Comments Add Comment

बाबा रामदेवले दिएको ‘कोरोनिल’ किटको वितरण नेपालमा किन रोकियो ?

२८ जेठ, काठमाडौं । कोरोना महामारी उत्कर्षमा पुगेको बेला भित्रिएको बाबा रामदेवको कम्पनीले उत्पादन गरेको विवादस्पद ‘कोरोनिल’ किट अहिले नेपालमा चर्चामा छ । कोरोना संक्रमण निको पार्ने दाबी गर्दै पतञ्जलिले उत्पादन गरेको विवादास्पद ‘कोरोनिल’ किट सहयोग प्राप्त हुनुलाई नेपालमा मान्यता दिलाउने षड्यन्त्रको रूपमा भित्रिएको जानकारहरू बताउँछन् ।

भारतमा समेत विवादस्पद रहेको कोरोनिल किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उत्पादक कम्पनीबाट ‘अनुदान’ स्वरूप ग्रहण गरेका थिए । विभागबाट अनुमति नपाएको मात्र होइन, उत्पादक देश भारतमै यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा बहालवाला स्वास्थ्य मन्त्रीले अनुदान ग्रहण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पठाएको थियो । कुनैपनि औषधि नेपालमा आपतकालीन प्रयोग, आयात तथा बिक्री वितरणका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने हुन्छ ।

मन्त्रालयको उक्त कार्यले मातहतका निकायलाई यो औषधिलाई अनुमति दिन अनावश्यक दबाब बढ्न सक्ने सरोकारवालाहरू बताउँछन् ।

कोरोनिल किट तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उत्पादक कम्पनीबाट ‘अनुदान’ ग्रहण गरेका थिए । विभागबाट अनुमति नपाएको मात्र हैन, उत्पादक देश भारतमै यसको बिश्वसनीयतामाथि प्रश्न उठिरहेको अवस्थामा बहालवाला स्वास्थ्य मन्त्रीले अनुदान ग्रहण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

औषधि व्यवस्था विभाग भन्छ : नेपालमा दर्ता भएकै छैन 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सहयोगको रुपमा प्राप्त ‘कोरोनिल’ किट नेपालमा दर्ता नभएको बताए । ‘मन्त्रीज्यूले सहयोग रिसिभ गर्नुभयो । नेपालमा औषधिसम्बन्धी नियमन गर्ने निकाय बेग्लै छ,’ डा पौडेलले भने, ‘सम्बन्धित निकायबाट दर्ता भएर अनुमति प्राप्त नभएसम्म यसको वितरण र प्रयोग गर्नु औचित्य छैन ।’

दर्ता नभएको औषधिबारे स्वास्थ्य मन्त्रालयले थप निर्णय गरिरहनु आवश्यक नरहेको उनले बताए ।

त्यस्तै, नेपालमा कुनै पनि औषधि बिक्री–वितरण गर्नुअघि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने हुन्छ । तर औषधि निर्माण कम्पनी वा आयातकर्ताले विभागबाट अहिलेसम्म अनुमति पाएको छैन । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार प्रक्रिया नपुगेका कारण पतञ्जलिको कोरोनिल किट हालसम्म दर्ता भएको छैन ।

‘पतञ्जलिको उत्पादन बिक्री–वितरणका लागि विभागमा आवेदन परेको छ,’ उनले भने, ‘तर अनुमतिका लागि आवश्यक कागजात पुगेको छैन । थप कागजात उपलब्ध गराउन भनेका छौं । तर अहिलेसम्म कागजात उपलब्ध नभएकाले अनुमति पाइसकेको छैन ।’

आवश्यक कागजात उपलब्ध भएपछि अनुमति दिने नदिनेबारे स्पष्ट हुने भएकोले नेपालमा यसको प्रयोगमा प्रतिबन्ध नै लगाएको भन्न नमिल्ने उनको तर्क छ । नेपाललाई सहयोग प्राप्त भएको कोरोनिल किट पतञ्जलिको नेपालस्थिति संस्थाले उपलब्ध गराएको सूचना आफूहरुले पाएको उनले बताए । विभागमा दर्ता भएपछि मात्रै यसको गुणस्तर तथा कति सुरक्षित छ भन्ने यकिन हुने उनले बताए ।

महामारीको समयमा सहयोग प्राप्त हुने औषधि लगायतका स्वास्थ्य सामग्री पनि विभागले अनुमति दिएपछि मात्रै भित्रिनुपर्ने हो । भूकम्पको समयमा पनि यसरी नै सहयोग भित्रिएको उदाहरण उनी दिन्छन् । तर विभागले अनुमति नपाएका त्यस्ता स्वास्थ्य सामग्री प्रयोगमा रोक लगाएको उनी बताउँछन् ।

कोभिड खोपका लागि विभागको अनुमति चाहिए जस्तै यसमा पनि स्वीकृति अनिवार्य भएकोले यसको वितरणमा रोक लगाएको उनी बताउँछन् ।

होल्डमा राखेका छौं : आयुर्वेद चिकित्सा विभाग

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निर्देशक डा वासुदेव उपाध्यायले वितरणका लागि मन्त्रालयले उपलब्ध गराएको कोरोनिल किट होल्डमा राखिएको बताए । औषधि व्यवस्था विभागले अनुमति नदिएका औषधि सहयोगको रुपमा प्राप्त भएको पाइएकाले होल्डमा राखिएको उनले बताए ।

‘स्वास्थ्य मन्त्रालयबाट ५० कार्टुन किट वितरणका लागि उपलब्ध गराएको थियो । कार्टुनभित्र कोरोनिल ट्याबलेट, अनु तेल र स्वासारी भाटी रहेछन्,’ उनले भने, ‘सहयोगमा प्राप्त भएका सामग्री अमृत नै भएपनि प्रक्रिया नपुगेसम्म बाँड्न त मिलेन नि ।’

के हो कोरोनिल किट ?

यो भारतीय योगगुरु तथा व्यवसायी रामदेवको पतञ्जलि आयुर्वेद कम्पनीले विकास गरेको औषधि हो । यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारको लागि प्रभावकारी हुने दाबी पतञ्जलिले गर्दै आएको छ । भारतको आयूष मन्त्रालयले यो औषधिलाई कोरोनाविरुद्धको उपचारमा सहयोगी हुने भन्दै अनुमति पनि दिएको थियो ।

सन् २०२० को जुन २३ मा पतञ्जलिले आयुर्वेदमा आधारित रहेको भन्दै कोरोनिल औषधि सार्वजनिक गरेको थियो । यद्यपि यो औषधिको विषयलाई लिएर भारतमा ठूलो आलोचना भएको थियो । व्यापक आलोचना भएपछि भारतको आयूष मन्त्रालयले यसलाई प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने औषधिको रुपमा लिएको थियो ।

सन् २०२१ फेब्रुअरी १९ मा रामदेवले एक रिसर्च पेपर सार्वजनिक गरेका थिए । जसमा पतञ्जलिले कोरोना भाइरसविरुद्ध पहिलो प्रमाणसहितको औषधि बनाएको दाबी गरिएको थियो । यसलाई कोरोनिल किट नाम दिइएको थियो ।

यसमा तीनओटा औषधि छन् । कोरोनिल किटको वैज्ञानिक शोधपत्र भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धन र संघीय मन्त्री नितिन गडकरीको उपस्थितिमा सार्वजनिक गरिएको थियो । कोरोनिल किटमा कोरोनिल ट्याबलेट, अनु तेल र स्वासारी भाटी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment