Comments Add Comment

अहिलेसम्म कति तयार भयो चीनको आफ्नै स्पेस स्टेसन ?

चीनले यहीँ जुन महिनामा आफ्ना ३ जना अन्तरिक्ष यात्रीहरुलाई ३ महिने बसाइँका लागि निर्माणाधीन चिनियाँ अन्तरिक्ष स्टेसनमा पठाउने घोषणा गरिसकेको छ । आफ्नो एक मालबाहक अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरी स्पेस स्टेसनमा जोडिएको एक दिनपछि चीनले यस्तो घोषणा गरेको थियो ।

चाइनिज म्यान्ड स्पेस एजेन्सीका अनुसार चिनियाँ स्पेस स्टेसनको मुख्य मोड्युलको रूपमा रहेको तियान्हे मोड्युलमा अहिले अन्तरिक्ष यात्री बस्ने कोठाहरू निर्माण भइरहेका छन् । चीनको अन्तरीक्ष मानव मिसनसँग सम्बन्धित एक विभागका निर्देशक तथा पहिलो अन्तरिक्ष यात्री यांग लिवेइले चीनको आगामी ठूलो अभियानका बारेमा जानकारी दिएका छन् ।

१५ अक्टोबर २००३ मा अन्तरिक्षमा जाने पहिलो चिनियाँ बनेका यांगले ३ जना अन्तरिक्ष यात्रीहरू यहीँ जुन महिनामा शेन्जु १२ अन्तरिक्ष यानबाट स्पेस स्टेसनको यात्रामा निस्किने तयारी गरिरहेका छन् । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार ती अन्तरिक्ष यात्री अन्तरीक्ष स्टेशनमा ३ महिनासम्म बस्नेछन् र त्यस क्रममा स्टेसनमा मर्मत सम्भारका साथै वैज्ञानिक प्रयोगका विभिन्न काम गर्नेछन् ।

ती यात्रुहरू अहिले लेभस टु क्वारेन्टिनमा छन् र अन्तरिक्ष मिसनसँग सम्बन्धित कामलाई अन्तिम रूप दिइरहेका छन् । यांगका अनुसार यो अभियानमा सबै पुरुष यात्रीहरू हुने भएपनि आगामी मिसनहरुमा महिला पनि सम्मिलित हुने खुलासा गरेका छन् ।

चीनको अन्तरिक्ष स्टेसन

आफ्नो अन्तरिक्ष स्टेसनको निर्माणका लागि चीनले २०२१ देखि २०२२ को बीचमा ११ पटक अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । जस अन्तर्गत दुईवटा अभियान पूरा भइसकेका छन् । गत शनिवार चीनले तियान्जु टू कार्गो यान पठाएको थियो ।

चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार ११ देखि सुरु भएको उक्त अभियान अन्तर्गत ३ पटक स्टेसनका मोड्युल, चार पटक कार्गो तथा चार पटक अन्तरिक्ष यात्रीसहितको यान प्रक्षेपण हुनेछन् । आगामी सन् २०२२ सम्ममा १० वटा यस्तै अन्य मोड्युल लञ्च गर्ने चीनको योजना छ, जसले पृथ्वीको परिक्रमा गर्नेछन् ।

सबैभन्दा पहिलो चरणमा चीनले गत अप्रिल २९ मा उक्त स्टेसनको एक महत्वपूर्ण मोड्युल प्रक्षेपण गरेको थियो । उक्त तियान्हे मोड्युल्मा अन्तरिक्ष स्टेसनमा काम गर्ने अन्तरिक्ष यात्रीहरू बस्ने कोठा बनिरहेका छन् ।

यांग लिवेइका अनुसार ती कोठाहरुमा बस्ने अन्तरिक्ष यात्रीहरूले बाहिर निस्किएर विभिन्न काम गर्नेछन् ।

उनी भन्छन् ‘आगामी दिनमा यी कोठाहरुबाट अन्तरिक्ष यात्रीहरू बाहिर निस्किनु एक नियमित काम हुनेछ र यसले अन्तरिक्ष यात्रीहरूको कामको अवधिलाई पनि उल्लेख्य मात्रामा बढाउने छ ।’

बन्दै गरेको चिनिया स्पेस स्टेसनलाई हाल अन्तरीक्षमा रहेको र पूरानो भैसकेको बहुराष्ट्रिय स्पेस स्टेसनको प्रतिस्पर्धी मानिएको छ । पृथ्वीभन्दा ३ सय ४० देखि ४ सय ५० किलोमिटरको उचाइँबाट पृथ्वीको कक्षको परिक्रमा गरिरहने यो नयाँ स्पेस स्टेशन आगामी वर्ष सन् २०२२ सम्म निर्माण सम्पन्न हुने चीनको विश्वास छ ।

अन्तरिक्षमा हाल पृथ्वीको कक्षमा केवल एउटा मात्र स्पेस स्टेसन रहेको छ । त्यसको नाम इन्टरनेसनल स्पेस स्टेसन हो, जसमा चीन समावेश छैन ।

अन्तरिक्षको अहम् शक्ति बन्दै चीन

अन्तरिक्ष विज्ञानमा एउटा ठूलो शक्ति बन्दै गएको चीनले गतवर्ष मंगल अभियान पनि सुरु गरेको थियो । चीनको एक रोवरले अहिले मंगल ग्रहका बारेमा जानकारीहरु जुटाइरहेको छ ।

यद्यपि अन्तरिक्ष विज्ञानको क्षेत्रमा चीनले निकै ढिलो सुरुवात गरेको थियो । पहिलोपटक सन् २००३ मा चीनले आफ्नो अन्तरिक्ष यात्रीलाई पृथ्वीको कक्षमा पठाउन सफल भएको थियो । सोभियत संघ र अमेरिका पछि अन्तरिक्ष यात्री पठाउने चीन तेश्रो मुलुक बनेको थियो ।

अहिलेसम्म चीनले दुईवटा अन्तरिक्ष केन्द्रहरु तियाङगोङ्ग १ र तियाङगोङ्ग २ पृथ्वीको कक्षमा पठाइसकेको छ । हुन त ती दुबै ट्रायल स्टेसन थिए र केही समयमात्रै पृथ्वीको कक्षमा रहन सके । नयाँ स्पेस स्टेसन तियान्हे चाहिँ कम्तीमा १० वर्षसम्म पृथ्वीको कक्षमा रहेर काम गर्ने बताइएको छ ।

पृथ्वीको कक्षमा हाल रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले सन् २०२४ बाट काम गर्न छाड्नेछ । त्यसैले त्यसबेला चिनियाँ स्पेस स्टेसन तियान्हे नै सायद एक्लो अन्तरिक्ष स्टेसनको रूपमा पृथ्वीको परिक्रमा गरिरहेको हुनेछ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment