Comments Add Comment

‘धर्म भकारी’ बाट सिकेर सीताले जन्माएको खाद्य बैंक

'हुनेले दिएर जाऔँ, नहुनेले लिएर..'

१० भदौ, काठमाडौं । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर..’ सेतो कागजमा यी शब्दहरू लेखेर सटरमा टाँसिएको र तल खाद्यान्नका पोका राखिएको देखिने तस्वीर सामाजिक सञ्जालमा भाइरल छ । मोरङको केराबारीको यो फोटो भाइरल हुँदा गजुरी गाउँपालिका धादिङकी उपाध्यक्ष सीता ढुंगानालाई भने फोन उठाएरै फुर्सद छैन ।

‘सकारात्मक प्रयासको फैलावट देशव्यापी हुँदैछ, बधाई र धन्यवादका फोन आएका छन्,’ सीताले सुनाइन् ।

रोचक के भने सामाजिक सञ्जालमा उक्त फोटो फैलिएकोबारे उनी अनभिज्ञ थिइन् । अनलाइनखबरको जिज्ञासापछि मात्रै आफूले थाहा पाएको उनले बताइन् । आफ्नो कामको सह्राना गर्ने सबैप्रति उनले आभार व्यक्त गरिन् ।

सरकारले चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि सर्वसाधारणहरू सयौं किलोमिटर पैदल हिँड्दै घरतर्फ लागे । काठमाडौंबाट गृहजिल्ला र्फकनेहरूको लामो ताँती, थकित र भोको अनुहारहरूको दृश्य सञ्चार माध्यममा सर्वत्र छायो । श्रमिक र विपन्नलाई राज्यले राहत दिनुपर्ने आवाज सामाजिक सञ्जालमा उर्लियो ।

आँखैअगाडि घर फिर्नेको कष्ट देखेपछि गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगाना चिन्तामा परिन् । ‘राजमार्गलाई छोएको गाउँपालिकामा बिहान-बेलुकाको छाक टार्नकै लागि जीविकोपार्जन गर्ने धेरै छन्, अर्कोतर्फ सहरबाट रोजगारी गुमाएर धेरै र्फकने छन्,’ उनी भन्छिन्, ‘उनीहरूको चिन्ताले सताउन थाल्यो ।’

लकडाउनले आर्थिक र मानवीय गतिविधि रोक्दा चुलो नबल्ने चिन्ताबीच उनको मनमा नयाँ विचार फुर्‍यो- निजी र संस्थागत सहयोगको वातावरण सिर्जना गर्ने, पैसा माग्दा पारदर्शिताको प्रश्न उठ्ने । त्यसैले खाद्यान्न माग्ने सोच भयो । गाउँपालिकाबाटै यसलाई परिचालन गरेर संस्थागत ढंगबाट अघि बढाउने योजनासहित अभियानको नाम जुर्‍यो ‘खाद्यान्न बैंक ।’

धर्म भकारीको आधुनिक रुप

‘वित्तीय परिचालनमा महिला नेतृत्व’ विषयमा विद्यावारिधि गर्दैछिन्, उपाध्यक्ष सीता । आफूले गाउँपालिकामा अघि सारेको अवधारणा र विगतको अभ्यासबारे अध्ययन गर्दा नेपालमा पुरानो चल्तीको ‘धर्म भकारी’ फेला पारिन् ।

गाउँ पञ्चायतको केन्द्रमा पर्ने गाउँमा ठूलो धर्म भकारी हुने गथ्र्यो । त्यहाँ हुनेले मुठ्ठी दान र नहुनेले लैजान पाउने व्यवस्था थियो । लैजानेले पछि फिर्ता गर्नुपर्ने शर्तको खाद्य संकलन केन्द्रको अभ्यास उनले पाका मान्छेबाट थाहा पाइन् ।

बाढी पहिरो, आगलागी, भोकमरी तथा खडेरीको समयमा अतिउपयोगी यस्तो कार्य बहुदलपछि हराएको थियो । धर्म भकारी सञ्चालन तथा रेखदेखमा गाउँ पञ्चायतले कर्मचारी खटाउने गरेको, धर्म भकारीबाट अन्न लिएर फिर्ता नगर्नेलाई पाप लाग्ने भन्ने पुरानो विश्वास भएको अध्ययनमा भेटिन् । वर्षौंपछि महामारीमा जुध्दै गरेको नयाँ पिँढीका लागि पनि परिस्कृत खाद्य संकलन र वितरण केन्द्र जरुरी भएको निष्कर्षमा उनी पुगिन् ।

गाउँपालिकाले नेतृत्व सुम्पियो

भावी योजना बनाउन चैत २० गते गजुरी गाउँपालिकाको गाउँकार्यपालिका बैठक बस्यो । बैठकमा सीताले आफ्नो खाद्य बैङ्कको अवधारणा सुनाइन् । कार्यपालिका बैठकले सीताको अवधारणलाई सर्वसम्मत स्वीकार गर्दै उनकै नेतृत्वमा ९ सदस्यीय खाद्य बैङ्क सञ्चालन समिति गठन गर्‍यो ।

सीता अध्यक्ष र चार जना वडाध्यक्ष समितिमा सदस्य बसे । गाउँपालिकाका प्रमुख राजनीतिक दलका एक-एकजना प्रतिनिधि गरी तीनजना सदस्य समितिमा थपिए । गाउँपालिकाले नै एकजना कर्मचारी कार्यदलको सदस्य सचिव तोकिदियो ।

यस्तै, गाउँपालिका अध्यक्ष, गाउँपालिका अन्र्तगतको खाद्य तथा पोषण सुरक्षा समितिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र खाद्य बैङ्क समितिमा नबसेका राजनीतिक दलका प्रतिनिधि सहभागी हुनेगरी फूड बैङ्क अनुगमन समिति पनि गाउँपालिकाले गठन गर्‍यो ।

राजमार्ग क्षेत्रमा सुन्तला, काँक्रो र माछा बिक्री गर्ने, नदी क्षेत्रमा बालुवा झिक्ने तथा उपल्लो पहाडी क्षेत्रमा कम मात्रामा उब्जनी गरेर खाद्य संकट व्यहोर्ने सर्वसाधारण खाद्य बैङ्कको लक्षित समूह हुने गाउँपालिकाको अनुमान थियो । आफ्नो क्षेत्रमा भएका र थपिने असंगठित मजदुर र विपन्नको लागि यो नै उत्तम विकल्प भएको ठहर गरेर सीता नेतृत्वको समितिले खाद्य बैङ्क सञ्चालनसम्बन्धी कार्यविधि पनि बनायो ।

यस्तो छ दिने र लिने प्रक्रिया

गाउँपालिकाले बनाएको कार्यविधिअनुसार दाताहरूबाट चामल, दाल, नुन, तेल र साबुन गरी पाँच प्रकारका वस्तु मात्रै बैंकका लागि स्वीकार गरिन्छ । दाताले दिएको सहयोग जिन्सी नै हुनुपर्ने शर्त छ । यस्तै, हरेक वडास्तरमा रहेको विपद् व्यवस्थापन समितिको सिफारिसमा प्रत्येक व्यक्तिले १२ दिनलाई पुग्ने खाद्यान्न बैङ्कबाट लैजान सक्छ ।

परिवारका एक व्यक्तिको लागि चार किलो चामल वितरण गर्ने कार्यविधि छ, जसअनुसार चार जनाको परिवार छ भने उसले १६ किलो चामल, सोहीअनुसार, दाल, तेल, नुन र साबुन बैङ्कबाट वितरण गरिन्छ । एकपटक राहत लगेको मानिसले १२ दिनअघि अतिजरुरी अवस्थामा बाहेक राहत थाप्न पाउँदैनन् । मानिसहरूलाई काममा लगाउन पनि प्रेरित गर्ने र दिइएको राहतले १२ दिन पुग्छ भन्ने अनुमान गाउँपालिकाका अन्र्तगतको समितिले गरेको छ ।

सहयोगको अपिल

चैत्र २० गतेको कार्यपालिका बैठक लगत्तै गाउँपालिकाले आफ्नो निर्णय बमोजिम बैङ्कमा सहयोगका लागि सार्वजनिक अपिल गर्‍यो । गाउँपालिकाको कार्यालय गजुरीमा खाद्य बैङ्कको कार्यालय स्थापना गरियो भने सीतासहितको टिम कार्यविधि बनाउने र महामारीमा बैङ्कको महत्वबारे अध्ययनमा जुट्यो ।

चैत्र २२ गते बैङ्कमा पहिलो सहयोग स्वरुप पाँच बोरा चामल प्राप्त भयो । खाद्य बैङ्क खोलिएको कुरा सीताले आफ्नो फेसबुकमा पनि लेखिन् र सहयोगका लागि अपिल गरिन् । सञ्चारमाध्यममा पनि खाद्य बैङ्कबारे समाचारहरू आएपछि सहयोगको ओइरो लागेको सीता बताउँछिन् ।

मकवानपुरका मिलन पाठकले हेटौँडाबाट गजुरीका व्यवसायीको खातामा पैसा पठाएर खाद्यान्न बैङ्कमा सहयोग जम्मा गरिदिन भने । यस्तै, बनारसमा संस्कृत पढ्न बसेका प्रदीप शर्माले गजुरीकै व्यवसायीको खातामा पैसा पठाएर खाद्यान्न बैङ्कका लागि सहयोग पठाए । दुबई बस्ने भुवन गुरुङले पनि अभियान नै सञ्चालन गरी पैसा उठाएर बैंङ्कका लागि सहयोग गरेको सीता सम्झिन्छिन् ।

चैत २३ गतेदेखि हालसम्म खाद्य बैङ्कमा ७० भन्दा बढी संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको छ । यसबाट ३२ सय परिवार प्रत्यक्ष लाभान्वित भएको खाद्य बैङ्क सञ्चालक समितिले जनाएको छ । आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रममा पनि गाउँपालिकाले खाद्य बैङ्कलाई निरन्तरता दिएर बजेटको व्यवस्था गरेको छ ।

गाउँपालिकामा आएको सबैखाले राहत पनि एकीकृत र एकद्वारबाट वितरण हुने र लक्षित परिवार पनि लाभान्वित हुने भएपछि गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिँदै बाढी र पहिरो पीडितलाई पनि समेट्दै गएको उपाध्यक्ष सीताले बताइन् ।

विद्यावारिधिको शोधपत्र तयार गरिहेकी सीताले खाद्य बैङ्कको सञ्चालनसँगै महामारीमा यसको प्रभावकारिताबारे एउटा अध्ययन पनि गरिन् । उपाध्यक्ष सीता र उनको टिमले खाद्य बैङ्कको प्रभावकारिताबारे अध्ययन प्रतिवेदन तयार गरेको छ ।

वाग्मती प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत, खाद्य अनुसन्धानका विज्ञ राजु क्षेत्री र सीता मिलेर मकवानपुर, धादिङ र अन्य क्षेत्रमा खाद्य बैङ्कको अवधारणा र महामारीमा यसको प्रभावकारिताबारे गरिएको अध्ययन इन्टरनेसनल रिसर्च जर्नल अफ कमर्स, आट्र्स एण्ड साइन्समा प्रकाशित छ । विश्वभरका रिसर्च प्राज्ञले उक्त अध्ययनको प्रशंसा गरेको र यसलाई अन्य मुलुकमा पनि अनुशरण गर्न सकिने प्रतिक्रिया दिएको सीताले सुनाइन् ।

सिक्न खोज्नेको लर्को

सीताले खाद्य बैङ्कबारे विभिन्न पत्रपत्रिकामा लेख लेखेकी छन् । उनको कामबारे सञ्चारमाध्यममा विभिन्न लेख छापिएका छन् । एउटा गाउँपालिकाले थालेको कामको सकारात्मक चर्चासँगै यस्तो अवधारण सिकाउन भन्दै धेरै स्थानीय तहले आग्रह गरेको उनले सुनाइन् ।

कोरोना महामारीकै बीचमा काठमाडौंको तारकेश्वर, काभ्रेको पनौती नगरपालिका लगायतबाट खाद्य बैङ्कको अवधारणा लागू गर्न सिकाइदिन आग्रह आएको उनले बताइन् । देशैभरका विभिन्न स्थानीय तह, प्रदेश सरकार लगायतबाट पनि गजुरी मोडल अनुसरण गर्न तत्परता देखाइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

सीताको शोधपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment