Comments Add Comment
लघुकथा :

मन्त्रीज्यू

आज गाउँमा चहलपहल छ। मन्त्रीज्यूको सवारी जो छ । बिहानैदेखि सुरक्षा गार्डहरू खटिएका छन्। सफासुग्घर सिंगारपेटार गर्नेले गाउँलाई नवविवाहित दुलही जसरी सिंगारेका छन्।

हेलिकप्टर ओर्लने ठाउँको टाढा टाढासम्मको परिधिमा डोरीले घेरो लगाइएको छ । सबै जनता डोरीको बाहिर थुप्रै आश र उत्सुकता बोकेर हेलिकप्टर कहिले आउला भन्दै आकाशतिर हेर्दै प्रतीक्षामा छन्।

‘हामीलाई त मन्त्रीज्यूलाई हेर्न यस्तो छ भने, चुच्चे नक्शाभित्रका जनतालाई आफ्नो मन्त्री हेर्न कति मन लाग्दो हो हैन’ फाटेको टोपीले पसिना पुछ्दै डल्लेले नजिकैको च्याङ्बालाई भने।

गाउँ नै उडाउला जस्तो गरेर हेलिकप्टर बस्यो। मन्त्रीज्यूको जोडी, हातमा चम्कने घडी, आँखामा काला चश्मा, सुनका गहनाले झकिझकाउ साह्रै खानदानी देखिएको। अघि र पछि सेवा गर्नेहरूको लावालस्कर।

हत्त र पत्त गर्दै स्वागत टोलीको हूलले ‘हैन हैन’, ‘एकछिन एकछिन’ भन्दा भन्दै पनि मन्त्रीज्यूलाई नै छोप्ने गरी सुगन्धित फूलैफूलको माला लगाइदिए। रातो टीकाले निधार ढाकिदिए र चाकरी चाप्लुसीका साथ भाषण गर्न माइकतर्फ डोर्‍याए ।

‘दिनदिनै फेरिने मन्त्रीहरू ! अरू भा’को भए पनि यस्तो समस्या हुने थिएन । श्रीमती नै होलिन् भनेर के थाहा । त्यै भएर त श्रीमान् पछि लागेर आउनुपर्‍यो ।’

‘प्यारा जनताहरू, तपाईंहरूको स्वागतले म प्रशन्न छु। तर मन्त्री म हैन, मेरी श्रीमती हो। हिजो भर्खर मेरो पद गयो। मेरी श्रीमतीको भाग्य खुल्यो।’

‘अब के गर्ने ?’ सत्कार टोलीका सबै मुखामुख गर्न थाले।

‘अर्को माला छैन ? मन्त्रीज्यूको पो गला खाली भो’ भुन्टीलाई दया लागेछ।

‘कस्तो मन्त्रिमन्डल हेरफेर भाको पनि खबर सुनिएन’ गुमानेले छक्क पर्दै भन्यो।

‘दिनदिनै फेरिने मन्त्रीहरू ! अरू भाको भए पनि यस्तो समस्या हुने थिएन। श्रीमती नै होलिन् भनेर के थाहा। त्यै भएर त श्रीमान् पछि लागेर आउनुपर्यो’ श्रीमतीको पछि लागेर मन्त्री हेर्न आएको मिसेरियाले चित्त नबुझे झैं गर्यो।

‘लोग्ने स्वास्नी पालै पालो हुन्छन् भनेर के थाहा’ जनआन्दोलनमा हातखुट्टा गुमाएका बिर्खे बोले।

‘लोग्ने मन्त्री हुँदा स्वास्नीलाई मन्त्राणी भन्छन्, स्वास्नी मन्त्री हुँदा लोग्नेलाई कसरी सम्बोधन गर्ने ?’ जनआन्दोलनमा मारिएका हवल्दारको विधवाले सेतो सारीले आँसु पुछदै आफ्नो मायालु पतिको याद गरिन्।

यस्तै यस्तै अड्कल र थुप्रै थुप्रै अनुत्तरित प्रश्न हुँदा पनि सबैको नजर चाहिं माथि मञ्चमा छ। मन्त्रीज्यूको श्रीमानको अनुहार चाहिं खुशीले उज्यालो झन् उज्यालो हुँदै गएको। मन्त्रीज्यूको मुहार चाहिं अँध्यारो औंसीको राति जस्तो। मनमनै खल्लो महसुस गरेको जस्तो।

‘पहिलो भ्रमण नै यस्तो होला भन्ने के थाहा’ मन्त्रीज्यूले मनमा साह्रो चित्त दुःखाउँदै आफ्नो पतिदेव अर्थात् भूपू मन्त्रीसँग खुसुक्क गुनासो पोखिन्। कार्यकर्ताहरू चाहिं अब विना माला विना टीकाको मन्त्रीज्यूसँग कसरी सेल्फी खिचेर पोष्ट गर्ने भनेर मुख हेराहेर गर्न थाले।

सएन्जलस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment