Comments Add Comment

करिष्मा ‘महानायिका’ !

राजेश हमाल ‘महानायक’, अनमोल केसी ‘मेगास्टार’ । कोही ‘एक्सनस्टार’ कोही ‘सदाबहार’ । विशेषणको यस्तो फुर्को जोड्ने सिलसिला जारी छ ।

कसलाई ‘महानायक’को तक्मा दिने वा कसलाई ‘मेगास्टार’को लाहाछाप लगाइदिने ? यसको कुनै सर्वमान्य र वैज्ञानिक इकाई छैन । यद्यपि कसैको प्रतिभा, प्रभाव र लोकप्रियताको सामान्य लेखाजोखा गरेर भावनात्मक रुपमा यस्तो विशेषणले ‘सुशोभित’ गर्ने प्रवृत्ति छ । कसले कसलाई कुन विशेषण किन दिने भन्ने कुराको आधिकारिक खाका तयार गरिएको छैन । त्यसैले यहाँ सबैले आ–आफ्नै तालमा डम्फु बजाइरहेका छन् ।

हालैको प्रसंग । अभिनेत्री करिष्मा मानन्धरलाई एक संस्थाले ‘महानायिका’को मुकुट पहिर्याइदिए ।

राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा करिष्मालाई पहिलो पटक ‘महानायिका’ भनी सम्बोधन गरियो । रमाइलो त के भने कार्यक्रममा ‘महानायक’ राजेश हमाल पनि उपस्थित थिए । आयोजकले उनलाई मञ्चमा उभ्याए । र, उनकै समकालिन अभिनेत्री करिष्मालाई ‘महानायिका’ लेखिएको ‘सैश’ लगाइदिए ।

त्यसपछि उनलाई माला, क्राउन र सम्मानपत्रसँगै ‘महानायिका’ उपाधि दिइयो ।

‘आर के इन्टरटेनमेन्ट ग्रुप’ नामक एक संस्थाले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा देखिएको दृश्य हो यो ।

सम्मानित भएपछि करिष्माले भनेकी छिन्, –‘जुन सम्बोधन गरेर मलाई सम्मान प्रदान गर्नुभयो । म यसलाई एउटा कलाकारलाई गरेको सम्मानका रुपमा लिएकी छु । र, उहाँहरुप्रति धेरै आभारी छु ।’

सन् १९७४ मा ललितपुरमा जन्मिएकी करिश्माले १४ वर्षको उमेरमा ‘सन्तान’बाट डेब्यु गरेकी हुन् । ‘कस्तुरी’ चलचित्रमा काम गरेपछि करिष्माले निर्देशक विनोद मानन्धरसँग विवाह गरिन् ।

एकताका यस्तो पनि थियो कि, नायिका भनेकै करिष्मा हुन् । त्यसबखत उनले एकपछि अर्को हिट फिल्म दिइन् । उनका मायालु, ट्रक ड्राइभर, भाउजू, पंन्छी, रणभूमि, बसन्ती जस्ता चलचित्र हिट भए ।

तर, पछि आफ्नै लगानीमा ‘ढुकढुकी’, ‘बाबुसाहेब’ जस्ता चलचित्र निर्माण गरिन् । आफैले मूख्य भूमिकामा अभिनय गरिन् । चलचित्र चलेन । एकातिर आफ्ले निर्माण गरेको चलचित्रले हावा खानु र अर्कोतिर करियर पनि ओरालो लाग्दै जानुले उनलाई कतिसम्म पिरल्यो भने, चटक्कै करियरलाई बिट मारेर नेपाल छाडिन् ।

लामो समयपछि उनी नेपाल फर्किइन् । त्यसपछि ‘फागु’ नामक चलचित्र बनाइन् । चलचित्रले उनलाई नरम्ररी लोप्पा ख्वायो । त्यसपछि राजनीतिमा होमिइन् । तर, उनको राजनीतिक अवतरण पनि सोचेजस्तो फलिफापयुक्त भएन ।

राजनीतिबाट मोडिएर दृढतासाथ पढाईमा लागेकी उनले यसतर्फ भने एक हदसम्म सफलता हासिल गरिन् ।

करिष्माकी एक छोरी कविता छिन् । उनले पनि चलचित्रमा अभिनय गरिसकेकी छिन् । माघ १ गतेदेखि प्रदर्शनमा आएको ‘एउटा यस्तो प्रेम कहानी’मा कविताले अभिनय गरेकी हुन् । तर, चलचित्र प्रदर्शनमा आएको–गएको दर्शकलाई पत्तो भएन् ।

छोरीको पहिलो चलचित्र असफल भएपछि करिष्माले आफ्नै लगानीमा छोरीलाई चलचित्र खेलाउने तयारी गरिरहेकी छिन् । जुन चलचित्रको नाम करिष्माले ‘बनबास’ राखेकी छिन् । हाल ४७ वर्षकी करिष्माको सुन्दरताको चर्चा चलचित्र बजारमा सधै हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment