Comments Add Comment

नेताले आत्मसमर्पण गरेकै दिन गोइत समूहले गरायो विस्फोट

बम विस्फोटमा भएका घाइते

१ चैत, जनकपुरधाम । आइतबार सिराहाको लाहानस्थित मालपोत कार्यालयमा सेवाग्राहीको ठूलो भिड थियो । साढे १२ बजेपछिको समय सेवाग्राही आउने जाने गरिरहेका थिए । एक्कासी ठूलो आवाजमा केही पड्किएको सुनियो । एकैछिनमा केही व्यक्ति रक्ताम्य अवस्थामा देखिए ।

प्रेसर कुकर बम विष्फोट हुँदा ड जना घाइते भए । मालपोत कार्यालयका नायव सुब्बा सिरहाको बिष्णुपुर गाउँपालिकाका शिवकुमार यादव, लेखापढी व्यवसायी भोलाबहादुर मगर, सेवाग्राहीमा गोलबजार नगरपालिका–६ कि लक्ष्मी राना, बेचनी मगर, फूलकुमारी ठाकुर, सिरहा नगरपालिका–१६ का ५२ बर्षीय लालबहादुर बिश्वकर्मा, भगवानपुर गाउँपालिकाका ५४ बर्षीय बद्रीनारायण यादव र धनगढीमाई नगरपालिका–४ का ३५ बर्षीय दिनेश भण्डारी घाइते भए ।

घाइतेमध्ये गम्भीर भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । उनलाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नायब सुब्बा शिवकुमार यादवको विराटनगरमा र अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ‘म त कार्यालय बाहिर थिएँ । सेवाग्राहीको भिड लाग्न थालेको थियो’ मालपोत कार्यालय लहानका प्रमुख दीपेन्द्र चौधरीले भने, ‘ठूलै घटना भएछ ।’

दोस्रो नेताले छाडेपछि शक्ति देखाउन विस्फोट

विस्फोट भएको झण्डै अढाई घण्टापछि छुट्टै तराईको माग गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइतले घटनाको जिम्मेवारी लिए ।

यो समूहका नेता रामबिलास यादवले सिरहामै प्रहरी समक्ष आइतबारै आत्समर्पण गरेका थिए । बिहान १० बजेतिर आफूलाई गोइतपछिको नेता भनिने उनले आत्मसर्पण गरेको तीन घण्टा नबित्दै बम विस्फोट भएको थियो ।

‘यादवले प्रेस विज्ञप्ति जारी गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष आत्मसर्पण गरेका थिए’ सिरहा प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले भने, ‘एकै दिन आत्मसमर्पण गर्नु र विस्फोट भएको घटनाको हामी सुक्ष्म तरिकाले अनुसन्धान गर्दैछौं ।’ प्रहरीले रामबिलासमाथि पनि अनुसन्धान सुरु गरेको छ ।

गोइत समूहले यसअघि सिरहाको सुखीपुर नगरपालिकामा प्रेसर कुकर बम राखेको थियो । तर, त्यो बम विस्फोट हुनुपूर्व नै सुरक्षाकर्मीले निष्क्रिय बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment