Comments Add Comment

‘मेयरसा’ब ! गरीब निषेधित क्षेत्र लेखेर बोर्ड टाँस्नुस्’

९ माघ, काठमाडौं । पुस २९ गत सुकेधारामा तरकारी बेच्दै गर्दा मञ्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाए । नगर प्रहरीले गाडा उठाएर ट्रकमा हाल्दै गर्दा मञ्जुले रुदै अनुनयविनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

छोराले क्याफेमा पाएको जागिर लकडाउनमा गएपछि ९ हजार रुपैयाँ ऋण काढेर दसैंताका उनले किनेको गाडा खोसिएको थियो । नगर प्रहरीको निर्मम ब्यवहार देखिने भिडियो छापछाप्ती भएपछि मञ्जुप्रति करुणा गर्दै अभियन्ताहरुले ५ लाख भन्दा बढी सहयोग रकम जुटाइदिए । तर, सबैको लागि यस्तो सुखद् संयोग जुर्दैन ।

काठमाडौंमा दैनिक दर्जनौं ठेलागाडा, साइकल र नाङ्लो पसले यही शैलीमा लखेटिन्छन् । उनीहरुको खोसिएको सामान मात्र हैन, गरिखाने साधन पनि फिर्ता हुँदैन ।

महानगरले तिनलाई कवाडीमा लिलाम गर्छ । महानगरको यस्तो कार्यशैलीको आलोचना हुँदै आएको छ । महानगरका अधिकारीहरु भने यसलाई कानूनको परिपालना भन्दै पन्छिन्छन् ।

‘बडो अचम्मको समाज छ, छाडिदिउँ कारवाही नगरेको भन्दै कराउँछन् । कारवाही गर्दा भिडियो बन्छ अनि दयाको फोहोरा छुट्छ,’ महानगरपालिकाका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले ट्विटरमा लेखेका छन्, ‘महानगरले आफ्नो जिम्मेवारी छोडने ? हाम्रो पनि दिल छ, तर शहर ब्यवस्थापन पनि गर्नु पर्‍यो । दैनिक यस्ता २० औं कारवाही हुन्छन् ।’

गरिबका सामान लिलाम गरेर आम्दानी

नगर प्रहरी प्रमुख धनपति सापकोटा महानगरभित्र ठेलागाडा धनीसँग दैनिक छिनाझपटी हुने बताउँछन् । जरिवाना तिरेर गाडा फिर्ता नपाइने भएकाले सडकमा तानातान हुनुलाई सामान्य मान्नुपर्ने उनले बताए । ‘सड्ने, गल्ने र प्रज्वलनशील पदार्थबाहेक सडकबाट उठाइएका सबै सामान कवाडीमा लिलामी गरिन्छ’, उनी भन्छन् ।

२०७४ सालमा मेयर निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले फुटपाथ र सडबाट जफत भएका सामान फिर्ता नदिने निर्णय महानगरको कार्यपालिका बैठकबाट गराएका थिए । जरिवाना तिराएर साइकल, ठेला र सामान फिर्ता गर्दा फुटपाथ अतिक्रमण बढेर सार्वजनिक आवागमन प्रभावित हुने निष्कर्षबाट यस्तो निर्णय भएको थियो ।

२०४८ सालअघि दर्ता भएका रिक्सा र गाडाबाहेक अन्य ठेला गाडा महानगरको कानूनले नचिन्ने प्रहरी प्रमुख सापकोटा बताउँछन् । उनी भन्छन्, ‘ती प्रतिबन्धित ठेला, गाडा र सार्वजनिक स्थान अतिक्रमण गरी भइरहेका व्यापारलाई अवैध मानेर हामी नियन्त्रण गर्छौं ।’

महानगरको कानून कार्यान्वयन गर्न फिल्डमा जाँदा कसको घरमा के दुःख छ भनेर सोध्दै हिँड्न नसक्ने सापकोटा बताउँछन् । ‘सामान लिँदा अलिकति बल प्रयोग हुनसक्छ, ती सामान ल्याएपछि ठेडा गाडा र साइकल कुच्याएर कवाडीका रुपमा लिलामी बिक्री गर्छौं,’ उनी भन्छन्, ‘महानगरले गत वर्ष कवाड लिलामीबाट ५२ लाख रुपैयाँ आम्दानी गर्‍यो ।’

उनका अनुसार नगर प्रहरीले सार्वजनिक स्थलमा ब्यापार गरेको सूचना वा गुनासोको आधारमा पनि छापा मारेर सामान जफत गर्छ ।

ठूलालाई उन्मुक्ति

महानगरले सडक, पेटी र अन्य सार्वजनिक स्थलमा पार्क गरिएका गाडीहरुलाई भने हेर्दैन । आफूसँग गाडी उठाउने क्रेन र तालिमप्राप्त जनशक्ति नै नभएको सापकोटा बताउँछन् । उनी भन्छन्, ‘त्यसरी पार्क गरिएका मोटरसाइकल भने गाडीमा उठाएर लैजान्छौं अनि एकहजार रुपैयाँ जरिवाना गरेर फिर्ता गछौं ।’

नगर प्रहरीसंग लुकामारी गर्दै बानेश्वर चोकको फूटपाथमा कपडा ब्यापार गर्ने सल्मा अन्सारी महानगरको कार्यशैलीलाई ‘सानालाई ऐन, ठूलालाई चयन’ भन्छिन् । धनीले फूटपाथमा राखेका कार नहटाउनेले गरिबले हातमुख जोड्न गरेको ब्यापारमा आँखा लगाउनु पाप हुने उनी बताउँछिन् ।

‘हामीलाई पनि फूटपाथमा बसेर ब्यापार गर्न मन छैन । सके त हामी पनि यही ठाउँमा गाडी रोकेर मलमा किनमेल गथ्र्यौं’ सल्मा भन्छिन्, ‘त्यसो गर्न नसक्ने गरिबलाई मात्र नियम लगाउनु पाप हो ।’

उनले महानगरका मान्छेहरु धनी बन्न सामान लगेर फिर्ता नदिने नियम लगाएको उनको बुझाइ छ । ‘१० हजारको कपडा उठाएर एक हजारको मात्रै हो भनेर लेख्छन् भन्ने सुनेकी छु,’ दुईपटक सामान खोसिएकी सल्माले भनिन्, ‘९ हजार त हाकिमहरुको गोजीमा पुग्छ रे ।’

रत्नपार्कको फूटपाथमा फलफूल व्यापार गर्ने रामकृष्ण तिमल्सिना सटरका ब्यापारीले बाटो छेकेर सामान राख्दा आँखा चिम्लिने नगर प्रहरीले डुलेर ब्यापार गर्नेहरुलाई बहुत दुःख दिएको बताए । ‘सधैं यही पारा छ काठमाडौंमा’, उनले भने, ‘गरिब निषेधित क्षेत्र लेखेर बोर्ड टाँसे हुन्छ ।’

कतिपय महत्वपूर्ण क्षेत्रका फुटपाथ पसल राख्न दिएर नगर प्रहरी र महानगरका कर्मचारीले हप्तावारी बुझ्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

लखेट्ने कि व्यवस्थापन गर्ने ?

काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड लगायत क्षेत्रमा फुटपाथ ब्यापार बढी हुन्छ । ठेला गाडा र साइकलमा ब्यापार गर्नेहरु सहरका सबैजसो टोलमा पुग्छन् ।

महानगरपालिकाले यसलाई नियन्त्रण गर्ने नीति लिएको वर्षौं भयो । नगर प्रहरीले बेला–बेला यस्ता ब्यापारीलाई कारवाही गर्ने गरेको छ । फुटपाथ ब्यापार निमिट्यान्न पार्ने गरी नियमन पनि गर्न नसक्ने, बेला–बेला दुःख मात्रै दिने गर्दा नगर प्रहरीप्रति साना ब्यापारी र स्थानीय रुष्ट छन् ।

शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा निश्चित ठाउँ र समय तोकेर यस्तो ब्यापारलाई व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हाम्रोजस्तो अल्पविकसित मुलुकमा ठूलो संख्याको दैनिक जीविकासंग जोडिएको यस्तो अनौपचारिक ब्यापारलाई एकैपटक निषेध गर्न सम्भव हुन्न,’ उनी भन्छन्, ‘यसलाई व्यवस्थापन गर्न महानगरले निश्चित स्थान र समय तोकेर त्यसमा कडाई गर्ने नीति लिनुपर्छ ।’

शहरमा खाली ठाउँ नभएकाले सडक पेटीका साना ब्यापारीलाई अन्य विकल्प दिन नसकिने महानगरपालिकाले बताउँदै आएको छ । यसरी विकल्पहीन बनेका फुटपाथ ब्यापारीहरु महानगरलाई मान्नसक्ने अवस्था पनि देखिदैनन् ।

शहरका निम्न र निम्नमध्यम वर्गीय परिवार फुटपाथ बजारका मुख्य ग्राहक हुने । सस्तो हुने भएकाले पनि फुटपाथमा सामान किनबेच गर्ने जमात ठूलो छ ।

‘यसले शहरलाई नै सेवा दिइरहेको छ, यसमा आश्रितलाई विकल्प दिएपछि मात्र समस्या समाधान हुन्छ,’ पूर्वसचिव थापा भन्छन्, ‘महानगरले सामान जफतभन्दा व्यवस्थापनमै जोड दिनुपर्छ ।’

ललितपुरको असल अभ्यास

ललितपुर महानगरपालिकाले भने फूटपाथ नियन्त्रणमा नयाँ अभ्यास थालेको छ । यसअघि काठमाडौं महानगरको जस्तै धरपकडको नीति लिएको ललितपुर महानगरले ४ महिनायता फूटपाथ ब्यापारीलाई विकल्प दिन थालेको छ ।

ललितपुर नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथु आफू आएपछि एउटा पनि धरपकड नगरेको बताउँछन् । अरुलाई असर पर्ने गरी बाटोमा ब्यापार गर्न हुन्न भन्ने भावना जगाउन सचेतना अभियान चलाएको भन्दै उनले बाध्यात्मक अवस्थाका ब्यापारीलाई विकल्प पनि दिन सुरु गरिएको बताए ।

‘बाध्यात्मक अवस्थाका व्यापारीहरुलाई ट्याक्सी पार्किङ क्षेत्र घटाएर त्यहाँ अरु कसैलाई असर नपर्ने गरी समय तोकेर बस्न दिन थालेका छौं,’ हाछेथु भन्छन्, ‘भोको पेटलाई बल प्रयोग हुने डरले पेटीमा ब्यापार गर्नबाट रोक्न सक्दैन भनेर यस्तो गर्न थालिएको छ ।’

लगनखेल लगायतका क्षेत्रमा बेलुकी ५ देखि ७ बजेसम्म र विहान ८ बजेसम्म आवागमनमा असर नपर्ने गरी ब्यापार गर्न दिइएको उनले बताए ।

जरिवाना गराएर मात्रै नियम पालना नहुने भएकाले एक छाक खान पनि समस्या परेकालाई समय र स्थान तोकेर गरिखान दिनुपर्ने ललितपुर महानगरको निष्कर्ष छ । ‘नगर प्रहरी भन्नासाथ लखेट्न र खोस्न आउने हो भन्ने छाप छ,’ हाछेथु भन्छन्, ‘तर, हामी त व्यवस्थापन गर्ने हो, जनताको सहयोगी बन्ने हो ।’

धनीका सवारी पार्क हुने क्षेत्रमा गरिबले पेट भर्न ब्यापार गर्छु भन्दा रोक्न नसकिने उनले बताए ।

भिडियोमा हेर्नुस मञ्जु कुँवरमाथि नगर प्रहरीको ज्यादति 

 

गरिबले बाच्न नपाउने हाम्रो देश नेपाल।🇳🇵
यस्तो देख्दा नेपाली हुनुमा गौरव अलिकति पनि लाग्दैन।🥺
यो घट्ना काठमाडौं कै हो।।

आमाको नाम:-मन्जरी
सुकेधारामा बस्नुहुन्छ।
Contact:-9849091966

Posted by Uh Meh Sh on Wednesday, 13 January 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment