Comments Add Comment
निवन्ध :

त्यो दसैँ, यो दसैँ, ई–दसैँ

शरदको याम, दसैँको बेला । आकाश छ्याङ्ग उघ्रेको छ । मलमासले एक महिना पर ठेलेर कात्तिकमा पुर्याएको यस पालिको दसैँमा तिहारमाजस्तै फूल ढकमक्क भइसकेको छ  ।

सवारी साधन कम चलेर त्यति धुवाँधुलो छैन । काठमाडौँ निकै चिसिइसकेको छ, उत्तरतिर गणेश र लामटाङ हिमचुचुरा मुस्कुराइरहेछन् । शिवपुरीको जंगलमा पन्छीहरु शारदीय भाका हालिरहेका छन्, प्रकृतिमा परिपुष्टता छ । यस्तो रमणीय परिस्थितिमा पनि मान्छेको मनमा भने शारदीय उत्सव दृष्टिगोचर हुँदैन ।

म अहिले पूर्वी पहाडी जिल्ला खोटाङको खाम्तेल गाउँमा हुन्थेँ भने दसैँको केके चटारो हुन्थ्यो होला भनेर कल्पिन्छ मन । हुन त म १९ वर्षकै उमेरमा झापा झरेँ । अहिले त खाम्तेलमा पनि पहिलेको जस्तो अर्गानिक दसैँ कहाँ बचेको होला र !

तै पनि पानीको धर्म भिजाउनु नै हो, आगाको धर्म डढाउनु नै हो । पहाड त आखिर पहाडै हो, त्यहाँको धर्म–संस्कृतीको मर्म सारमा परिवर्तन हुँदैन । उत्सवको शैली भने परिवर्तन भएको हुन सक्छ ।

एक त म आफैँ गमलाको पीपलझैँ कैद भइसकेको छु, त्यहाँ माथि मेरो जीवनलाई कोरोनाले मेरो कोठामा सीमित गरिदिएको छ यतिखेर । आमालाई गोडामा ढोग्न’नि कोरोना सर्ला भन्ने डरले थर्कमान छु म

अँ त, त्यो दसैँको सार सम्झन्छु म । म आफूमात्रमा सीमित थिएन त्यो दसैँ । हाम्रो थियो त्यो दसैँ । मैले छरछिमेक तथा समाजलाई पनि साथै लिएर मनाउने गर्थें त्यो दसैँ । अर्थात्, हामी मनाउँथ्यौँ दसैँ ।

अहिले पहाडमा हुन्थेँ भने भर्खरै घरमा रात्माटो छेपिसकेको हुन्थेँ म । आफ्नो घरको मात्र सरसफाइमा लागेर हुँदैनथ्यो मैले, बाटाघाटा, पाटी–पौवा, मन्दिर सबैतिर सरसफाइ गर्नुपर्ने चटारो सकेको हुन्थें म ।

मैले घर सफा गर्न ८–१० भारी रातोमाटो जोहो गर्नुपर्दथ्यो । सदरमुकाम दिक्तेल जाने बसेरीको छोटो बाटो मर्मत र सफाइ गर्न गाउँलेहरुसँग हुल कसेर जाँदा कम रमाइलो हुन्नथ्यो ।

घर रंगाउन अहिले जस्तो म एसियन पेन्ट्स र बर्जरका पसलतिर लाग्नु पर्दैनथ्यो, मेरो आफ्नै काउले ढकालटारको मड्केनोमा पाइन्थ्यो मेरो घर रंगाउने अर्गानिक पेन्टस् ।

मेरो आकाश खुला थियो त्यहाँ । राति बाह– एक बजेसम्म पनि बडाबा, कान्छाबा, दाजुहरुका घरतिर टीका लगाएर आशिष लिँदै हुन्थेँ म । ढिकीमा कुटेका चिउरा र जल्याम्पा बारीका घ्यूबोडीको तरकारी र गाईभैंसीको दारको ठेकामा राखेको दहीसँग मुछेर लबटाले खाँदै हुन्थेँ होला म । घरमात्र अट्ने जग्गामा बनेको घरको चार दिवारको सीमिततामा कैद हुँदै मेरा दाजुभाइ कता छन्, मेरा काका बाहरु कता छन् भनेर हिसाब गरिरहनुपर्ने थिएन मैले ।

एक त म आफैँ गमलाको पीपलझैँ कैद भइसकेको छु, त्यहाँ माथि मेरो जीवनलाई कोरोनाले मेरो कोठामा सीमित गरिदिएको छ यतिखेर । आमालाई गोडामा ढोग्न’नि कोरोना सर्ला भन्ने डरले थर्कमान छु म ।

अँ त पहाडमा भए लैकु खोला, अमलेमा फलेको धान खाम्तेल, डाँडा उकाल्ने चटारोमा हुन्थेँ म । गाईघाट–दिक्तेल सडक त बन्यो तानि, लैकुको धान डाँडा उकाल्न धोक्रो र थुन्सेको जोहो नगरी उपाय छैन मलाई । चिउरा कुट्न खड्कुलामा धान भिजाउन हतार हुन्थ्यो मलाई । अनि रातभर भाउजू–काकीहरुलाई चिउरा कुट्न सघाएर बिहान निन्द्रा नपुगेर दुखेको टाउको बोकेर उठेको हुँन्थेँ म ।

खोरमा खसी भएको साल ठिकै छ नभए सोको जोहोका लागि बेंसीखर्कतिर लाग्नुपर्दथ्यो मैले । भुराभुरीको रमाइलो खसीमा नै त हुन्छ दसैँमा । महिनामा एक पटक पाउनु पनि मुस्किल पर्दथ्यो पहाडमा मासु खान । कतिको त वर्ष नै कुर्नुपर्ने पनि हुन सक्थ्यो । कसैलाई पैसा नभएका कारण, कसैलाई मासु नै नपाएर । यो पहाडको आम समस्या नै त थियो । अभावमा नै महत्व स्थापित हुन्छ । कहिलेकाहीँ मात्र पाउँदा पो महत्व हुन्थ्यो दसैँमा मासुभातको ।

आमालाई खल्पी अचार हाल्न भ्याई नभ्याई, बालाई झप्री केरा नपाक्ने चिन्ताले असुरोमा पोको पारी घ्याम्पामा हाल्नै चटारो हुन्थ्यो त्यो बेला । पल्ला पाखामा केरा पाकिसक्यो, पुर्नेसम्मका लागि टिक्दैन जस्तो छ भन्ने चिन्ता हुन्थ्यो कुनै साल बालाई ।

अँ त, दशैंको नयाँ लुगा छिटोछिटो सिलाइसक्न इच्छाबहादुर दर्जीलाई फकाउँदै हुन्थेँ म । सबैका लुगा एकैचोटि सिलाउन पर्दा कहाँ भ्याउनु बिचरा उनले । ए मित्र, मेरो त जसरी पनि अष्टमीको दिनसम्म तयार गरिदिनु है भन्दै फकाउँदै हुन्थेँ म । वर्षको एकचोटि पाइने नयाँ लुगा अर्थात् दसैँको खुसी गुम्यो भने त के सार रह्यो र ? यस्तै अनुनय गर्दै हुन्थे म त्यसबेला ।

हिजो श्याम आइपुग्यो रे मधेसबाट, आज किशोर र ऋतु आइपुग्छन् रे राजाका गाउँबाट । उमङ्ग फुलाउने यस्तै नवनव समाचारबाट पुलकित हुँदै पुराना साथीसँग भेट गर्न आतुर भइरहेको हुन्थेँ म । रोटे पिङ हाल्न भ्याइएन लिंगे पिङमा चित्त बुझाऊँ है यसपालि भनेर दौंतरी पर्खेर बसेको हुन्थेँ म कैले ।

 ****

कुहेकै भए पनि इण्डियाले चामल पुर्याएकै छ अब नेपालीहरुका लागि प्राय गाउँगाउँसम्म अहिले । मकै कोदोको परिकार खान रिसोर्टमा पुग्नुपर्ने बेलामा खै चामलको भातको महत्व ।

चाडबाडमा रमाउने केटाकेटी नै हुन् । ठूलालाई त जिम्मेवारीको भारीले थिचिसक्छ । मावल गएर ५–१० रुपैयाँ दक्षिणा पाउँदा संसारै जितेको अनुभव गर्ने केटाकेटी बेला । त्यो बालापनको रमाइलो लौ न कसरी फर्काउन सकिन्छ होला ।

न कुनै जिम्मेवारी, न जवाफदेहिता, शोक न सुर्ता भोक न भकारी । न पूजापाठको टन्टा, न अनुष्ठान उपासनाको झन्झट । त्यो त बा–आमाको जिम्मामा हुन्थ्यो ।

सहरमा त न ऋतु परिवर्तन भएको थाहा हुन्छ न दशैँ आएको । कंक्रिटको जंगलमा न वसन्त न शरद । सहरमा चिउरा, चामल, सातुसामल सबै प्लाष्टिकको भर । प्लाष्टिकको जीवनमा रुपान्तरण भएको छ मेरो सहरी जीवन ।

गोजी छ भने सबै थोक छ, सडेगलेकै भए पनि । स्वाद र गुणस्तरको कुरा नगरौँ । धेरै कुरा सरकारी संयन्त्रको कार्यकुशलतामा गएर ठोक्किन्छ अनि तनाब बढ्न सक्छ खुसी हुनुपर्ने यो दसैँको बेलामा ।

अँ, अहिले त टीका लगाउन मान्यजनकोमा जाने चटारो नि छैन मलाई । आफन्त थोरै मात्र हुनुहुन्छ काठमाडौँमा । कोरोना संक्रमणबाट जोगिन अन्त नजान आग्रह गरेको छ सरकारले । सरकारको नियम नमाने पाइने त दुःख नै हो ।

यी त भए केही रहरका र कहरका पक्ष । दसैँको आत्माको पनि त कुरा गरौँ न एक छिन । शक्तिको आराधना र उपासना हो दसैँ चाडको प्राण ।

सहश्राब्दियौँदेखि मेरो समाज र राष्ट्रमा बचेको यो सहधर्म र सहअस्तित्वमाथि कसैको बहकावमा धावा बोल्ने र यो मेरो चाड होइन, यो त अमुक फिरन्ताहरुको हो भन्दै विषबमन गरेको सुनिन्छ । सत्य कुरा नबुझी कसैको लहैमा लहै मिलाउने र अमुक वर्गको स्वार्थ सिद्ध गर्ने अभियानमा लागेकाहरुको घैटामा घाम लाग्नु आवश्यक छ

ब्रह्माण्डमा दुई तत्व रहन्छन्– प्रकृति र पुरुष । पुरुष अर्थात् परब्रह्म परमात्मा । अर्को प्रकृति अर्थात् शक्ति । परमात्माको मायाशक्तिको उपज भौतिक जीवन । पूजा, साधना, ध्यान, अनुष्ठान आदि जो आत्माको खुराक हो, जसले आत्मिक शक्ति ब्युँझाउँछ, उठाउँछ र मजबुत बनाउँछ । यसै भन्छन् शास्त्र प्रमाणहरु र अनुभव पनि ।

समयक्रममा ध्यान, साधना, उपासना, पूजा, पाठ, तीर्थ, व्रतको न्यूनीकरणसँगै मलिन हुँदै गएको छ हरेक मान्छेको आत्मिक चेतना । जिब्रोको स्वादमै रमाएको छ मान्छे । रस रुप गन्ध, शब्द र स्पर्श सुखमै रमाएको छ मान्छे । शरीर नै म हुँ, जिब्रो, आँखा, कान, नाक र छालाकै खुराकतिरै अलमलियो मान्छे ।

इन्द्रिय सुख नै वास्तविक सुख हो भन्ने भ्रममा लटपटियो मान्छे जसका कारण मनको क्षणिक तुष्टि नै सुख र खुसी सम्झन पुगेको छ मान्छेले । यसबाट धर्मको मर्म विस्मृतितिर गएको छ, जाँदैछ । आत्मिक चेतनाशक्ति दुब्लो भएको छ मान्छेमा ।

इन्द्रिय र मनको खेल नै वास्तविक जीवन हो भन्ने सम्झिन थालेपछि यी सबैलाई साक्षी भावका रुपमा रहेको म तत्व मूर्छित छ अहिले । यो म आत्मतत्व अविनासी तत्व हो है, यसलाई चिन्नु, जान्नु, पहिचान गर्नु नै मनुष्य जीवनको सर्वोच्च साधना र उपलब्धि हो भन्ने शास्त्रका प्रमाण खोज्ने प्रचलन हराएको छ अहिले ।

मान्छे आफैँमा देवता र दानव भएर छुट्टिने होइन । यो त उसको गुण र स्वभावले निर्धारण गर्ने कुरा हो । शप्तशति चण्डीमा वर्णित मधुकैटभ, चण्डमुण्ड, महिसासुर, शुम्भ निशुम्भ सबै मान्छेभित्रकै गुणहरु हुन् ।

मभित्रै रामको राज्य मभित्रै बस्छ रावण

मभित्रै दिव्य छन् कृष्ण, मभित्रै कंशका कण ।

कुनै बेला लेखेको रहेछु मैले । सकारात्मक र नकारात्मक प्रवृत्तिको समष्टि पुञ्ज हो मान्छे । कंश घमण्डको प्रतीक, रावण बासनाको प्रतीक, माथि बर्णित मधुकैटभ, चण्डमुण्ड, महिसासुर, शुम्भ निशुम्भ आदि जसलाई हामी दैत्य, दानव वा असुर भन्दछौँ, ती रिस, राग, द्वेष, ईष्र्या, दम्भ, लोभ, मद, मात्सर्य आदिका प्रतीक हुन् ।

यिनै दुई प्रवृत्तिको संग्रामबीच मान्छेको इतिहास र सभ्यता निर्मित छ । यस्तो प्रवृत्ति कि नैसर्गिक छ, कि पछि आर्जन गर्दछ मान्छेले । यिनै नकारात्मक तत्वको न्यूनीकरण र सकारात्मक तत्वको प्रवद्र्धनमार्फत सच्चिदानन्दको प्राप्तिमा छ मान्छेको जीवनको सार्थकता । जसको प्राप्ति साधनाबाट हुन्छ भन्छन् बेद, उपनिषद्, पुराण, रामायण महाभारत र गीता, रामचरित्तमानस लगायत सम्पूर्ण धर्मग्रन्थहरु ।

विवेकको समुदय र आवेगको समन गर्न सक्ने शक्ति मान्छेबाहेक कुन प्राणीसँग छ र ? यहीनेर स्थापित हुन्छ मान्छेको जीवनको महत्व ।

शक्तिस्वरुपा माताशक्तिको आराधना–उपासना गरी मान्छेमा शक्ति आर्जन गर्ने दसैँको अवसरलाई त्यति उपयोग गरेको पाइँदैन अहिलेका मान्छेले । गरेका भए’नि थोरैले मात्र ।

कम्तीमा शक्तिपीठ या मन्दिर गई दर्शन गर्ने अलिकति बाँचेको आस्थालाई पनि कँुजो बनाइदिएको छ कोरोनाले । फलस्वरुप कोठामा सीमित भएको छ मान्छे ।

साधनाप्रधान हुन सकेनन् हाम्रा धार्मिक चाडपर्वहरु । खानपिनमै सन्तुष्ट भयो मान्छे । देखावटीपनमै मख्ख भयो मान्छे । भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजयोत्सव मनाउनुपर्ने दसैँको सार श्रीरामको आलोचना गर्नमै रमाउँछ समाज । नौ दिनको दैवीशक्तिको आराधना–उपासना, पूजा गरी मान्छेभित्रका आसुरी शक्तिमाथि दैवीशक्तिको विजयोत्सव विजया दशमीका दिन प्रसाद ग्रहण गर्नुपर्ने चाडमा पूजा आराधना नै तिरोहित छ अहिले ।

माया, दया, करुणा, सेवा, सहिष्णुता, सहअस्तित्व जस्ता दैवीतत्वको प्रधानता भए मान्छे राम हो । रिस, राग, द्वेष, ईष्र्या, बासना, घमण्ड जस्ता मान्छेभित्रै रहने आसुरी प्रवृत्तिले उही मान्छे हराम बन्दछ, रावण बन्दछ । आफूभित्रको रावणतत्वलाई बलि दिई राम तत्वको उत्थान गर्नुपर्ने चाडमा निरीह प्राणीको बलि दिएर आफूलाई अविवेकीकरणको खेतीमा व्यस्त छ वर्तमान समाज ।

यादेवी सर्वभूतेषू मातृरुपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।

चण्डीका यस्ता श्लोकमार्फत शक्ति उपासना गरिन्छ । भगवती दुर्गालाई माता, दया, बुद्धि, लक्ष्मी, शान्तिको रुपमा एकातिर पूजा गरिन्छ भने अर्कातिर सबै प्राणीकी मातास्वरुपा देवीलाई सन्तानको रगत चढाएर सन्तुष्ट हुन्छिन् भन्ने अज्ञानताबाट मुक्त हुन नसकी विवेकशून्य हुँदै गएका छौँ हामी ।

मान्छेको सबभन्दा ठूलो गुरु स्वयंको विवेक हो । माया, दया, करुणा, सेवा, सहिष्णुता, सहअस्तित्व जस्ता दैवी गुण मान्छे सबैका साझा गुण हुन् । आफूभित्र यस्ता दैवीगुणको प्रवद्र्धनका लागि उपासना गर्ने दसैँ पर्व कुनै जात, धर्म, वर्ग वा सम्प्रदायका पेवा हुनु सक्तैनन् ।

सहश्राब्दियौँदेखि मेरो समाज र राष्ट्रमा बचेको यो सहधर्म र सहअस्तित्वमाथि कसैको बहकावमा धावा बोल्ने र यो मेरो चाड होइन, यो त अमुक फिरन्ताहरुको हो भन्दै विषबमन गरेको सुनिन्छ । सत्य कुरा नबुझी कसैको लहैमा लहै मिलाउने र अमुक वर्गको स्वार्थ सिद्ध गर्ने अभियानमा लागेकाहरुको घैटामा घाम लाग्नु आवश्यक छ ।

दसैँको प्रेरणाले आत्मिक उन्नति होस्, मन खुसीले मुस्कुराओस् । बिहानको सूर्यझैँ विवेक झुल्कियोस् । गोसाइँकुण्डको त्रिशूलधारामा शिवको जटाबाट निस्केको गंगाको मूल मुहानझैँ पवित्र बनोस् दसैँ । यो दसैँले सहिष्णुता पल्पलाओस्, आस्था, श्रद्धा र सम्मान सल्बलाओस्, रिस, द्वेष, दम्भ, दर्प ढल्पलाओस् ।

गमलामा खुम्चिएको पीपलमा रुपान्तरण भएको सीमित दसैँमा अब त आशीर्वाद पनि विद्युतीय माध्यमबाट लिनु–दिनु पर्ने भएको छ । कोरोनाका कारण घर कोठामा एका घरपरिवारमा मात्र सीमित भएको यो सालको दसैँ बिजुली दसैँ (ई–दसैँ) बन्न पुगेको छ । यस्तैसँग चलिरहेको छ त्यो दसैँ, यो दसैँ र ई–दसैँ । सबैमा हार्दिक शुभ कामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment