Comments Add Comment

कोमल वलीको अभिव्यक्तिबारे प्रधानमन्त्री बोल्नुपर्छ : मुकुन्द न्यौपाने

२२ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् ।

नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र विपक्षीय गठबन्धनप्रति कटाक्ष गरेकी थिइन् । उनको यो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।

एमालेका नेता मुकुन्द न्यौपाने वलीको अभिव्यक्तिबारे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताउँछन् । ‘कोमल वली राष्ट्रियसभामा बोलिरहँदा एमाले पार्टीको प्रतिनिधित्व भइरहेको हुन्छ । किन यस्तो बोलिन् भन्ने जवाफ अध्यक्षले दिनुपर्छ,’ न्यौपाने भन्छन् । ‘संसदमा कस्तो मान्छे एमालेले पठाएको छ,’ भन्ने पनि वलीको अभिव्यक्तिबाट थाहा हुने न्यौपानेको भनाइ छ ।

यो पनि पढ्नुहोस राष्ट्रिय सभामा कोमल ओलीले सुनाइन् कविता

नेपाली कांग्रेसका नेता बीपी कोइरालालाई सम्मान र प्रधानमन्त्री ओलीको बचाउ गर्दै वलीले लामै कविता वाचन गरेकी थिइन् । ‘एमालेको गुरु भनेको अहिले केपी ओली हो । शिष्यले सिकेको बोलिन् । यसको जवाफदेहिता कोमल वली भन्दा धेरै प्रधानमन्त्री हो,’ न्यौपाने भन्छन् ।

प्रधानमन्त्री ओलीले सहयोद्धाहरुलाई हेपेर बोलेको सुनेपछि कोमल वलीले पनि त्यस्तै सिको गरेको उनी बताउँछन् । ‘मदन जयन्तीमा केपी ओलीले जस्ता शब्दहरु प्रयोग गरिरहनुभएको थियो, त्यो सुन्दा प्रधानमन्त्रीले बोल्दैछन् भन्ने लाग्थ्यो ?,’ न्यौपाने भन्छन्, ‘कोमल वलीलाई पनि लाग्यो होला बोल्ने त यसरी रहेछ ।’

तर राष्ट्रियसभा अध्यक्षले भने राष्ट्रियसभाका गरिमा जोगाउन नसकेको उनको टिप्पणी छ । ‘कोमल वली र राष्ट्रियसभाका अध्यक्षमा कति फरक रहेछ त ? कविता सुनेर मुसुमुसु ।  त्यस्तो शब्द प्रयोगमा रोक्नुपर्दैन ?,’ न्यौपाने प्रश्न गर्छन् ।

कोमल वली राष्ट्रियसभामा एमालेबाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment