Comments Add Comment

७ महिनामा आन्तरिक राजस्व असुलीमा ९५.९ प्रतिशत प्रगति

२५ फागुन, काठमाडौं । आन्तरिक राजस्व संकलनमा कोरोना भाइरसको प्रभाव अझै रहेको पाइएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिना (साउन-माघ)सम्म आन्तरिक राजस्वतर्फको प्रगति ९५.९ प्रतिशत मात्र रहेको छ । आन्तरिक राजसव विभागका अनुसार चालु आवको माघसम्म आयकर १ खर्ब १२ अर्ब ४३ करोड संकलन भएको छ ।

यसअवधिमा मूल्य अभिवृद्धि करतर्फ ६५ अर्ब १२ करोड संकलन भएको विभागको तथ्यांक छ । अन्तःशूल्कमा भने ४३ अर्ब ५८ करोड संकलन भएको देखिएको छ । शिक्षा सेवा शूल्क र अन्य शीर्षकमा २ अर्ब ८८ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । यसरी कुल २ खर्ब २४ अर्ब १ करोड रुपैयाँ आन्तरिक राजस्व यस अवधिमा उठेको छ ।

त्यसो त आयातमा भएको वृद्धिले समग्र राजस्व संकलन भने लक्ष्यको नजिकै रहेको छ । विभागका अनुसार चालु आवको ७औं महिनासम्मको अवधिमा भएको संकलन गत आवको यसै अवधिको तुलनामा ९ अर्ब ७२ करोड कम हो ।

तर, यो अवधिमा गत वर्ष भने कोरोनाको प्रभाव थिएन । कोरोनाको प्रभाव अर्थतन्त्रमा चैतपछि मात्र देखिन थालेको हो । सरकारले ११ चैतबाट नेपालमा देशव्यापी लकडाउन गरेको थियो । असुली न्यून हुनुको मूल्य कारण कोभिड १९ ले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव रहेको विभागले जनाएको छ ।

लक्ष्य भेटाउन वैकल्पिक कार्ययोजना बनाउने

आन्तरिक राजस्व विभागले चालु आवमा पाएको लक्ष्यअनुसार संशोधित लक्ष्य पुरा गर्न वैकल्पिक कार्ययोजना बनाउने निर्णय विभागले गरेको छ । विभागले चालु आवको माघसम्मको प्रगतिको समिक्षा गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

करदाता सेवालाई अझ करदातामैत्री र सेवामूखी बनाउने, राजस्व नीति तथा कार्यक्रममा समावेश भई सम्पन्न हुन नसकेका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने तथा कोभिड १९ ले अर्थतन्त्र र कर प्रणालीमा पारेको प्रभाव विश्लेषण गरी आगामी आजको राजस्व नीति, कार्यक्रम र कर प्रणालीमा गर्नुपर्ने सुधारमा समेत कार्यसूची बनाउने निर्णय विभागले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment