Comments Add Comment

माडीका गन्धर्व समुदायका लागि बागमती सरकारले बनाइदियो घर र सांस्कृतिक संग्रहालय

७ साउन, चितवन । चितवनको माडीमा बागमती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ ।

माडी नगरपालिका–८ कान्तिपुरमा गन्धर्व समुदायका लागि ४६ वटा नमुना घर बनाएर बिहीबार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले घरको साँचो गन्धर्व समुदायलाई हस्तान्तरण गरे । नमुना बस्ती र सांस्कृतिक केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले गाउँगाउँमा सिंहदरबार भन्ने भनाइ मात्रै नभई व्यावहारिक रुपमा कार्यान्वयन भएको बताए ।

प्रदेश सरकारले विपन्न र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले कान्तिपुरका गन्धर्व समुदायका बाँकी घर पनि बनाउने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले आफ्ना लागि घर निर्माण गरिदिएपछि गन्धर्व समुदाय खुशी देखिएका छन् । स्थानीय डिलबहादुर गन्धर्वले पूर्खा र हामीले समेत नचिताएको कुरा कान्तिपुरमा पाएको भन्दै जीवन नै उज्यालो बनेको बताए । ‘हामी त चुहिने छानामुनि थियौं, प्रदेश सरकारले पक्की एट्याच्ड ट्वाइलेट बाथरुम भएको घरमा ल्याएर राखिदियो, अब यी घरमा होमस्टे सञ्चालन गरेर आयआर्जनमा जोडिन्छौं, खुशीको सीमा नै छैन हामीमा ।’

कान्तिपुर गाउँको मूलबाटो नजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरु बनाइएको छ । सूर्योदय कृषि सहकारी संस्थाका प्रवन्धक शिवजी गायकका अनुसार प्रदेश सरकारको ३ लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको ४ लाख ५० हजार गरी ९ लाखको लागतमा घरहरु बनेका हुन् । दुई बेड रुम, एक लिभिङ रुम, एक किचन र दुई वटा एट्याच्ड ट्वाइलेट बाथरुम छन् ।

अहिले बनेको गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा, बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए । ‘पाहुनाहरु आउँदा गन्धर्व जातिको संस्कृति एवम् नाचगान देखाउँछौ, स्थानीय उत्पादनहरु प्रदर्शनीमा राख्छौं,’ उनले भने, ‘अरु बेला किसानका सामूहिक कार्यक्रम पनि यर्ही नै हुनेछन् ।’ सञ्चारकर्मीसमेत रहेका प्रबन्धक गायकले प्रदेश र स्थानीय सरकारको सहयोगमा माडीको कान्तिपुर गाउँले काँचुली फेरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment