Comments Add Comment

रुकुम घटनाः आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं

‘हामीले दिलोज्यान दिएर अनुसन्धान गर्‍यौं– एसएसपी पोषराज पोखरेल

मल्ल थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

घटनालगत्तै नेपालगञ्जस्थित संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत एसएसपी पोषराज पोखरेललाई गृहमन्त्रालयले जेठ १३ गते अनुसन्धानका लागि रुकुम पठायो । १४ गतेदेखि नै एसएसपी पोखरेल प्रमुख अनुसन्धान अधिकृतका रुपमा पश्चिम रुकुममा खटिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय चासोको विषय बनेको उक्त घटनाको अनुसन्धान प्रहरीले कसरी गर्‍यो ? एसएसपी पोखरेलसँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले रुकुम पश्चिममै पुगेर गरेको कुराकानी :

घटना हुनुअघि केटा र केटीको सम्बन्ध कस्तो पाउनुभयो ?

केटा र केटीको बीचमा २०७५ फागुनदेखि औपचारिकरुपमा प्रेम सम्बन्ध रहेको बुझिन्छ । उनीहरु फेसबुक हुँदै फोन सम्पर्कमा पुगेका थिए ।

केटीले मोवाइलका चारवटासम्म सीम बोकेको देखिन्छ । पहिलेका सीम केटीले नष्ट गर्दै, फाल्दै गरेको पाइएको छ । जुन कुरा अभिभावकलाई पनि थाहा थिएन । केटीले पछिल्लो समयमा भाइको नम्बरबाट केटालाई सम्पर्क गरेको देखिन्छ । पछिल्लो समय अर्को नम्बरबाट पनि फोन गरेको देखिन्छ । त्यसको ल्याब टेस्ट भइरहेको छ ।

नवराज पनि केटीको घरतर्फ घटना भएको दिनसहित चारपटक पुगेको देखिन्छ । केटी पनि दुईपटक केटाको घर पुगी रात नै बिताएको खुलेको छ । एकपटक नवराजकी आन्टीकी छोरीको बर्थ डेमा र अर्को पटक पनि गएको पाइएको छ ।

केटा र केटीको प्रेम सम्बन्धबारे घर वरिपरिका मानिसलाई पनि थाहा भएको देखिन्छ । केटीले चौरजहारीमा कोठा लिएर पढ्न बसेको पनि खुल्छ । हामीले केटीलाई हिरासतमा नराखी केटीकी आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गरेका छौँ ।

गाउँमा यति ठूलो हताहतीको घटना कसरी भयो ?

नवराज विकले १० जेठमा १९ जना साथीहरु लिएर केटीलाई बिहे गर्न हिँडेको अवस्था हो । एकजना बाटैबाट फर्किएपछि १८ जना केटीको गाउँ सोती पुगेछन् ।

केटीको घरनेर पुगेपछि आमाले जातिवाचक गाली गरेपछि उनीहरु फर्केर मध्यपहाडी लोकमार्गमा बसे । त्यहीबेला तीनतिरबाट गाउँलेहरु आएर घेरे । नवराजको समूह केटीको घरमा पुगेर फर्किएको ४५ मिनेटको अवधिमा गाउँले तल आएर लखेट्न भ्याएको देखिन्छ ।

मध्यपहाडि लोकमार्गको दुबैतिरबाट गाउँलेले लखेटेपछि उनीहरु भेरीतर्फको मकैबारीमा झरेका छन् । त्यसपछि उनीहरु छिन्न–भिन्न हुन्छन् । कोही भेरीको डिलसम्म पुग्छन् । कोहीले नदी पार गरेको देखिन्छ । नदीको किनारै किनार पनि लखेटेको देखिन्छ

घटनामा के–कस्ता हतियार प्रयोग भएको देखिन्छ ?

लासमा चोट देखिन्छ । लखेट्दा माथिबाट ढुंगाले हानिएको छ । हामीले घटनास्थलमा भाँचिएका लाठीहरु भेटाएका छौँ । गाउँलेका हँसिया प्रयोग भएका छन् ।

घटनामा कति मानिसहरु संलग्न थिए ?

सोती निकै ठूलो क्षेत्र छ । तर, सोतीका प्रायः सबै गाउँबाट घटनामा संलग्न भएको देखिन्छ । घटनामा सोतीका चार गाउँको प्रत्यक्ष संलग्नता देखिन्छ । कोही मान्छे हेर्न पनि आएका छन् । सोतीको जिउला भन्ने स्थानबाट घटना सुरु भएको छ । त्यस चार गाउँमा ६० भन्दा बढी घर छन् । नदी तरेपछि पनि सोतीबाट फुटबल खेल्नका लागि भेरी पारि गएका ११ जना केटाहरुले पनि आक्रमण गरेको देखिन्छ ।

यो घटनामा स्थानीय जनप्रतिनिधि र प्रहरीको भूमिका कस्तो पाइयो ?

वडाअध्यक्षको प्रत्यक्ष संलग्नता खुलेको छ । नवराजको समूहलाई केटीकी आमाले गाली गरेपछि उनले आफ्ना श्रीमानलाई फोन गरेको देखिन्छ । श्रीमानले वडाअध्यक्षलाई फोन गरेका रहेछन् । र, वडाअध्यक्षले वरिपरिका सबैलाई बोलाएको देखिन्छ । हामीले कल ट्रेसिङ पनि गरेका छौँ । यसमा केटीका बा, वडाअध्यक्षदेखि पक्राउ परेका थुप्रै मानिसको ‘कनेक्सन’ देखिन्छ ।

घटना केटापक्षले लकडाउन उल्लङ्घन गरेका कारणले भएको हो भन्ने तर्क पनि सुनियो, अनुसन्धानले के देखायो ?

कतिपय अवस्थामा घटना एकातिर र कुरा अर्कोतर्फ गैरहेको भेटिन्छ । केटाहरु जाजरकोटबाट सोती गाउँमा आउँदा लकडाउन उल्लङ्घन गरे भने वडाअध्यक्षको समूहले पनि लकडाउन उल्लङ्घन नै गरेको देखिन्छ ।

घटनाको कारणचाहिँ अन्तरजातीय विवाह र त्यो विवाहलाई केटीपक्षले स्वीकार गर्न नसक्दाको कारणले नै घटेको हो । तर, हामीले यसमा भन्दा पनि घटना कसरी घटाइयो भन्नेमा अनुसन्धान गरिरहेका छौँ । विभेदको विषयमा विज्ञ टोलीले अनुसन्धान गर्छ ।

प्रहरी समयमै घटनास्थलमा नपुगेको, रमिते बनेको र दोषीलाई उन्मुक्ति दिएको जस्ता गुनासा पनि सुनिएका छन् । घटनास्थलमा जाने प्रहरीहरु पनि अनुसन्धानमा तानिएका छन् कि ?

शुरुमा जाजरकोटका चारजना प्रहरीहरु घटनास्थलमा पुगेका छन् । पारिबाट सिठी पनि बजाएको छ । समयमा प्रहरी नआएको भए हामी सबैलाई मार्थे भनेर घाइतेहरुले नै वयान दिएका छन् । शुरुमा पीडित, पीडक र प्रहरीको बीचमा ‘कन्ट्याक ग्याप’ देखिन्छ । प्रहरीले यस घटनाबारे थाहा पाउन नै समय लागेको छ । प्रहरी कार्यालयमा पनि कम प्रहरी थिए । कतिपय प्रहरीहरु क्वारेन्टिनमा पनि खट्नुपर्ने अवस्था थियो ।

नवराजको समूह स्वयंलाई पनि हामीमाथि आक्रमण हुँदैछ र मारिँदै छौँ भन्ने अलिकति पनि गुञ्जायस नभएको देखिन्छ । चौरजहारी प्रहरी कार्यालयका इन्स्पेक्टरको टोली २० किलोमिटरको दुरी पार गरेर त्यहाँ गएको छ । प्रहरीले के बुझ्यो, कतिबेला खबर भयो ? हामी यसको पनि सुक्ष्म अनुसन्धान गरिहेका छौँ ।

कुनै शवको मुख कुच्चिको छ, कसैको कान छैन, कसैको टाउकोमा चोट लागेको छ, कसैको घाँटी कसिएको त कसैको अण्डकोषसम्म सुन्निएको छ । यो सब हेर्दा हत्या गरेर भेरीमा बगाइदिएको हो कि ? अनुसन्धानले के देखाएको छ ?

यसको जानकारी हामीले भन्दा पनि पोस्टमार्टम रिपोर्टले भन्ने हो । हो, मृतकको शरीरमा चोट देखिन्छ । हामीले मुचुल्कामा फोटो र भिडियो पनि संकलन गरेका छौँ । नवराज, सञ्जु, लोकेन्द्रको अगाडि भागमा चोट छ । कतिको अगाडि र पछाडि दुवैतर्फ चोट लागेको छ । पाँच÷छ दिनपछि लास भेट्दा गलेको अवस्था पनि छ । कतिपय लासको लुगा पनि खोल्न सकेनौँ । हामीले लुगा पनि अनुसन्धानका लागि पठाएका छौँ ।

कर्तव्य ज्यानमा जाहेरी आएकाले हामी त्यसैको सेरोफेरोमा अनुसन्धान गर्ने हो । मान्छे कसरी मारियो, घटना योजनावद्ध थियो वा थिएन भन्ने कुरा चाहिँ अहिल्यै भन्ने अवस्थामा छैनौँ ।

यस घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो छ । अनुसन्धान प्रभावित होला कि भन्ने आशंका पनि छ । तपाईंहरुले कसरी अनुसन्धान गर्नुभयो ?

प्रवाहित हुने भनेको पोलिटिकल र पीडितबाट प्रभावित हुने भन्ने हो । मलाई कसैले पनि फोन गर्नुभएको छैन । मेरो कल डिटेल हरे पनि हुन्छ । मैले रिपोर्टिङ गर्ने अफिसर बाहेक कसैको फोन आएको छैन । कल डिटेल हेर्दा पनि हुन्छ ।

आरोप स्वभाविक हो । तर, हामीले दिलोज्यान दिएर अनुसन्धान गरेका छौं ।

आइजी साहेबसम्मले विशेष चासो देखाएर अनुसन्धानका लागि मलाई यहाँ पठाउनुभएको हो । सीआइबीको टोली पनि बोलायौँ । पाएका सबै प्रमाणहरुलाई ल्यावमा टेस्ट गर्न पठायौँ । र, अनुसन्धानबाट सही निश्कर्ष निस्कन्छ भन्नेमा हामी ढुक्क सुरुदेखि नै ढुक्क थियौं ।

ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय भेदभाव र छुवाछुत गरी तीनवटा कसुरमा ३४ जना विरुद्ध मुद्दा दायर भएको छ । तेस्रो पटक म्याद थपेर तपाईहरुले अनुसन्धान गर्नुभयो । समग्रमा अनुसन्धान कस्तो रह्यो ?

हामीले टेस्ट गर्नुपर्ने सबै कुराहरु टेस्ट गरेका छौँ । सीआइबीको टोली पनि आएको थियो । मोवाइल, फेसबुकदेखि, भिसेरा टेस्टसम्म पनि हेरेका छौँ । साइबर ब्युरोसँग पनि समन्वय गरेर हामीले अनुसन्धान गर्यौँ । हाम्रो अनुसन्धान अनुसार ६ जनालाई कुटेर म¥यो भनेपछि फालिएको अवस्था छ ।

हामीले आफ्नो तर्फबाट अनुसन्धानमा सकेसम्म कुनै पनि कमजोरी नराखी सरकारी वकिल कार्यालयमा बुझाएका छौँ । २८ जनालाई पक्राउ गरेका छौँ भने ६ जना अहिले पनि फरार छन् । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँचजनासहित ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीनवटा कसुरमा अभियोग भएको छ । जाजरकोटका एकजनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment