Comments Add Comment

‘भारतले जाऊ भनिसक्यो, सरकार छिटो उद्धार गर’

२४ वैशाख, काठमाडौं । भारतीय प्रशासनले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको भन्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उनीहरूलाई स्वदेश फर्काउन आग्रह गरेको छ ।

समितिले दुवै देशका सरकारबीच छलफल गरी नेपालीलाई स्वदेश फर्काउन सुझाव दिएको छ । ‘भारतका विभिन्न ठाउँ तथा सीमा क्षेत्रमा रहेका नेपालीहरूलाई भारतीय प्रशासनले समेत नेपाल फर्किन आग्रह गरिरहेको अवस्थामा दुवै देशका सरकारहरू बीच औपचारिक छलफल गरी आवश्यक गृहकार्यसहित प्राथमिकीकरण गरी नेपाल फर्काउने व्यवस्था गर्ने’ समितिले सरकारलाई दिएको सुझावमा भनिएको छ ।

छलफलमा पूर्वगृहमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले भारतीय सीमामा रहेका नेपालीलाई भारतले स्वदेश फर्काउन खोजेको तर नेपाल सरकारले भने बेवास्ता गरेको आरोप लगाए ।

‘स्वदेश फर्किन नदिने अत्याचार तुरुन्त बन्द गरियोस् । कानुन र अन्तर्राष्ट्रिय मर्यादा विपरीतको यस्तो कार्य तुरुन्त बन्द गरियोस्’ उनले भने, ‘अन्य देशले ग्रिन कार्ड र पीआर भएका व्यक्तिलाई आफ्नो देश फर्काइरहेका छन् भने हाम्रो देशले सीमामा ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरंकुश र अलोकतान्त्रिक चरित्र हो ।’

समितिले भारतीय सीमा क्षेत्रमा हुन सक्ने आवतजावतलाई व्यवस्थित गर्न र आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई सुझाव दिएको छ ।

समितिले कञ्चनपुरको बनवासा र टनकपुरमा ३५ दिनदेखि क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वदेश भित्र्याएर स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तहमा पठाउन पनि सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको भनाइ के हो ? : पुष्पा भुसाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको धारणा माग गरिन् ।

‘प्रधानमन्त्रीले भनेको के हो ? विदेशबाट नल्याउने नै हो कि ल्याउने हो ?’ भन्दै संसदमा भुसालले प्रधानमन्त्रीसँग प्रश्न गरिन् । प्रधानमन्त्रीले नल्याउने भनिरहेको र परराष्ट्रमन्त्रीले अध्ययन र कुराकानी भइरहेको भन्ने आपसमा बाझिने प्रतिक्रिया आइरहेको भन्दै उनले यसमा सरकारको स्पष्ट धारणा नआएको गुनासो गरिन् ।

रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरिन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विदेशमा रहेका नेपालीहरूको अवस्था र समस्या पहिचान गरेर ‘सेलेक्टेड’ रुपमा स्वदेश ल्याउनुपर्ने बताए ।

‘कति देशले राख्दैनौं भन्दा पनि हाम्रो प्रधानमन्त्रीको आग्रहपछि त्यहीँ राखिएको छ’ बैठकमा नेता नेपालले भने, ‘त्यसै ल्याउने भनेको होइन, परीक्षण गरेर, संक्रमण भए÷नभएको पुष्टि गरेर, क्वारेन्टाइनमा राख्नेगरी ‘सेलेक्टेड’ रुपमा ल्याउनुपर्छ ।’

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनुअघि आवश्यक पूर्वाधार तयार गर्नुपर्नेमा समेत सांसदहरूको जोड छ ।

बैठकमा भुटानले दुई जनाको उद्धारका लागि विमान चाटर्ड गरेर आएको प्रसंग पनि संसदमा चर्चाको विषय बनेको छ । सांसद रेनुका गुरुङले सोही प्रसंगलाई टेकेर विदेशमा रहेका नेपालीहरूलाई पनि स्वदेश ल्याउनुपर्ने माग गरिन् । उनले भनिन्, ‘यहाँ ल्याएर सरकारले क्वारेन्टाइनमा राखोस्, क्वारेन्टाइन ककनीमा बनाउन सकिन्छ । गोदावरीमा बनाउन सकिन्छ ।’

सांसद दिव्यमणि राजभण्डारीले सरकारी लगानीमै बनेका हायातलगायतका होटललाई क्वारेन्टाइन बनाउन सुझाव दिए ।

विदेशमा रहेका नेपालीलाई राहत उपलब्ध गराऊ

समितिले भारतलगायतका मुलुकमा रहेका नेपालीलाई कोरोना भाइरसबाट जोगाउन र कामविहीन भएकालाई राहत दिन पनि सरकारलाई सुझाव दिएको छ ।

सांसदहरूले विदेशमा रहेका नेपालीहरूले समस्यामा परेको भन्दै निरन्तर फोन गरिरहेको बताएका थिए ।

बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले आफूलाई पनि दिनहुँजसो विदेशबाट फोन आइरहेको सुनाए । ‘मलेसियाबाट फोन आएको थियो । बिरामी छु, अस्पताल लैजाने कोही छैन । सम्बन्धित निकायले मेरो कुरा सुनेन भन्दै थिए’ महानिर्देशक दाहालले भने ।

मलेसियाबाटै फोन गरेर एक नेपालीले एकै ठाउँमा रहेको र ९ जनामा कोरोना नेगेटिभ र ३ जनामा कोरोना पोजेटिभ रहेको सुनाएको उनले बताए । ‘एउटै फ्ल्याटमा छौं, हामीलाई जोगिन पनि गाह्रो छ भन्दै थिए’ दाहालले समिति बैठकमा भने ।

यसैगरी, समितिले सरकारलाई आवश्यक स्वास्थ्य सामग्री, खाद्यान्न र उचित आवासको व्यवस्था मिलाउन पनि भनेको छ ।

यो पनि पढ्नुहोस ४ लाख ७ हजार नेपाली स्वदेश फर्किन तम्तयार यो पनि पढ्नुहोस सेनाको संख्या घटाऔं, निर्माण सेना गठन गरौं : नेता कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment