Comments Add Comment

व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशले पेगासस सफ्टवेयर किनेको खुलासा

भारतका नेता र ४० बढी पत्रकारहरुको जासुसी गरिएको दाबी

४ साउन, काठमाडौं । विभिन्न देशका सरकारहरुले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको एक सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ । विश्वभरका अधिकारकर्मी, पत्रकार, वकिल, उच्च तहका नेताहरुको जासुसी गर्ने उद्देश्यले यो सफ्टवेयर खरीद भएको मिडिया रिपोर्टहरुले जनाएका छन् । नेपालमा यो सफ्टवेयर प्रयोग भए नभएको बारे खुलिसकेको छैन ।

यही पेगाससमार्फत् भारत सरकारले ४० भन्दा बढी पत्रकारहरुको जासुसी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसलाई बंगलादेशलगायतका धेरै देशहरुले खरीद गरेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

पेगासस इजरायलको साइबर सुरक्षा कम्पनी एनएसओले तयार पारेको स्पाइवेअर हो । यसले आइफोन वा एन्ड्रोइड फोनबाट म्यासेज, फोटो, इमेल हेर्न, कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्छ ।

पेगाससको प्रयोगबारे गत आइतबार द वासिङ्टन पोस्ट, द गार्जिअन र ले मोन्डेसहित विश्वभरका १४ अन्य संस्थाहरूले समाचार छापेपछि तहल्का मच्चिएको छ ।

व्यक्तिहरूको फोन नम्बरमा पेगासस स्पाइवेअर रहेको समाचार विवरणहरुमा उल्लेख छ । उक्त स्फटवेअरमार्फत् समाचार संस्था एएफपी, सीएनएन, द न्यूयोर्क टाइम्स, अलजजीरासहितका समाचार संस्थाका झन्डै १८० पत्रकारहरू निगरानीमा रहेको बताइन्छ ।

एनएसओले भने आफूबाट गलत काम नभएको दाबी गरेको छ । उक्त स्फटवेअर सेना, कानुन पालना गराउने निकाय र गुप्तचर निकायहरूलाई मात्रै उपलब्ध गराइएको एनएसओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो कम्पनीले आतंकवाद र अपराधविरुद्ध लड्न मान्यताप्राप्त सरकारी एजेन्सीहरुलाई मात्र बेच्ने गरेको जनाएको छ ।

भारतमा को-को निगरानीमा ?

भारतमा पनि पेगासस प्रयोग भएको समाचार द वायरले छापेको छ । सो समाचारमा लेखिएअनुसार ४० पत्रकार, विपक्षी दलका तीन नेता, एक संवैधानिक पदमा रहेका व्यक्ति, मोदी सरकारका दुई मन्त्री, व्यापारी र सुरक्षा एजेन्सीका पूर्व प्रमुखसमेतलाई निगरानीमा राखिएको छ ।

वायरको समाचार रिपोर्टमा दाबी गरिएको छ कि हिन्दुस्तान टाइम्सका सम्पादक शिशिर गुप्ता, इण्डिया टुडे, नेटवर्क १८, द हिन्दु र इण्डियन एक्सप्रेस, द वायरका दुई जना संस्थापक सम्पादक, तीन पत्रकार, दुई स्तम्भकार जासुसको निगरानीमा रहेका छन् । यसका साथै पत्रकार रोहिणी सिंह, इण्डियन एक्सप्रेसका डेपुटी एडिटर सुुशान्त सिंह पनि निगरानीमा रहेको समाचारमा उल्लेख छ ।

रोहिणीले गृहमन्त्री अमित शाहका छोरा जय शाहको कारोबारबारे र सुशान्त सिंहले लडाकु विमान रफायल खरीद सम्झौतामा भएका अनियमितताबारे समाचार लेख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment