Comments Add Comment

 देशभर सात लाख ७६ हजार हेक्टरमा रोपाइँ, प्रदेश-२ मा ढिलाइ

२३ असार, काठमाडौं । गत वर्षभन्दा यस वर्ष धान रोपाइँ सुस्त देखिएको छ । कृषि विभागले सार्वजनिक गरेको असार २२ गतेसम्मको विवरणअनुसार यस वर्ष देशभर ५६.६१ प्रतिशत अर्थात् सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । जुन गतवर्ष भन्दा ४.५ प्रतिशतले कम हो ।

गतवर्ष समीक्षा अवधिमा कुल धान खेति हुने क्षेत्रफलको ६०.६६ प्रतिशत अर्थात् आठ लाख ३२ हजार १३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

यस वर्ष प्रदेश एक, दुई, गण्डकी र कर्णाली प्रदेशमा रोपाइँ ढिला भएको विभागले जनाएको छ । गतवर्ष समीक्षा अवधिमा प्रदेश- १ मा ५०.८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो, यस वर्ष भने ४६.५८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

यस्तै प्रदेश दुईमा गत वर्ष ५०.८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ३९.२८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा गतवर्ष ५६.४९ प्रतशत भूभागमा  रोपाईं सकिएकोमा यस वर्ष ३०.५७ प्र्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

गतवर्ष ८६.३ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशमा यसवर्ष ८३.८५ प्रतिशत भूभागमा मात्रै रोपाईं सम्पन्न भएको विभागका सूचना अधिकारी डा. महादेव प्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशमा भने गत वर्षभन्दा छिटो रोपाइँ भएको छ ।

गतवर्ष समीक्षा अवधिमा ५२.२ प्रतिशत भूभागमा रोपाइँ भएको बागमति प्रदेशमा यस वर्ष ६१.१ प्रतिशत भूभागमा रोपाईं सकिएको छ । यस्तै लुम्बीनीमा पाँच प्रतिशत र सुदूरपश्चिम प्रदेशमा गतवर्ष भन्दा थारै धेरै क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

देशको कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा यस वर्ष धान रोपाईं निकै ढिला देखिएको छ । सो क्षेत्रमा वर्षा कम हुँदा रोपाइँ ढिला भएको कृषि विभागको दाबी छ ।

विभागका सूचना अधिकारी डा.महादेव प्रसाद पौडेलकाअनुसार गत वर्ष छिटो वर्षा भएको सो प्रदेशमा यस वर्ष कम पानी गरेको जानकारी विभागमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment