Comments Add Comment

नेपाली साहित्यमा ‘घोस्ट राइटिङ’ को रन्को

१३ मंसिर, काठमाडौं । नेपालमा उच्चपदस्थ कर्मचारीदेखि व्यवसायीसमेतले आत्मसंस्मरण, जीवनी र साहित्यिक पुस्तक प्रकाशन गर्ने बाढी आइरहेको छ । उनीहरूले आफ्ना नाममा प्रकाशित गरेर चर्चित बनेका पुस्तकको पर्दापछाडि ‘घोस्ट राइटर’हरुको छायाँ देखिन्छ ।

आम पाठकलाई लाग्न सक्छ, साहित्य लेख्नेको निकै सानो जमात भएको देशमा हरेक दिन नयाँ-नयाँ पुस्तक प्रकाशन भइरहन सम्भव छ ? कसरी आइपुग्छन् बजारमा हरेक दिन गैरसाहित्यिक व्यक्तिहरूका साहित्यिक कृति ?

वास्तविकता आम पाठकले सोचेभन्दा फरक छ । बजारमा आउने कतिपय उच्चपदस्थ व्यक्ति एवं सेलिब्रेटीहरूले निकाल्ने पुस्तक लेख्ने मान्छे अर्कै हुन्छन् । आफू पर्दापछाडि (नेपथ्यमा) बसेर अर्काका नाममा किताब वा सृजना लेखिदिने यस्तो कामलाई पश्चिमा वाङमयमा ‘घोस्ट राइटिङ’ भनिन्छ ।

नेपालमा घोस्ट राइटिङको परम्परा बढ्दै गएको जानकारहरू बताउँछन् । संस्मरण मात्र होइन, मौलिक साहित्यका गीत, कविता र कथासमेत अर्काले लेखिदिने चलन नेपालमा बढेको छ ।

घोस्ट राइटिङ के हो त ? समालोचक एवं प्राध्यापक अभी सुवेदीका अनुसार आफ्नो नाम लुकाएर अर्काको नाममा सिर्जना गर्ने कर्म नै घोस्ट राइटिङ हो । सुवेदीले आफ्नो लेख ‘मुद्रण पुँजीवाद’मा घोस्ट राइटिङलाई ‘प्रेत-लेखक’ भनेर नेपालीकरण गरेका छन् ।

प्रेत-लेखक शब्दावलीबारे सुवेदी भन्छन्, ‘ठीक नेपालीमा उल्था गर्दा घोस्ट भनेको भूत हुन्छ, भूत भनेको नदेखिने तर त्यसको प्रभाव हुने प्रेतकै रुप हो । यसैले हामीले घोस्ट राइटिङलाई नदेखिने रुपमा अर्काका लागि लेख्ने काम भन्ने बुझ्नुपर्छ ।’

अंग्रेजीका प्राध्यापक राम लोहनी आफू प्रत्यक्ष नदेखिएर आर्थिक उपार्जनका लागि अर्को व्यक्तिको नाममा वा आफ्नै छद्म नाममा सिर्जना गर्ने कामलाई घोस्ट राइटिङ मान्छन् । लोहनी भन्छन्, ‘लेखकको प्रतिछाँया (घोस्ट) भएर लेख्ने लेखक नै घोस्ट राइटर हो । अमेरिका र युरोपेली समाजमा घोस्ट राइटिङ नयाँ कुरा नभए पनि नेपालका लागि यो नयाँ हो ।’

साहित्यकार कुमार नगरकोटीको अध्ययनमा पनि घोस्ट राइटिङको अभ्यास विश्व साहित्यमा स्थापित पुरानो मान्यता हो । नगरकोटीका अनुसार अर्काकै लागि लेखिदिन पनि सृजनशील क्षमता चाहिने भएकाले घोस्ट राइटिङ सिर्जनात्मक कर्मकै अर्को पाटो हो । तर, यसभित्र समेत आचार हुनुपर्ने धारणा छ नगरकोटीको ।

नेपाली बजारमा घोस्ट राइटिङ

एक दशकअघि पत्रकार अशोक सिलवालले चर्चित पत्रकार पुष्करलाल श्रेष्ठबारे लेखेको ‘कलम’ नामक पुस्तकलाई धेरैले घोस्ट राइटिङको पर्याय माने ।

तर, त्यसरी ‘म-पात्र’को प्रयोग नगरी लेखिएका पुस्तक घोस्ट राइटिङसँग सम्बन्धित नरहेको सिलवाल बताउँछन् । उनी भन्छन्, ‘लेख्न सहायता गरेको मानिसको नाम लुकेको अवस्थामा र आर्थिक उपार्जनको ध्येयले गरिने सिर्जनशील लेखनको बिक्रीलाई मात्रै घोस्ट राइटिङ भनिन्छ ।’

‘कलम’ पुस्तकको चर्चा बढेपछि धेरै अग्रज नेपाली पत्रकार र लेखकले आ-आफ्ना जीवनीपरक पुस्तक लेख्ने वा लेखाउने चलन बढेको सिलवालको दाबी छ ।

बुकहिल प्रकाशनका अध्यक्ष भूपेन्द्र खड्का नेपाली प्रकाशन गृहले घोस्ट राइटिङभन्दा पनि सह-लेखक र सम्पादक राखेर पुस्तक लेखाउने गर्छन् । यसरी लेखिएका पुस्तक घोस्ट राइटिङको आचारसँग नमिल्ने उनी बताउँछन् ।

खड्का आफैं सह-लेखक बनेर लेखिएको विश्व साइकलयात्री पुष्कर शाहको ‘संसारलाई साँढे पाँच फन्को’ पुस्तक यसको एउटा उदाहरण हो ।

पत्रकार र भाषाविदको सहयोग लिएर पुस्तक लेख्ने चलन विश्वभरि नै रहेको बताउँदै खड्का भन्छन्, ‘नेपाली प्रकाशकले पनि पुस्तकको गुणस्तरका लागि पत्रकार तथा भाषाविदको सहयोग लिएका छन् ।’

चल्तीका प्रकाशन गृहले प्रकाशन गर्ने सेलीब्रेटीका जीवनी र आत्मवृत्तान्त नाम चलेका पत्रकारले नै लेखिरहेका छन् । विनोद चौधरीको आत्मकथा, रुकमाङ्गद कटुवालको आत्मकथा, महको म, मीनबहादुर रायमाझीको संस्मरण अनि सुशीला कार्कीको ‘न्याय’मा पत्रकारहरु जोडिएका छन् । कतिपयमा सह-लेखक तथा सम्पादकका नामहरू पुस्तकको भित्री पानामा उल्लेख गरिएका छन् भने कतिपयमा  घोस्ट राइटरको प्रयोग गरिएकाले वास्तविक लेखकको नाम उल्लेख गरिएको छैन ।

अहिले नेपालमा प्रकाशित हुने सेलिब्रेटीका पुस्तक उनीहरू आफैंले लेख्ने गरेको बताउँछन्, फाइनप्रिन्टका निरज भारी । भारीका अनुसार प्रतिष्ठित व्यक्तिको किताबको भाषा, शीर्षक र विषयवस्तु मिलाउन मात्रै सम्पादक राख्ने गरिन्छ । उनी  भन्छन्, ‘सेलीब्रेटीहरू आफूले लेखेको कुरा चलाउन मान्दैनन् । तर, उनीहरूले लेखेको कुरा सम्पादकले चलाउन पाउँदा पुस्तकको गुणवेत्ता अझै बढ्छ ।’

फाइनप्रिन्टले नै प्रकाशन गरेर बेस्टसेलर बनेको हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’लाई धेरैले घोस्ट राइटिङ माने । यसमा मदन पुरस्कार विजेता आख्यानकार अमर न्यौपानको कलम चलेको हल्ला छ । तर, भारीका अनुसार अमर न्यौपानेको कलम चलेको भए हरिवंशको किताब झनै राम्रो हुने थियो, जुन हुन पाएन ।

प्रकाशन गृहबाट मात्र होइन, साथी-संगातीबाट समेत घोस्ट राइटिङ हुने कुरा नाम नबताउने शर्तमा एक गीतकारले खोले । उनका अनुसार गोपाल योञ्जन जीवित रहँदासम्म नाम चलेका गीतकारको कलम गोपालको निधनपछि एकाएक बन्द हुनु सन्देहपूर्ण छ । उनी थप्छन्, साथी-संगतमा दिलखुस भएपछि आफ्नो रचनाको क्रेडिटसमेत साथीलाई नै दिने चलन छ । यसबाहेक व्यक्तिगत स्वार्थमा पनि यस्तो सौदाबाजी हुन्छ ।

शासकवर्ग शंकाको घेरामा

नेपाली समाजमा राजदरबारका उच्चपदस्थ सदस्यले घोस्ट राइटिङको प्रयोग गरेको चर्चा चल्ने गर्छ । उच्चपदस्थ सदस्यले तत्कालीन प्रभावशाली कवि केदारमान व्यथित, गीतकार कालीप्रसाल रिजाल, नरेन्द्रराज प्रसाईं आदि स्रष्टाको सहयोगमा गीत रचना गरेको चर्चा पञ्चायतकालदेखि नै चल्ने गरेको छ ।

व्यथित पूर्वमन्त्री एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति हुन् । कालीप्रसाद दुई दशक सूचना विभागको डाइरेक्टर थिए । यस्तै प्रसाईं दरबारनिकट व्यक्ति मान्निछन् ।

रिजाल स्वयंले रानी ऐश्वर्यका हस्तलिखित गीतहरू आफूलाई प्राप्त हुने खुलाएका छन् । ती गीत चाँदनी शाहको साहित्यिक नाम (उपनाम) नामबाट रेकर्ड भएका छन् । रिजालले आफ्नो आत्मकथा ‘काँडामा हाँसेको जिन्दगी’मा यस्तो कुरा खुलाएका हुन् ।

हामीले यसबारे ८० वर्षीय कवि गीतकार कालीप्रसाद रिजालसँग सोध्यौं । रिजाल भन्छन्, ‘चाँदनी शाहका गीतबारे बजारमा जे हल्ला आए, त्यो सुन्दा मलाई पनि अचम्म लाग्छ । रानी हुनुअघि पद्मकन्या क्याम्पस पढेको, नेपाली भाषा नै तीन वर्ष पढेको मान्छे स्वाभाविकै सृजनशील हुनुहुन्थ्यो । उहाँसँग नजिक हुने सबैलाई यो कुरा थाहा छ ।’

बरू दरबारका सदस्यले सिर्जनामा सरसल्लाह माग्दा आफ्नो भनाइ खुलेर राख्ने गरेको बताउँछन् रिजाल । नेपाली समाजमा अरूको सिर्जनात्मक क्षमता पत्याउन शंका गर्ने मनस्थितिकै कारण बजारमा नचाहिने हल्ला चल्ने गरेको रिजालको जिकिर छ ।

यद्यपि, रिजालले नेपालमा केही मानिसले पैसा तिरेरै लेख्ने अर्को मान्छे राख्ने गरेको महसुस गरेका छन् । तर, त्यसको मात्रा निकै कम छ ।

रानी ऐश्वर्यमात्र होइन, राजपरिवारका महेन्द्र वीरविक्रम शाह (मविवि शाह), जी शाह (ज्ञानेन्द्र शाह) र युवराज दीपेन्द्रका नामबाट गीत र कविता प्रकाशित छन् ।

राष्ट्रिय एकता र राष्ट्रप्रतिको कर्तव्यमाथि लेखिएका युवराज दीपेन्द्रका आधा दर्जन बढी कविता ४० को दशकका ‘उपकार’, ‘भन्ज्याङ’ र ‘गोरखापत्र दैनिक’मा प्रकाशित छन् । यस्तै उनका केही फुटकर लेख र निबन्धसमेत प्रकाशित रहेको घटराज भट्टराईद्वारा सम्पादित ‘नेपाली लेखककोष २०५६’मा उल्लेख छ ।

तस्वीर : हिमाल खबरपत्रिका २०५८ असार

२०४५ सालको ‘उपकार’ त्रैमासिकमा प्रकाशित दीपेन्द्र शाहको ‘हे आमा !’ शीर्षकको कविता छापेको सम्झँदै नरेन्द्रराज प्रसाईं भन्छन्, ‘युवराज आफैंले टाइप गरेर हस्ताक्षर गरेको कविता प्राप्त भएको थियो । युवराजको कविता छाप्न पाउनु त्यतिबेला ठूलो कुरा मानिन्थ्यो ।’

अहिले ‘नइ प्रकाशन’का अध्यक्ष रहेका प्रसाई त्यतिबेला रानी ऐश्वर्य राज्यलक्ष्मी शाह अध्यक्ष रहेको ‘उपकार’ त्रैमासिकमा सम्पादक थिए । त्यहाँ रहँदा तत्कालीन रानी ऐश्वर्य राज्यलक्ष्मी आफैंले टाइप गर्ने गरेको उनी सम्झन्छन् । प्रसाईंका अनुसार कला-साहित्यका पत्रपत्रिका प्रकाशन कार्यमा रानी आफैं सक्रिय रहन्थिन् ।

यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाका रचनाकर्ममा श्यामदास वैष्णव नजिक रहेको देखिन्छ । वैष्णव, देवकोटाको लेखन सहयोगीका रुपमा काम गर्थे । उनी देवकोटाले लेखेका सिर्जना साफी गर्ने, सार्ने र पत्र-आदानका काम गर्थे ।  त्यसक्रममा देवकोटाले कतिपय रचना फालेको, च्यातेको वा त्यसै भुँइतिरै फालेको कुरा वैष्णव बताउँछन् ।

नेपाली समाजमा घोस्ट राइटिङबारे धेरै हल्लाका कुरामात्रै भएको बताउँछन् गीतकार राजेन्द्र थापा । थापाका अनुसार गीत नै नलेखेका कवि व्यथितलाई उडाउन मात्रै मान्छेहरूले त्यसो भनेका हुन् ।

थापा भन्छन्, ‘त्यतिबेलाको समयमा सृजनात्मक कार्यलाई पवित्र कर्म मानिने हुनाले नेपालमा घोस्ट राइटिङ भित्रिएको करिब डेढ दशकमात्र पुगेको छ ।’

घोस्ट राइटिङमा मिडियाको भूमिका

प्राध्यापक अभि सुवेदी नेपाली बजारमा आएको घोस्ट राइटिङको सबै स्वरुप ‘मुद्रण पुँजीवाद’सँगै जोडिएको बताउँछन् । उनको परिभाषाअनुसार मुद्रण गरेर पैसा कमाउने भएपछि त्यहाँ पूँजीवाद जोडिन्छ । अर्थात्, लेखेर, छापेर, अभिलेख राखेर पैसा कमाउन सकिने भएपछि मानिसले त्यसलाई उद्योगकै रुपमा स्थापित गर्न थाले ।

यही अवधारणापछि पुस्तक मुद्रण बजारको कब्जामा गएको हो, जसलाई आधुनिक मिडियाले मलजल गरिरहेका छन् । मुद्रण पूँजीवादमा ‘मिडिया, लेख्ने लेखक र बजार’को त्रीपक्षीय सम्बन्ध रहेको सुवेदीको मत छ ।

सुवेदी भन्छन्, ‘घोस्ट राइटिङ गरेको भए पनि अखबारमा आउनेबित्तिकै त्यसको चर्चामा हुन्छ । मिडियामा सेलिब्रेटीले लेखेका पुस्तकको अंश, समाचार, विज्ञापन आएपछि जनसाधारणलाई त्यो पुस्तकमा चासो बढ्छ ।’

वरिष्ठ पत्रकार युवराज घिमिरे पनि चर्चित व्यक्तिको पुस्तकमा आउँदा मिडियाको प्रभाव हुने कुरा स्वीकार्छन् । घिमिरे बजारिया आत्मसंस्मरणमाथि प्रश्न गर्छन्- ‘सबैले आफ्नो आत्मकथामा मैले त देशका लागि, समाजका लागि गर्न खोजेको हो,  तर अरुले दिएनन् भनेर लेख्छन् । मुलुकमा यति धेरै हिरोहरू एकै समयमा जन्मेका रहेछन् नि त । तर, प्रभाव खै ?’

जुनसुकै पुस्तक लेख्दा पनि लेखक इमानदार हुनपर्ने घिमिरे बताउँछन् । इमानदारिता नभएका पुस्तकलाई मिडियाले पनि अतिरिक्त प्रोत्साहन गर्न नहुने उनको तर्क छ ।

काठमाडौंमै छ घोस्ट राइटिङ संस्था

काठमाडौंको बानेश्वरस्थित थापा गाउँमा छ- ‘घोस्ट राइटिङ नेपाल’ ।

सुरुमा संस्थाले विज्ञापन प्रकाशित गर्दा बजारमा घोस्ट राइटिङबारे दुईथरि मत विभाजित थियो । संस्थाका अध्यक्ष कमल ढकालका अनुसार एकथरिले विश्व साहित्यमा चलेको प्रयोगलाई नेपाली समाजमा ल्याएकोमा धन्यवाद दिएका थिए । अर्कोथरिले सिर्जनाको कुरामा घोस्ट राइटिङले विकृति बढाउने भन्दै आलोचना गरे ।

संस्था नै खोलेर आधिकारिकरुपमा घोस्ट राइटिङलाई स्थापित गर्ने संस्था घोस्ट राइटिङ नेपाल नै रहेको दाबी गर्छन् ढकाल । भन्छन्, ‘घोस्ट राइटिङ नेपाल र योसँग जोडिएका संस्थाले सृजनशील लेखन र पठन संकृतिको विकासमा नयाँ आयाम थपेको महसुस गरेका छौं ।’

ढकालले २०६६ सालमा दर्ता गरेर स्थापना गरेको ‘लेखन कुञ्ज’ र ‘घोस्ट राइटिङ नेपाल’ काठमाडौंकोे बानेश्वरनजिकै रहेको थापागाउँमा छ । उक्त घोस्ट राइटिङ नेपाल र लेखन कुञ्ज दुई रोपनी क्षेत्रमा फैलिएको छ, जहाँ बाँसबाट बनेका तर आधुनिक सुविधा भएका साना-ठूला ७ वटा कटेजजस्ता घर छन् । ती घरहरूका लागि मात्रै डेढ करोड रूपैयाँ खर्च गरिएको अध्यक्ष ढकाल बताउँछन् ।

घोस्ट राइटिङ नेपाल परिसरमा आधुनिक नाटकघर, आधुनिक पुस्तकालय, क्याफे, अध्ययन-अध्यापन कक्ष र सेलिब्रेटी कक्षहरू छन् । संस्थाले अहिलेसम्म पाँच दर्जन बढी पुस्तक प्रकाशित गरिसकेको छ । तेस्रोलिङ्गी भूमिका श्रेष्ठदेखि लिएर सरकारका पूर्वसचिव एवं निजी क्षेत्रका उद्योगी-व्यवसायीसम्मको पुस्तक यस संस्थाले प्रकाशित गरेको छ ।

यसबाहेक सृजनशील लेखनका कक्षाहरू पनि सञ्चालन गरिरहेको छ । लकडाउन अगाडि कथा, कविता, निबन्ध, नाटकलगायत विधाका सृजनशील लेखन सिक्ने कक्षा सञ्चालन भइरहेको थियो । निश्चित शुल्क लिएर चलाइने उक्त कक्षामा नाम चलेका प्रशासकदेखि विद्यार्थी, कलाकार तथा व्यवसायीको सहभागिता रहन्छ ।

अध्यक्ष ढकाल कथा, कविताजस्ता मौलिक सृजनामा सकेसम्म घोस्ट राइटिङ नहोस् भन्नका लागि कक्षा सञ्चालन गरिएको बताउँछन् । उनका अनुसार आत्मकथा, यात्रा कथा लेखनमा भने घोस्ट राइटरको प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment