लेख्य कल आइरहेको छ । लकडाउनको शुरुवाती सात दिनमा चाइल्डलाइन फाउण्डेशनको नम्बर १०९८ मा करिब तीन लाख कल आएको थियो । यसअघि औसतमा उक्त हेल्पलाइनमा एक सातामा दुई लाख कल आउँथ्यो ।

भारतको सात सय १८ मध्ये पाँच सय ६९ जिल्लामा यो हेल्पलाइनको सेवा छ । यसमा बालबालिका दुरुपयोग, हिंसा र हराएको सूचना दिन सकिन्छ । तर, अहिले भने यसमा आउने सयौं कलमा मानिसहरुले महामारीबारे जिज्ञासा राख्छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment