Comments Add Comment

हाम्रा व्यवसायी कति व्यवस्थापक, कति दलाल ?

दुई महिना जोखिम धान्न नसक्नेले नाफा कसरी कमाउलान् ?

व्यवस्थापक र दलाल शब्दमा के फरक होला ?

‘दलाल’ शब्दलाई पुरानो चमेली नामको फिल्ममा ‘केटी बेच्ने व्यक्ति’का रुपमा सोच्ने मानसिकता हटेर व्यवसायिक शब्दका रुपमा बुझ्न थालेदेखि नै मनमा उब्जेको प्रश्न हो यो । तर, कसैसँग आजसम्म सोध्ने आँट गरेको छैन ।

कहिलेकाहीँ गुगल सर्च पनि गरियो । दुईओटै शब्दलाई अँग्रेजी र नेपाली शब्दकोषमा छुट्टाछुट्टै हेरियो । तर, आजसम्म त्यसको वास्तविक फरक पत्ता लागेन । तर, आजको दिनमा आएर यी दुई शब्दका बारेमा भएको फरकबारे आत्मबोध भएको छ । तर, यो प्रसंगको पोको खोल्नुअघि एउटा रमाइलो अनुभवबाट सुरु गरौं ।

कथा आफ्नै गाउँको हो ।

मेरो घरभन्दा अलिक तल अर्को एउटा गाउँ छ । धेरै टाढा होइन, हिँडेर जाँदा ५/७ मिनेट मात्रै लाग्ने ठाउँ । धेरै टाढा नभए पनि त्यहाँ र मेरो घरमा फरक छ । त्यो गाउँमा सिधा पानी पुग्छ, मेरो घरमा कसै गरेपनि पानी आउँदैन । पल्लोपट्ट िखेतको फाँटमा उम्रेका पानीका मुहानहरू त्यो गाउँभन्दा माथि पर्छ, मेरो घरभन्दा तल । त्यसैले, मेरो बुबा र आमाको वर्षौंदेखिको दिनचर्या बिहान उठेर खानेपानी र बस्तुभाउलाई खुवाउने पानी ल्याउनु पनि हो । यो आजसम्म पनि कायमै छ ।

कहिलेकाहीँ घर गएँ भने म उठ्नुभन्दा अघि नै घरमा पानी आइसक्छ । तर, अब भने फाँटको मुहानको पानीलाई माथि ट्यांङ्कीमा तानेर घरघरमा वितरण गर्ने व्यवस्था हुँदैछ । त्यसो भयो भने मेरा बुबाआमाको वर्षौंदेखिको दैनिकी अन्त्य हुनेछ ।

त्यसो त, गाउँमा धान, मकै र कोदोको मिल गएपछि बिहान उठेर ढिकीजाँतो गर्ने प्रथा वर्षौं अघि नै अन्त्य भइसकेको छ । विकासक्रमले हाम्रो जनजीवनमा ल्याएको परिवर्तनलाई कहिलेकाहीँ मेरो बुबाआमाको दैनिकीमा आएको परिवर्तनसँग दाँजेर हेर्छु । त्यसरी हेर्दा एउटा छुट्टै आनन्द लाग्दो रहेछ ।

जसरी मेरो बुबाआमा मैले थाहा पाएदेखि नै बिहान पानी लिन जानुहुन्थ्यो । ठिक त्यसैगरी मेरो घरभन्दा तल्लो गाउँमा मैले थाहा पाएदेखि नै पाइपमा पानी आउँथ्यो । त्यसैले त्यो गाउँको दैनिकी मेरो बुबाआमाको भन्दा फरक थियो । मेरो बुबाआमा बिहान ४ बजे उठ्नुहुन्थ्यो । ती गाउँलेहरू ५, ६ बजे मात्रै उठ्थे । किनकि उनीहरूको घरमा पानी आउँथ्यो ।

तर, बिहान उठेपछि पनि उनीहरूमध्ये एउटाको काम हुन्थ्यो, पानी मिलाउने । गाउँबाट करिब १५ सय मिटरको दुरी पार गरेपछि मुहान पुगिन्छ । तर, त्योबीचमा करिब १५ वटा नै पाइपका गाँसहरू छन् । मेलापातमा हिँड्ने, गोठालो हिँड्नेले पानी खानेदेखि नुवाइधुवाइ गर्ने निहुँमा त्यो पाइप खोलिदिन्थे ।

त्यसमध्ये कतिले त काम सकिएपछि पाइप जोडिदिन्थे, कतिपय त्यतिकै हिँडिदिन्थे । त्यसैले त्यो गाउँमा पानी पुग्न गाह्रो नै हुन्थ्यो । एउटाले बिहानै गएर सबै गाँस जोडेर पानी ल्यायो, घर पुग्दानुपुग्दै अर्कोले फुकालिदिन्थ्यो । फेरि अर्को हैरानी । त्यही कारणले कतिपटक झगडा पनि परेको छ । कतिपटक म आफैँ झगडाको पात्र बनेको छु, कतिपटक झगडाको साक्षी । कहिले त मर्नेमार्नेको धम्की पनि खाइयो, त्यस्तै धम्की पनि दिइयो । तर, ती क्षणिक आवेग थिए वास्तविक रिस थिएनन् ।

यो हैरानी अन्त्य गर्ने दिमाग मेरो मानसपटलमा आजभन्दा १६ वर्ष अघि नै फुरेकोे हो, जबकि त्यो समयमा म ७/८ वर्षको मात्रै थिएँ ।

मेरो घरनजिकै एउटा ट्याङ्की थियो । म सानो हुँदा त्यो ट्याङ्कीमा परको मुहानबाट पानी आउँथ्यो । हामी त्यही ट्याङ्कीबाट धारामा आउने पानी लिएर जान्थ्यौँ । तर, त्यो ट्याङ्कीमा पानी आउने मुहानमै धारा भएका कारण पछि त्यहाँबाट पानी ल्याउन दिइएन ।

पानी भरिन छाडेपछि त्यो हाम्रो लुकामारी खेल्ने ठाउँ बनेको थियो । त्यहाँ लुक्न साह्रै सुरक्षित ठाउँ थियो । ट्याङ्कीको सानो प्वालबाट भित्र पसेपछि कुनामा पुग्न सकिन्थ्यो । त्यहाँ साह्रै अँध्यारो थियो । बाहिरबाट नदेख्ने भएकोले त्यो ट्याङ्कीमा लुकेपछि ‘इन्द्रको बाउ चन्द्रे’ नै ‘डुम’ भए पनि त्यसले हाथ्र्यो । कतिपयले नदेखेरै देखेको नाटक गर्थे । तर, उनीहरूको नाटकलाई हाम्रो मौनताले असफल पारिदिन्थ्यो । यदि कसैगरी ‘डुम’ पनि भित्र छिर्ने आँट गरिहाल्यो भने उसले देख्नुभन्दा अघि हामीले उसलाई छोइदिन्थ्यौँ । त्योबेला कसले जित्यो भन्नेमा ठूलै विवाद हुन्थ्यो । अनि सबै रिसाएर घर फर्किन्थ्यौं ।

यो ट्याङ्कीलाई देख्दा ‘दिनदिनै गाँस मिलाउन आउनुको सट्टा एउटा ट्याङ्की बनाए पनि हुने नि’ भन्ने मैले सोच्ने गर्थेँ । त्यसो गरिएको भए रातभर ट्याङ्कीमा पानी जम्मा गर्न सकिन्थ्यो । बेलुकीपख एकपटक पानी मिलायो, रातभर पानी जम्मा गर्यो । त्यो हुँदा खासै दुःख पनि हुँदैनथ्यो । तर, आज २० वर्षपछि पनि त्यहाँ अवस्था उस्तै छ । गाउँ रित्तिदै गर्दा गाँस फुकालेर प्यास मेटाउनेको संख्या कम भए होलान् । त्यसैले गाउँलेले दुःख पाउने क्रम घट्यो होला । तर, त्यो गाउँमा ट्याङ्की अझै बनेको छैन ।

बाल मस्तिष्कमा धेरै कुरा खेल्छन् । सोच्ने क्षमता, अनुभव र ज्ञान विकास हुँदै गर्दा ती सबै परिमार्जित हुँदै जान्छन् । तर, काठको मोटर बनाएर काठमाडौं घुम्न जाने सपना देख्ने मेरो बाल मस्तिष्कले सोचेको त्यही कुरा आजसम्म पनि अपरिवर्तनीय छ, कहिलेकाहीँ मनले आफैँलाई प्रश्न गर्छ त्यो गाउँमा अझै ट्याङ्की किन बनेको छैन ?

सुरुको प्रसंगतिर जाऔँ अब ।

कोरोना भाइरस -कोभिड-१९) को संक्रमण बढ्दै जाँदा देशमा लकडाउन घोषणा गरियो । लकडाउन नै घोषणा नगर्दासम्म पनि केही व्यवसाय बन्द भइसकेका थिए । यो सुरु भएपछि त सबै ठप्प नै भइहाल्यो । तर, जब लकडाउन सुरु भयो, सबै क्षेत्रका व्यवसायीहरू एकैस्वरमा भन्न थाले, ‘तलब खुवाउने पैसा पनि भएन ।’

सरकारले सबैलाई चैत महिनाको तलब अनिवार्य रुपमा भुक्तानी दिन भन्यो । तर, त्यसलाई व्यवसायीहरूले ठूलो समाजसेवाको रुपमा व्याख्या गर्न थाले । यस्तो लाग्थ्यो कि वर्षौंदेखि सेवा गर्ने कामदार र कर्मचारीहरूप्रति उनीहरूको कुनै जिम्मेवारी छैन । सरकारले भनेका कारण उनीहरूलाई ‘दान’ मात्रै गरिएको हो । त्यही पनि कतिपयले त चैत महिनाको तलब पनि दिएका छैनन् । तर, व्यवसायीहरूले तलबको पेरोलभन्दा लामो मागका फेहरिस्त बनाइसके, मानौं तलब ‘दान’ गरिदिएको रकमको शोधभर्ना उनीहरू माग्दैछन् ।

हाम्रो निजी क्षेत्रले वर्षौंदेखि व्यवसाय गरिरहेको छ, नाफा कमाइरहेको पनि छ । उनीहरूको व्यवसायिक पाइपलाइनमा नाफा बीसौं वर्षदेखि बगिरहेको छ । तर, विपद्को कुनै गाँस फुस्किँदैमा अभाव किन सुरु भइहाल्छ तत्कालै, मेरो गाउँको पाइपलाइन जस्तै ?

हाम्रो विपत्तिमा कोरोनाभाइरस पहिलो होइन । यसअघि हामीले नाकाबन्दी झेल्यौं । भुकम्पको विपत्ति व्यहोर्यौं । त्योभन्दा अघिका राजनीतिक अस्थिरता र युद्धपनि हामीले कतिपटक झेलेकै हौं । यी त नियमित प्रक्रिया नै हुन् । तर हामीले प्रत्येकपटक पाइप जोड्ने प्रयास मात्रै गर्यौं, ट्याङ्की बनाउने प्रयास कहिलै गरेनौं ।

व्यवसायमा नाफा गर्नु भनेको व्यवस्थापनको प्रतिफल हो । नाफा कमाउने अर्को एउटा माध्यम पनि छ, त्यो हो दलाली । अर्थात्, दलालले जोखिम लिँदैन । क्रेता र बिक्रेतालाई जोडिदिने काम मात्रै गर्छ । त्यसबापत उसले ‘कमिसन’ पाउँछ । त्यही कमिसनलाई उसले नाफाको रुपमा लिन्छ ।

 

व्यवस्थापकको कुशलता जोखिम लिने क्षमतामा निर्भर गर्छ । सबल व्यवस्थापकले अर्थतन्त्रमा देखिएका सानातिना जोखिमलाई सजिलै पार लगाउन सक्छ । त्यसको असर व्यवसायमा परे पनि त्यसलाई तत्कालै ‘रिभाइभ’ गर्ने क्षमता राख्छ । त्यस्तो व्यवस्थापकले हत्तपत्त जोखिमको ट्रान्सफर गर्दैन किनकी उसलाई थाहा छ, उसले प्रत्येक वर्ष प्राप्त गर्ने नाफा जोखिमकै प्रतिफल हो । जोखिम लिन नसक्ने हो भने अरु बेला नाफा कमाउने अधिकार पनि हुँदैन ।

त्यसो भन्दैगर्दा व्यवसायीले दलालको काम पनि गरिरहेका हुन्छन् । कामदारलाई श्रमलाई आवश्यकता हुन्छ, अरु कसैको आवश्यकतासँग जोडेर सहजीकरण गरिदिएबापत पनि केही कमिसन प्राप्त गर्ने अधिकार उनीहरूलाई हुनसक्छ । त्यसैले आजसम्म कसैले नसिकाएको ‘व्यवस्थापन’ र ‘दलाली’बीचको फरकलाई जोखिम बहन गर्ने क्षमताको आधारमा एउटै स्कलेमा राख्ने प्रयास गरेको छु ।

यो स्केलमा राखेर हेर्दा हाम्रो व्यवसायीलाई मैले दलालको रुपमा देख्न थालेको छु जोसँग आफूले अभिभावकत्व स्वीकार गरेका कामदारहरूलाई २/४ महिना संरक्षण गर्ने क्षमता पनि हुँदैन । संकट परेको पहिलो महिनादेखि नै तलब नदिने, तलब घटाइदिने जस्ता धृष्टता गर्न थालेका छन् । यसले उनीहरूको व्यवस्थापकीय कौशलता त छताछुल्ल भएको छ नै कर्मचारीमा आफ्नो कार्यालयप्रतिको वितृष्णा बढ्दै गएको समेत छ ।

जोखिम लिन नसक्नेले जसरी नाफा कमाउने अधिकार राख्दैनन्, त्यसैगरी २ महिनाको विपद् पनि धान्न नसक्नेले नाफा कमाउने अधिकार कसरी राख्छ ? त्यसैले अब उनीहरूले कमाएको पैसालाई ‘नाफा’ नभनेर ‘कमिसन’ किन नभन्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment