Comments Add Comment

कोरोनाको दोस्रो लहरको संकेत, विज्ञ भन्छन्- पहिलेजस्तै सतर्क बनौं

१० चैत, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ?

त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् । टेकु अस्पतालमा २०७६ चैत दोस्रो हप्ता कोरोना भाइरसको दोस्रो केस भेटिएयता आजसम्म शून्य संक्रमित भएर वार्ड खाली भएको छैन ।

पछिल्लो १० दिनयता कोरोना महामारीको शुरुवाती चरणमा जस्तै तनाव थपिएको डा. राजभण्डारी बताउँछन् । ‘संक्रमण भेटिइरहेको बेला सरकारले महामारी नियन्त्रणको अभ्यास गर्न चटक्कै छाड्नु हुदैनथ्यो’  उनी भन्छन्, ‘नागरिकलाई पनि लापरवाही गर्ने छुट थिएन ।’

पछिल्लो १० दिनयता संक्रमणको दर निरन्तर बढिरहेको छ । मंगलबार ४ हजार ३२ जनाको परीक्षण गर्दा १ सय ८८ जनामा र सोमबार ४ हजार ४ सय ७२ जनाको परीक्षण गर्दा १ सय ५५ जनामा संक्रमण देखिएको छ ।

महामारी नियन्त्रणमा नआउँदै सरकार र नागरिकले लापरवाही गरेकाले यो अवस्था आएको बताउने डा. राजभण्डारी फेरि पहिलेको संयत्र र व्यवहार पुन: सक्रिय गराउनुपर्ने बताउँछन् । नेपालमा जिन सिक्विन्सिङ गर्ने प्रविधि नभएर पछिल्लो समय भेटिएको संक्रमण कुन भेरियण्टको हो भन्ने पुष्टी हुन सकेको छैन । तर राजभण्डारी नयाँ भेरियण्टको कोरोना भाइरस फैलिइसकेको आशंका गर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (इडिसिडी) यसअघि ३ जनामा नयाँ भेरियण्ट भेटिइसकेको पुष्टी गरेकाले उनको दाबीमा सत्यता रहेकोमा अधिकांश जनस्वास्थ्यविज्ञ सहमत छन् । किनकि पछिल्लो समय भेटिएका धेरै संक्रमितमा ‘एस जिन’ देखिएको छैन । एस जिन नदेखिएको भाइरसमा नयाँ भेरियन्टको भाइरस छ कि भनेर आशंका गर्न सकिने इडिसिडीका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

डा. राजभण्डारीका अनुसार नेपालमा अहिले बढेको संक्रमण युरोपेली देशमाझै कोरोनाको दोस्रो/ तेस्रो लहरको संकेत हो । भलै यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधिकारिक घोषणा गरेको छैन । तर अधिकांश जनस्वास्थ्य विज्ञ कोरोनाको दोस्रो लहर आएकामा सहमत छन् ।

‘हामीले जे गर्नुपर्ने थियो गरेनौं, अब विगतबाट पाठ सिक्नुपर्छ ‘ निर्देशक राजभण्डारी आफ्नो अनुभव सुनाउँछन् ।

पटक पटक फैलिने र विश्वका धेरै भूगोललाई सताउने ‘पान्डेमिक’को चरित्र भएकाले यस्तो समयमा विश्वको अरु देशको अवस्था हेरेर कदम चाल्नुपर्ने जनस्वास्थ्यविद डा. शरद वन्त बताउँछन् । उनका अनुसार अन्य देशमा महामारीको दोस्रो/तेस्रो लहर फैलिएको बेलामा ‘हामी अपवाद हुन्छौं’ भन्ने सोच नै गलत हुन्छ ।

अझ समुदायमै संक्रमण भइरहेको बेला राज्यले आफ्नो गतिविधि बढाउने र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प हुन्न ।  पछिल्लो समय राज्य र नागरिक दुबैको तर्फबाट गल्ती भएको उनको तर्क छ ।’जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा जोड दिनुपर्छ भन्दा कसैले वास्ता गरेनन्, विज्ञानलाई नसुन्नु नै गल्ती भयो’ डा. वन्त भन्छन्, ‘हाम्रो मुर्खताको परिणाम घातक हुन्छ भन्ने सोचेको भए हामी अहिले अर्कै अवस्थामा हुने थियौं ।’

फेरि परीक्षणको दायरा बढाउने, क्वारेण्टिन व्यवस्थित बनाउने, कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउनुपर्ने डा. वन्त बताउँछन् । अब महामारीविरुद्ध लड्ने सबै संरचना र व्यवहारलाई  पुनर्जागृत गराउन उनको सुझाव छ ।

यो पनि पढ्नुहोस फेरि बढ्दैछ कोरोना संक्रमण, नयाँ भेरियन्टको भाइरस फैलिएको आशंका

केही सीमित व्यक्तिले खोप लगाएको भरमा महामारी सकिएको भन्दै लापरवाही गर्ने व्यवहारले असर पार्ने डा. वन्तको भनाइ छ । खोप लगाए पनि शरीरमा कोभिड-१९ विरुद्धको एण्टीबडी बन्न समय लाग्ने भएकाले लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किनकि, खोप अभियानको  प्राथमिकतामा परेका अधिकाशंले दोस्रो डोज खोप लगाएका छैनन् भने खोपको प्रभावकारी दर पनि अत्यन्त न्यून छ।

नयाँ भेरियण्टको कोरोना आशंका गरिएकाले पनि खोप लगाएर ढुक्क हुने अवस्था नरहेको डा. वन्तको दावी छ । नयाँ भेरियण्टको कोरोनालाई खोपले प्रभाव पार्ने वा नपार्ने आधिकारिक अध्ययनको नतिजा सार्वजनिक भएको छैन । भाइरसले जुनसुकै ठाउँमा पनि आफ्नो स्वरुप परिवर्तन गरेर नयाँ स्वरुपमा विकास हुने भएकाले सतर्क हुनुपर्छ ।  नेपालमै अन्य देशको भन्दा नयाँ स्वरुपको भाइरस विकास हुन सक्ने उनी बताउँछन् ।

‘खोप लगाएको छु भनेर जनस्वास्थ्यको मापदण्डमा लापरवाही गर्ने बेला भइसकेको छैन, यो पहिलेको गल्तीबाट पाठ सिक्ने समय हो’ डा. वन्त भन्छन्, ‘ जुनसकै भेरियण्टको कोरोना भएपनि संक्रमणबाट बच्नलाई जनस्वास्थ्यको मापदण्ड त पालना गर्नैपर्छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा महामारी नियन्त्रणमा डटेर लाग्नुपर्छ भन्ने मान्यताका कर्मचारी नभएकाले महामारीविरुद्धको लडाइँ कमजोर भएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । महामारी नियन्त्रण गर्न चाहने हो भने पहिलेको भन्दा अवस्था सजिलो भएको उनको भनाइ छ ।

पहिले भन्दा प्रयोगशालाको सङ्ख्या धेरै रहेको र पीसीआर किट सस्तो भएकाले पनि परीक्षणको दायरा बढाउन सजिलो हुने उनको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङ र अन्य सुरक्षाको प्रावधान लागु गर्ने अभ्यास गरिसकेकाले अब सहज हुने सुवेदी बताउँछन् ।

‘अहिले नै महामारी नियन्त्रणको काम सुरु गर्‍यौं भने हामी महामारी नियन्त्रण गर्न सक्छौँ’ डा. सुवेदी थप्छन्, ‘ तर काम सुरु गर्नको लागि कर्मचारीको भन्दा राजनीतिक नेतृत्वको इच्छाशक्ति चाहिन्छ ।’

जनस्वास्थ्यविद डा. वन्तपनि संक्रमण कम भएकै बेला कन्ट्याक्ट  ट्रेसिङ चुस्त बनाउनुपर्ने बताउँछन् । ‘समुदायमै संक्रमण फैलिइसकेको बेला स्रोत पत्ता लगाउन सकस हुन्छ ‘ डा. वन्त भन्छन्, ‘तर थोरै संक्रमित भएको बेला नै कन्ट्रयाक्ट ट्रेसिङ सुरु गर्ने हो भने संक्रमण स्रोत पत्ता लगाउन धेरै गाह्रो छैन ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि संक्रमण बढेकाले फेरि परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिनुपर्ने बताउँछन् । फेरि एक पटक पहिलेकै अवस्थामा फर्केर गल्तीबाट पाठ सिक्दै राज्य र नागरिकले व्यवहार गर्नुपर्ने उनको सुझाव छ । ‘संक्रमण बढेको तथ्यांकले देखाइरहेको छ, अब हामी महामारी नियण्त्रणमा लाग्नुको विकल्प छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment