Comments Add Comment

सरकारी अधिकारी भन्छन्- अमेरिकी खोप कसलाई दिने भनेर छलफलमै छौं

२७ असार, काठमाडौं । सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप कसलाई दिने भन्ने विषयमा छलफलमै रहेको बताए । उनले भने, ‘त्यो (खोप) आउँदा नआउँदै हामी निर्णय गर्छौं, कहिलेदेखि चलाउने, कहाँ-कहाँ चलाउने भन्ने विषयमा छलफलमै छौं ।’

यसैगरी कोरोना सम्बन्धी सरकारको विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले पनि जोनसन एण्ड जोनसनको खोप कसलाई दिने भन्ने विषय छलफलमै रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका अर्का एक अधिकारीले भने कोरोना खोप ५० देखि ५५ वर्ष उमेर समूहका व्यक्ति, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरुलाई दिने कि भनेर सुझाव आएको र त्यसबारे छलफल भइरहेको बताएका छन् ।

 नेपाललाई अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ । सो खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोज पनि नेपाल ल्याउने क्रम जारी छ । पहिलो चरणमा भेरोसेलको आठ लाख डोज खोप शुक्रबार नेपाल आइसकेको छ ।

तर पछिल्लो पटक ल्याइएको भेरोसेल खोप र सोमबार बिहानसम्म आइपुग्ने भनिएको जोनसन एण्ड जोनसन खोप तालिका भने सरकारले सार्वजनिक गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment