Comments Add Comment

कोरोना भाइरसको महामारी र डिजिटल भुक्तानी

के समयले डिजिटल भुक्तानीको माग गरेकै हो त ?

सन् २०१५ को उत्तरार्धसम्म पनि एमेजन डटकमका हाल भूतपूर्व प्रमुख कार्यकारी अधिकृत जेफ बेजोजको नाम संसारका सर्वाधिक धनाढ्यको उच्चतम १० को दर्जामा पनि थिएन । डिजिटल प्रविधिको प्रयोग गरी वेबसाइटहरूबाट सामान मगाउनुको चलन त थियो, तर चर्चामा थिएन । हातैले सामान उठाएर आफ्नो झोलामा हाली घर ल्याउने शताब्दीऔं पुरानो परम्परालाई परिवर्तन गर्न समय त लाग्यो, तर जुन प्रकारले सन् २०१५ पछाडि वेबसाइट वा सामाजिक सञ्जालबाटै सामान अवलोकन गरी, त्यसको तुलानात्मक मूल्याङ्कन गरेर बजारमा चलिआएको मूल्य परख गरी खरिद गर्ने चलन चल्यो – त्यो परम्परा “बानी” बन्न समय लागेन । ३/४ वर्षको अन्तरालमा एमेजन डटकममात्रको व्यवस्थापन गर्दा-गर्दै नै जेफ बेजोज संसारका सर्वाधिक धनाढ्य व्यक्ति बने ।

सन् २०१९ सकिँदा नसकिँदै संसार कोभिड-नाइन्टिनको महामारीले आक्रान्त हुन थाल्यो । भौतिक दूरी कायम गर्नैपर्ने युग निम्तियो । यो समस्या जेफ बेजोजको देश संयुक्त राज्य अमेरिकामा मात्र निहित रहेन, सारा संसारभरिकै समस्या बन्न पुग्यो । सबैतिर समाचार फैलियो – भाइरस भौतिक वस्तुहरूमा यति-यति दिनसम्म रहन्छ भनेर । सँगै कागजले बनेको नोट प्रयोग नगर्नु भन्ने सुझावले सामाजिक सञ्जाल लगभग लटरम्मै बन्यो । यसको नतिजा सन् २०२० मा देखियो – डिजिटल भुक्तानी र डिजिटल प्रविधिको कारोबारले यस्तो फड्को मार्‍यो । जसले जेफ बेजोज संसारका सबैभन्दा धनाढ्य व्यक्तिमात्र बनेनन्, संसारका पहिला सेन्टिबिलिनियर अर्थात् १०० बिलियन अमेरिकी डलरको मालिक बने ।

यहाँ दुईवटा दृष्टान्तलाई एकैचोटि प्रस्तुत गर्ने जर्मको गरेको छु । पहिलो, डिजिटल प्रविधिको युगमा सन् १९९१ बाट सन् २०२१, अर्थात् ३० वर्षभित्र नै आकाश-पातालको फरक देखिइसकेको छ । हिजो जे काम गर्नका लागि कम्प्युटरले हप्तौं लगाउँथ्यो, त्यो केही क्षणमा हुन्छ । जुन कामका लागि यन्त्रको आकार घरजत्रा हुन्थे, त्यो हत्केलामा अटाएका छन् । जुन मेसिनहरू धनी देशका सरकारसँगमात्र हुन्थे, त्यो अहिले साह्रै गरिब देशका जनतासँगसमेत हुन थालेको छ । यसको अर्थ डिजिटल युगले प्राविधिक क्रान्ति ल्याएको मात्र भन्ने होइन, आर्थिक र सामाजिक प्रवर्तन गरेको हो भन्ने कुरा पनि सजिलै बुझिन्छ ।

विजय अधिकारी

दोस्रो कुरा हो, कन्ज्युमरिजम् अर्थात् सेवाग्राहीको बानीमा परिवर्तन । मैले अघि नै भनिहालेँ – डिजिटल प्रविधिले हामीमा नयाँ परम्परा स्थापना गरिदिएको छ, जुन हामीभन्दा अगाडिको पुस्तामा थिएन । वेबसाइट वा सामाजिक सञ्जालमा आफूले खरिद गर्न चाहेको वस्तुको तुलना र मूल्याङ्कन गर्ने परम्परा अब विदित भइसकेको छ । तपाईंले अहिले तत्कालै गएर कुनै विद्युतीय उपकरण, वा गाडी-मोटरसाइकल वा नेपालभित्रमात्र निहित सेवा-सुविधा जस्तै विद्यालयदेखि लिएर नेपाली दूरसञ्चार वा इन्टरनेट सेवाप्रदायक वा नेपाली लत्ता-कपडादेखि लिएर बसको टिकटसम्मको मूल्य गुगल डटकममा गएर दाँज्न सक्नुहुन्छ ।

यसरी दाँजो गर्ने प्रवृतिलाई बुझेर नै सबैभन्दा बृहत् सामाजिक सञ्जाल फेसबुकले “फेसबुक एड्” र गुगलले “गुगल एडवर्ड” सुविधा अगाडि ल्याएको हो । यो संसारको बानी हो र अब यो नेपालीको पनि बानी भइसकेको छ । डिजिटल विज्ञापन राख्दा गुगलसँग सम्बन्धित वेबसाइट वा फेसबुकले आधिकारिक गणनासहित नै ग्राहकको सङ्ख्या बताइदिने हुनाले नेपाली कम्पनीहरूले पनि त्यसतो विज्ञापनप्रति मोह देखाएका छन् ।

यहाँ आएर अब भौतिक कारोबारको प्रक्रियाको अन्तिम फड्कोलाई डिजिटलले विस्थापना गर्ने व्यवस्था नै हेरौं । कोभिड-१९को महामारीकोयो बखतमा भौतिक कारोबारलाई डिजिटलमा रूपान्तरण गर्नुपर्ने आवश्यकता नै देखिएको छ । जब ग्राहकको रोजाइ डिजिटल प्लेटफर्ममा छ, सामग्री उपलब्ध गराउने विक्रेताले घरसम्म सामान ल्याइदिन्छ भने भुक्तानीको प्रणाली पनि डिजिटल नै हुनुपर्ने कुरा एक प्रकारले त जायजै पनि हो । त्यसो भए यो एउटा प्रश्नलाई ध्यान दिएर मनन गरौं, “के समयले डिजिटल प्रणालीको भुक्तानीको माग गरेकै हो त ?’ यसका निम्न केही तर्कहरू यहाँ प्रस्तुत गर्न चाहन्छु –

१. आयुः

कागजी मुद्राको आयुका बारेमा लामै बहस चलिसक्यो । कागजको नोट छाप्न कुनै देशको सरकारले यसै पनि खर्च गर्नैपर्ने हुन्छ ‍। तर खर्च गरेर बनाइएको कागजी मुद्राको आयु सीमित हुन्छ र अर्को पटक नोट छाप्नका लागि सरकारले अर्को लगानी गर्नैपर्ने हुन्छ । त्यसको साटो डिजिटल मनी अर्थात् डिजिटल प्रविधिसँग जोडिएको मुद्रा प्रयोग गर्दा कुनैपनि भौतिक वस्तुको नोक्सानी हुने देखिँदैन जसका कारण मुद्राको निर्माण गर्नुपर्ने झन्झट कुनैपनि देशको सरकारकै लागि पनि न्यूनीकरण हुँदै जान्छ ।

२‍. चलनः

डिजिटल भुक्तानीको लहड अब सुसम्पन्न देशमा मात्र निहित रहेन । दक्षिण एसियामा नै पनि यो प्रविधिलाई निम्त्याएर कागजी मुद्राको प्रयोगलाई कम गरिँदै छ । नेपालभित्र पनि प्रत्येक बैंकहरूले यो प्रविधिलाई नै ध्यानमा राखी आफ्नो बैंकिङ कारोबारलाई विस्तार गरेका छन् । बैंकको काम-कार्य अब रकम बचतमा राख्नु वा कर्जा दिनुमा मात्र सीमित नरही ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सजिलो बनाउनुमा पनि विस्तारित भइसकेको छ । सर्वविदित कोड अर्थात् युनिभर्सलन क्युआरकोडको प्रयोग गरी जहाँ जस्तोसुकै सञ्जालबाट जोडिएको क्रेताकहाँ गई कुनै एउटा क्युआरकोड स्क्यान गर्न सक्ने ग्राहकले सजिलै आफ्नो मोबाइल फोनबाट नै भुक्तानी गर्न सक्ने सुविधा यही कोभिड-१९ को युगभित्रै पनि विस्तार हुँदैछ । यसले पनि उच्च आवाजमा भनेकै होला, ‘डिजिटल भुक्तानी नै आवश्यक पनि छ।’

कुमारी बैंक लिमिटेडका डिजिटल विभागका प्रमुख श्री अनिस ताम्राकार भन्नुहुन्छ, “गएको १ वर्षमा कोरोना भाइरसको अतिसङ्क्रमणले गर्दा पनि होला, क्युआरकोडबाट स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरू र क्युआरकोडको व्यवस्था मिलाइदिनुहुन आग्रह गर्ने क्रेताहरूको सङ्ख्या पनि बढेको छ । हुन त डिजिटल भुक्तानी गर्नका लागि कार्डको व्यवस्था त छँदै छ, तैपनि फोन पेको सञ्जालमा लगभग सबै बैंकहरू जोडिनु र साना व्यवसायीहरूसम्ममा क्युआरकोड पुग्नुले यो सङ्ख्यामा उल्लेखनीय वृद्धि गरिसकेको छ ।’

ताम्राकार भन्नुहुन्छ, ‘कुमारी बैंक लिमिटेडबाटै पनि हामीले मलेखु, चितवनलगायत काठमाडौँका विभिन्न तरकारी बजारहरूमा समेत क्यु आर कोडहरू बाढ्यौं । यी स्थानहरूमा कार्डको पहुँच होला-नहोला तर मोबाइल फोनको पहुँच पक्कै पुग्छ । मेरो अनुमानले कार्डभन्दा क्युआरकोडको हालको पहुँच ८० प्रतिशतभन्दा माथि नै होला र आउने दिनहरूमा यो सङ्ख्या पक्कै पनि बढ्दै नै जान्छ ।’

३. सुरक्षणः

डिजिटल भुक्तानीमाथि सबैभन्दा ठूलो प्रश्न खडा हुने भनेको सुरक्षाको विषय नै हो । आफ्नो कागजी मुद्रा त हरेक व्यक्तिले सुरक्षित राख्ला नै, तर फोन हरायो भने के गर्ने ? कसैले ह्याक गरेर पैसा चोर्‍यो भने के गर्ने ? जस्ता सामान्य सरोकार प्रश्नहरू उठेकै छन् । तर डिजिटल प्रणालीको कुरा गर्दा कागजी मुद्राभन्दा बढी सुरक्षा हुने कुरा डिजिटल भुक्तानी सेवाप्रदायकहरूले जानकारी दिँदै आएका छन् ।

आइएमई डिजिटल सोलुसनका प्रमुख तथा आइएमई पे मोबाइल वालेट एपका पर्यवेक्षक श्री विकासकुमार नहाटा भन्नुहुन्छ, ‘आम जनमानसमा डिजिटल भुक्तानीको सुरक्षणका विषयमा चर्चा उठ्नु स्वभाविक हो । तर त्यो चर्चा आफैँमा प्राथमिक सतर्कताको विषय हुनु आवश्यक छैन । हरेक डिजिटल सेवाप्रदायकले पीसीआइडीएसएस प्रमाण-पत्र प्राप्त गरेकै हुनुपर्छ । जुन डिजिटल सेक्युरिटीमा संसारकै उच्चतम तहको सुरक्षण हो । आइएमई पे पनि त्यही प्रमाण-पत्रप्राप्त सेवाप्रदायक हो । त्यसैगरी आइएसओ २००७१ प्राप्त प्रमाण-पत्र पनि सुरक्षणकै लागि भनेर दिइने मापदण्ड नै हो । तर मैले भनिहालेँ, सरोकारको विषय सुरक्षणभन्दा पनि अहिले प्रवर्द्धनको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नरज्यू आफैँले राष्ट्रव्यापी रूपमा क्यु आरको प्रवर्द्धनमा लाग्नुभएका कारण हाल डिजिटल भुक्तानीले यत्तिको जनचासो पाएको छ। यसलाई बढाउँदै लानुपर्ने आवश्यकता छ।’

४. रेकर्डः

पारम्परिक रूपमा घर-खर्चको विवरण राखी आगामी महिना वा त्रैमासिक बजेट निर्धारण गर्ने बानी आमनेपालीमा छैन । जसका कारण कारोबारको रेकर्ड राख्ने चलन पनि लगभग शून्यप्रायः नै छ । नहाटा भन्नुहुन्छ, “अहिलेसम्म न बैंकको एप न त हामी जस्तो डिजिटल वालेटले नै खर्च-व्यवस्थापनका लागि कुनै विशेष सुविधा मोबाइलमै ल्याइसकेका छैनौं । हामीलाई अहिले क्रेताहरूलाई यो प्रणालीअन्तर्गत् नै ल्याउनु प्रमुख सरोकार बनेको छ । त्यसमाथि सेवाग्राहीहरू आफैँलाई पनि हामीले खर्च-व्यवस्थापनको शिक्षा दिनु आवश्यक छ ।

वित्तीय-शिक्षाभित्र हामीले दैनिक उपभोग्य सामग्रीको खरिदको व्यवस्थापनलाई पनि समेटेर मोबाइल एपबाट नै सो प्रणालीलाई अगाडि लिएर जान सक्छौं । आजसम्म त तपाईंको मोबाइल एपले कसैलाई सजिलै डिजिटल रकम दिन सक्छ । तर म विश्वस्त छु, कुनैदिन हामीले यस्तो प्रणाली पनि ल्याउँछौं जसले तपाईंले कसैलाई दिएको रकम फिर्ता पनि लिन सक्नुहुन्छ । तपाईंको एपले नै व्यवस्थापनको सुविधा दिनेछ ।’

५. खर्च केन्द्रीकरणः

डिजिटल भुक्तानीको सुविधाको कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण र उल्लेख्य उपलब्धि भनेकै सेवाग्राही आफैँ पुगेर, लाममा लागेर भुक्तानी गर्नुपर्ने बाध्यता हटेर जानु हो । यसको अर्थ, डिजिटल भुक्तानीको चलन चलाउन बिजुली/पानीको बिल तिर्ने, टेलिफोन र इन्टरनेटको बिल भुक्तानी गर्ने, आदि मासिक जिम्मेवारीलाई न्यूनीकरण गरेरै मोबाइल एपहरूले प्रसिद्धी कमाएका हुन् । कागजी रसिद र बुकहरू लिएर घण्टौं लाइनमा बसेका सेवाग्राहीहरूले यसलाई डिजिटल भुक्तानी गर्दै सहरी क्षेत्रहरूबाट त लगभग विस्थापित नै गरिसकेका छन् ।

कुमारी बैंक लिमिटेडका अनिस ताम्राकार भन्नुहुन्छ, ‘ग्राहकहरूलाई डिजिटल भुक्तानीको बानी लगाउनकै लागि भए पनि केही प्रतिशत छुट दिने, क्यासब्याक दिने योजनाहरूले धेरै राम्रो काम गरेका हुन् । बानी नपरेसम्म ग्राहकहरूलाई डिजिटल भुक्तानी कतिसम्म सजिलो छ भनेर उदाहरण दिनु नै हाम्रो जिम्मेवारी पनि थियो । कुमारी बैंकले त्यसैगरी डिजिटल भुक्तानी गर्नेहरूलाई हालै आइफोन १२ र ट्याबलेटहरू नै उपहारका रूपमा नै दियो पनि ।’

समय परिवर्तनशील छ र यो परिवर्तनको गतिडिजिटल युगमा औद्योगिक क्रान्तिभन्दा द्रूत चलिरहेको छ भन्ने कुरामा कुनै सन्देह छैन । नेपालभित्र बसेर संसारभरिका सामग्री खरिद गर्न सक्ने सामर्थ्यमा हामी आइपुगिसकेका छौं । अहिले घरको चारभित्ताभित्र निहित भएर बस्नुपरेको अवस्थाले यो आवश्यकतालाई झन् सहज बनाउँदै लिएर गएको छ । यो समयले डिजिटल भुक्तानीको माग गरेको छ र डिजिटल भुक्तानीलाई सहज गर्न सोको विषयमा बृहत् छलफल गरी सेवाग्राहीलाई शिक्षित गर्नु, प्रवर्द्धन गर्नु सबैको उद्देश्य र कर्तव्य पनि हो ।

आइएमई पे मोबाइल वालेटको उदाहरण दिँदै श्री विकासकुमार नहाटा भन्नुहुन्छ, ‘गत वर्ष हामी मोबाइल वालेट चलाएर मासिक बिल भुक्तानीमात्रै गर्दै थियौं, बिस्तारै टिकट खरिद गर्न र मोबाइल रिचार्ज गर्न थाल्यौँ, अब हरेक दिनको उपभोग्य सामान खरिद गर्न पनि मोबाइल प्रयोग गर्दै छौं । यसले हाम्रो चालचलनका बारेमा खुलेरै बोलेको छ, र अबको दिन यो हाम्रो संस्कारै पनि बन्छ। यो उचित समय हो – हामी सबैले नै डिजिटल भुक्तानीलाई कम्मर कसेर प्रवर्धन र प्रयोग गर्नुपर्छ ।’

(लेखक एरो एडका प्रमुख तथा पेसाले विज्ञापनकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

चेनस्मोकर भट्ट

Advertisment