Comments Add Comment

बजेट बनाउने उपसचिवको कोभिड डेस्कमा सरुवा !

२० जेठ, विराटनगर । बजेट बनाउने चटारो सुरु भएको बेला प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिवको सरुवा भएको छ ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको राजस्व फाँटका उपसचिव हरिहर पौडेलको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमासरुवा भएको हो ।

प्रदेश सरकार स्थापना भएदेखि हाजिर भएका पौडेलले प्रदेशको दुईवटा बजेट बनाउन भूमिका खेलेका थिए । तर नयाँ आर्थिक वर्ष २०७७–७८ को बजेट बनाउँदै गर्दा राजस्व विज्ञ पौडेललाई कोभिड १९ डेस्क हेर्ने गरी मुख्यमन्त्री कार्यालय लगिएको हो ।

पौडेल संघीय सरकार अन्तर्गतका उपसचिव हुन् । समायोजनमा प्रदेशमा परेपछि उनीसहित १४ जना उपसचिवले दायर गरेको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ ।

बजेट बनाउने बेलामा किन तानिए पौडेल ?

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री अम्बिरबाबु गुरुङ पछिल्लो समय पौडेलसँग असन्तुष्ट थिए ।

गुरुङले पठाएका केही योजनामा कोरोनाको कारण देखाउँदै बजेट दिन नसक्ने बताएका पौडेललाई गुरुङले मुख्यमन्त्रीलाई कन्भिन्स गराएर सरुवा गराएको स्रोत बताउँछ । गुरुङ र मुख्यमन्त्री शेरधन राईको सम्बन्ध राम्रो छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले मुख्यमन्त्री कार्यालयले उपसचिव पौडेलको सरुवा गरेपछि बजेट बनाउने काममा लोड थपिएको बताए ।

मन्त्रालयमा २ जना राजस्वको र एकजना प्रशासनका उपसचिवको दरबन्दी छ । राजस्वमा २ वटा दरबन्दी फूल थियो । तर प्रशासन खाली थियो । पौडेलको सरुवा भएपछि मंगलबार प्रशासनका उपसचिव रामप्रसाद फुयाल हाजिर भएको उनले बताए ।

प्रदेशका प्रमुख सचिव के भन्छन् ?

प्रदेश १ सरकारका प्रमुख सचिव दिनेश भट्टराईले कोभिड १९ डेस्क हेर्ने गरी पौडेललाई मुख्यमन्त्री कार्यालय बोलाइएको बताए । सरुवा नगरेको बताउँदै उनले कर्मचारी अभाव भएका कारण डेस्क हेर्ने गरी तानिएको बताए । ‘कोभिड डेस्क हेर्ने गरी उहाँलाई बोलाइएको हो’ उनले भने ‘तर हाजिर हुनुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment