+

उच्च रक्तचापमा भोजन व्यवस्थापन

२०७७ असार  १६ गते १२:०९ २०७७ असार १६ गते १२:०९
Shares
उच्च रक्तचापमा भोजन व्यवस्थापन

उच्च रक्तचाप व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दास (डिटरी एप्रोचेज टु स्टप हाइपरटेन्सन) खानपान विधि भनिन्छ । यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचारका एवं मुटु रोगको जोखिम कम गर्नका लागि प्रयोग गर्ने गरिन्छ । आज युरोप र अमेरिकाजस्ता विकसित  देशहरूमा उच्च रक्तचापको उपचारका लागि अनिवार्य रूपमा ‘दास’ खानपान खान सल्लाह दिइन्छ ।

के हो ‘दास’ खानपान ?

‘दास’ खानपान पद्धति पाश्चात्य समाजका लागि नौंलो भए पनि दक्षिण एसियाली मुलुकहरूका लागि यो नौंलो विषय होइन । युरोप एवं अमेरिकामा उच्च रक्तचाप महामारीको रूपमा फैलिन थालेपश्चात त्यहाँका वैज्ञानिकहरूले यो रोगको प्रकोप कम भएको समुदायको अध्ययन गर्दा ती समुदायहरूमा विशेष प्रकारको खानपान अभ्यास भएको पाइयो । पछि अध्ययन गर्दा यसरी पूरै समुदायकै रक्तचाप कम हुनुमा उहाँहरूको खानपान र जीवनशैलीलाई जिम्मेवार ठह¥याइयो । वैज्ञानिक अध्ययनपश्चात सोही खानपान पद्धतिलाई परिष्कृत एवं वैज्ञानिक बनाएर दास खानपान नामाकरण गरियो । दास खानपान पद्धति मूलतः शाकाहारी खानपान पद्धति हो । यस पद्धतिअनुसार प्रचुर मात्रामा सागसब्जी र फलफूलहरू खाने, नुन, चिनी एवं चिल्लोको प्रयोग अत्यन्त कम गर्ने, मदिरा सेवन नगर्ने र मांशाहार नगरी नहुनेहरूका लागि रातोमासु, फलमासु वा बोसो भएको ठूला जनावरका मासु नखाएर दुब्ला पातला जनावरको (रातोमासु र बोसो भएको) मासु छोडेर अन्य अङ्गको मासु खान वा माछा खान सल्लाह दिइन्छ ।

दास खानपान किन ?

दास खानपानले उच्च रक्तचाप घटाउनुका साथै अन्य तौल कम गर्ने, क्यान्सरको खतरालाई न्यूनीकरण गर्ने, मुटुरोगको जोखिम कम गर्ने, कोलेस्ट्रोल कम गर्नेलगाएत पाचन र उत्सर्जन प्रणालीलाई समेत फाइदा पु¥याउने तथ्यहरू उजागर भएका छन् ।

दास खानपानका फाइदाहरू :

१. उच्च रक्तचाप कम गर्ने : दास खानपानको अभ्यासले रक्तचाप बढेकाहरूको रक्तचाप घटाउँछ भने नबढेकाहरूको रक्तचाप बढ्न दिँदैन । रक्तचापको अन्य जोखिम कारक तत्वहरू जस्तै मोटोपन, नुनको सेवन, तनाव आदिलाई नहटाउँदा पनि दास खानपान एक्लैले रक्तचाप कम गर्ने गर्दछ । साथै, दास खानपानका साथसाथै नुनलाई पनि कम गर्दा रक्तचाप अझै कम हुन्छ ।

२. तौल कम गर्न सहयोग गर्दछ : दास खानपान तौल घटाउने मनसायले तैयार गरिएको खानपान पद्धति नभए पनि यो खाद्य अभ्यासले तौल पनि घट्दछ । उच्च रक्तचापको एउटा कारक तत्व मोटोपन पनि हो । उच्च रक्तचाप भएकाहरूलाई मोटोपन भए मोटोपन कम गर्न सल्लाह दिइन्छ । उच्च रक्तचाप कम गर्ने क्रममा दास खानपानमा रहे तौल पनि कम हुन्छ । यसो हुनुमा दास खानपानको प्रकृति कम नुन, चिनी, मैदा र चिल्लो युक्त हुनु हो ।

डा. हेमराज कोइराला

३. मुटुरोगको जोखिम कम गर्ने : दास खानपानले मुटुरोगको जोखिमलाई २० प्रतिशतसम्म कम गर्छ ।

४. क्यान्सरको जोखिम घटाउने : दास खानपानमाथि भएका अनुसन्धान र समीक्षाहरूले यो खानपान पद्धतिलाई क्यान्सर प्रतिरोधी पद्धतिको रूपमा चित्रण गरेको छ ।

५. मस्तिष्कघातको जोखिम कम गर्ने : दास खानपान गर्नेहरूलाई मस्तिष्कघातको जोखिम पनि २९ प्रतिशतले घटेर जाने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाएका छन् ।

६. मेटाबोलिक सिन्ड्रोमको जोखिम कम गर्ने : यी पाँच रोगहरू उच्च रक्तचाप, उच्च रक्त ट्राइग्लिसराइड, मधुमेह, बढेको भुँडी र निम्न रक्त एच.डी.एल कोलेस्ट्रोलमध्ये तीन रोगहरू भएको अवस्थालाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । दास खानपानको अभ्यासले मेटाबोलिक सिन्ड्रोम को जोखिम ८१ प्रतिशत कम भएर जान्छ ।

७. मधुमेहको जोखिमलाई कम गर्दछ : टाइप–२ मधुमेहको जोखिमलाई पनि दास खानपानको अभ्यासले राम्रो गर्छ । यसको अतिरिक्त दास खानपानको अभ्यासले इन्सुलिन प्रतिरोधकतालाई कम गर्ने र संवेदनशीलतालाई बढाउने गर्छ ।

के के खाने ? कति खाने ?

१. सग्लो अनाजका परिकार :  तीनदेखि चार सभिङ्ग प्रतिदिन : सग्लो अनाजमा सग्लो गहुँको पाउरोटी, रातो चामलको खिचडी दलिया, किन्वा, ओट कर्नलेक, भुटेको मकै भटमास, हरियो मकै, आदिको खाजा लिन सकिन्छ ।

एक सभिङ्गको उदाहरणः

– एउटा सग्लो गहुँको पाउरोटी ।

– मकै भटमास, भुटेको गहुँ, भुटेको चना वा मटर आदि ३० ग्राम ।

– आदा कप (९५ ग्राम) रातो चामलको भात वा कागुनोको भात ।

२. सागपात एवं तरकारी : चारदेखि पाँच सभिङ्ग प्रतिदिन ः दास खानपानमा ज्यादाभन्दा ज्यादा र सबै प्रकारका रङ्गीचङ्गी सागपात एवं तरकारीहरू खान सिफारिस गरिन्छ ।

एक सभिङ्ग साइजको उदाहरण :

– एक कप वा ३० ग्राम पालूङ्गो र केलेको साग ।

– आधा कप (४५ ग्राम) काँचै खान मिल्ने भए काँचो र पकाएर खान पर्ने भए पाकेको ब्रोकाउली, गाजर, इस्कुस, टमटर, चुकन्दर ।

३. फलफूल : चारदेखि पाँच सभिङ्ग प्रतिदिन ः फलफूलको सेवनलाई दास खानपानमा खुब प्राथमिकता दिइन्छ । फलफूलका हिसाबले अलग-अलग फलफूलका अलग-अलग सभिङ्ग साइजहरू छन् ।

एक सभिङ्ग साइजको उदाहरणः

– एउटा मध्यम आकारको स्याउ

– चौथाइ कप (५० ग्राम) सुख्खा खुर्पानी ।

– आधाकप (३० ग्राम) ऐँसेलु, आलुबखडा, स्ट्रोबरी कालो अङ्गुरजस्ता फलफूल ।

४. दूध एवं दुग्धपदार्थ : दुईदेखि तीन सभिङ्ग प्रतिदिनः  दास खानपानमा खाइने दूध एवं दुग्धपदार्थमा चिल्लोको मात्रा हुनुहुँदैन वा अत्यन्तै कम हुन्छ । यसरी चिल्लो काडिएको दूधलाई स्किम्ड मिल्क भनिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

– एक कप (२४० मि.लि.) कम चिल्लो भएको दूध ।

– दही खाँदा एक कप (२८५ मि.लि.) कम चिल्लो भएको  दही ।

– पनिर खाँदा ४५ ग्राम पनिर

५. सुख्खा फलफूल : सुख्खा फलफूलमा धेरै चिल्लो हुनेहुँदा जथाभावी खानु हुँदैन । यस्तो फलफूल चारदेखि पाँच सभिङ्ग भन्दा ज्यादा नखाएकै राम्रो । सुख्खा फलफूलहरूमा बदाम, मुङ्फली, कटुस, ओखर, सूर्यमुखीको बियाँ, आलसको दाना, राजमा, मुसुरो, मटर आदि लिन सकिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

– एक तिहाइ कप (५० ग्राम) सुख्खा फलफूल ।

-२ चम्चा (३० ग्राम) पिनट बटर ।

-१ चम्चा (१५ ग्राम) भूटेको आलस ।

-आधा कप (४० ग्राम) पकाएको गेडागुडी

तेल, घिउ र चिल्लो पदार्थ : उच्च रक्तचापका रोगीलाई धेरै चिल्लो खाने सल्लाह दिइँदैन । खानैपर्दा अन्य चिल्लो छोडेर वनस्पति तेल खानुपर्छ । चिल्लोको नाममा जनावरहरूबाट प्राप्त चिल्लो पदार्थ खानुहुँदैन । जनावरबाट प्राप्त चिल्लोमा कोलेस्ट्रोल पाइन्छ । वनस्पतिहरूबाट प्राप्त चिल्लोमा कोलेस्ट्रोल पाइँदैन । तोरी, सूर्यमुखी, भटमासजस्ता वनस्पतीय तेल अन्य तेलहरूभन्दा राम्रा छन् ।

एक सभिङ्ग साइजको उदाहरण :

– एक चिया चम्चा तोरीको तेल

– एक चिया चम्चा नौनी

– २ चम्चा (३० मि.ली.) सलाद ड्रेसिङ्ग

नमुना खाद्य सूची 

एउटा वयस्क व्यक्तिको लागि लगभग २००० किलो क्यालोरी ऊर्जाको आवश्यकता पर्दछ । यसै मानबिन्दुलाई आधार बनाएर यसरी निम्नानुसारको दास खाद्य सूची बनाउन सकिन्छ । तर तौल कम गर्न चाहनेहरूले यति धेरै खानुहँुदैन ।

१. बिहान व्यायाम पश्चातः

– एक चिया चम्चा भुटेको आलस ।

– एक कप (२३६ मि.लि. पानीमा १५ मि.लि. मह र ५ मि.लि. कागतीको रस) मह कागती पानी ।

– चारवटा भिजाएको बदाम ।

– चारवटा भिजाएको ओखर ।

२. बिहानको खाजाः

– एक कप (९० ग्राम) ओट मिलसँग एक कप (२४० मि.ली.) छाली काडिएको दूध मिसाएर पिउने ।

– आधा कप (७५ ग्राम) ऐसेलु, स्याउ वा स्ट्रोबेरीर आधा कप (१२० मि.लि.) ताजा सुन्तला वा मौसमको रस ।

३. अल्पाहारः एउटा सामान्य आकारको स्याउ र एक कप (२८५ ग्राम) छाली काडिएको दही ।

४. बिहानको खानाः

– दुईवटा चोकर युक्त आटाको रोटी वा एक कप कागुनोको भात ।

– डेढ कप भेडे खुर्सानी वा भिण्डी वा लौका वा परवर वा घिरौंला आदिको सब्जी

– एक कप (९० ग्राम) दाल वा ९० ग्राम माछा करी ।

– डेढ  कप (११५ ग्राम) हरियो सलाद ।

– एक कप (२३६ मि.लि.) छाली काडिएको मोही

५. अल्पाहार: एउटा मध्यम आकारको केरा ।

६ रसाहारः पौने कप (२३६ मि.लि.) फलको रस ।

रात्रि भोजनः

– दुईवटा चोकरयुक्त आटाको रोटी वा एउटा फापर र कोदाको मिश्रित रोटी ।

– रोटी नखाँदा आधा कप (१०० ग्राम) कागुनोको रातो चामलको भात

– एक कप (१५० ग्राम) ब्रोकाउली, काउली, बन्दा, गाजर, भेडे खुर्सानी आदिको तेलरहित वा हल्का तेलयुक्त तरकारी ।

– आधा कप (८० ग्राम) फलफूलको सलाद ।

राति सुत्नुभन्दा पहिले :एक कप (२३६ मि.ग्रा.) दूध ।

खानपानलाई उच्च रक्तचाप प्रतिरोधी बनाउने उपायहरू :

– खानपानमा धेरैभन्दा धेरैफलफूल एवं तरकारीलाई समावेश गरौं  ।

– प्रशोधित खानेकुरा नखाऔं ।

– सग्ला अनाजका परिकारलाई समावेश गरौं ।

– दूध एवं दुग्धपदार्थ खाँदा चिल्लो निकालिएको वा कम चिल्लो भएको  खाद्य पदार्थ छानौं ।

– खाना पकाउँदा सकभर तेलरहित पाक विधि सिकौं वा कम वनस्पति चिल्लोयुक्त खानेकुरा रोजौं ।

– घिउ, तेल, नौंनी, छाली, वटर र बोसोजस्ता जंगम श्रोतबाट पाइने चिल्लो पदार्थहरूको सेवन गर्नु हुँदैन  ।

– उच्च रक्तचाप भएकाहरूले पूर्ण शाकाहारी हुनु जरुरी छ । माछामासुमा पाइने बोसोले कोलेस्ट्रोल बढाउन मद्धत गर्छ । माछामासु छाड्न नसक्नेले ठूला जनावरका मासु छाडेर माछा वा चराचुरूङ्गीको मासु खाने गरौं । मासु पकाउँदा पनि अत्यन्त कम वनस्पति तेल हालेर पकाउने गरौं ।

– उच्च रक्तचाप भएकाहरूले चाउचाउ, बिस्कुट, नुडल्स, कार्बाेनिक पेय र अल्कोहलिक पेयजस्ता खाली क्यालोरी दिने पदार्थ उच्च रक्तचापको लागि खानै हुँदैन ।

– पेटभरि ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु सञ्चरणका लागि खाली छोडिदिनुपर्छ ।

– खानामा नुनको मात्रा दुई–तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोबाइकार्बोनाइड र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग रक्तचापमैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाउँका अतिरिक्त लवण राखिएका खाद्यपदार्थले उच्च रक्तचाप रोगको जोखिम बढाउँछ ।

– खानामा रेसा र चोकर युक्त खाद्यान्नहरूको समायोजन हुन जरुरी छ । सलाद, हरिया सागसब्जी, चोकरयुक्त पिठो, रातो चामल, सग्ला अन्नहरूमा रेसाको मात्रा ज्यादा हुन्छ ।

लेखक भरतपुर–१ वागिश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्  

उच्च रक्तचाप
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय