+
+

काठमाडौंमा खोइ सामुदायिक आइसोलेसन सेन्टर ?

उपत्यकाका स्थानीय तहको अकर्मण्यता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १२:५०

२९ साउन, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा सोमबार कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामी आइसोलेसनमा भर्ना भए । तर उनलाई लिएर आएकी श्रीमतीलाई के गर्ने भन्ने प्रश्न उठ्यो ।

न उनी काठमाडौंमा आफन्त कहाँ जान सक्ने अवस्था रह्यो, न हस्पिटलमा श्रीमानसँग बस्न । हस्पिटलका संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीका अनुसार उनलाई कतै क्वारेन्टिनमा पठाउन सकिन्छ कि भनेर सोधीखोजी भयो ।

तर, काठमाडौंमा नेपाली सेनाले चलाएका खरिपाटी र ईचंगुबाहेक कुनै क्वारेन्टिन वा आइसोलेसन भएको भए पो ! सेनाले सञ्चालन गरेको क्वारेन्टिनमा विदेशबाट उद्दार गरेरहरुलाई मात्र राख्न गरिएको छ । त्यसैले श्रीमानलाई अस्पताल लिएर आएकी महिलाले जुक्ति निकालिन्, आफू पनि सःशुल्क कोभिड–१९ परीक्षण गराउने गरी हस्पिटलमै क्याबिन रुम लिएर बसिन् ।

यो एउटा प्रतिनिधि घटना मात्र हो, काठमाडौं उपत्यकामा सामुदायिक क्वारेन्टिन नहुँदा समस्या भोग्नेहरु अनगिन्ती छन् । दूरदराजमा रहेका स्थानीय तहले क्वारेन्टिन बनाए, विदेशबाट फर्किएकाहरुलाई त्यहाँ राखेर जस्तो सकिन्छ, खुवाए ।

तर काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहले क्वारेन्टिन बनाएका छैनन् । सरकारले पटकपटक भन्दा पनि उपत्यकाका स्थानीय तहले अटरे गरेका छन् । उनीहरु बरु उपत्यकाका प्रवेश गर्ने नाका सिल गर्न लबिङ गर्दै हिँडेका छन् ।

तर संघीय राजधानीसमेत भएकाले उपत्यकालाई पूर्ण रुपमा नाका सिल गर्न सम्भव नभएको स्थानीय प्रशासनका अधिकारीहरु बताउँछन् । बरु अत्यावश्यक कामले उपत्यका बाहिरबाट आउनेहरुलाई ५–७ दिन क्वारेन्टिन गर्ने र परीक्षण गरेर मात्र समुदायमा जान दिन उपयुक्त हुने विज्ञहरु बताउँछन् ।

खोइ सामुदायिक आइसोलेसन ?

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । बुधबार मात्र १३९ जनामा संक्रमण पुष्टि भएको छ । तर कोरोना संक्रमितहरुलाई राख्न सरकारले तोकेका उपत्यकाका कोभिड विशेष अस्पतालहरु संक्रमितले भरिसकेका छन् ।

संक्रमित बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइलेसनमा राख्ने व्यवस्था पनि गरेको छ । मापदण्डअनुसार होम आइसोलेसनमा बस्न जहाँ स्नानघर र शौचालय भएको छुट्टै कोठा उपयुक्त हुन्छ । यदि स्नानघर र शौचालय सामूहिक प्रयोग गर्ने हो भने पटकपटक डिसइन्फेसक्न गर्नुपर्छ । दीर्घरोगी, जेष्ठ नागरिक, गर्भवतीहरुबाट टाढा रहनुपर्छ ।

तर सरकारले तोकेका यस्ता मापदण्ड पूरा गरेर होम आइलोसेनमा बस्न सक्नेहरु निकै कम छन् । किनकी उपत्यकामा एउटा/दुईवटा कोठा वा फ्याट भाडामा लिएर बस्नेहरुको संख्या धेरै छ, जहाँ परिवारका अरु सदस्यसँग अलग भएर बस्न गाह्रो छ ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार अस्पतालमा भर्ना गर्नु नपर्ने, तर होम आइसोलेसनमा बस्न पनि नसक्नेहरुका लागि सामुदायिक आइसोलेसन उपयुक्त विकल्प हुनसक्छ ।

यो अभ्यास पनि भइरहेको छ । कोरोना संक्रमणको संख्या बढेर अस्पतालमा राख्ने ठाउँ नभएपछि धेरै स्थानीय तहले बनाएको क्वारेन्टिनस्थललाई नै आइसोलेसन बनाइएको छ । काठमाडौं उपत्यकामा पनि यो अभ्यास गर्न सम्भव छ ।

तर स्थानीय तहहरुले क्वारेन्टिन स्थल नै नबनाएकाले समस्या उत्पन्न भएको छ । देशकै सबैभन्दा धनी स्थानीय तहका रुपमा रहेको काठमाडौं महानगरपालिकाको आफ्नो क्वारेन्टिन छैन । ललितपुर महानगरसहित उपत्याकाभित्रका अरु नगरपालिकाले पनि क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएका छैनन् ।

र, अब बनाउने योजना पनि छैन । उनीहरु केन्द्र सरकारलाई देखाएर यो जिम्मेवारीबाट पन्छिरहेका छन् । सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले व्यवस्थित क्वारेन्टिन तथा आइसोलेसन सञ्चालन गर्न संघ सरकारसँग माग गरेको छ ।

फोरमका अध्यक्ष एवं काठमाडौंका मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘हामीसँग आफ्ना अस्पताल छैन, स्वास्यकर्मी पनि छैनन्, स्रोत र स्थानको पनि समस्या छ । त्यसैले उपयुक्त स्थानमा संघ सरकारले नै क्वारेन्टिन बनाओस् भनेका हौं ।’

‘अकर्मण्यता र नश्लभेदी सोच’

क्वारिन्टन बनाउन अझै केन्द्र सरकारसँग माग गरिरहेका काठमाडौं उपत्यकाका स्थानीय जनप्रतिनिधि देख्दा संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीलाई अचम्म लाग्छ । अझ उपत्यका प्रवेश गर्ने नाका सिल गर्न माग गर्ने उनीहरुको निर्णयलाई ‘अकर्मण्यता, लाचारीपन, नश्लभेदी र क्षेत्रभेदी मानसिकता’को संज्ञा दिन्छन् ।

शहर आउने नाका सिल गरेर समस्याको समाधान हुन्छ भनेर सोच्नु मुर्खता हुने उनले बताए । ‘सोमबार मात्रै मैले तीन जना ट्राभल हिस्ट्री नभएका संक्रमितलाई अस्पतालमा भर्ना गराएँ’ उनले भने, ‘अब काठमाडौं उपत्यकामा आउनेहरुलाई रोकेर महामारी नियन्त्रण हुँदैन, अब यहाँभित्रको व्यवस्थापन मूल मुद्दा हो ।’

उनले अघि भने, ‘देशको राजधानी हो, यहाँ जनघनत्व धेरै छ, आर्थिक गतिविधि ठूलो छ, त्यसबाट प्राप्त लाभ यहाँका स्थानीय तहले पनि लिएका छन् । सधैं लाभ दिइरहेको जनघनत्वकै कारण आएको दायित्व पूरा गर्नेुका साटो नाका सिल गर्न माग गर्नु अकर्मण्यता शिवाय केही होइन ।’

नाका सिल गर्दा चोर बाटो प्रयोग हुने र त्यसले अर्को जोखिम थप्ने भन्दै उनले शहरमा महामारी फैलिन नदिन गरिने व्यवस्थापन नै महत्वपूर्ण हुने बताए ।

उपचार, कागजी प्रक्रिया मिलान लगायतका बाध्यात्मक अवस्थामा काठमाडौं आएकाहरुलाई क्वारेन्टिनमा गर्नुपर्ने भन्दै सुवेदी भन्छन्, ‘आवतजावत रोक्ने होइन । जोखिमयुक्त क्षेत्रबाट आएकालाई क्वारेन्टिन, टेष्ट, ट्रेसिङ र आइसोलेट गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?