Comments Add Comment

शरीरका लागि आवश्यक मिनरल्सको स्रोत के हो ?

मिनरल्सले हड्डी बलियो बनाउनुका साथै मांसपेशीलाई दुरुस्त राख्न मद्दत गर्छ । शरीरमा मिनरल्सको पूर्ति भएमा हर्मोनले प्रभावकारी ढंगले काम गर्न सक्छ । मांसपेशीको संकुचन नियन्त्रण गर्न तथा शरीरमा एसिडको मात्रा सन्तुलन कायम गर्न पनि मिनरल्सको ठूलो योगदान हुन्छ ।

मिनरल्सकै कारण शरीरको तरल पदार्थ सञ्चालित हुन्छ । यसले उच्च रक्तचाप, हृदयको गति, नाडीको गतिलाई नियमित राख्छ । शरीरमा पोटासियम नामक मिनरल्सको कमी भएमा मांसपेशी कमजोर हुने तथा वाकवाकी लाग्ने गर्छ । नरिवल पानी, केरा, दूध, माछा तथा दाल यसको राम्रो स्रोत मानिन्छ । यी खानेकुराको सेवनले मात्र पनि शरीरलाई थुप्रै  लाभ हुन्छ ।

म्याग्नेसियमले रगतमा चिनीको मात्रा परिवर्तित गर्न, रक्तचाप तथा हृदयको गतिलाई सही राख्न मद्दत गर्छ । यसले क्याल्सियमसित मिलेर काम गर्छ । म्याग्नेसियमको कमी भएमा माइग्रेन, डिप्रेसन तथा मांसपेशी बाउँडिने जस्ता समस्या निम्तिन सक्छ । म्याग्नेसियम प्राप्त गर्न खानामा हरियो साजसब्जी, बदाम, होल ग्रेन, केरा समावेश गर्नुपर्छ ।

फस्फोरस हड्डीमा क्याल्सियम फस्फेटको रूपमा जम्मा हुन्छ । दाँत तथा हड्डीको स्वास्थ्यका लागि यो निकै जरुरी छ । यसको कमी भएमा जोर्नी अर्अरो हुने, थकान तथा हड्डीमा पिडा हुने गर्छ । शरीरमा फोस्फोरस दाल, दूध, चीज, अंकुरित गेडागुडी , मासु तथा माछाबाट प्राप्त गर्न सकिन्छ ।

म्याङ्गनिजको कमी भएमा स्‍मरणशक्ति  कमजोर हुनुका साथै पाचन प्रणालीमा समस्या हुन सक्छ । यसका लागि अन्न, मटर, चिया, कफी, किसमिस सेवन गर्नुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन शरीरको लागि जिंक निकै अवश्यक हुन्छ । यसले कपाल, छाला तथा नङ्गलाई पोषण प्रदान गर्छ । जिंकको कमी भएमा रुघाखोकी छिटो लाग्ने गर्छ ।

शरीरमा प्रोटिनको निर्माणको लागि सल्फर जरुरी हुन्छ । सल्फर एक एन्टिएजिंग तत्व हो । सल्फरले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ । यसले धुलोधुवाँ, प्रदूषण तथा घामबाट छालालाई सुरक्षा प्रदान गर्छ । बन्दा, दूधजन्य पदार्थ, बदाम, ओखर, अण्डा, माछा प्रोटिनको राम्रो स्रोत मानिन्छ ।

पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट आवश्यक हुन्छ । भिटामिन बी–१२ लाई अवशोषित गर्न पनि यो आवश्यक हुन्छ। कोबाल्टको कमी भएमा आँखा कमजोर हुने, स्मरणशक्ति कमजोर हुने, चक्कर लाग्ने समस्या निम्तिन्छ । यो समस्या कम गर्न दूध तथा रातो मासुको सेवन निकै महत्वपूर्ण मानिन्छ ।

यो सबै खानेकुरा सन्तुलित भोजनबाट प्राप्त गर्न सकिन्छ । त्यसको लागि खानपानमा पोषण तत्वको ध्यान राख्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment