Comments Add Comment

सगरमाथालाई ८८४८.८६ मिटरको मुकुट

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ चैत २०७५ मा हाम्रो टोलीलाई सफलताको शुभकामना दिएर बिदा गर्नुभयो । नापी विभागबाट मेरो नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थियौं । हामीसँग नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि हुनुहुन्थ्यो ।

बालुवाटारबाट विदा भएकै दिन लुक्ला गयौं । त्यहाँबाट हिँड्दै नाम्चे, सेम्बोचे, पाङबोचे, डिङबोचे हुँदै आइल्याण्ड पिक आरोहण गर्‍यौं । ६१८९ मिटर अग्लो आइल्याण्ड पिक आरोहण गरेपछि फेरि डिङबोचे फर्कियौं ।

डिङबोचेबाट बेस क्याम्पतर्फ लाग्यौं । हामी आरोहणका लागि मात्रै गएका त थिएनौं । निश्चित उद्देश्यका लागि गएकाले हामीसँग उचाइ मापक मेशिन, ब्याट्री तथा चार्ज गर्नुपर्ने उपकरणहरू थिए । ती उपकरणहरूले काम गर्छन् कि गर्दैनन् भनेर टेस्ट गर्नुपर्ने थियो । टिमका सबै साथीहरू मिलेर गर्‍यौं ।

मापनका लागि आधार विन्दु आवश्यक पर्दछ । सोलुखुम्बु, दोलखादेखि पूर्वी पहाडी हिमालमा नापी विभागले त्यस्ता विन्दु स्थापना गरेको छ । त्यसमध्ये सगरमाथाबाट सबैभन्दा नजिकको आधार विन्दु लोबुचेमा स्थापना गर्‍यौं । त्यसमा धेरै साथीहरूको मिहिनेत परेको छ ।

हामीले बेस क्याम्पबाट १८ मेमा उक्लिने योजना बनाएका थियौं । त्यतिबेला मौसम अलि गडबड थियो । जसले गर्दा योजना बनाए अनुसारको मितिमा जान सकेनौं ।

१४ मेमा पहिलो बाटो खोल्न सफल भयो । बाटो खोल्नेहरूको पछिपछि जाने टोलीले १५ मेमा शिखर चढ्न सुरू गरे । अरु आरोहण टोलीजस्तो हतार–हतार चुचुरोमा पुगेर फर्कने छुट हामीलाई थिएन । हामी त काम गर्न गएका थियौं । राष्ट्रले दिएको ठूलो जिम्मेवारीसहित त्यहाँ पुगेका थियौं ।

२०६८ सालमा निजामती कर्मचारीको टोलीबाट मैले सगरमाथा आरोहण गरिसकेको थिएँ । तर, यसपटक त्यतिबेलाको भन्दा विल्कुल फरक जिम्मेवारीसहित गएका थियौं । जीएनएस एन्टिना, जीपीआर राडार, आइस स्क्रु लगायतका सामग्री लगेका थियौं । सगरमाथा आरोहण गर्नु नै चुनौतिपूर्ण हो भने त्यहाँ पुगेर काम गर्नु थप चुनौतीको कुरा थियो ।

पाँच अक्षरको सगरमाथा भन्न जति सजिलो छ, त्यहाँ पुगेर काम गर्न उत्तिकै चुनौतिपूर्ण  । पाइला पाइलामा जोखिम थियो । दोस्रो पाइला चाल्दा के हुन्छ भनेर त कसैले भन्न सक्दैनथ्यो । त्यही भएर सगरमाथा पुगेर आएको मान्छेले ‘म पुगेर आएँ’ भन्छ ।

हामीले पनि धेरै चुनौतिको सामना गर्‍यौं । साउथ पोलमा पुगेपछि माथि जान नसकिने भयो भन्ने भयो । छिरिङजी र मलाई मात्रै चुचुरोमा पुगेर फर्केको अनुभव थियो । अगाडि बढ्नै नसक्ने अवस्था आएपछि हामी मुखामुख गर्‍यौं । टीमका अरु साथीहरू त पहिलो पटक जाँदै हुनुहुन्थ्यो ।

हामीले हाम्रो सगरमाथालाई ८८४८.८६ मिटरको मुकुट लगाइ दियौं । २०७६ जेठ ८ गते राज्यरोहण गरेर आयौं र २०७७ मंसिर २३ गते राज्यभिषेक भएको हो । यी दुबै मिति हाम्रा लागि स्मरणीय दिनका रुपमा रहनेछन्

यस्तो अवस्था आयो कि म ध्वाँ–ध्वाँती रोएँ । त्यसको भिडियो पनि छ । अक्सिजनको समस्या थियो । राज्यले दिएको जिम्मेवारी पूरा नगरी फर्किनु हुन्न भनेर चुनौतिका बावजुद अगाडि बढ्यौं ।

२०७६ जेठ ८ गते बिहान ३ बजे चुचुरोमा पुग्यौंं । झोला बिसायौं । मेशिन फिट गर्‍यौं । जीपीआरको सबै जिम्मा रवीनजीलाई दिएका थियौं । कतै क्लिक गर्न बिर्सिने होकि भन्ने डर थियो । त्यस्तो उचाइमा अक्सिजन कम भएर ‘मिस जजमेन्ट’ हुन्छ । त्यहाँको तापक्रम माइनस ४३ डिग्री थियो ।

तर, जतिसुकै चिसो भए पनि बाक्लो पञ्जा लगाएर काम गर्न सकिँदैनथ्यो । रवीनले राम्रोसँग काम गर्नुभयो । स्क्रिन उहाँलाई हेर्न भनें । स्क्यानर घिसार्न उतापट्टि छिरिङजीलाई लगाएँ । यता म आफैंले घिसारेँ । एक किसिमले त्यो एक्सरे गरेजस्तै हुन्छ । मार्किङ गर्नुपर्ने, सेभ गर्नुपर्ने हुन्थ्यो । फेरि त्यो नयाँखालको मेशिन थियो । नापी विभागमा त्यस्तो मेशिन नै छैन ।

राति पुगेको हुनाले त्यहाँबाट कस्तो देखिन्छ भन्ने अनुभव गर्न पाएनौं । भलै, दृश्य अवलोकन भन्दा पनि हाम्रो ध्यान काममा थियो ।

बेस क्याम्पबाट काठमाडौं सम्पर्क गर्ने काम सुरजसिंह भण्डारी र युवराज धितालले गर्नुभएको थियो । त्यहाँ इन्टरनेट पनि एकदमै स्लो थियो । त्यसले गर्दा काम गर्न निकै गाह्रो भयो । विशुद्ध आरोहीका रुपमा आउनु र वैज्ञानिक मिसनसहितको काम गर्न आउनु निकै फरक रहेछ भन्ने लाग्यो ।

मंगलबार ८८४८.८६ मिटर उचाइ घोषणा भएपछि सञ्चार माध्यमले हामीलाई महत्व दिएका छन् । हो, हामी ज्यान जोखिममा राखेर गएका हौं । तर, हाम्रो यो सफलतामा सयौंजना अहोरात्र खटिनुभएको छ । जोखिम उठाउनुभएको छ । भूमि व्यवस्था मन्त्रीज्यू, तत्कालीन महानिर्देशक गणेशप्रसाद भट्ट, प्रकाश जोशी,  सुशील डंगोल सरहरू लगायतको ठूलो भूमिका छ । त्यसकारण यो नितान्त सामूहिक काम हो ।

१९८० बाट स्याटलाइट पोजिसनिङ सिस्टम सुरू भएको हो । त्यसको ४० वर्षपछि पहिलोपटक स्वयम सर्वेयरहरू गएर नाप्यौं । २०२० चीनका दुईजना सर्वेक्षकहरू गएर नाप्नुभएको छ ।

नेपालले पहिलोपटक सगरमाथा आफैं मापन गरेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर सर्वेयरहरू आफैं गएर नापेर आए । सन् १९२१ मा ब्रिटिश आर्मीले सगरमाथा आरोहणको एक्सपेडिसन सुरू गरेयता सर्बेयरहरू पुगेको पहिलो टीम नै हाम्रो हो । यो सबै देशले गर्व गर्ने कुरा हो ।

त्यतिबेला लागेको घाउ, दागले झस्काउँछ । तर, पनि यो सफलताले गर्दा विगतका दुःख कष्ट सबै बिर्सिसकेका छौं । राज्यले दिएको जिम्मेवारी पूरा गरेर आउन पाउँदा गर्व लागेको छ ।

हामीले हाम्रो सगरमाथालाई ८८४८.८६ मिटरको मुकुट लगाइ दियौं । २०७६ जेठ ८ गते राज्यरोहण गरेर आयौं र २०७७ मंसिर २३ गते राज्यभिषेक भएको हो । यी दुबै मिति हाम्रा लागि स्मरणीय दिनका रुपमा रहनेछन् ।

(सगरमाथा मापन समिट अब्जरभेसनका नेपाली टोली नेता प्रमुख नापी अधिकृत इन्जिनियर गौतमसँगको वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment