+
+
Shares

अन्तरिक्ष पुगेर फर्किए अमेजन संस्थापक जेफ बेजोस, कस्तो रह्यो १० मिनेटको यात्रा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १०:०२

विश्वका नम्बर वान धनाढ्य तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले मंगलबार सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेका छन् ।

अन्य तीन जना यात्रुसँगै बेजोसले आफ्नै कम्पनी ब्लु ओरिजिनले तयार पारेको न्यू शेफर्ड रकेट यानमार्फत् उनले करीब १० मिनेटको अन्तरिक्ष यात्रा पूरा गरी पृथ्वीमा सकुशल अवतरण गरे ।

उक्त यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीया पूर्वपाइलट तथा अमेरिकी अन्तरिक्ष कार्यक्रमकी पूर्वसदस्य वाली फंक र एक १८ वर्षीय विद्यार्थी ओलिभर डायमेनले पनि सहभागी रहे । चारै जना पृथ्वीबाट उडेको १० मिनेट १० सेकेण्डपछि प्याराशुटको माध्यमबाट पृथ्वीमा फर्किएर अवतरण गरेका थिए ।

योसँगै वाली अन्तरिक्षमा जाने सबैभन्दा पाको उमेरकी महिला बनेकी छिन् भने डायमेन सबैभन्दा कम उमेरका व्यक्ति बन्ने कीर्तिमान कायम गरेका छन् ।

सफलतापूर्वक अन्तरिक्षयात्रा पूरा गरी पृथ्वीमा फर्किएसँगै बेजोस एक अन्तरिक्षयात्रीको रुपमा आफ्नो सबैभन्दा उत्तम दिन रहेको बताए ।

खुसीले चिच्याए अन्तरिक्षयात्री

यी सबैजना न्यू शेफर्ड अन्तरिक्षयानमा चढेर टेक्सासको भान हर्नस्थित प्रक्षेपक्ष केन्द्रबाट अन्तरिक्षयात्रामा निस्किएका थिए । ब्लु ओरिजिनले अन्तरिक्ष पर्यटनलाई बढावा दिने उद्देश्यका साथ न्यू शेफर्ड रकेट यानको निर्माण गरेको हो । यो यानमा रहेको क्याप्सुलमा ठूलाठूला झ्यालहरु छन् जसका कारण त्यसमा सवार यात्रुहरुले अन्तरिक्षबाट पृथ्वीको सुन्दरता अवलोकन गर्न पाउँदछन् ।

नेपाली समय अनुसार मंगलबार बेलुकी करिब पौने ७ बजे उक्त रकेटयान प्रक्षेपण गरिएको थियो । उडान भरेको केवल २ मिनेटपछि रकेटबाट क्याप्सुल अलग भएको थियो र एक सय किलोमिटर माथि अन्तरिक्षको सतहसम्म पुगेको थियो । त्यहाँ पुगेसँगै क्याप्सुलमा सवार सबै अन्तरिक्षयात्रीहरुले वाह ! भनेको सुनिएको थियो । सबैजना खुसीले चिच्याएका थिए ।

वाली फंकले भनेकी थिइन् – ओहो संसार हेर त ।

अन्तरिक्ष यात्रामा निस्कनु अगाडि उनले जब अन्तरिक्षमा आफ्नो शून्य तौल हुनेछ तब आफूले टाउको माथि गरेर कसरत गर्ने बताएकी थिइन् ।

चार मिनेटसम्म शून्य गुरुत्वाकर्षणको अनुभव

चारैजना यात्रीहरुले करिब ४ मिनेटसम्म तौल विहीनताको अनुभव गरे । उनीहरुको आफ्नो सिटबेल्ट खोले र हावामा तैरिने अनुभव पनि गरे । उनीहरुले त्यहाँबाट निकै टाढा देखिने पृथ्वीको दृश्यावलोकनको मज्जा पनि लिए ।

बेजोससँगको यो अन्तरिक्षयात्रामा गएकी वाली फंक सन् १९६० को दशकमा नासाको मर्करी १३ नामको महिलाहरुको उक्त समूहकी हिस्सा थिइन् जसले पुरुष अन्तरिक्षयात्रीहरुले जस्तै परीक्षण तथा छनोटको प्रक्रिया पूरा गरेका थिए । तर उनलाई नासाले कहिल्यै पनि अन्तरिक्षमा जाने मौका दिएन ।

अर्बपतिहरुको अन्तरिक्ष दौड

न्यू शेफर्डको यस अन्तरिक्षयात्रालाई अर्बपतिहरुको अन्तरिक्ष दौडको पछिल्लो उदाहरणको रुपमा लिइएको छ ।

अघिल्लो हप्ता अर्बपति व्यवसायी सर रिचार्ड ब्रान्सनले सफलतापूर्वक अन्तरिक्षयात्रा गरेका थिए । आफ्नो कम्पनी भर्जिन ग्यालेक्टिकको रकेट जहाजमार्फत् अन्तरिक्ष यात्रा गरेर ब्रान्सनले कीर्तिमान कायम गरेका थिए ।

अघिल्लो हप्ता नै ब्रान्सनले एक अन्तरवार्तामा आफ्नो लागि जेफ बेजोसलाई पछाडि पार्नु कुनै आवश्यक नरहेको बताएका थिए । उनले बेजोसलाई एक मित्रको रुपमा सल्लाह सुझाव पनि दिएका थिए । उनले भनेका थिए – अन्तरिक्षबाट केवल तपाईं बाहिरको दृश्य हेर्नुहोस् । यो जीवनमा एकपटक प्राप्त हुने मौका हो ।

भविष्यमा भर्जिन ग्यालेक्टिक रकेट जहाजबाट अन्तरिक्ष यात्रा गर्नका लागि सर्वसाधारणलाई अढाइ लाख डलरसम्म भुक्तानी गर्नुपर्नेछ । उता न्यू शेफर्डको व्यवसायिक टिकटको मूल्यचाहिँ अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

विश्वका सबैभन्दा धनी व्यक्ति बेजोसले सन् २००० मा ब्लु ओरिजिन कम्पनी स्थापना गरेका थिए । अघिल्लो महिनामात्रै उनले आफ्नो अन्तरिक्ष उडानको घोषणा गरेका थिए ।

जेफ बेजोसँगै अन्तरिक्षयात्रामा गएका उनका भाइ ५३ वर्षीय मार्क बेजोस एक विज्ञापन एजेन्सीको संस्थापक तथा न्युयोर्कस्थित च्यारिटी कम्पनी रविन हुडमा वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन् ।

त्यस्तै १८ वर्षका ओलिभर डायमेन चाहिँ वित्तीय कम्पनी सोमरसेट क्यापिटलका सीईओ जोएस डायमेनका छोरा हुन् । उनी भौतिक विज्ञानका विद्यार्थी पनि हुन् ।

आफैं पहिलो उडानमा अन्तरिक्ष यात्रामा गएर अन्तरिक्ष पर्यटनको सुत्रपात गरेका भए पनि फजुल र अनावश्यक खर्च गरेको भन्दै जेफ बेजोस तथा रिचार्ड ब्रान्सनमाथि धेरैले तीव्र आलोचना पनि गरिरहेका छन् । अर्बपतिहरुले अन्तरिक्षमा घुम्नका लागि ठूलो रकम खर्च गर्नुको साटो उक्त पैसालाई जलवायु परिवर्तनविरुद्धको लडाइँ तथा महामारी नियन्त्रणमा लगाउनुपर्ने धेरै मानिसहरुको मत रहेको छ ।

बीबीसीबाट

यो पनि पढ्नुहोस् –

अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोसनर्भस नभएको प्रतिक्रिया

जेफ बेजोससँग अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक को हुन् 

जेफ बेजोसको अन्तरिक्ष यात्रामा चार जना८२ वर्षकी महिलालाई पनि लैजाने

अर्बपति रिचार्ड ब्रान्सनले रचे इतिहासजहाजमा चढेर अन्तरिक्षको यात्रा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?