Comments Add Comment

डोटी जिल्ला प्रशासनमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

फाइल तस्वीर

११ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमध्ये पनि केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई, एकजना चालकको दरबन्दी वर्षौंदेखि खाली रहेको छ ।

चाँडो काम गराउने आश लिएर सेवाग्राहीहरु कार्यालय खुल्नुअघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राहीहरु घर फर्किनुपर्ने बाध्यता रहेको केआईसिंह गाउँपालिकाबाट आएका सेवाग्राही रमेशबहादुर भुलले बताए । ‘सेवाग्राही दिनभरि लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा साँझपख रित्तो हात फर्किन बाध्य हुने गरेका छन्, कर्मचारी नभएका कार्यालय खोल्नु किन ?’ उनले भने ।

पछिल्लो समय जिल्ला प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको संख्या अत्याधिक रहेकाले तोकिएका कर्मचारी अभावका कारण काममा केही समस्या हुँदै आएको जिल्ला प्रशासनका खरिदार तेजबहादुर खड्काले बताए । ‘हामीसँग कर्मचारी अभाव छ, कर्मचारी हुँदाहुँदै कसैको काम रोकेका छैनौं, कर्मचारी नभएपछि कसरी काम गर्नु, समस्या नै छ,’ उनले भने ।

कर्मचारी अभावसँगै यहाँका नौवटै स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीको हकमा जिल्ला प्रशासनले बार तोकेर नागरिकतालगायत सेवा दिइने व्यवस्था मिलाएको छ । जिल्लाको विभिन्न दुर्गम स्थानबाट सेवा लिन आए पनि छिटोछरितो सेवा प्रवाह हुन नसक्दा आफूहरु सास्ती झेल्न बाध्य रहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीहरुले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी एक (सहसचिव), सहायक प्रजिअ एक (उपसचिव)सहित २१ जनाको दरबन्दी छ । दुई प्रशासकीय अधिकृतमध्ये एक, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी पनि खाली छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment