Comments Add Comment

विपत्तिका बेला अफवाहको खतरा

सामाजिक सञ्जालको अहिलेको जमानामा सानो घटना पनि एक कान, दुई कान हुँदै मैदान हुन बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता कुराहरू सधैं सत्य नै हुन्छन् भन्ने हुँदैन । यिनीहरू झूटा, उडन्ते, तथ्य र आधार नभएका, प्रमाणहीन र मनगढन्ते पनि हुनसक्छन् ।

अफवाह फैलिंदा यसबाट धनजनको ठूलो क्षति हुने सम्भावना पनि हुन्छ । यसले समाजमा शान्ति र सद्भाव पनि खलबल्याउन सक्छ । अफवाहका कारण पुग्ने मानसिक क्षति र असर झनै भयावह र अनुमान गर्नै नसकिने हुनसक्छ ।

अफवाह फैलिंदा समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सृजना हुन्छ । मानिसमा मानसिक तनाव, डर–चिन्ता, डिप्रेसन, मानसिक आघात, अनिद्रा जस्ता मानसिक रोग देखिन सक्छन् ।

कवि भूपि शेरचनले ‘यो हल्लै हल्लाको देश हो’ भनेर कविता नै लेख्नुभएको छ । उहाँले भने झैं हाम्रो समाजमा अफवाह छिट्टै फैलिने गर्छ ।

नेपालमा पनि कहिले बीबीसीले यसो भन्यो रे ! कहिले फलानोले उस्तो भन्यो रे ! भनेर उसको हवाला दिंदै भुइँचालो जाने, हवाईजहाज दुर्घटना हुने, औषधिमा घातक जीवाणु भेटियो भन्ने जस्ता ‘हल्ला’ बेला बेला सुन्नमा आउने गरेका छन् ।

गत वर्षदेखि विश्व कोरोना महामारीसँग जुझिरहेको छ । विपत्तिको यस समयमा पनि विश्वभरि नै विभिन्न खालका अफवाह फैलिए । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरू अहिले पनि फैलिइरहेका छन् ।

हालै मात्र कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योगगुरु रामदेव विरुद्ध मुद्दा समेत परेको छ । कोरोनाको प्रकोपभन्दा पनि गलत सूचना र अफवाहले गर्दा मानिसमा अत्यधिक डर, त्रास, भय बढाएको देखिन्छ ।

अफवाह फैलिंदा यसबाट धनजनको ठूलो क्षति हुने सम्भावना हुन्छ । अफवाहले समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सृजना हुन्छ । मानिसमा मानसिक तनाव, डर–चिन्ता, डिप्रेसन, मानसिक आघात, अनिद्रा जस्ता मानसिक रोग देखिन सक्छन् ।

अफवाह फैलिनुमा कतिपय अवस्थामा सञ्चारमाध्यमहरूको पनि भूमिका देखिन्छ । सत्यतथ्य नबुझिकन प्रथम हुने नाममा समचार लेख्ने, समचार ब्रेक गर्न हतार गर्ने जस्ता कार्यले अफवाह फैलिनुमा ‘आगोमा घिउ थपे जस्तो’ काम गरिरहेको हुन्छ । केही व्यक्तिहरूले नजानिंदो तरिकाले मिडियालाई नै प्रयोग गरेर समेत अफवाह फैलाइरहेका हुन्छन् । यसप्रति मिडियाकर्मी चनाखो हुनुपर्ने हुन्छ ।

विपत्तिको बेला अफवाहको जोखिम

विपत्तिका बेला विभिन्न किसिमका अफवाह फैलिने सम्भावना हुन्छ । विपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुँदैन । यस्तो अनिश्चितकालीन अवस्थामा धेरै किसिमका अड्कलबाजी तथा अफवाहहरू फैलिने जोखिम उत्तिकै रहन्छ ।

यस्तो कठिन र अनिश्चितताको समयमा मान्छे अत्तालिएको हुन्छ । डर, त्रास, तनावको कारणले गर्दा उसको सोच्ने, गम्ने, निर्णय लिने, सुझबुझ गर्ने क्षमतामा पनि कमी आउँछ ।

यस्तो बेला कसैले ‘कागले कान लग्यो’ भन्दा कान नछामी कागको पछि दौडने व्यवहार मान्छेले देखाउन सक्छ । विपत्तिको समयमा प्रायः सबैमा केही न केही डर, चिन्ता हुने गर्छ । आफ्नो डर चिन्तालाई लुकाउने र आफू निडर छु भन्ने देखाउनका लागि पनि व्यक्तिले गलत कुरा गरेर अफवाह फैलाउन सक्छ । अध्ययनअनुसार व्यक्ति जति बढी चिन्तित हुन्छ उसले अफवाह फैलाउने सम्भावना अरूभन्दा उति नै बढी हुन्छ ।

सधैंजसो चर्चामा आइरहन चाहने व्यक्तिले पनि विपत्तिको बेला विभिन्न हत्कण्डा प्रयोग गर्न सक्छन् । सामान्य व्यक्तिको हकमा पनि अप्ठ्यारो परिस्थितिमा उसले अरूबाट बढी नै साथ, सहयोगको अपेक्षा गर्ने गर्छ । अरूको साथ, सहयोग र सहानुभूति पाउनैका लागि कुरालाई बढाइँचढाइ गर्ने गर्न सक्छन् ।

किन फैलिन्छ त अफवाह ? कसैले किन फैलाउन चाहन्छ अफवाह ? यसको मनोवैज्ञानिक कारण के हुन सक्छन् ? यसैको बारेमा यहाँ चर्चा गरिन्छ । अफवाह फैलाउनुका कारण यस्ता हुन सक्छन् :

चर्चाको भोक

हिजोआज धेरैलाई चर्चामा आउने, भाइरल हुने भोक जागेको छ । सामाजिक सञ्जालले मान्छेको त्यो भोकलाई थप जगाइदिएको छ । मनोविज्ञानका हिसाबले पनि मान्छेहरू समाजमा आफ्नो चर्चा होस्, मान, सम्मान, प्रतिष्ठा बढोस् भन्ने चाहन्छन् । कोही पनि गुमनाम हुन चाहँदैनन् । सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा होस् वा कुनै स्टाटस लेख्दा होस्, धेरैभन्दा धेरै लाइक, सेयर र कमेन्ट होस् भन्ने धेरैको चाहना हुन्छ ।

आफ्नो यही चाहना पूरा गर्न, आफूलाई जान्ने, बुझ्ने देखाउन, आफू महत्त्वपूर्ण भएको भान पार्न, अरूको सामु आफू नोटिस हुन, आफ्नो पहिचान बढाउन, समाजमा आफ्नो प्रतिष्ठा बढाउने उद्देश्य तथा अरूको ध्यान आफूतिर खिच्नका लागि पनि मान्छेले अफवाह फैलाउने वा फण्डा गर्ने गरेको देखिन्छ ।

व्यक्तिगत लाभ

केही व्यक्तिहरूले अफवाहलाई आफ्नो विज्ञापनको माध्यम समेत बनाउने गरेको देखिन्छ । यस्ता व्यक्तिहरू प्रायः ठगी धन्दा चलाउने हुन्छन् । आफूलाई माता, गुरु, ज्योतिषी हुँ भन्नेहरू भूकम्प जाने, अनिष्ट हुने जस्ता हल्ला चलाउने गर्दछन् । उनीहरूको उद्देश्य आफ्नो प्रचार गर्नु नै हुन्छ । यस्तो डर–त्रास देखाएर उनीहरूले मानिसलाई आफ्नो पकडमा राख्न समेत खोजिरहेका हुन्छन् ।

अध्ययनले देखाए अनुसार विपत्तिको समयमा मानिसले तथ्यमा भन्दा अन्धविश्वास र परम्परागत कुरामा बढी विश्वास गर्न थाल्दछन् । यस्तो बेला मानिसले अलौकिक शक्तिमाथि बढी भर गर्ने गरेको देखिन्छ । यसकारण मानिसहरू माता, बाबा, गुरु, ज्योतिषीले भनेको कुरा सजिलै अनुसरण गर्न थाल्छन् ।

कालोबजारी गर्ने व्यापारीहरूले भने सामान लुकाउने, कृत्रिम अभाव भएको हल्ला फिजाउने, कृत्रिम अभाव सृजना गर्ने, महँगो मूल्यमा सामान बेच्ने उद्देश्यले पनि अफवाह फैलाउने गरेको पाइन्छ । त्यसको असर अहिले बजारमा खानेतेल लगायत बस्तुको मूल्य अप्रत्यासित बढेको छ ।

हिजोआज कतिपय मिडियाहरूले पनि भ्युज बढाउनका लागि व्यक्तिगत फाइदाका उद्देश्यले पनि गलत समाचारलाई स्थान दिएको देखिन्छ । तर व्यावसायिक मिडियाका हकमा भने यो पाइँदैन ।

व्यक्तित्व विकार

समाज विरोधी व्यक्तित्व विकार भएका व्यक्तिहरू सदैव अरूलाई दुःख दिने र अरूको दुःखमा आफू रमाउने खालका हुन्छन् । यस्ता व्यक्तिहरू चाहिंदो नचाहिंदो हल्ला फैलाउने, समाजको शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने, हत्या–हिंसा, बलात्कार गर्न पछि नपर्ने हुन्छन् । विपत्तिको समयमा यस्ता व्यक्तिहरू अझ बढी सक्रिय हुने मौका पाउँछन् ।

आफूलाई जान्ने, बुझ्ने छु भन्ने देखाउन यस्ता व्यक्तिहरूले विभिन्न किसिमका तर्कहरू गर्छन् । यस्ता व्यक्तिहरू एकदमै चतुर र चलाख पनि हुने गर्दछन् । यस्तो किसिमको व्यक्तित्व विकार भएका मानिसहरू हाम्रो समाजमा पनि धेरै हुन सक्छन् ।

सिजोफ्रेनिया अन्तर्गत पर्ने कडा मानसिक रोग (Grandiose delusion disorder)का बिरामीले आफूमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन् । विश्वब्रह्माण्डको सबै ज्ञान प्राप्त विद्वान र ट्यालेन्ट आफूलाई सम्झन्छन् । भूत र भविष्यका सबै कुरा बताउन र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफूसँग छ भन्ने मतिभ्रम यस्ता बिरामीमा हुन्छ ।


अशिक्षा तथा अन्धविश्वास

रोचक कुरा त के छ भने यस्तो व्यक्तित्व विकार भएका मानिसहरू पढे लेखेका, पदमा पुगेका, धेरैले मान्ने गरेका पनि हुनसक्छन् । यसकारण उनीहरूको कुरा अविश्वास गरिहाल्न धेरैलाई गाह्रो पर्न सक्छ । यस किसिमको व्यक्तित्व विकार भएका कतिपय व्यक्तिहरू धार्मिक गुरु, समाजसेवी, राजनीतिज्ञ, पत्रकार आदिको भेषमा लुकेर बसेका हुनसक्छन् ।

अज्ञानताका कारणले पनि अफवाह फैलिने गर्छ । समाज जति अशिक्षा र अन्धविश्वासले जकडिएको छ त्यो समाजमा त्यति नै चाँडो अफवाह फैलिने गर्छ । अशिक्षाको कारणले विषयलाई तथ्यपरक तरिकाले बुझ्ने र निर्णय लिने क्षमतामा कमी आउँछ । अशिक्षित व्यक्तिहरू चाँडै अरूको कुरामा विश्वास गरिहाल्ने, लहैलहैमा लागिहाल्ने हुनसक्छन् ।

उनीहरूले आफूले सुनेको कुरा असत्य नै भए पनि सत्य नै हो भन्ने ठान्दछन् साथै यो कुरा अरूका लागि पनि महत्त्वपूर्ण छ भन्ने सोचेर यसको प्रचार गर्नपट्टि लाग्दछन् ।

मानसिक रोग

मानसिक रोगीहरूका कारण पनि अफवाह फैलिरहेको हुनसक्छ । मेनिया (उन्माद) नामक मानसिक रोगका बिरामीले आफू शक्तिशाली भएको, जस्तोसुकै समस्या हल गर्न सक्ने क्षमता आफूसँग भएको जस्ता कुरा गर्ने गर्छन् । पहिले ठीकठाक भएको व्यक्ति पछि एकाएक म गुरु हुँ, माता हुँ, ममा अलौकिक शक्ति छ भन्दै अव्यावहारिक, ठूला–ठूला कुरा गर्ने, घमण्ड गर्ने प्रायः यसै रोगका बिरामी हुन्छन् ।

आफूलाई गुरु, माता बताउने केहीले कोरोनाको औषधि आफूसँग भएको, कोरोना महामारीको समाधान आफूले गर्नसक्ने जस्ता अफवाह सामाजिक सञ्जाल मार्फत फैलाउने गरेको पनि देखिन्छ ।

मानसिक स्वास्थ्यका बारेमा अज्ञानता र अन्धविश्वासका कारण यस्ता खालका अफवाहलाई फैलाउन मानिसहरूले सहयोग गरिरहेको पनि देखिन्छ ।

सिजोफ्रेनिया अन्तर्गत पर्ने कडा मानसिक रोग ‘Grandiose delusion disorder’ का बिरामीहरूले आफूमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन् । विश्वब्रह्माण्डको सबै ज्ञान प्राप्त विद्वान र ट्यालेन्ट आफूलाई सम्झन्छन् । भूत र भविष्यका सबै कुरा बताउन र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफूसँग छ भन्ने मतिभ्रम यस्ता बिरामीमा हुन्छ । यस्ता बिरामीहरूको भ्रमपूर्ण कुरालाई अज्ञानतावश विश्वास गर्नाले पनि जनमानसमा अफवाह फैलिएको हुन सक्छ ।

यी र यस्ता अन्य कारणहरूले पनि अफवाह फैलिरहेको हुन सक्छन् । कुनै कुराको बारेमा धारणा बनाउनु अगाडि राम्रोसँग सोचविचार गर्नु जरूरी हुन्छ । विषयविज्ञहरूको मात्र कुरा सुन्नुपर्छ । अफवाहको पछि लाग्दा ठूलो दुःख पाइन सक्छ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ तर यसो भन्दैमा समाजलाई हानिनोक्सानी पुर्‍याउने र शान्ति सु–व्यवस्थामा खलल पुर्‍याउने कार्य गर्नु भने अपराध हो ।

नेपालको कानूनमा अफवाह फैलाउने, प्रचारप्रसार गर्ने व्यक्तिलाई दण्ड सजायको व्यवस्था गरिएको छ ।

(मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत ढकाल मनोविद् हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment