Comments Add Comment

अस्ट्रेलियाले सीमा नाका थप खुकुलो बनाउँदै 

२ असोज, काठमाडौं । अस्ट्रेलिया सरकारले आफ्नो मुलुक फर्किन चाहने मानिसहरुका लागि सीमा नाका खुकुलो पार्नसक्ने बताएको छ । शुक्रबार अस्ट्रेलिया सरकारले अब प्रतिसाता ६ हजार नागरिकलाई मुलुक फर्किन दिने तयारी गरिरहेको बताएको हो । अस्ट्रेलियाका राज्यहरुले आफ्नो क्वारेन्टिनको क्षमता बढाएसँगै अक्टोबरमध्यबाट सातामा थप दुई हजार नागरिकहरुलाई मुलुक फर्किन अनुमति दिइने प्रधानमन्त्री स्कट मौरिसनले बताएका छन् ।

अहिले अस्ट्रेलियामा एक सातामा चार हजार नागरिक मुलुकमा फर्किन सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री मौरिसनका अनुसार अहिले विश्वका विभिन्न मुलुकमा २४ हजार अस्ट्रेलियाली नागरिक फसेका छन् । उनीहरुलाई क्रिसमसभन्दा अगाडि नै मुलुकमा फर्किन सुविधा होस् भन्ने हेतुले सरकारले नयाँ योजना अघि सारेको हो ।

त्यस्तै अस्ट्रेलियाले न्युजिल्याण्डबाट आउने मानिसहरुलाई क्वारेन्टिनको व्यवस्था हटाउने तयारी पनि गरेको छ । अहिले अस्ट्रेलियामा बाहिरबाट आउने सबैलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरिएको छ । अस्ट्रेलियामा अहिलेसम्म २६ हजार आठसयभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परिसकेका छन् भने ८२९ को कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment