Comments Add Comment

परवीन बाबीः स्टारडम, तीन प्रेमी र एक्लोपनमा मृत्यु

अभिनेत्री परवीन बाबीले ७० को दशकमा सिनेमाको पर्दामा त्यो सबैकुरा गरिरहेकी थिइन्, जो आजका महिला आफ्नो आकंक्षा, आधुनिकता र आत्म निर्भरताका लागि गर्न चाहन्छन् ।

पत्यार लाग्दैन भने ‘दीवार’को त्यो दृश्य याद गर्नुहोस् त । त्यसमा अभिताभ एक बिर बारमा बसेका छन् । अमिताभलाई एक्लो देखेर परवीन बाबी त्यहाँ पुग्छिन् । चिनजान नै नभएको पुरुषसँग उनी निस्फिक्री कुरा गर्न थाल्छिन् ।

एक हातमा चुरोट, अर्को हातमा मदिराको प्याला । एकदमै आत्माविश्वासी मुद्रा । अनि स्कर्टको डिजाइन यस्तो छ कि, जहाँ उनको बैंश छचल्किन्छ ।

यो त सिनेमाको एक दृश्य मात्र भयो । परवीन बाबीले जतिपनि भूमिका निर्वाह गरिन्, सबैमा उनले आफ्नो युग परिवर्तन गरिरहेको देखिन्छ ।

एक यस्तो महिलाको भूमिकामा देखिए, जो कामकाजी छन्, आत्मनिर्भर पनि छन् । त्यती मात्र कहाँ हो र ? विवाहअघि कुनै पुरुष मित्रसँग शारीरिक सम्बन्ध बनाउनमा पनि कुनै बन्देज छैन ।

यी सबैथोक गरेर पनि उनी घृणित छैनन् । सभ्य र सौम्य जीवन व्यातित गरिरहेकी छिन् । उनले आफ्नो जीवनमा कुनै दाग लाग्न दिएकी छैनन् । त्यसो त न उनलाई दागको मतलब छ, न त जमानाको ।

छोटो भूमिकामा पनि जादू

‘दीवार’को छोटो भूमिकामा पनि परवीन बाबीले गहिरो छाप छाडिन् । यही कारण तीन दशकको सक्रिय फिल्मी करियरमा उनी दर्शकको मन-मस्तिकमा रहन सफल भइन् ।

यो कुरा पनि महत्वपूर्ण छ कि, हिरोलाई केन्द्रमा राखेर बनाइएको फिल्ममा परवीन बाबीको भूमिका छोटो हुन्थ्यो । तर, उनको अनुहार र अभिनयको जादूले छोटो भूमिकालाई पनि खास बनाइदिन्थ्यो ।

त्यसबखत फिल्मको पर्दामा राम्रो वा असल युवती देखाउनु परेमा साडी वा कुर्ता सुरुवाल लगाएको देखाइन्थ्यो । त्यही बखत हो, परवीन बाबी फरक चालढालका साथ सिनेमामा छाएकी । निर्देशक बीआर इशाराले क्रिकेटर सलीम दुर्रानीसँग फिल्म ‘चरित्र’का लागि पहिलो पटक परवीन बाबीलाई फिल्ममा मौका दिए । फिल्म त फ्लप भयो, तर परवीन बाबीले भने आफ्नो जादू देखाइदिइन् ।

सन् १९४९ अपि्रल ४ मा सौराष्ट्रको जूनागढमा एक मध्यमबर्गिय मुश्लिम परिवारमा जन्मिएकी थिइन्, परवीन बाबी । उनले अहमदाबादको सेन्ट जेभियर्स कलेजबाट अंग्रेजी साहित्यमा स्नातक गरिन् । त्यसपछि मोडलिङमा करियर खोज्न थालिन् ।

संयोग कस्तो भने निर्देशक बीआर इशारा नयाँ अभिनेत्रीको खोजीमा थिए । यस्तैमा उनको नजर परवीन बाबीमा पर्‍यो । त्यसबेला परवीन बाबी चुरोटको धुँवा उडाइरहेकी थिइन् । निर्देशक बीआर इशाराले तय गरे कि, उनको अभिनेत्री फेला पर्‍यो ।

‘टाइम’ म्यागजिनको कभरमा

त्यसपछि एंग्री योङ मेन अमिताभसँग परवीन बाबीले कही सफल फिल्ममा काम गरिन् । जस्तो कि, दीवार, अमर अकबर एन्थनी, शान र कालिया ।

सन् १९७६ मा परवीन बाबी यतिसम्म लोकपि्रय थिइन् कि, प्रतिष्ठित म्यागजिन ‘टाइम’को कभरमा उनको तस्विर छापियो ।

टाइमको कभरमा स्थान पाउने पहिलो बलिउड अभिनेत्री थिइन्, परवीन बाबी ।

फिल्मी करियरमा उनी जति सफल भइन्, निजी जीवनमा भने सफल भइनन् । उनको नीजि जीवन भने विर्सनलायक रह्यो ।

परवीनको पहिलो अफेयर थियो, डेनी डेन्जोपासँग । तर, उनीहरुको सम्बन्ध धेरै अगाडि बढ्न पाएन । डेनीले फिल्मफेयरलाई दिएको एक अन्र्तवार्तामा भनेका छन्, परवीन बाबीसँग उनको सम्बन्ध तीन/चार बर्षसम्म रह्यो । त्यसपछि दुबै अलग भए ।

कबीर बेदी

डेनीपनि परवीन बाबीको प्रेम कबीर बेदीसँग भयो । दुबैले सन् १९७६ मा ‘बुलेट’ फिल्ममा एकसाथ काम गरे । करीब तीन बर्षसम्म दुबै एकअर्काको प्रेममा डुबे ।

कबीर बेदीको प्रेमकै खातिर परवीन बाबीले आफ्नो चम्किलो करियर पनि छाडिदिइन् ।

त्यही बेला कबीर बेदीलाई एक इटालियन टिभी शृंखलामा मूख्य भूमिका मिल्यो । उनीसँगै परवीन बाबी युरोप गइन् ।

तर, दुबैबीचको सम्बन्ध उस्तै रहेन । तब, परवीन बाबी बलिउड फर्किइन् । जब उनी फर्किइन्, बलिउडले उनलाई धमाधम लिन थाले । यसरी फर्किएपछि प्रीतीश नन्दीले भनेपछि परवीन बाबीले ‘द इलस्ट्रेटड विक्ली अफ इन्डिया’मा आफ्नो एक संस्मरण लेखेकी थिइन् । त्यसमा उनले लेखेकी थिइन्, ‘मेरो करियर यो भन्दा उत्कृष्ट कहिले भएन । म नम्बर एककै दौडमा छु । मुम्बईमा यस्तो फिल्म नै बनेको छैन, जसमा परवीन बाबी छैन । मान्छेहरु भन्छन् कि, यसमा मेरो भाग्यले काम गरेको छ । तर, यो भाग्यको खेल होइन, यो सफलता त मेरो पसिना र आँशुको हो, जुन टुक्रिएको मुटुसँगै कठिन मिहेनतले प्राप्त भएको छ । मलाई थाहा छ कि, यस स्थानमा रहनका लागि अटुट संघर्ष जरुरी छ । मसँग थुप्रै  चुनौती र दबाब छन् । यसलाई मैले झेल्नु नै छ ।’

महेश भट्टसँग रोमान्स

कबीर बेदीसँग ब्रेकअप नै आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको बताउने परवीन बाबीले त्यसपछि महेश भट्टसँग रोमान्स गर्न थालिन् । दुबैको रोमान्स त्यसबेला भएको थियो, जतिबेला परवीन जस्तै महेश पनि विवाहित थिए ।

तैपनि आफ्नी पत्नी र छोरी पूजा भट्टलाई छाडेर उनी परवीन बाबीसँग बस्न थालेका थिए । यो त्यहीबेलाको कुरा हो, जतिबेला परवीन शीर्ष स्टार थिइन् र महेश भट्ट एक फ्लप फिल्ममेकर । परवीन बाबीसँग सम्बन्धमा रहँदै महेशले ‘अर्थ’ फिल्म बनाए । यो फिल्मबाट महेश भट्टको करियर उकालो लाग्यो भने परवीन बाबीको ठीक विपरित । परवीनको मानसिक सन्तुलन डगमाउन लाग्यो ।

हुन त महेश भट्टसँग रोमान्स गरिरहँदा नै परवीनको मानसिक स्थिती कमजोर हुँदै गएको थियो । परवीनले यो बिमारबारे त बताइनन् । यद्यपि उनले यसलाई आनुवांशिक मानसिक समस्याको रुपमा लिइन् ।

आध्यात्मको शरण

महेश भट्टसँग रहँदा नै परवीन अध्यात्मिक गुरु यूजी कृष्णमूर्तिको सम्पर्कमा आइन् । र, उनले बलिउडलाई बिदा गरिन् । थोरै समय उनी बैग्लोरमा बसिन्, त्यसपछि अमेरिका उडिन् ।

यो त्यही समय थियो, जसलाई उनले करियरकै गंभिर मोड सम्झिएकी थिइन् । अमिताभ बच्चनको छाँयामा रहेर नभई अलग्गै आफ्नो साम्राज्य स्थापना गर्ने कोसिस गरिरहेकी थिइन् ।

यसको झलक उनको फिल्म ‘अर्पण’मा पनि देखियो, त्यसमा पाश्चत्य रंगढंगभन्दा अलग साडीमा सजिएकी थिइन् । त्यससँगै अरु फिल्ममा पनि उनले काम गर्न सुरु गरेकी थिइन् । तर, अचानक यी सबैमा एकाएक ब्रेक लाग्यो ।

अमेरिकामा पनि उनको मानसिक रोगको उपचार भएन ।

आफ्नै सर्तमा बाँच्ने

सन् २००५ मा उनको निधन भयो । त्यसपछि भारितय मिडियाले उनलाई आफ्नो सर्तमा बाँच्ने अभिनेत्रीको रुपमा चित्रण गरे । बलिउडमा उनले गहिरो छाप छाड्न सफल भइन् ।

मानसिक रोगसँग जुध्दै भएपनि उनी अन्तिम क्षणसम्म आत्मनिर्भर रहिन् । कसैको आड भरोसामा बाँचिनन् । यो पनि सत्य हो कि, जुन परवीनलाई लिनका लागि निर्देशक, निर्माताहरु लाइन लाग्थे, पछि सबैले उनलाई भुले । करिब एक दशकसम्म स्टारडम र करिब ५० फिल्मले उनको एक्लोपन परिपूर्ति गर्न सकेन । यस्तै एक्लोपनमा उनले केही बर्ष गुजारिन् । र, एक्लोपनमै अन्तिम सास लिइन् ।

बिबिसी हिन्दीबाट भावनुबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment