Comments Add Comment

‘नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम छ भन्नु अफवाह’

कोभिड–१९ विश्वव्यापी महामारीसँगै यसको वास्तविक सूचनामा पनि महामारी निम्तिएको छ । वैज्ञानिक रुपमा पुष्टि नभएका धारणाहरू सार्वजानिक भएका कारण यसको वास्तविक सूचना पाउन मुस्किल छ ।

नेपालमा अन्य देशको भन्दा मृत्युदर कम भएको तथा नेपाली वैज्ञानिकले खोप पत्ता लगाएको समेत समाचारहरू आउन थालेका छन् । के हो त वास्तविकता ? जीवाणु वैज्ञानिक सुदीप खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

एक महिनाअघिसम्म नेपालमा कोरोनाबाट मृत्यु हुँदैन भन्नेहरू अहिले नेपालको मृत्युदर अन्य मुलुकको भन्दा कम छ भनिरहेका छन्, उनीहरूको तर्कलाई विश्वास गर्ने आधार के हो ?

देशभित्र कोरोनाको संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा यसका कारण मृत्यु हुनेको संख्या पनि अचम्मका साथ दिन प्रतिदिन बढ्दै गएको छ । यस्तो स्थितिमा तथ्यांकको सही विश्लेषण नबुझेर अथवा जानाजान नै हो विभिन्न भ्रम फैलिएका छन् । हुँदाहुँदा अहिले त कोरोना होइन अन्य रोगका कारण बिरामीको मृत्यु भएको भन्ने अभिव्यक्ति समेत आउन थालेको छ । विश्व स्वास्थ्य संगठनले विज्ञहरूको सल्लाहलाई आधार बनाएर तयार पारेको मापदण्ड नमानेर आफ्नै ढंगले कोरोना संक्रमितको मृत्युदर गणना गर्ने कुप्रयास पनि सुरु हुन थालेको छनक पाइएको छ । हुन त विश्व स्वास्थ्य संगठनलाई यो वा त्यो बहानामा दोष थोपरेर आफ्नो अकर्मन्यता ढाकछोप गर्ने प्रयास गर्ने नेपाल एक्लो राष्ट्र भने होइन ।

हामी कुरा गरिरहँदा नेपालमा ३४४८ जना संक्रमितको पहिचान भइसकेको छ भने १४ जनाको मृत्यु भएको छ । यही अंकलाई सरसर्ती हिसाब गर्ने हो भने जम्मा ०.४ प्रतिशतको मात्र मृत्यु भएको आँकडा निस्किन्छ । जुन विश्वव्यापी रुपमा देखिएको २.५५ भन्दा निक्कै कम हो । यही अंकलाई आधार बनाएर नेपालमा कोरोना संक्रमण हुँदा छुट्टै कमजोर भाइरस आएको अथवा नेपालीमा संक्रमण प्रतिरोधी क्षमता धेरै भएको जस्ता कुतर्क पेश गर्ने गरिएको छ । तर सही मानेमा विश्लेषण गर्ने हो भने कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा विश्वव्यापी औसतभन्दा धेरै नै देखिन्छ । यसलाई बुझ्नका निम्ति थोरै पृष्ठभूमिका कुरा बुझौं ।

कोरोना संक्रमणका कारण युवा अवस्थाका स्वस्थ व्यक्तिहरूको मृत्यु विरलै मात्र हुन्छ । यो भाइरसको संक्रमणपश्चात् अतिगम्भीर लक्षण देखिने वा मृत्यु हुने सम्भावना पहिल्यै कुनै अरू स्वास्थ्य समस्या भएका मानिसलाई अधिक हुन्छ । अझ बृहत् रुपमा भन्नुपर्दा यो भाइरसको संक्रमण र यसका कारण हुने मृत्युदरको सोझो सम्बन्ध उमेर समूहसँग पाइन्छ । उमेर बढ्दै जाँदा यसको संक्रमणका कारण अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अत्यन्त गम्भीर लक्षण र मृत्युदर वृद्धहरूमा धेरै देखिन्छ ।

हालसम्म उपलब्ध विश्वव्यापी आँकडाअनुसार मृत्युदरलाई निम्न तालिकामा हेर्न सकिन्छ ।

देश, त्यहाँको रहनसहन, स्वास्थ्य सेवाको वस्तुगत स्थिति इत्यादिले केही भिन्नता भए पनि औसतमा प्रत्येक उमेर समूहको मृत्युदर एउटा निश्चित परिधिभित्रै पाइन्छ ।

जसअनुसार ३० वर्षभन्दा कम उमेरका व्यक्तिमा मृत्यु नगन्य मात्रामा हुन्छ भने ६० वर्षभन्दा माथिका व्यक्तिमा जोखिम बढ्दै गएर दुई देखि २० प्रतिशत व्यक्तिको मृत्यु हुने गर्छ ।

उमेर समूहका अनुसार नेपालको मृत्युदरको आँकडा हेर्दा त अन्य देशको भन्दा बढी देखियो होइन ?

हालसम्म नेपालमा जम्मा १४ जनाको मृत्यु भएको सम्बन्धमा ठोस मृत्युदर निक्र्यौल गर्न सानो संख्यामा उचित हुँदैन । तैपनि अहिलेसम्मको आँकडाले एउटा सुरुवाती चित्र भने प्रस्तुत गर्छ । हाम्रोमा अधिकांश संक्रमितको उमेर १० देखि ५० वर्षको छ । जसमध्ये सबैभन्दा धेरै अनुपात २० देखि ४० वर्ष उमेर समूहका छन् । यो समूहको विश्वव्यापी मृत्युदर हेर्ने हो भने अत्यन्तै न्यून छ ।

तर अधिकांश केसमा नेपालको यो समूहमा पनि मृत्युदर विश्वमा देखिएको अधिकतमभन्दा पनि धेरै देखिएको छ । अर्थात्, सरसर्ती हिसाब गर्दा जम्मा मृतक र संक्रमितको अनुपात न्यून देखिन गई मृत्युदर आधाभन्दा पनि थोरै देखिन्छ । तर हामीले हाम्रोमा भएको संक्रमित र मृतकको संख्यालाई उमेर समूहका आधारमा हेर्ने हो भने प्रायः सबै उमेर समूहमा अहिले नै नेपालमा मृत्युदर विश्वव्यापी रुपमा देखिएको अधिकतमभन्दा पनि धेरै देखिन्छ ।

भनेपछि नेपालको कोभिड मृत्युदर अन्य देशभन्दा धेरै हो ?

सरल भाषामा भन्नुपर्दा नेपालमा देखिएको कोरोनाको मृत्युदर आजको मितिसम्ममा विश्वव्यापी औसत दरभन्दा धेरै छ । तर यो अझै भयावह बन्नेवाला छ ।

लक्षण देखिएको खण्डमा संक्रमणको पाँचदेखि ११ दिनभित्र ९८ प्रतिशत व्यक्तिहरूमा यो रोगको लक्षण देखिन्छ । मृतकको हकमा भने औसतमा संक्रमणको १४ दिनपश्चात मृत्यु भएको पाइएको छ । तसर्थ संक्रमण हुनु, लक्षण देखिनु र मृत्यु हुनुमा केही समयको अन्तराल हुन्छ ।

हामीले अन्य मुलुकको आँकडा केलाउने हो भने सुरुवाती चरणमा संक्रमणको रफ्तार केही ढिलो हुन्छ, अनि केही समयपश्चात नयाँ संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । यसरी संख्यात्मक वृद्धि हुन थालेको तीनदेखि ८ हप्ताको समयमा मृत्युदर पनि ह्वात्तै बढेको पाइएको छ । नेपालमा पनि अहिले यो महामारीको संख्यात्मक वृद्धिको चरणमा प्रवेश गरेको छ । अबको २ देखि ८ हप्ताको अन्तरालमा हामीले सोही अनुपातमा मृत्युदर पनि ह्वात्तै बढेको देख्ने प्रक्षेपण गर्न सक्छौं ।

भोलिका दिनमा कोरोनाको मृत्युदर कस्तो हुन्छ भन्ने अनुमान आजै गर्न सकिन्छ ?

अहिलेको आँकडा हेरेर निक्र्याैल नै गर्न नसकिए पनि यथास्थितिलाई हेरेर केही विश्लेषण गर्दा नेपालमा औसत मृत्युदर विश्वव्यापी रुपमा देखिएको अंकको हाराहारीमा हुने देखिन्छ ।

अहिले प्रायः संक्रमित वैदेशिक रोजगारीको सिलसिलामा गएर फर्किएका, तुलनात्मक रुपमा स्वास्थ्य स्थिति राम्रो भएका कम उमेर समूहका व्यक्तिहरू छन् । यो समूहमा न्यून मृत्युदर हुनुपर्ने हो । तर अहिले नै हामीले यही उमेर समूहमा समेत औसतभन्दा धेरै मृत्युदर देखिरहेका छौं ।

भोलिका दिनमा यो संक्रमण स्थानीय रुपमा वृद्धवृद्धामा फैलिन गएमा निश्चित रुपमा हामीले उच्च मृत्युदरको सामना गर्नुपर्छ । अझ हाम्रो स्वास्थ्य सेवाको स्थिति हेर्दा त विश्वव्यापी औसतभन्दा पनि धेरैको मृत्यु उचित स्वास्थ्य सेवा नपाएरै हुने गरेको देखिन्छ ।

यो मृत्युदर घटाउने उपाय के होला ?

सर्वप्रथम त हाम्रो स्वास्थ्य सेवा प्रदायकहरू चुस्त भएको खण्डमा केही हदसम्म मृत्युदर घटाउन सकिन्छ । अहिलेको अवस्थामा संक्रमण फैलिन नदिनु नै उपयुक्त उपाय हो । सामाजिक दुरीको हामी सबैले अभ्यास गर्नु अत्यन्त जरुरी छ । हात धुने, अन्य व्यक्तिको नजिकमा हुँदा मास्क प्रयोग गर्ने, सतर्क रहने, जिम्मेवार व्यवहार गर्ने अत्यन्तै आधारभूत कुराहरू हुन् । यिनको पालन हरेक नागरिकले गर्नुपर्छ ।

अहिले अर्को ठूलो समस्या भनेको अव्यवस्थित क्वारेन्टिनस्थल हो । यस्ता अव्यवस्थित र मापदण्ड नपुगेका स्थलहरू कि त मापदण्ड पुर्‍याएर मात्रै सञ्चालन गर्नुपर्छ अन्यथा तुरुन्तै बन्द गर्नुपर्छ ।

क्वारेन्टिन स्थल भनेको मान्छे थुपार्ने ठाउँ हैनन् । यी स्थल हाम्रो कोरोनाविरुद्धको पहिलो प्रतिरक्षाका स्थलहरू हुन् । ती पनि स्वास्थ्य सेवाकै एउटा पाटो हो । जसरी शल्यक्रिया गर्दा हँसियाले काम चलाउन मिल्दैन त्यसैगरी क्वारेन्टिन स्थलमा पनि काम चलाउ पाराले काम हुँदैन । मापदण्ड पुर्‍याउनु पर्छ । तर, सबैभन्दा सरल त घरमै क्वारेन्टिन बस्न सकिन्छ । यो विधि व्यापक बनाउनु र प्रोहत्सान गर्नु जरुरी छ । यति गर्न सकिएको खण्डमा संक्रमण केही हदसम्म नियन्त्रणमा आई मृत्युदर घटाउन सकिन्छ ।

तर कोरोनाको मृत्युदरको अर्को पाटो पनि छ । उचित व्यवस्थापन गर्न नसक्दा सोझै संक्रमणका कारण त हैन तर नियन्त्रण गर्ने नाममा उब्जेको परिस्थितिजन्य कारणले पनि धेरैको मृत्यु हुने गर्छ । अतिआवश्यक स्वास्थ्य उपचार नपाएर, प्रसूति सेवा उपलब्ध नभएर, जनजीविकामा रोकावट आएर, मानसिक तनावका कारण झन् भाइरस संक्रमणभन्दा ज्यादा मानिसको मृत्यु हुन सक्छ । यस्ता चुनौतीको सामना गर्न सँगसँगै तयारी नथाल्ने हो भने कोरोनाबाहेकका कारण कोरोना संक्रमणभन्दा धेरैको ज्यान जाने हुन्छ ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप पत्ता लागेको कुरा पनि आइरहेको छ, इबोलार जिका जस्तो प्राणघातक रोगविरुद्धको औषधिमा काम गरिसक्नु भएको तपाईले यसलाई कसरी नियालिरहनु भएको छ ?

अहिले प्राप्त जानकारीअनुसार यो दाबीमा विश्वास गर्ने कुनै आधार छैन ।

पहिलो कुरो त वनस्पतिबाट कुनै पनि कुराको विरुद्ध खोप बन्नै सक्दैन । खोप जुन भाइरसविरुद्ध बनाउने हो त्यसैको वा त्यसको केही अंश प्रयोग गर्नुपर्ने हुन्छ । अब त्यो जुन जडीबुटीबाट तयार पारिएको दाबी गरिएको छ त्यही जडीबुटीकै विरुद्ध खोप निर्माण भएको हो भने त छुट्टै कुरा तर सिधासिधा भन्नुपर्दा वनस्पति प्रयोग गरेर कोरोना वा अन्य कुनै पनि भाइरसविरुद्ध खोप बन्दैन ।

हो, औषधि बन्न सक्छ तर त्यसका लागि पनि विशेष प्रक्रिया पूरा गरेर प्रमाणित गर्नुपर्ने हुन्छ । प्रक्रिया पूरा गरेर प्रमाण पेश नगर्ने हो भने कुनै पनि औषधि र खोपको दाबी र कालो भाले काट्नुमा कुनै तात्विक फरक हुँदैन ।

वनस्पति वा जडीबुटीबाट औषधिको विकास कसरी गरिन्छ ?

पहिलो चरणमा कुनै पनि वनस्पति वा अन्य प्राकृतिक वस्तुको औषधीय गुण छ भन्ने हुन्छ । त्यसको कुनै रोगमा फाइदाजनक असर देखिने कुनै आधार हुनुपर्छ । हामीकहाँ भएका र प्रयोगमा भएका थुप्रै जडीबुटीमा प्रचलित प्रयोगका आधारमा र विभिन्न साधारण रोगहरूमा केही सुधार ल्याएअनुसार केही औषधीय गुण छन् भन्ने पाइएको छ ।

कालान्तरमा यीमध्ये केहीको वैज्ञानिक अनुसन्धान हुँदा ती जडीबुटीमा औषधिजन्य रसायन भएको प्रमाण पनि मिलेका छन् । तर त्यो रसायनको मात्रा अत्यन्तै नगन्य हुन्छ । त्यही कारण उचित औषधीय मात्रा पुर्यााना तुलनात्मक रुपमा धेरै मात्रा र लामो समय प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि उपयुक्त औषधिजन्य गुण भएको रसायनको पहिचान गरेर प्रयोगशाला वा उद्योगमा ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने हुन्छ ।

सोझै वनस्पति र जडीबुटीको प्रयोग कोरोनाविरुद्ध गर्न मिल्दैन भन्ने तपाईंको आशय हो ?

सोझै वनस्पति रजडीबुटीको प्रयोग गर्दा प्रत्येक तयारीमा औषधिको मात्रा पनि तलमाथि हुन्छ भने शुद्धता, टिकाउपनजस्ता कुरामा समस्या हुन्छ । यस्तो समस्याका कारण वैज्ञानिक रुपमा मात्रा र सेवन विधिको समुचित व्यवस्थापन गर्न अनि भरपर्दो रुपमा किफायतीपन निक्र्याैल गर्न गाह्रो हुन्छ । अनि यी जडीबुटी वनस्पतिमा रसायनको मात्रा थोरै हुनेहुँदा सोझै वनस्पति प्रयोग गर्दा धेरै जनसंख्यालाई मात्रा पुर्‍याउन ठूलो परिमाणमा प्रयोग, प्रशोधन अनि ओसारपसार गर्नुपर्ने हुन्छ । यिनै कारणले गर्दा वनस्पति र जडीबुटीमा पत्ता लागेका रसायन पनि कालान्तरमा रसायनको प्रशोधन गरेर उत्पादन गर्ने गरिन्छ ।

अनुसन्धानकै क्रममा वनस्पतिमा प्राप्त प्राकृतिक रसायनबाट सुरु गरेर यसलाई परिष्कृत गर्दै अझ सुरक्षित, किफायती र प्रभावशाली औषधि उत्पादन गरिन्छ ।

उदाहरणका लागि अहिले बहुचर्चित मलेरियाको निदानका लागि प्रयोग हुने क्लोरोक्विन औषधिको इतिहास हेरौं । सुरुवाती चरणमा पेरुजस्ता देशमा जडीबुटीको रुपमा प्रयोग हुने सिन्कोना नामक ज्वरो हटाउन प्रयोग हुने जडीबुटी युरोप पुगेपछि अनुसन्धान गर्दा मलेरियामा उपयोग भएको देखिएको थियो । अनुसन्धानले सिन्कोना वनस्पतिमा कुइनिन नामक रसायन हुने र यही रसायनले मलेरियाविरुद्ध काम गर्ने देखियो । तर यो रसायन प्रशोधन गर्न केही जटिल पनि थियो । साथै, सर्वसुलभ बनाउन गाह्रो पनि थियो ।

त्यसपछि त्यही रसायनलाई थप परिमार्जन गर्दै क्लोरोक्विन, मेफ्लोक्विन र हाइड्रोअक्सिक्लोक्विनजस्ता औषधिको विकास हुँदै गयो । जुन सुरुवाती चरणमा भेटिएको रसायनभन्दा धेरै किफायती अनि प्रयोगशालामा उत्पादन गर्न पनि सजिलो हुने गर्छन् । अहिलेको अवस्थामा यी औषधिहरू ठूलो मात्रामा पूर्ण शुद्धताका साथ प्रयोगशाला र औषधि उद्योगमा उत्पादन गरिन्छन् ।

तसर्थ प्रायः सबै वनस्पति र जडीबुटीजन्य स्रोत भएका औषधि कालान्तरमा परिमार्जित हुँदै कृत्रिम रसायन प्रशोधनबाटै सर्वव्यापी बन्छन् ।

कुनै पनि स्रोतमा औषधीय गुण छ भन्ने लागेपछि त्यसको परीक्षण गर्नुपर्ने हुन्छ । अहिले दाबी गरिएको खोपरऔषधिमा कोरोना भाइरस निवारण गर्ने गुण छ भन्ने केही आधार हुनुपर्छ । कि त सो औषधि अन्य कुनै उस्तै रोगमा वा सम्बन्धित भाइरस संक्रमणमा किफायती भएको तथ्य हुनुपर्छ या त संक्रमितले उपभोग गर्दा फाइदा गरेको प्रमाण हुनुपर्छ । या त प्रयोगशालामा परीक्षण सफल भएको हुनुपर्छ ।

अहिले सार्स–२ काविरुद्ध किफायती दाबी गरिएको डा. ललितकुमार लाल दासको औषधि अन्य कुनै पनि रोग वा अझ भनौं भाइरस संक्रमणका विरुद्ध काम गर्छ भन्ने पुष्टि भएको छैन वा सो प्रमाण पेश गरिएको छैन ।

हैन यो विशुद्ध सार्स–२ विरुद्ध उत्पादन गरिएको नित्तान्त नौलो औषधि हो भन्ने हो भने पनि यो औषधि कुनै संक्रमितले खाएको र नखाएका संक्रमितले भन्दा चाँडो स्वस्थ्यलाभ गरेको प्रमाण छैन । त्यस अर्थमा यो ’औषधि’ ले काम गर्छ भन्ने कुनै वस्तुगत आधार छैन । सो अनुरुपको परीक्षण बिरामीमा गरिएको पनि छैन र यथेष्ट आधार नभई मानिसमा परीक्षण पनि गर्नुहुँदैन । संक्रमण निको पार्छ वा खाँदा अन्य कुनै असर गर्दैन भन्ने तय भएको खण्डमा भने उपयुक्त विधि पुर्‍याएर मात्रै मानिसमा परीक्षण सुरु गर्न सकिन्छ ।

कुनै पनि औषधि वा खोप पत्ता लगाउनुअघि के कस्ता चरणहरू पार गर्नुपर्छ ?

सबैभन्दा पहिलो त पटक–पटक यही फर्मुलाअनुसारको ’औषधि’ उत्पादन गर्न सकिन्छ भन्ने प्रमाण हुनुपर्छ । यदि आज तयार पारिएको ’औषधि’ भोलि वा एक महिना पछाडि तयार परिनेभन्दा फरक हुन्छ भने त्यसले फेरि काम गर्छ भन्ने ग्यारेन्टी हुँदैन ।

तसर्थ, पहिलो कुरा प्रत्येक ब्याचको औषधि उही गुणस्तरको र उही मात्राको छ भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ । अहिले डा. दासको समूहले प्रतिपादन गरेको ’औषधि’ कुन विधिबाट विकास गरिएको हो र यसको उत्पादन गर्दा एक ब्याचदेखि अर्को ब्याचमा भिन्नता छैन भन्ने कुनै प्रमाण दिइएको छैन ।

परीक्षण गर्दा पहिलो चरणमा टिस्यु र सेल कल्चरमा यो औषधिको परीक्षण गरिन्छ । त्यसका लागि यो औषधि जुन रोगविरुद्ध प्रयोग हुने हो त्यसका विरुद्ध किफायती छ भन्ने जाँच हुनुपर्छ । साथै, यसको विषाक्त गुण वा अन्य अवाञ्छित हानिकारक अवगुण छैनन् भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ ।

अहिलेको परिप्रेक्ष्यमा भने टिस्यु कल्चरमा कोरोना भाइरसको संक्रमण गर्दा यो औषधि परीक्षण गर्दा भाइरसको निवारण वा उल्लेख्य मात्रामा निदान भएको हुनुपर्छ । हाल डा. दासको समूहले प्रचार गरेको ’औषधि’ को यो प्रारम्भिक परीक्षण पनि भएको छैन । किनकि नेपालमा यो औषधिको कोरोना भाइरसमा परीक्षण गर्न चाहिने सुविधा सम्पन्न बिएसएल–३ सरहको प्रयोगशाला नै छैन ।

उनकै शब्दमा भन्नुपर्दा ’मैले गलत चिज प्रयोग गरेको छैन । तर यो ठिक छ वा छैन भनेर परीक्षण होस्, मेरो चाहना यही छ, जे नियम छ, सोही बमोजिम परीक्षण होस् तर मेरो ७० दिनको मेहनत यत्तिकै खेर नजाओस्’ अर्थात् यसको परीक्षण नै भएको छैन । तसर्थ, यसले कोरोना निको पार्छ भन्ने कुनै आधार नै छैन ।

त्यसपछिको चरणमा भने यो समिश्रित औषधीय गुण भएको रसायनको पहिचान गर्नु हो । जटिल वैज्ञानिक प्रविधिको प्रयोग गरेर प्रमुख रसायन पहिचान गरेपछि त्यसमा थप परिमार्जन गर्दै यो औषधिलाई थप किफायती बनाउन सकिन्छ । यही चरणमा यो औषधिलाई अन्य औषधिको समिश्रणमा प्रयोग गर्दा अझ किफायती हुन्छ कि भनेर अध्ययन गर्ने गरिन्छ । साथसाथै मुसाजस्ता साना जनावरमा समेत परीक्षण गरिन्छ । यो समयमा औषधिको गहन अध्ययन गरेर यसको विषाक्तता, अवाञ्छित लक्षण, प्रयोग गर्ने मात्रा इत्यादिको निर्क्यौल गरेर त्यही आधारमा मानवमा परीक्षण गर्ने आधारहरू तयार गरिन्छ । अन्त्यमा भने मानवमा विभिन्न तहमा क्लिनिकल परीक्षण गरिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो औषधि मानवमा प्रयोग गर्दा सुरक्षित हुनुपर्छ । त्यसपछि धेरै संख्यामा संक्रमितमा परीक्षण गर्दा यो औषधि नखाने समूहमा भन्दा खाने समूहको स्वास्थ्यमा स्पष्ट सुधार आएको हुन्छ । यसले चाँडो भाइरसको निवारण हुने या केही कम समस्या भएकोजस्ता भिन्नता हुनुपर्छ । तब मात्रा कुनै औषधिले कोरोना (वा अन्य कुनै पनि रोग) का विरुद्ध काम गर्छ भन्ने पुष्टि हुन्छ । कम्तीमा पनि कुनै औषधिले टिस्यु कल्चरमा भाइरसको संक्रमण गर्दा तुलनात्मकरुपमा सुधार देखिएको हुनुपर्छ ।

मेरो आफ्नै संलग्नता भएका दुई फरक भाइरसविरुद्धको औषधिहरूको अनुसन्धानको उदाहरण यहाँ दिन चाहन्छु । पहिलो त जीका भाइरसविरुद्ध ’अर्बिडोल’ नामक औषधि किफायती छ भन्ने अनुसन्धान गर्दा सुरुमा यो औषधिले इन्फ्लुएन्जाविरुद्ध पनि काम गर्छ भन्ने रिपोर्ट आएको थियो । त्यही आधारमा हामीले यो औषधिले जीका भाइरसविरुद्ध पनि काम गर्छ कि भन्ने अनुमान गर्‍यौं र टिस्यु कल्चरमा त्यसको परीक्षण गरेर प्रारम्भिक रुपमा यो औषधि जीकाविरुद्ध प्रभावकारी भएको निर्क्यौल गर्यौं । अहिले यही औषधिले सार्स-२ कोरोना भाइरसविरुद्ध पनि काम गर्छ भन्ने प्रारम्भिक नतिजा आएको छ । तर अझ गहन अनुसन्धान नभई बिरामीमा परीक्षण अहिले नै हुन सक्दैन ।

दोश्रो इबोलाको औषधि अनुसन्धान गर्दा भने हामीले हजारौं सम्भावित औषधिलाई परीक्षण गर्‍यौं । सुरुवाती चरणमा केही औषधिहरूले इबोला संक्रमण नियन्त्रण गरेको पायौं । त्यसपछि तिनै सम्भाव्य औषधिलाई लिएर त्यसमा थप परिमार्जन गरेर अझै किफायती बेन्जोक्विनोलिन र ब्रेकिनार नामक औषधिको विकास गर्‍यौं । सारमा भन्नुपर्दा मुख्यत: कि त अन्य रोगमा किफायती औषधिको पुनर्प्रयोग गर्ने गरिन्छ या त औषधि परिमार्जन गर्दै नयाँ औषधि विकास गरिन्छ ।

हाम्रा सबै अनुसन्धानका नतिजा यी अनुसन्धानमा असंलग्न विज्ञहरूद्वारा स्वतन्त्र रुपमा जाँचेर प्रमाणित गरिएपछि प्रकाशित गरिएका हुन् । यो नै विश्वव्यापी मान्यता हो । कुनै पनि दाबीलाई पुष्टि गर्ने आधार पेश हुनुपर्छ । अनि सो दाबीलाई स्वतन्त्र विज्ञहरूले प्रमाणित गर्नुपर्छ । डा. दासको दाबी प्रमाणित हुन पनि कम्तीमा पनि यी कुरा पूरा हुनपर्छ ।

डा. दासको दोश्रो औषधिले प्रतिरोध क्षमता बढाउँछ भन्ने दाबी गरिएको छ , के यो निर्क्यौल भएको छ त ?

औषधिको जुनसुकै दाबी गरिए पनि परीक्षण गर्ने परिधिमाथि उल्लेख गरिएसरह नै हुन्छ । यो प्रतिरोध क्षमता बढाउँछ भन्ने औषधिको दाबी पुष्टि गर्ने आधार पनि पेश गरिएको छैन । कि त यो औषधि सेवन गर्दा अन्य संक्रामक रोग लागेका व्यक्तिले स्वास्थ्यलाभ गरेको अनुभूति हुनुपर्यो । नत्र प्रयोगशालामा पुष्टि भएको हुनुपर्‍यो ।

भाइरसले संक्रमण गरेपश्चात हाम्रो शरीरका विभिन्न प्रतिरोधात्मक जिनहरू सक्रिय हुने गर्छन् । त्यस्ता जिनको सक्रियताको मापन गरेर पनि प्रतिरोधात्मक क्षमता बढेको मान्न सकिन्छ । नेपालमा मौज्दात प्रविधिकै प्रयोग गरेर पनि यो औषधिले प्रतिरोधात्मक क्षमता बढाउन सो जिनहरू सक्रिय बनाउँछ कि बनाउँदैन भनेर प्रारम्भिक जाँच गर्न सकिन्छ । स्मरण रहोस् यी जिन सक्रिय हुँदैमा संक्रमण निवारण हुन्छ भन्ने हुँदैन । संक्रमण निवारणका असंख्य पाटाहरू छन् । तैपनि सुरुवाती चरणमा यस्तो परीक्षण गरेर यी दाबी पुष्टि गर्ने आधार बनाउन सकिन्छ । हालसम्म यो स्तरको कुनै परीक्षण यो औषधिलाई लिएर गरिएको सुन्नमा आएको छैन् । अझ यो औषधि नै के हो भन्ने स्पष्ट छैन । तसर्थ यो दाबीमा पनि विश्वास गर्ने कुनै आधार छैन ।

अहिले नै विश्व स्वास्थ्य संगठनले यस्ता अप्रमाणित दाबीहरूलाई बढावा दिने कुनै प्रश्न नै उठ्दैन । कम्तीमा पनि केही वैज्ञानिक आधार भएका दाबीलाई विज्ञहरूले जाँचेपछि सम्भाव्यताका आधारमा मात्रै सो रकम उपलब्ध हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले चासो देखाएर यो औषधिलाई प्रोत्साहन गर्ने कुनै नीति लिएको प्रमाण कतै पनि भेटिएको छैन र गर्ने सम्भावना पनि छैन । हो, डा. दासले दाबी गरेकोभन्दा अझै एकस्तरमाथि यी औषधि संसारकै सबैभन्दा सर्वोत्तम कोरोनाविरुद्धको औषधि र प्रतिरोधात्मक क्षमता बढाउने अचुक उपाय बन्न सक्ने सम्भावना त अवश्य छ । तर, आजका दिनसम्म त्यसको एक अंश मात्रा पनि पुष्टि गर्ने कुनै वैज्ञानिक आधार छैन । औषधि अनुसन्धानको मेरो आफ्नो अनुभवअनुसार हुने सम्भावना पनि खासै देखिँदैन । आशा छ म गलत हुँ र यी औषधि वास्तवमै काम लाग्ने बनिदिऊन् । तबसम्म प्रमाणकै पर्खाइमा रहनेछु ।

भोलिका दिनमा पनि अप्रमाणित यस्ता दाबीहरू धेरै नै आउनेछन् । स्मरण रहोस्, कोरोना संक्रमण भएका औसतमा ५ प्रतिशत भन्दा थोरैको मात्रा मृत्यु हुने हुँदा केही सीमित संख्याले प्रयोग गर्दा यस्ता आधारहीन औषधिले काम गरेको जस्तो देखिन सक्छ । तर जनतालाई नझुक्काइ सही उपचारको विकास गर्न परीक्षण पनि सही रुपमा भएको हुन्छ । समाचार सम्प्रेषण गर्दा पनि न्यूनतम टिस्यु कल्चर वा आधिकारिक रुपमा क्लिनिकल परीक्षणबाट पुष्टि भएका आधार पेश नगर्ने दाबीहरूलाई तत्कालै रद्दीको टोकरीमा मिल्काउनुपर्छ । कसैले बाँसको रकेट बनाएर चन्द्रमा जान्छु, भन्छ भने सिद्धान्ततः सम्भव त देखिएला तर वास्तविकताको धरातलमा हेर्दा असम्भव नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
डा. सुदीप खड्का

भाइरोलोजिस्ट डा. खड्का अमेरिकाको मेयो क्लिनिकमा अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment