Comments Add Comment

कस्तो रह्यो ‘सक्किगोनि’को पहिलो एपिसोड ?

दर्शकले अत्यधिक रुचाएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ ले करिब ९ महिनाको अन्तरालपछि पुनरागमन गरेको छ । विगतमा नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको यो टेलिश्रृंखला हिमालय टेलिभिजनमा बसाइँ सर्दै बिहीबारबाट नयाँ सिजन सुरु भएको हो ।

स्टेसन बदलेसँगै ‘सक्किगोनि’को प्रस्तुतिमा नयाँपन ल्याउने कोशिष गरिएको छ । पहिलो एपिसोड हेर्दा मेकिङमा मिहिनेत र खर्च बढाइएको देखिन्छ । तर, ‘सक्किगोनि’को मौलिक स्वाद भने यो एपिसोडमा दर्शकले मिस गर्न सक्छन् । यसमा हाँसो सिर्जना गर्ने सिक्वेन्सहरु कम छन् । फिल्मी शैलीको कथामा बुनिएका सन्दर्भहरु अतार्किक छन् । अभिनयमा भने कलाकारले सक्दो प्रयास गरेको देखिन्छ ।

‘सक्किगोनि’को यो सिजनमा मुख्य कलाकारमध्येकी रक्षा श्रेष्ठ अनुपस्थित छिन् । सन्तानको प्रतिक्षामा भएकाले उनले यो टेलिश्रृंखलामा समय दिन नसक्ने भएकी हुन् । यसअघि ‘डान्सिङ विथ स्टार्स नेपाल’ पनि उनले विचमै छोडेकी थिइन् । दर्शकले रुचाएका सिते बा, खुपीका बाउ, मुन्नी लगायतका पात्रले पनि पहिलो एपिसोडमा स्पेस पाएनन् ।

रक्षाको अनुपस्थितिलाई ‘कन्भिन्सीङ’ बनाउने चेष्टाका साथ पहिलो एपिसोडको कथा बुनिएको छ । कुमार कट्टेल जिग्री र सागर लम्साल बलेको वरिपरीमै कथा घुम्छ । बलेको अभिनय र संवादले दर्शकलाई बाँध्न सक्छ । तथापि उनी यदाकदा ओभरएक्टिङको शिकार पनि भएका छन् ।

टेलिश्रृंखलालाई ‘रिच’ देखाउन हुन सक्छ, हेलिकोप्टरको प्रयोगसमेत गरिएको छ । केही कलाकारको ड्रेसअप फेरिएको छ । ब्याकग्राउन्ड साउन्डमा पनि परिमार्जन गरिएको छ । तर, के भुल्नु हुँदैन भने गाउँघरको टिपिकल कथावस्तु र त्यस्तै अर्गानिक पात्रहरुका कारण ‘सक्किगोनि’लाई दर्शकले रुचाएका हुन् । आगामी एपिसोडहरुमा दर्शकले यसको पुरानै फ्लेबर पाउनुपर्छ । आगामी दिनमा जिग्री र पाँडेले स्क्रिप्टमा नै बढि घोत्लिनुपर्ने देखिन्छ ।

बहुप्रतिक्षित भएकाले पहिलो एपिसोडको भ्यूज सोचेबमोजिम आक्रामक छ । दर्शकहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म करिब १४ लाख भ्यूज बटुल्दा ७ हजारभन्दा बढि प्रतिक्रिया आइसकेका छन् । हाल नेपालमा यो सिरियल युटुबको ट्रेन्डिङको नम्बर २ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment