Comments Add Comment

भोडाहा–खमवा सडकको काम पूरा नहुँदा स्थानीयलाई सास्ती

सडक डिभिजन कार्यालय हेटौंडा भन्छ : बजेट नै आएको छैन

तस्वीर सौजन्य : मनोज यादव 

९ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा पर्ने भोडाहा–खमवा सडक नबन्दा सर्वसाधरण मर्कामा परेका छन् । ७ किलोमिटर सडक ठेक्का लागेको पाँच वर्ष बितिसक्दा समेत नबनेको स्थानीय बताउँछन् ।

०७३/७४ सालमा टेन्डर भएको सडक नबन्दा सर्वसाधरणलाई आवागमनमा समस्या रहेको सवरदिनाका गणेश यादव बताउँछन् ।

‘सवरदिनाका बालबालिका भोडाहा पिलुवा, मनहर्वा पढ्न जान्छन् । स्कुल बस गाउँसम्म आउन सक्दैन । दैनिक ३ किलोमिटर पुर्‍याउन र लिन जानुपर्छ,’ उनले भने, ‘वर्षातको समयमा हिँडडुल गर्न समेत समस्या हुन्छ । बिरामीलाई अस्पताल लैजान पर्दा होस् वा शवलाई दाहसंस्कारका लागि घाट लैजान सास्ती भोग्नुपर्छ ।’

सडक नबन्दा किसानले खेतबारीमा उब्जाएको अन्न, तरकारी बिक्रीका लागि लैजान समेत निकै कष्ट सहनु परिरहेको छ । ‘अहिले उखुको सिजन छ, यहाँबाट रिलायन्स सुगर मिलसम्म उखु पुर्‍याउनुपर्छ,’ यादव भन्छन्, ‘कतिखेर ट्याक्टर, टेलर, गोरु गाढा कहाँ पल्टने हो कुनै ठेगान हुँदैन ।’

कलैया उपमहानगरपालिका–२१ र २२ मा पर्ने उक्त सडकखण्ड नबन्दा मटेरिया, भोडाहा, सोनरनिया, सगदिना, खमवा क्षेत्रका बासिन्दा मर्कामा छन् । सरोकारवालालाई पटक–पटक आग्रह गर्दा पनि सडक बन्न नसकेको कलैया उपमहानगरपालिका-२१ का वडाध्यक्ष पुनदेव रौनियार बताउँछन् ।

‘सडक किन नबनाएको भनेर जनताले हामीसँग गुनासो गर्छन, ठेकेदारले ह्युम पाइप हाल्ने, कल्भर्ट बनाउने लगायत अलि अलि काम गरेको छ । तदारुकताका साथ काम गरिरहेको छैन,’ उनले भने,’ उनले भने, ‘सडक डिभिजन कार्यालय हेटौंडामा १० औं पटक गुनासो गरिसकेका छौं । पैसा आएकै छैन भनेर भन्छन् । गाउँको सडक नबन्दा जनताले निकै सास्ती भोगिरहेका छन् ।’

जिल्लामा आउने हरेक प्रमुख जिल्ला अधिकारीलाई सडकको दुरावस्थाको बारेमा जानकारी गराउँदा समेत उपलब्धि हासिल नभएको वडा अध्यक्ष रौनियार बताउँछन् ।

उक्त सडकखण्ड बनाउनका लागि रमण आश्रय साह जेभीले मूल्य अभिवृद्धि कर बाहेक ६ करोड ९८ लाख ३८ हजार १२ रुपैयाँमा ठेक्का सकार गरेको हो । कम्पनीका सुपरभाइजर नन्दलाल ठाकुरका अनुसार भोडाहामा तटबन्ध, नाला, कल्भर्टको काम गर्नुका साथै १६ सय ट्रिप माटो खन्याएर ग्रेभलको काम सुरु गरिसकेको अवस्था छ ।

७ किलोमिटर सडक मध्ये ५ किलोमिटर ग्राभेल पनि भइसकेको उनी बताउँछन् । थप ग्राभेल खसालिरहेका छौं, भुक्तानी नपाएकोले काममा गति दिन नसकिएको उनले बताए ।

सडक डिभिजन कार्यालयले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भनेपछि बीचमा एक वर्ष काम रोकिएके उनले सुनाए । उनी सडक निर्माण स्थलमा देखिएको विवाद पनि समाधान हुन बाँकी रहेको बताउँछन् । ‘भोडाहामा ४ वटा घर परिरहेको छ । हटाउन भन्दा मानिरहेका छैनन् । बकुलहरमा पनि स्थानीयले विवाद झिकेका छन्,’ उनले भने, ‘स्थानीय स्तरमा आउने यस्ता समस्याले गर्दा समेत काममा अवरोध पुग्छ ।’

कम्पनीका प्रतिनीधि नरेश साह सडक निर्माण नहुनुमा निर्माण पक्ष दोषी नरहेको बताउँछन् । ‘झण्डै ७ करोडको ठेक्का हो, २ करोड ५० लाख जतिको काम भइसकेको छ । दुई किस्तामा १ करोड ५० लाख जति पैसा पाएका छौं,’ उनले भने, ‘केन्द्रले बनाउने कि प्रदेशले भनेर विवाद आउँदा काममा ढिलाइ पनि भयो । काम त भइरहेको छ, पैसा पाउने नपाउने ठेगान छैन ।’

सडक विभागले लाइन र भुक्तानी दिए वर्षा अघि नै सडक बनाइसक्ने उनी बताउँछन् ।
‘ग्राभेलको ८० प्रतिशत काम सक्किसकेको छ, अब बेस र डिभिएसटी कालोपत्रे बाँकी हो । समय नघर्किँदै लाइन र भुक्तानी दिने हो भने वर्षा लाग्नु अघि नै काम सकिन्छ,’ प्रतिनीधि साह भन्छन्, ‘हाम्रो कारणले सडक निर्माणमा ढिलाइ भएकै हैन ।’

सडक डिभिजन कार्यालय हेटौंका अनुसार प्रदेशलाई हस्तान्तरण गर्न खोजिएको योजना हो । प्रदेशले लिन नमानेपछि डिभिजन कार्यालयले नै बनाउने भएको छ । तर सडकका लागि बजेट बिनियोजन भएको छैन ।

सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी लोमस उपाध्यायले सडकका लागि बजेट नै नआएकोले काम गराउन नसकिएको बताए । ‘भोडाहा–खमवा सडकखण्ड प्रदेशमा हस्तान्तरण गर्नुपर्ने सडक हो । प्रदेशलाई बुझाउँदा उसले लिन मानेन,’ उनले भने, ‘ त्यसपछि केन्द्र सरकारबाट पैसा आएकै छैन, जुन दिन पैसा आउँछ, त्यसपछि काम सुरु गर्न भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment