Comments Add Comment

गाह्रो हुँदा बेड पाइएन, मृत्युपछि १९ घण्टासम्म शव उठेन

संक्रमितको शव व्यवस्थापनमा पनि लम्बेतान कागजी प्रक्रिया

२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका भक्तपुरको लोकन्थलीका भरत खरेल (४०) को वैशाख २४ गते साँझ ५ बजे निधन भयो ।

अक्सिजन सपोर्टमा रहेका उनलाई गाह्रो भएपछि परिवारले २३ गतेबाटै अस्पतालमा लैजान चाहेको थियो । अधिकांश अस्पताल संक्रमितले भरिएका बेला भनेको बेला कहाँ बेड पाउनु ? खरेलका भिनाजु वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यका अनुसार अस्पतालमा बेड खोज्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत गुहारे । बल्लतल्ल बेड त भेट्टाइयो, भनेको बेला एम्बुलेन्स पनि पाइएन ।

जतिबेला एम्बुलेन्स आयो, भरतको घरमै मृत्यु भइसकेको थियो । एम्बुलेन्स रित्तै फर्कियो ।

भरतको मृत शरीर कोठामै रह्यो । खरेलको घरमा रुवावासी चलिरहँदा पनि आफन्त जानसक्ने अवस्था थिएन । किनकि मृतककी आमासहित दाजु–भाउजू र भाइलाई पनि संक्रमण भएको थियो । जसका कारण संक्रमितको शव उनीहरुले व्यवस्थापन गर्न मिल्ने अवस्था थिएन । परिवार र आफन्तले मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारीदेखि चिनेजानेका ‘ठूलाबडा’लाई शव उठाइदिन आग्रह गर्दै खबर गरे । सबैको एउटै जवाफ थियो, ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट प्रक्रिया पूरा गर्नू, नेपाली सेना आएर लैजान्छन् ।’

सीसीएमसीमा खबर गर्दा टोली पठाउन मृतकको पीसीआर रिपोर्टसहित वडा कार्यालयको सिफारिश पठाउन भनियो । रात परिसकेकाले वडा कार्यालय बन्द भइसकेको थियो । वडाका जनप्रतिनिधि पनि आउन नसक्ने भएपछि सिफारिश पत्र नै तयार हुन सकेन । संक्रमितको शव रातभर कोठामै रह्यो ।

भरतका भिनाजु आचार्यका अनुसार २५ गते बिहान वडा कार्यालयले ‘होम आइसोलेसनमा बसेका भरत खरेलको मृत्यु भएको’ व्यहोराको सिफारिश बनाइदियो । त्यो सीसीएमसीमा पठाइयो। सिफारिश पत्रको ढाँचा मिलेन भनेर फर्काइयो । फेरि अर्को सिफारिश बनाइयो । फेरि ‘फर्म्याट’ नमिलेको जवाफ आयो ।

सीसीएमसीमा खबर गर्दा टोली पठाउन मृतकको पीसीआर रिपोर्टसहित वडा कार्यालयको सिफारिश पठाउन भनियो । रात परिसकेकाले वडा कार्यालय बन्द भइसकेको थियो । वडाका जनप्रतिनिधि पनि आउन नसक्ने भएपछि सिफारिश पत्र नै तयार हुन सकेन । संक्रमितको शव रातभर कोठामै रह्यो ।

तेस्रो पटकको सिफारिश स्वीकृत भएपछि भरतको मृत्यु भएको १९ घण्टापछि दिउँसो १ बजेतिर शव कोठाबाट उठाइयो ।

सीसीएमसीअनुसार घरमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनका लागि उपत्यकाका हकमा सीसीएमसी र उपत्यकाबाहिर डीसीसीएमसीमा वडा कार्यालयको सिफारिशसहित कोभिड–१९ पोजेटिभ भएको प्रमाणपत्र आवश्यक पर्छ ।

जबकि कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्नेसम्बन्धी संक्षिप्त कार्यविधि–२०७६ (दोस्रो संशोधन)मा भने यस्तो प्रक्रिया पूरा गर्नुपर्ने किटान गरिएको छैन । कार्यविधिमा होम आइसोलेसनमा संक्रमितको मृत्यु भए स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने उल्लेख छ । वडाको सिफारिश अनिवार्य छैन ।

सीसीएमसी स्रोतका अनुसार कोभिड–१९ का कारण घरमा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकसँग मृतकको बाझिएपछि वडा कार्यालयको सिफारिश लिन थालिएको हो । ‘सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकमाथि नै प्रश्न उठेकाले हामीले स्थानीय सरकारमार्फत मृत्यु पुष्टि गर्ने सिफारिश र पीसीआर रिपोर्ट लिएका हौं’ सीसीएमसीका एक अधिकारी भन्छन्, ‘यो हाम्रो रहर होइन, बाध्यता हो ।’

अव्यावहारिक प्रक्रिया’

मृतकको शव उठाउन १९ घण्टासम्म पहल गरेका आचार्य शोकमा परेकाहरुमाथि थप आघात पुग्ने गरी प्रक्रियामा जटिलता थप्नु गलत भएको बताउँछन् । यद्यपि शव व्यवस्थापनमा ढिलाइ हुनुमा सेनालाई दोष दिने पक्षमा छैनन् ।

‘सरकारले पर्याप्त स्रोतसाधन दिएर सीसीएमसी भन्ने संयन्त्र बनाएको छ, त्यसमा सूचना पुगेपछि जतिसक्दो छिटो शव व्यवस्थापनमा सेनालाई परिचालन गर्नुपर्ने हो’ उनी भन्छन्, ‘सेना त खटाएपछि आइपुग्छ, तर सिफारिश जस्ता लम्बेतान कागजी प्रक्रियाले मृतकका परिवारलाई सास्ती हुने रहेछ ।’

महामारीमा शव व्यवस्थापन गर्न झन्झटिलो प्रक्रिया अपनाउनु मानवीयताको दृष्टिकोणबाट समेत उचित नभएको भन्दै उनले कागजी प्रक्रिया शुरु गरेसँगै शव व्यवस्थापन गरेर पीडित परिवारलाई छिट्टै सामान्यीकरण गर्नुपर्ने बताए ।

घरमा प्रियजनको शव लडिरहेको र आफैं पनि संक्रमित भएको अवस्थामा कोही पनि वडामा सिफारिश लिन जान नसक्ने भन्दै उनले प्रश्न गरे, ‘आफन्तको शव छुन पनि नसक्ने र अन्त्येष्टि पनि गर्न नसक्ने अवस्थामा घण्टौंसम्म घरमै शव लडिरहने अवस्थालाई मानवीय संवेदनाको पक्षबाट विचार गर्नुपर्दैन ?’

उनले तोकिएको कार्यविधिमा भएका कतिपय व्यवस्था व्यावहारिक पनि नभएको बताए । ‘मृतकको शव प्लास्टिकले बेर्ने काम परिवारका सदस्यले नै गर्नुपर्ने व्यवस्था छ’ उनी भन्छन्, ‘संक्रमणको यस्तो त्रास छ, त्यसमाथि आफ्नो परिवारको सदस्यको शव कसरी आफैंले पोको पार्न सक्छ ?’ यद्यपि यही संवेदनाको पक्ष बुझेर सेना आफैंले मृतकको शव बेर्ने गरिरहेको भन्दै उनले धन्यवाद दिए ।

सेना भन्छ– तोकिएको प्रक्रिया हो

कोभिड–१९ को संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भने शव व्यवस्थापन तोकिएको कार्यविधिअनुसार भइरहेको बताउँछन् । उनका अनुसार अस्पतालमा मृत्यु भएमा अस्पतालले ‘मृत्युको प्रमाणपत्र’ दिन्छ, तर होम आइसोलेसनमा मृत्यु भएकाको शवको मृत्यु प्रमाणित गर्न वडा कार्यालय नै चाहिन्छ ।

होम आइसोलेसनमा मृत्यु भएकाहरुको मृत्युको कारण पुष्टि हुने गरी मुचुल्का गर्नुपर्ने भएकाले सामान्य रुपमा शव व्यवस्थापनमा कहिलेकाहीं ढिलो हुने गरेको उनी बताउँछन् ।

‘कतिपय अवस्थामा ढिला नहोस् भनेर व्यावहारिक पक्ष हेरेर काम गर्ने गरेका छौं’ पौडेल भन्छन्, ‘कतिपय स्थानमा ब्यारेक र अस्पतालको दूरी धेरै हुन्छ, कतिपय स्थानमा शव व्यवस्थापन गर्न तोकिएको ठाउँ नै धेरै टाढा हुँदा पनि समस्या हुन्छ ।’

तोकिएको जिम्मेवारी समयमै पूरा गर्न सेना प्रतिवद्ध रहेको भन्दै पौडेलले कार्यविधिलाई थप व्यावहारिक बनाएर जान सीसीएमसीसँग छलफल पनि भइरहेको बताए ।

पछिल्ला दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । शव व्यवस्थापनमा आवश्यक सवारी साधन र सामग्री व्यवस्थापन गरेर एकपछि अर्को घटनास्थलमा पुग्नुपर्ने दबाब हुन्छ ।

‘अहिलेसम्म ४७ जनाको शव व्यवस्थापनको लागि आग्रह आइसक्यो’ आइतबार दिउँसो २ बजेसम्मको आँकडा प्रस्तुत गर्दै उनले भने, ‘यो सबैका लागि कठिन घडी हो, धैर्य आवश्यक छ ।’

 सीसीएमसीले वडाको सिफारिश माग्छ । तर, यस्तो छ कार्यविधिमा तोकिएको प्रक्रिया, हेर्नुस्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

ट्रेन्डिङ

Advertisment