Comments Add Comment

जोन्सन एण्ड जोन्सनको खोप क–कसले पाउँछन् ?

२८ असार, काठमाडौं । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ ।

सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

डा. पौडेलका अनुसार एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने छ । उनका अनुसार यो उमेर समूहका नागरिक करिब १३ लाख छन् ।

यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकलाई दिइने उनले बताए ।

हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई पनि जोन्सनको खोप दिने निर्णय भएको उनले बताए । उनका अनुसार नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु करिब २५ हजार छन् ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पनि जोन्सनको खोप दिइने छ ।

अमेरिकाबाट सोमबार मात्रै १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेसँगै सरकारले यो कम्पनीको खोप लगाउने प्राथमिकता निर्धारण गरेको हो ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जोन्सनको खोप कहिलेदेखि लगाउन सुरु गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको अनलाइनखबरलाई जानकारी दिए ।

‘जोन्सनको खोप आज मात्रै आइपुगेको छ । खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरिसकेको छ । त्यसैले यो खोप पनि नागरिकलाई छिट्टै लगाउन थाल्छौं’ डा. गौतमले भने ।

सरकारले मंगलबारदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment