Comments Add Comment

बादलको साथ छोड्नेहरु भन्छन् : मन्त्री बनेपछि उहाँमा वैचारिक स्खलन देखियो

पहिले बादललाई साथ दिएका गण्डकी प्रदेशका नेताहरु हरिबहादुर चुमान र यशोदा सुवेदी ।

९ पुस, पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजित भई बेग्ला–बेग्लै कार्यक्रम भइरहँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने तटस्थ थिए । तर उनले बिहीबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीकै समूहलाई साथ दिए ।

त्योभन्दा अगाडि गृहमन्त्री थापासँग उनका समूहले पटक पटक छलफल गरेका थिए । ६ गतेयता थापा समूहको पटक पटक छलफल भएको थियो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली साम्राज्यवादको पिछलग्गु बनेको, जनताले बनाएको संविधान कुल्चिएर संसद नै भंग गर्ने प्रतिगामी कदम चालेकाले विरोध गर्न थापासँग छलफल भएको थियो,’ नेता तथा नेकपा गण्डकी प्रदेशकी सहइन्चार्ज यशोदा सुवेदीले भनिन्, ‘तर, हाम्रो प्रयास केही लागेन । उहाँमा वैचारिक स्खलन आयो ।’

३ दिनसम्म लगातार बादलसँग छलफल भएको र ओली समूहमै जाने भएपछि साथ दिन नसकिने बताएको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । जनयुद्धको विरासतलाई बिर्सिएर बादलको पछि लाग्न नसकिने चुमानको भनाइ थियो ।

नेकपा प्रमुख सचेतक देव गुरुङ, सुवेदी, कानुनमन्त्री चुमान, अमृता थापामगर, श्रीराम ढकाल (प्रशान्त), लेखनाथ न्यौपाने, सुरेश आलेमगर, परशुराम रम्तेललगायत गण्डकी प्रदेशका नेता थापा समूहमा थिए । थापाले ओलीलाई साथ दिए पनि थापालाई आफूहरुले साथ दिन नसक्ने उनीहरुले पहिले नै सामूहिक विचार मन्थन गरेको सुवेदीले जानकारी दिइन् ।

‘बादल कमरेड र प्रचण्डबीच विचार मिलेकै कारण एकता भएको थियो । पूर्व माओवादी र एमालेबीच पनि वैचारिक एकता भएको थियो,’ सुवेदीले भनिन्, ‘बहस गर्ने ठाउँहरु नै समाप्त पार्ने ओलीलाई बादलले साथ दिए । हामीले उहाँलाई साथ दिन सकेनौं ।’

समाजवादको दिशामा जान इन्कार गर्ने प्रधानमन्त्री ओलीलाई साथ दिएर बादलले ठूलो गल्ती गरेको उनको भनाइ थियो । ‘ओलीले पहिले पनि दलाल पुँजीपति वर्गलाई पोस्ने गतिविधि गरे । समाजवाद र साम्राज्यवाद फरक हुन् । ओली साम्राज्यवादको पिछलग्गु बने,’ सुवेदीले भनिन्, ‘दलाल पुँजीपतिलाई पोस्ने ओलीलाई बादलले साथ दिनु बिडम्बना पूर्ण भयो ।’ मन्त्री भएपछि बादलमा वैचारिक स्खलन भएको सुवेदीको विश्लेषण छ ।

गण्डकी प्रदेशका पूर्व माओवादी तर्फका कुनै पनि केन्द्रीय सदस्यले बादललाई साथ दिन नसक्ने कानुनमन्त्री चुमानले बताए । ३ दिनसम्म विचार नमिलेको र चित्त नबुझेको के कुरामा हो छलफल गरेर जानलाई आग्रह गरिएको चुमानको भनाइ थियो ।

‘उहाँले म उता (ओली समूह) गए पनि एकताकै पहल गर्छु भन्नुभयो । हामीले जानु नै गल्ती हुने बतायौं,’ चुमानले भने, ‘जनयुद्धका दोस्रो कमाण्डर, विचार, राजनीतिमा पूरापूर खटेका मान्छे उहाँप्रति आस्था र विश्वास थियो तर टुट्यो ।’

संविधानमाथि नै हस्तक्षेप गर्ने र कुल्चने काम भएकाले प्रतिगमनको यात्रामा नजान पटक पटक आग्रह गरिएको उनको भनाइ थियो । जिल्ला तथा गाउँ कमिटीहरुमा बादल पक्षका केही ओली समूहमै रहे पनि आफूहरु प्रचण्ड–नेपाल समूहमै रहने चुमानले बताए ।

गण्डकी प्रदेश संसदमा बादल समूहका ३ जना छन् । चुमानसहित बागलुङका सांसद चन्द्र बुढा र दीपा रोकामगर बादल समूहका हुन् । सांसद रोकाले बादलले प्रतिगमनको बाटो रोजेको बताइन् ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा पनि बादलले प्रचण्डको साथ छोडेर मोहन वैद्य ‘किरण’लाई रोजेका थिए । तर पछि उनले किरणको साथ छोडे र प्रचण्डसँग पार्टी एकता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment