Comments Add Comment

किन आवश्यक छ पाककला ?

आउनुहोस्, एकैछिन भान्सामा प्रवेश गरौं । यो भान्सा, जसलाई तपाईं खास महत्व दिनुहुन्न । भान्साको कामलाई ‘अनुत्पादक’ भन्नुहुन्छ । तर, तपाईंको समग्र परिवारको स्वास्थ्यको स्रोत यही भान्सा हो । खुसीको स्रोत पनि ।

यो भान्सामा पाक्ने खानामा निर्भर रहन्छ, तपाईंको परिवारको स्वास्थ्य । यस अर्थमा परिवारको सुख, सम्पन्नता सबैको स्रोत पनि हो भान्सा । भान्सामा मीठो मसिनो पाकेको बखत तपाईंको परिवारमा उमंग छाउँछ । यसर्थ यो भान्सा पारिवारिक खुसीको स्रोत समेत हो । खाना खाने बखत नै परिवारका सबै सदस्यहरु एक ठाउँमा हुन्छन् । आपसमा भलाकुसारी गर्ने, पारिवारिक सरसल्लाह गर्ने जक्सन पनि हो भान्सा ।

हामीकहाँ भान्साको काम छोरी–बुहारीलाई जिम्मा लगाइन्छ । हुन त छोरी–बुहारीको हात नै खानेकुरा बनाउनमा बढी पोख्त हुन्छ । यद्यपि भान्साको काममा परिवारका अन्य सदस्यहरु पनि सहभागी हुन सक्छन् । खानेकुरा पकाउने कला अरुले पनि सिक्न सक्छन् ।

खानेकुरा पकाउने काम आफैमा एक कला हो । अर्थात पाककला ।

जब तपाईं एउटै चिजबाट अनेकथरी परिकार बनाउन सक्नुहुन्छ, त्यसमा अनेक स्वाद र रंगको विविधता भर्न सक्नुहुन्छ, त्यसमा पोषण र स्वादको सन्तुलन मिलाउनुहुन्छ भने त्यो तपाईंको पाककला हो ।

समान्य मान्यता के छ भने, खानेकुरा हेर्दा आकर्षक देखिनुपर्छ । मगमग बास्ना आउने हुनुपर्छ । खाँदा स्वादिलो हुनुपर्छ । अर्थात हाम्रा सबै इन्द्रियलाई यसले सन्तुष्ट तुल्याउनुपर्छ । यस किसिमको खाना तयार गर्ने कला आफैमा महत्वको छैन र ?

भान्सामा जे उपलब्ध छ

खानेकुरा मीठो बनाउनुपर्छ वा थरीथरीको परिकार बनाउनुपर्छ भन्दैमा भएभरका सरसामान नै उपलब्ध हुनुपर्छ भन्ने होइन । आफुसँग उपलब्ध सरसामनबाट पनि थरीथरीका स्वाद तयार गर्न सकिन्छ । यादवप्रसाद पाण्डे भन्छन्, ‘स्वादिलो भन्नसाथ धेरै तेल हाल्ने, भुट्ने, मरमसला हाल्ने भन्ने होइन ।  स्वादिलो भन्नसाथ मासुजन्य भन्ने पनि होइन । स्वादिलो भन्नसाथ गरिष्ठ भोजन भन्ने पनि होइन ।’ पाण्डेसँग काठमाडौंको विभिन्न पाँच तारे होटलमा काम गरेको अनुभव छ ।

उनका अनुसार सामान्य खानेकुरा, जुन हामी बिहान–बेलुकीको छाकमा पकाउँछौं, त्यसमा कला मिसाउने हो । हामीसँग जे जति उपलब्ध छ, त्यती नै खानेकुरालाई पनि हामीले स्वदिलो र स्वस्थ्यकर बनाउन सक्छौं । यसका लागि खाना पकाउने हात भने सिपालु हुनुपर्छ ।

‘कुन खानेकुरासँग के खाने, कसरी पकाउने, के–के मिसाउने, कस्तो मरमसला हाल्ने भन्ने सामान्य ज्ञान सबैमा हुनुपर्छ’ पाण्डे सुझाउँछन्, ‘जस्तो कि, माछा तार्नका लागि तोरीको तेल उपयुक्त मानिन्छ । तोरीको सागमा मेथी फुराउँदा त्यो स्वादिलो हुन्छ ।’

हरेक खानेकुराको आ–आफ्नै प्रकृति हुन्छ, जसलाई के, कति मात्रामा मिलाउने भन्ने कुराको हामीलाई हेक्का हुनुपर्छ । कसरी पकाउने भन्ने कुरा त छँदैछ ।

तर, कहिले काहिँ नयाँ नयाँ प्रयोग पनि गर्न सकिन्छ । कुनै तरकारीलाई फरक ढंगले पकाए हुन्छ । वा भिन्न–भिन्नै तरकारीलाई मिश्रण गरे पनि हुन्छ । ‘यसमा के कुरा चाहि ध्यान दिनुपर्छ भने, आपसमा मिलाइने खानेकुरा एकदमै विपरित स्वादको भने हुनु हुँदैन’ उनी थप्छन्,  ‘कतिपय खानेकुरा यस्तो हुन्छ, जसलाई आपसमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ । त्यसैले यो कुरामा सधै सचेत हुनुपर्छ ।’

हरेक छाकमा फरक स्वाद

बिहान हामी साग खान्छौं । सागमा मेथी दाना र सुकेको रातो खुर्सानी फुराउन सकिन्छ । राती त्यही सागलाई थोरै आलु मिसाएर फरक ढंगले पकाउन सकिन्छ । अर्को छाकमा गुन्द्रुकको रस बनाए भयो । फेरी अर्को छाकमा दाल खाने । अर्को छाकमा तरकारीमा रस हाल्ने ।

यसरी हरेक छाकमा विविधता ल्याउन सकिन्छ । यसले हाम्रो जिब्रोको स्वाद त फेर्छ नै, साथसाथै शरीरलाई आवश्यक पोषणको सन्तुलन पनि मिलाउँछ ।

यदि बिहानको छाकमा जे खाइन्छ, साँझ पनि त्यही खाइयो भने, त्यसले शरीरलाई आवश्यक पोषण तत्व सन्तुलित रुपमा पुरा गर्दैन । त्यसैले छाकैपिछे फरक–फरक स्वाद लिन सकिन्छ ।

खाना पकाउँदा अक्सर मधुरो आगोमा पकाउनु राम्रो हो । यसले गर्दा स्वाद बढ्छ, अर्कोतिर भाँडामा रहेको रसायन खानामा मिल्न पाउँदैन । त्यसैले खाना शुद्ध हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment