Comments Add Comment

भारतमा संक्रमण बढेसँगै रौतहटका नाकामा घर फर्किनेको चाप 

३० चैत, रौतहट । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सीमा नाकामा स्वदेश फर्किनेहरुको चाप बढेको छ । भारतमा कोरोनाको दोसो लहर चलिरहँदा त्यहाँ रहेका नेपालीहरु घर फर्किन थालेका हुन् ।

रौतहटको सीमा क्षेत्र भएर प्रत्येक दिन सयौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका उनीहरु कोरोना संक्रमण बढेसँगै घर फर्किएका हुन् ।

सीमा क्षेत्रमा नेपाल भित्रिनेहरुको चाप बढिरहे पनि तथ्यांक राख्ने तथा चेकचाँज गर्ने कुनै व्यवस्था गरिएको छैन ।

चेकजाँचसँगै क्वारेन्टिन र आइसोलेसन सञ्चालनको तयारी : प्रजिअ यादव

भारतीय शहरहरुमा लकडाउन हुन थालेपछि घर फर्कन चाहने विदेशीहरुको लागि मुम्बई लगायतका केही शहरबाट हाल निःशुल्क रेल सुविधा प्रदान गरिएको छ । लकडाउनमा परदेशमा घेरिनुभन्दा निःशुल्क रेल सुविधा पाएको बेला घर फर्किनेहरुले गर्दा सीमा क्षेत्रमा चाप बढेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘भारतबाट फर्कनेहरुलाई गौर र बंकुल नाकाबाट मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाटै नाकामा चेकजाँच, अभिलेखिकरण र परीक्षणको निर्णय भएको छ ।’

भारतसँगको खुल्ला नाकाका कारण स्थानीयहरु अन्य बाटो भएर प्रवेश गर्न सक्ने भएकोले सुरक्षा निकायलाई निगरानी बढाउन निर्देशन दिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

जिल्लामा पीसीआर ल्याब सञ्चालनमा रहेको तथा सबै पालिकाहरुलाई क्वारेन्टिनको व्यवस्थापन गर्न पत्राचार गरिएको पनि यादवले जानकारी दिए । रौतहटको धरहरीमा रहेको आइसोलेसनलाई पुनः सञ्चालन गर्ने तयारी भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment