+
+

विपदमा धैर्य र धर्म

अजयकुमार झा अजयकुमार झा
२०७८ असार ८ गते १२:०२

नियमित, सामान्य तथा अपेक्षित अवस्थाभन्दा पृथक् ढंगले वातावरणीय पक्षमा देखापर्ने आकस्मिक वा क्रमिक परिवर्तनका कारण अनियन्त्रित र त्रासदीपूर्ण अवस्थाको सिर्जना भई धनजनको क्षति हुने अवस्थालाई विपत्ति भनिन्छ । विपद् मानवीय वा प्राकृतिक कारणबाट आइपर्ने आपत्कालीन स्थिति, नोक्सानी, खतरा वा जोखिमको अवस्था हो । विपद् एक प्राकृतिक वा मानव निर्मित जोखिमको प्रभाव हो, जो समाज वा पर्यावरणलाई नकारात्मक रूपले प्रभावित गर्दछ ।

विपद्ले वातावरणीय स्रोतसाधन, विकासका पूर्वाधार, जीवन निर्वाहका संयन्त्रहरू तथा मानव जीवन समेतको विनाश गर्दछ । वर्षा जीवनको लागि आवश्यक छ । तर धेरै वर्षाका कारण बाढी आएर गाउँ-टोल डुबानमा पर्‍यो भने विपद्को घडी शुरू हुन्छ । वायु पनि जीवनको लागि अपरिहार्य छ । तर वायुको वेग बढेर आँधी-तूफान आयो भने विपद्को घडी शुरू हुन्छ ।

आगो पनि जीवनको लागि उत्तिकै आवश्यक छ । तर यही आगोले विकराल रूप लियो भने विपद् शुरू हुन्छ । यस प्रकार पानी, हावा, आगो जस्ता प्रकृतिको स्रोत, आफ्नो लघु रूपमा जहाँ मानिसका लागि नभई नहुने तत्वको रूपमा रहन्छ भने त्यसको भयावह रूप मानिसको लागि जोखिमपूर्ण हुन्छ । मानिसलाई बिचल्लीमा पार्दछ ।

प्रलय पनि विपद् हो वा भनौं सबैभन्दा ठूलो विपद् हो । विपद्ले इतिहासलाई समाप्त मात्र पार्दैन, भविष्यको निर्माण पनि गर्दछ । विपद्ले भूगोलको रूप फेरिदिन सक्छ । विपद्का कारण संस्कृति, सभ्यता र धरामाथिको जीवन नै पटक-पटक समाप्त भएका उदाहरण छन् । राजविराज नगर विपद्कै परिणाम हो ।

आठ दशकअघि सप्तकोशी नदीमा आएको बाढीले त्यतिबेलाको एक समृद्ध नगर सप्तरीको साविक सदरमुकाम हनुमाननगरको लिलजा, नरहा बजारलाई बगाएर नै लग्यो । उक्त घटनामा धनजनको अवर्णनीय क्षति भयो, जुन अत्यन्त विशद घटना थियो । तर त्यसै कारणले मानिस विस्थापित हुँदै आजको राजविराज नगर बन्न पुग्यो । राजविराज सप्तरी जिल्लाको वर्तमान सदरमुकाम हो । विपद्प्रति राजविराजवासी जागरुक र गम्भीर बन्नुपर्दछ ।

विपद् प्राकृतिक वा मानव सिर्जित एक यस्तो अनपेक्षित घटना हो, जसको व्यवस्थापनका लागि नियमित क्षमताभन्दा बढी क्षमताको खाँचो पर्दछ । विपत्तिले सामान्य दैनिक जनजीवनलाई अस्तव्यस्त र छिन्नभिन्न तुल्याइदिन्छ । धनजनको क्षति हुन्छ । सामान्य जीवनमा व्यवधान सिर्जना हुन्छ । भौगोलिक, वातावरणीय वा मौसमी सक्रियता, गतिशीलता वा अव्यवस्थाबाट उत्पन्न हुने बाढी, सुक्खा, जलसंकट, वन विनाश विपद् हुन् ।

त्यसैगरी औद्योगीकरण, आँधी, आगलागी, मरुस्थलीकरण, भूकम्प, ज्वालामुखी, उल्का, चट्याङ, हिमताल, सामुद्रिक आँधी, सुनामी, फ्लू, एन्टिबायोटिक प्रतिरोध, ग्लोबल वार्मिङ, अत्यधिक जनसंख्या, परमाणु युद्ध सामग्री आदि सबै विपद् हुन् । तर जुनसुकै किसिमको विपद् भए पनि त्यसको सामना गर्नु मूल विषय हो । यद्यपि यस्ता विपत्तिहरूको सिर्जना गराउनमा अप्रत्यक्ष रूपमा मानवीय भूमिका समेत रहेको हुन्छ ।

विपद्मा परेको मानिस असामान्य स्थितिको सामना गरिरहेको हुन्छ । जीवन संकटमा परेको बेला के गर्ने, नगर्ने भन्ने अवस्था हुन्छ । विपद्को सामना गर्दा हार्नुको अर्थ मृत्यु हुनु हो । अर्थात् विपद्मा परेका बेला धैर्य र धर्मलाई छाड्न हुँदैन । धैर्य भनेको आलस्य होइन, होशियारीपूर्ण प्रयास हो । त्यस्तै यहाँ धर्म भनेको सनातन, बौद्ध, जैन, इस्लाम आदि धर्म होइन । धर्म भनेको मानिसको गुण वा मूल वृत्ति प्राकृतिक स्वभाव, स्वाभाविक गुण, सहज वृत्ति आदि भनेर बुझ्नुपर्छ ।

मानिसले विपद्मा पर्दा आˆनो गुणलाई छोडेर क्रन्दनमा लाग्नुहुँदैन । अनायास घरमा आगो लाग्यो भने के गर्ने ? भाग्न समर्थ व्यक्ति भाग्ने कि परिवारलाई जोगाउने उपायमा लाग्ने । दुई वर्ष अगाडि भारतको मुंगेरमा, ११० फीट गहिरो बोरवेलको ४३ फिटमा फसेकी तीन सालकी सानाको करीब २९ घण्टा ४० मिनेटपछि उद्धार भयो । विपद्मा परेकी तीन वर्षकी बच्चाले दुई दिनसम्म देखाएको धैर्य र धर्म सलाम गर्न लायक थियो । सानाको साहस विपद्मा पर्नेहरूको लागि प्रेरणादायी छ ।

विपद्मा परेका मित्रको उद्धार, राहत र पुनस्र्थापनामा मित्रले सहयोग गर्नैपर्छ, सहयोग नगर्ने मित्र कसरी मित्र कहलाउन सक्छ ? तुलसीदासजीको चौपाइमा विपद् आइपर्दाको अवस्थामा गर्नु र गरिनुपर्ने सबै कुरो समेटिएको छ । विपद्को विषयमा हिजोको र आजको सबै कुरा उस्तै छन् । रूपमा अन्तर देखिए पनि सारमा उही हो ।

विपद्लाई उहिले र अहिले पनि एक स्वाभाविक घटनाको रूपमा लिइन्छ । त्यसैले आपतलाई दैवी प्रकोप/प्राकृतिक प्रकोपको घटना मानिन्छ । तर आधुनिक विश्वमा मानिसको क्रियाकलापका कारणले पनि विपद् निम्तिएको छ । कुनै पनि समय वा ऋतुमा संसारको कुनै न कुनै भागले कुनै न कुनै प्रकारको विपद्को सामना गरिरहेकै हुन्छ ।

त्यसैले विपद् एक प्राकृतिक र स्वाभाविक घटना हो भने मनुष्यको केही अवाञ्छित क्रियाकलापले गर्दा आउने विपद् अस्वाभाविक (कृत्रिम) घटना हो । प्रकोप पनि प्रकृतिमा आउने विकारको प्रकटीकरण नै भए पनि महामारी रोग आदि प्रबलताको लागि बढी प्रयोग हुन्छ । पहिले पहिले हैजा, बिफर, मलेरिया, कालाज्वर आदि प्रकोपकै रूपमा आउँथ्यो । अहिले कोरोना महामारी, प्रकोपकै रूपमा आएको छ ।

विपद् उत्पन्न हुनुका पछाडि विभिन्न कारण हुन्छन् । विपद् मानवीय नियन्त्रणभन्दा बाहिरको घटना भए पनि यसको सिर्जना हुनुमा भने मानवीय व्यवहार र क्रियाकलापहरू जिम्मेवार छन् । विकास, आविष्कार, आधुनिकीकरणका क्रममा तिनको प्रकृतिमाथि पर्न सक्ने नकारात्मक असरका बारेमा सचेत भई त्यस्ता असरहरू न्यूनीकरणका लागि प्रभावकारी कदम नचालिनुको परिणामले नै अधिकांश विपद् देखा पर्दछन् ।

विकास प्रयास व्यवस्थित र सावधानीपूर्ण नहुने हो भने त्यस्तो विकासले विनाश निम्त्याउँछ । असुरक्षित निर्माण कार्यहरू, अव्यवस्थित शहरीकरण, कमजोर भौतिक संरचनाहरू आदि प्रकोपका उच्च सम्भावित स्रोतहरू हुन्

वनजङ्गल विनाश प्राकृतिक प्रकोपको एक प्रमुख कारण हो । वनजङ्गलको अभावमा अतिवृष्टि, अनावृष्टि, सुक्खा, खडेरी, बाढी, पहिरोजस्ता विपद् आइपर्दछन् । संसारमा वर्षेनि यस्ता विपद्मा परेर हजारौं मानिसले ज्यान गुमाएका हुन्छन् । नेपालमा वनजङ्गलको आकार पातलिंदै गएको छ । यसका अनेक दुष्परिणाम देखा पर्न थालेका छन् । चुरिया पर्वतमा वन विनाशका कारण तराईमा वर्षाको अनियमितता, सुक्खा, बाढीको विपद् देखा पर्नुका साथै तराईको मरुभूमीकरण हुने अवस्था सिर्जना भइरहेको छ ।

जलवायु परिवर्तन आजको सिङ्गो विश्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । विश्वव्यापी तापमानमा वृद्धिका कारण हिउँ पग्लने, हिमतालहरू फुटने, समुद्री सतह बढ्ने, प्रकृतिमा अनपेक्षित र असामान्य परिवर्तनहरू देखापर्ने क्रम तीव्र रूपमा बढ्दो छ । माल्दिभ्स जस्ता समुद्री टापु मुलुकहरू विश्व मानचित्रबाट हराउने स्थिति बन्दैछ ।

विकास प्रयास व्यवस्थित र सावधानीपूर्ण नहुने हो भने त्यस्तो विकासले विनाश निम्त्याउँछ । असुरक्षित निर्माण कार्यहरू, अव्यवस्थित शहरीकरण, कमजोर भौतिक संरचनाहरू आदि प्रकोपका उच्च सम्भावित स्रोतहरू हुन् । सडक विस्तारका नाममा वन विनाश र जमीनको अव्यवस्थित कटानले पहिरो तथा भूक्षय निम्त्याउँछ । प्रदेश-२ को बारा जिल्लामा अन्तर्राष्ट्रियस्तरको हवाई मैदान बनाउने क्रममा २५ लाख रूख कटान गर्न लागिएको छ । एकै वर्षमा २५ लाख वृक्षको कटानले ल्याउने दुष्परिणामको चिन्ता बेलैमा लिनुपर्छ ।

विश्व राजनीतिमा देखिएको शक्तिको होडबाजी, शक्ति सञ्चयको प्रतिस्पर्धामा विनाशकारी आणविक तथा जैविक हतियारहरूको विकास, सङ्कलन र एकअर्काका विरुद्धमा प्रयोग, युद्ध तथा आतंक आदिले विपद् उत्पन्न गर्दै आएको छ । हिरोशिमा र नागासाकीमा परमाणु बम विस्फोटनको असर आज ७५ वर्षपछि पनि समाप्त भएको छैन ।

विपद् व्यवस्थापन भनेको विपद्मा परेका मानिस र पशुको उद्धार गर्ने, उपचार गर्ने, आधारभूत राहत उपलब्ध गराउने र पुनस्र्थापन गर्ने हो । यो राज्यले गर्ने कार्य हो । राज्य भनेको सरकार मात्र बुझिने होइन, राज्यका सम्पूर्ण संयन्त्र, नागरिक समाज र समूहगत रूपमा व्यक्ति पनि । त्यस्तै आपत्कालमा एउटा व्यक्तिले गर्ने कार्य पनि तुलसी-वाणीमा परिलक्षित छ । तुलसीदासका अनुसार व्यक्ति दुई प्रकारका देखिए एक- आपतमा परेको र अर्को- आपतमा परेकाको मित्र ।

विपद्का सम्भावनाहरू पहिचान गरी तिनलाई रोक्ने प्रयास गर्न, विपद् आइहालेमा त्यसबाट हुने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र विपद् आइपरेपछि त्यसको सामना गर्न गरिने आवश्यक पूर्वतयारी, योजना, संयन्त्र निर्माण, स्रोतसाधनको व्यवस्था र साङ्गठनिक एवं मानवीय क्षमता विकास सम्बन्धी सम्पूर्ण कार्यहरूलाई समग्रमा विपद् व्यवस्थापन भनिन्छ ।

विपद् आउनुपूर्व, विपद्को समयमा र विपद्पछिको अवस्थामा योजना, सङ्गठन, स्रोतसाधन परिचालन, समन्वय, नियन्त्रण र अनुगमन तथा मूल्याङ्कन गर्ने कार्य नै विपद् व्यवस्थापन हो । यसमा पूर्व तयारी गर्ने, योजना बनाउने, क्षमता विकास गर्ने, स्रोतसाधनको परिचालन गर्ने, जोखिम न्यूनीकरण गर्ने, उद्धार तथा मानवीय सहायता प्रदान गर्ने, पुनःस्थापना र पुनः निर्माण गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।

भूकम्प होस्, बाढी होस्, आगलागी होस् वा अन्य कुनै प्रकारको विपद् होस् । त्यस्तो विपद्को स्थितिमा राज्यले गर्ने कार्य त राज्यले गर्ला नै तर विपद्मा परेका मानिसले वास्तवमा तत्काल के गर्नुपर्छ । यो कुरा निश्चय पनि निकै महत्वपूर्ण छ । आपत्मा परेका मानिस वयस्क वा सोचसमझवाला मात्र हुन्छन् भन्ने होइन । वृद्ध, बालबालिका, शिशु, अपाङ्गता भएका पनि हुन्छन् ।

बाढीको कुरा सुन्नासाथै सबैभन्दा पहिले यो तय गर्नुपर्छ कि आफू बसेको स्थान कति सुरक्षित छ । यदि त्यो स्थान सुरक्षित छैन भने सुरक्षित स्थानमा जानुपर्ने हुन्छ । टर्च, औषधि, मोबाइल फोन, मूल्यवान वस्तु एवं कागजात त साथमा लिनुपर्छ तर सामानको मोह गरेर ठूलो भारी बोक्नुहुँदैन । किनभने ज्यान बचे त लाख उपाय । बाढी एउटा उदाहरण हो ।

भूकम्प, आगलागी, हुलदंगा, विस्फोट आदि कुनै पनि किसिमको विपद् वा दुर्घटनामा आफ्नो वा आफूहरूको जीवनको रक्षाका लागि तत्पर रहनुपर्छ र अवस्था अनुसार सम्भव भएसम्मको उपाय गर्नुपर्छ । विपद् पूर्व तयारीको क्रममा सञ्चालन गरिने चेतनामूलक कार्यक्रमहरूको उद्देश्य आत्मरक्षाको उपायप्रति जागरुक रहनुपर्छ भन्ने हो । जिम्मेवार निकायहरूले पनि विपद् गाइड प्रकाशित गर्नुपर्छ र विद्यालयको कक्षा, भेला, अन्तरक्रिया वा घरदैलोको माध्यमले व्यक्ति-व्यक्तिलाई विपद्बाट सुरक्षाको ज्ञान दिनुपर्छ ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?