Comments Add Comment

मुग्लिन-नारायणगढ सडकको चारकिलोमा फेरि पहिरो

१८ असार, चितवन । मुग्लिन–नारायणगढ सडकको चारकिलोमा पुनः पहिरो आएर सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान ५ बजेबाट बन्द रहेको उक्त सडकखण्ड दिनभर सञ्चालनमा आउन सकेको छैन ।

फेरि पहिरो थपिएपछि राति सडक सञ्चालन हुने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शुक्रबार बिहानै गएको पहिरो हटाउने क्रममा पुनः माथिबाट ठूलो पहिरो थपिएपछि सडक खुल्ने सम्भावना कम भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

‘हिजो राति सडक सञ्चालन गरेर सुतेको हो, बिहान उठ्दा फेरि पहिरो आएर उस्तै भयो, पानी आउने बित्तिकै पहिरो झर्छ, उनले भने, ‘अन्यत्र खासै समस्या छैन, चारकिलो, कालीखोला र जलवीरेमा बढी नै दुःख दिएको छ ।’

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा बिहीबारदेखि निरन्तर पहिरो गइरहेकाले सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । मुग्लिन नारायणगढ सडकको वैकल्पिक सडक प्रयोग गर्नसमेत प्रहरीले अनुरोध गरेको छ । पहिरो पन्छाउने क्रम जारी छ ।

मुग्लिन–नारायणगढ सडकको चारकिलो, पाँचकिलो, कालीखोलालगायतका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ । जलवीरे र चौधकिलोमा सडक एकतर्फी भएको छ । चौधकिलोमा बिहीबार साँझ पहिरोसँगै ठूलो ढुंगा खस्दा सडक आधा बन्द भएर यहाँ एकतर्फी भएको छ । ढुंगासँगै आएको लेदो हटाइएको छ भने ढुंगा त्यहीं नै छ । ठूलो ढुंगालाई ‘रक ब्रेकर’मार्फत फुटाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment