Comments Add Comment

जुट्नभन्दा फुट्न रमाउने कम्युनिष्टहरू

नेपाली कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहासमा कम्युनिष्ट पार्टीहरू लगभग त्यति नै पटक फुटेका होलान् । टुटफुट र विभाजनको यो विरासतीय शृङ्खला यतिखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुट्दै झलनाथ-माधव समूहको नयाँ पार्टी दर्ता हुने प्रक्रियासम्म आइपुगेको छ । हालै मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवादका कारण अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रका रूपमा विभाजित भएको थियो ।

एक-अर्कालाई अनेकौं आरोप-प्रत्यारोप र सत्तोसराप गरी आफूलाई मात्र सच्चा कम्युनिष्ट ठान्दै आएका कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक र नीतिगत आधार विना नै पटक-पटक फुट्ने गर्छन् । गरीब, सर्वहारा, किसान, मजदूर र महिला हकहितको नाममा गठन भएका सबैजसो कम्युनिष्ट पार्टीका नेताहरू कुनै सैद्धान्तिक र नीतिगत विवादभन्दा पनि व्यक्तिगत इगो र पद-प्रतिष्ठाका लागि नै फुटेको देखिन्छ । ‘विश्वका मजदूर एक हौं’ भन्ने नारा लगाउने कम्युनिष्टहरू आफैंमा चिराचिरा पर्नुले उनीहरूको भनाइ, आदर्श, नीति, सिद्धान्त र व्यावहारिक धरातलको अन्तरलाई प्रष्ट पार्दछ ।

आफूसँग अलिकति विमति हुनेबित्तिकै एक-अर्कालाई ‘गद्दार’, ‘फासिस्ट’, ‘निरंकुश’, ‘साम्राज्यवादी’, ‘विस्तारवादी एजेन्ट’, ‘नवसामन्त’, ‘भ्रष्टाचारी’ र ‘बुर्जुवा’ भनेर बोल्ने, लेख्ने अनि अर्को पार्टी खोल्ने नेपालका कम्युनिष्टहरूको संस्कृति नै बनेको छ । त्यसैले त नेपाली कम्युनिष्टहरूको वर्तमान अत्यन्तै बदनाम र विवादित बन्दैछ । यसले कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै कतै खोट त छैन भन्ने आशङ्का बढाएको छ ।

टुटफुट र विभाजनको गञ्जागोल इतिहास

पुष्पलालको अगुवाइमा नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । शुरूदेखि नै नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पर्चा छरेको दिन १० वैशाख २००६ (२२ अप्रिल, १९४९) लाई नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मान्ने कि पार्टीको केन्द्रीय समिति, विधान र घोषणापत्र जारी गरेको ३० भदौ २००६ (१५ सेप्टेम्बर, १९४९) लाई पार्टीको स्थापना दिवस मान्ने ? लामो समय यही विषयको विवादमा कम्युनिष्ट राजनीति केन्द्रित भइरह्यो ।

त्यसलगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबन्द आन्दोलन’ भन्ने बहसबाट शुरू भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ को पार्टीगत अन्तरविरोध र विवादमा तानियो । तत्पश्चात कम्युनिष्ट पार्टी समयानुकूल परिस्थितिको व्याख्या-विश्लेषणको बहानामा एक-अर्काबीच फगत आरोप-प्रत्यारोप गर्दै पटकपटक विभाजित भइरहेको छ ।

स्थापनाको चार वर्षपछि वि.सं. २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । रायमाझीकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो ।

१ पुस २०१७ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि रायमाझी कालान्तरमा राजदरबार पसे । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारी जस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन थाले ।

विश्व कम्युनिष्ट पतनको सिलसिला टुक्रिएको सोभियत संघ, भत्किएको बर्लिन पर्खाल, सिद्धिएको पश्चिम बंगाल हुँदै नेपाल नभित्रिएला भन्ने ग्यारेन्टी अबचाहिं गर्न सकिन्‍न।

वि.सं. २०१९ मा तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गरी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गर्‍यो । पार्टीको तेस्रो महाधिवेशनपछि पार्टीमा विभिन्न गुट-उपगुटहरू देखिए । त्यसबेला खास गरेर रायमाझी समूह, तुल्सीलाल समूह र पुष्पलाल तीन समूहमा पार्टी विभाजन भयो ।

उता रायमाझीले छुट्टै तेस्रो महाधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरे । पछि फेरि यो समूह बर्मा र मानन्धर समूहमा विभाजित भयो । २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको सँघारमा थियो । एकातिर पूर्व मेची कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंगको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए ।

२०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो । तेस्रो महाधिवेशनबाट फुट भएको कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन भन्दै जेलबाट छुटेर आएका नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरूको नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्युक्लियसको गठन भयो ।

२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे । झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस । पुष्पलालको पार्टी यी दुवैमा थिएन । पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय कमिटीसँंग सम्बद्ध झापा जिल्ला कमिटीले २०२७ सालको अन्ततिर झापामा सशस्त्र आन्दोलन शुरू गर्‍यो । फलस्वरूप २०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी (माले) को गठन भयो ।

यसमा २०३४ मा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा समूहलगायत धेरै कम्युनिष्टका झुण्डहरू एकताबद्ध भए र अन्त्यमा २०३५ सालमा नेकपा (माले) को स्थापना गर्‍यो । २०३५ सालमै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो ।

मोहनविक्रम सिंहले २०३१ साल भदौमा चौथो महाधिवेशन गरी अर्को पार्टी बनाए । मोहनविक्रमले अर्को पार्टी बनाएपछि २०३६ मा एकता सम्मेलन गरी मनमोहनलगायतले नेकपाको घोषणा गरे । मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्‍यो । राजाले गराएको जनमत सङ्ग्रहलाई लिएर पार्टीभित्र पुनः मतभेद शुरू भयो ।

२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि फुटको शृंखला पुनः शुरू भयो ।

चौथो महाधिवेशन पक्षधरहरूले विरोधको तारो बनाएको को-अर्डिनेशन केन्द्र अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)का रूपमा परिणत भयो ।

२०४० सालपछि नेकपा संयुक्त चौम, नेकपा (मशाल), नेकपा (मसाल), नेकपा (चौम) तीन समूहमा विभाजन हुन पुग्यो । २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो ।

२०४५ सालमा नेकपा (मशाल) को सम्मेलन गरी प्रचण्ड महामन्त्री बने । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेलहरू मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गरे । यता प्रचण्ड नेतृत्वले नेकपा माओवादी राख्यो र उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्‍यो ।

यसबीचमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा फेरि मतभेद शुरू भयो । अनि २०६३ सालमा उनीहरू पनि फेरि फुटे । १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२-६३ सालपछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रूपमा फुट भई मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द हुँदै पाँचवटा पार्टी बने । बाबुराम भट्टराईले त कम्युनिष्ट आन्दोलन नै छोडे ।

२०३१ सालमा गठन भई २०४७ सालमा प्रथम सम्मेलनमार्फत सक्रिय भएको नेपाल मजदूर किसान पार्टी पनि अलग्गै पार्टीको रूपमा छ । यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ साल चैत महीनामा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्यो ।

२०४९ सालमा काठमाडौंमा सम्पन्न एमालेको पाँचौं महाधिवेशनले जनताको बहुदलीय जनवादको कार्यक्रमलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्‍यो । ३ जेठ २०५० मा मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि माधवकुमार नेपाल महासचिव बने ।

२०५४ सालमा नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट माधवकुमार नेपाल नै महासचिव चुनिए । यस महाधिवेशनमा वामदेव गौतमको फरक मतको लाइन र महाकाली सन्धि सम्बन्धमा विवाद भयो । अन्ततः २०५४ सालमै त्यस पार्टीमा पनि फुट भएर पुनः नेकपा (माले) को जन्म भयो ।

नेकपा एमालेको सातौं महाधिवेशन २०५९ सालमा जनकपुरमा सम्पन्न भयो । माधव नेपाल महासचिवमा निर्वाचित भए । बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए । नेकपा (एमाले) को नवौं महाधिवेशन २०७१ सालमा काठमाडौंमा भयो । अध्यक्षमा माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली निर्वाचित भए । २०७५ साल जेठमा एक भएका एमाले र माओवादी करीब तीन वर्षपछि २०७७ फागुनमा अलग अलग पार्टी भए । यतिखेर एमालेबाट पुनः फुट्दै झलनाथ-माधव समूहको नयाँ पार्टी दर्ता हुँदैछ ।

दर्शन र सिद्धान्तमै खोट छ कि ?

नेपाली कम्युनिष्ट पार्टीहरूका यी टुटफुट, गुट र विभाजनको विरासतीय शृङ्खलाहरू नेपाली जनजीविकाका तमाम समस्या हल गर्नेतर्फ नभई फगत सत्ता-स्वार्थ र पद-प्रतिष्ठाकै लागि हुन् भन्ने तथ्यहरूले स्पष्ट पारेका छन् ।

पटक-पटकका विभाजन र टुटफुटले नेपाली कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै गम्भीर त्रुटि वा खोट छ भन्ने आशङ्का बढाएको छ । कम्युनिष्ट इतिहासको यो प्रवृत्तिले नेपालको कम्युनिष्ट दर्शन, सिद्धान्त र स्कुलिङको नीतिगत शैलीमा पुनर्विचार र पुनव्र्याख्याको आवश्यकतालाई समेत बोध गराउँछ ।

विश्वमा पतन हुँदै गइरहेको कम्युनिष्ट सिद्धान्त नेपाली जनताबीच लोकप्रिय त बन्यो । नेपाली जनताको सात दशक लामो आन्दोलन, त्याग, बलिदान र रक्तरञ्जित सङ्घर्षपछि देशले महान् उपलब्धि पनि प्राप्त गर्‍यो । तर, त्यो महान् उपलब्धि तिनै कम्युनिष्ट नेताहरूकै सत्तास्वार्थ, व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरकै चपेटामा परेर पुनः गुम्न थालेको महसूस हुँदैछ ।

तसर्थ, विश्व कम्युनिष्ट पतनको सिलसिलामा टुक्रिएको सोभियत संघ र भत्किएको बर्लिन पर्खालको ऐतिहासिक शृङ्खला भारतको पश्चिम बंगाल हुँदै नेपालमा नभित्रिएला भन्ने ग्यारेन्टी अबचाहिं गर्न सकिन्‍न ।

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा र वाम बुद्धिजीवी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment