+
+
साहित्य :

‘हात नसमाऊ, खुट्टा छोऊ !’

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ भदौ ५ गते १९:४१

आइतबार बिहानै अचानक मुन्टो बटारियो- बायाँतिर । अफगानिस्तानमा दक्षिणपन्थी कट्टरपन्थीले सत्ता कब्जा गरे । संसारभरि दक्षिणपन्थी हावा चलिरहेकै छ । तर मेरो टाउको बायाँतिर मोडियो । अचम्म भयो ।

अंग्रेजीमा एउटा भनाइ छ – ह्वेन नथिङ गोज राइट, गो लेफ्ट । मलाई लाग्छ- पछिल्लो समय मेरो जीवनमा सबैकुरा ठीकै भइरहेको छ । तर अचानक टाउको देब्रेतिर मोडियो ।

घाँटीबाट शुरु भएको दुःखाइ टाउको हुँदै पैतालासम्म फैलन थाल्यो ।

यसअघि पनि यस्तो हुन्थ्यो । तर यसपालि अचाक्ली पीडादायी भयो । दुःखाई बेलाबेला शरीरका अन्य भागतिर पनि फैलन थाल्यो कोरोनाजस्तै । पीडाको आक्रामकतामा परेर म निरीह बनेँ, रक्षात्मक बनेँ ।

‍औषधि-उपचारले पीडा घट्न थालेपछि एक सातापछि अफिस जान सार्वजनिक यातायातमा चढेँ । सरकारजस्तै अस्थिर र विश्वासहीन छ हाम्रो सार्वजनिक यातायात । पात्र फेर्ने, प्रवृत्ति नफेर्ने । चोकचोकमा घच्याक घच्याक रोकिने यात्रुका लागि । अनि ट्राफिक प्रहरीले रोकिदिन्छ जरिवानाका लागि ।

झर्नेले झर्नुअघि रामकुमारी झाँक्रीको कुरा गरिरहेथे । चढ्नेले पनि चढेपछि त्यही कुरा गरिरहे । ‘माधव नेपालको हात समातेर तानेरै लगिन्, माधवलाई पार्टी फुटाउन जानै मन थिएन’, यस्तै यस्तै । यात्रुहरू पक्ष-प्रतिपक्षमा विभाजित भइरहेका थिए ।

आवाजहरू आए । आवाजहरू गए । तर एकजना युवतीको आवाजले मलाई च्याप्पै समात्यो, ‘रामकुमारीले माधव नेपालको हात नसमातेर खुट्टा समाउने त ? तलुवा चाट्ने त अरुले जस्तै ? जे गरिन्, ठीक गरिन् ।’

उनको आक्रामक बोलीले एकछिन मौनता छायो । कोही बोलेनन् । गाडी दौडिएको आवाजले नेतृत्व गर्‍यो केहीबेर ।

आवाज पछ्याउँदै म ती युवतीको नजिक पुगेँ । किनकी कतै सुनेसुने जस्तो लाग्यो ।

बानेश्वर आइपुग्ने बेला कण्डक्टर कर्कश आवाजमा कराउन थाल्यो- ‘बानेश्वर झर्नेहरू भाडा लिएर अगाडि आउनुस् ।’

म चोकमा ओर्लिएँ । संयोग- ती युवती पनि त्यहीँ ओर्लिइन् । मास्कभित्रको अनुहार चिन्न मुश्किल भयो । तर चिन्न मन थियो अचाक्ली ।

केहीबेर पछ्याउन मन लाग्यो । पान पसल अगाडि उभिएर मास्क खोलिन् । लौ ! कमरेड रक्षा पो रहिछिन् ।

मास्क खोल्दै नजिक गएँ । रक्षाले यति ठूलो मुख बनाइन् कि यस्तो लाग्यो- उनी मलाई नै निल्दैछिन् !

हात मिलाउने कि अंगालो मार्ने कि नमस्ते गर्ने कि के गर्ने के गर्ने ? हामी दुवै विलखबन्दमा पर्‍यौं । त्यसैले केही पनि गरेनौं । टक्क अडियौं र संवाद शुरु गर्‍यौं ।

‘१८ वर्षपछिको भेट । १८ मिनेट सडकमा उभिएर कुरा गरेरै टार्न खोजिराछौ त ?,’ रक्षाले समय मागिन् । एक सातापछि अफिस आएको । चाँडै अफिस पुग्न मन थियो । सम्भव नहुने भयो !

यस्तै के सोच्दै थिएँ । ‘कतै चिया पिउने ठाउँ होला नि मज्जाले गफ गर्न मिल्ने ?,’ उतैबाट प्रस्ताव आयो ।

हामी अगाडि बढ्यौं लक्ष्मी बेकरीको ७ तलामाथि रहेको क्याफेतिर । मेरो मन भने विगततिर फर्किन थाल्यो । हुण्डरी बनेर आउन थाले इतिहासका यादहरू ।

हक्की स्वाभावकी थिइन् रक्षा । चितवन घर भएकी उनी निडर र निस्फ्रिकीसँग बोल्ने गर्थिन् फर्मेसनमा । तत्कालीन बासु स्मृति ब्रिगेडको सदस्य थियौं हामी ।

जनवादी बिहे गरेको एकाध हप्ताभित्रै हो जस्तो लाग्छ- वीरेनको सहादत भयो । वीरेन अर्थात् रक्षाको जीवनसाथी ।

वीरेनको सहादतको खबर आउँदा हामी सँगै थियौं । रक्षा एकछिन निर्जीव शालिकजस्तो बनिन् । प्रतिक्रियाविहीन । जब  काखमा घोप्टिएर रुन थालिन्, उनको आँसुले म रुझेको थिएँ ।

दुःखको बेला म अरुलाई सम्झाउन सक्दिनँ । सम्झाउने शब्दहरूभन्दा अगाडि बाढी बनेर बग्छन् आँसु । त्यो दिनपनि त्यस्तै भयो ।

भन्न मन थियो, ‘आज सहनको लागि शक्ति जम्मा गर । भोलि बाँच्नका लागि विश्वास ।’ सहानुभूतिका शब्दहरू ओठबाट बाहिर आउन सकेनन् । आँसुले जित्यो ।

हामी खुब रोयौं । वीरेन खासमा मेरो पनि मिल्ने साथी थियो । संकटमा सहकार्य गरेका साथीसँगको सम्बन्ध सामान्य हुँदैन । जीवन र मृत्युको खेल थियो युद्ध । त्यही युद्धमा हामी सँगै थियौं । आफू मरेर पनि साथी बचाउनुपर्छ भन्ने भावना हुन्थ्यो मनमा ।

स्वार्थको कुहिरोमा हराइरहेका मानिसहरूले सत्यको रूपमा नस्वीकार्न सक्छन् । तर यो युद्धको तथ्य थियो- जहाँ एक लडाकुलाई अर्को लडाकुसँग केवल केही रसायनले जोड्न सक्थ्यो भने त्यो विश्वास नै थियो । विचार नेताहरूकै पेवा थियो । विचारले बाँधेकाहरूको सम्बन्ध संसारले पढिसकेको छ, भोगिसकेको छ ।

रक्षासँग जोडिएको एउटा विशेष याद छ । हामी एउटा गाउँमा थियौं । म सञ्चारको काम गर्न टावर टिप्ने ठाउँमा अलि ‘हाइपोस्ट’तिर थिएँ । तलबाट सेना आएछ । सबै साथीहरू भागे । रक्षा मलाई खोज्दै आइन् । उनले आफ्नो ज्यान जोखिममा राखेर मलाई बचाइन् । सम्भवतः रक्षाले खबर नदिएको भए म त्यही दिन मारिन्थेँ ।

रेडियोबाट खबर बज्थ्यो होला- कास्कीको घलेखर्कमा भएको भिडन्तमा एक आतंककारीको मृत्यु । सम्भवतः मेरो परिवारले आफ्नो सन्तानको मृत शरीर मात्र होइन, मृत्युको खबर पाउन पनि वर्षौं कुर्नुपर्थ्यो होला ।

आजकल लाग्छ- कस्ता मानिसहरूलाई नेता मानिएछ । कस्ता अधमहरूलाई नेता मानेर मेरा वीरेनजस्ता साथीहरूले वैशालु जीवन बलिदानी गरेछन् । अन्ततः विवाहको केही सातामै रक्षाले आफ्नो जीवनसाथी गुमाइन् । हामीले एउटा वीर र इमान्दार साथी ।

रक्षा बिस्तारै सम्हालिँदै गइन् । युद्धको रापताप थियो । हामीलाई रोकिने सुविधा थिएन । एकपछि अर्को मोर्चा, कारबाही । जीवन यति दौडधुप थियो कि पतिको वियोगमा रक्षाले धित मरुञ्जेल रुन पनि भ्याइनन्/पाइनन् ।

म एक नास्तिक हुँ । तर गीता पटकपटक पढेको छु । मानिसले आफ्नो कर्मको फल पाउँछ । नास्तिक भएकोले अर्को जीवन र जुनीमा म विश्वास गर्दिनँ । कसैले गरेको राम्रो/नराम्रो कर्मको फल उसले यही जीवनमै पाउँछ ।

म सम्झन्छु- अहिले केही मान्छेहरूको शान सौकतको जीवन, गाडी र महलहरू यिनै योद्धाहरूको आँसु र रगतसँग साटिएको हो ।  पछि म शहरतिर लागेँ । उनी मोर्चावद्ध युद्धका लागि गाउँघरको फर्मेसनमा परिन् । म शहरी गुरिल्ला बनेर शहर पसेँ ।

समयले भेट्टायो, समयले नै छुट्यायो र पुनः भेट्टाउँदैछ यही समयले ।

‘तिमीले त यसरी बिर्सियौ । मैले कति खोजेँ तिमीलाई …,’ रक्षाले कुरा सुरु गरिन् ।

के भन्ने । मसँग जवाफ थिएन । ‘नसम्झनुको अर्थ बिर्सनु मात्रै हुँदैन रक्षा,’ अलि अमूर्त सुरुवात गरेँ ।

उनी बोलिनन् । मैले नै थपेँ, ‘यति सानो देशमा यदि हामीले खोजेका थियौं भने पक्कै भेटिन्थ्यौं होला ।’

उनले असहमतिको मुन्टो हल्लाउँदै भनिन्, ‘खासमा समस्या के पर्‍यो भने मैले तिमीलाई तिम्रो टेकनामबाट मात्रै चिनेँ । तिम्रो खास नाम थाहा थिएन ।’

मैले सहमतिमा मुन्टो हल्लाएँ । ‘हो, मैले पनि फेसबुकमा रक्षा भनेर खोज्दा तिमीलाई कहिल्यै भेट्टाइनँ ।’

म रक्षासँग भविष्यबारे कुरा गर्न चाहन्थेँ । तर के कुरा गर्ने ? जब मान्छेसँग भविष्यको भिजन हुँदैन, ऊ अतितले तान्छ । मलाई विगतको गुरुत्वले तान्यो । सम्झन थालेँ वीरेनलाई । वीरेन विचरा बाँचिरहेको भए के हुन्थ्यो होला ? कसो गर्थ्यो होला ? सायद आज यसरी नै उनीहरूको जोडीले दुईजना सन्तान डोहोर्‍याउँदै हिंडिरहेको बेला बानेश्वरतिर भेट्ने थिएँ कि ?

रक्षालाई हेरेँ । उनी एकटकले प्रतिनिधिसभाको भवनतिर हेर्दैरहिछिन् ।

‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँतिर …’ मेरो वाक्य पूरा नदिँदै उनले भनिन्, ‘संसारमा कुकुरको मासु खाने जनसंख्या पनि छ । मलाई आजकल यस्ता बिम्बहरू मन पर्दैनन् । बाघ बूढो भए नि घाँस खाँदैन रे ! के घाँस खानु कायर र कमसल काम हो ? संसदमा कुकुरकै मासु बेचियोस् । आपत्ति हुन्थेन । यहाँ त मतदाताको आत्माको व्यापार भइरहेको छ ।’

हामीलाई कुनैबेला संसदीय व्यवस्थाको कटु आलोचना गर्न सिकाइएको थियो । सिकाउने गुरुहरू अहिले यही व्यवस्थाको पूजा गरिरहेका छन् ।

‘भयो, यो बिचौलियाहरूको बाहुल्यता रहेको चिहानको कुरा नगरौं जहाँ लाखौं नेपालीको सपनाको आत्मा भड्किइरहेको छ …’ रक्षा अझ कड्किन थालिन् । मैले रोक्न खोजेँ, ‘राम्रो नराम्रो सबै व्यवस्था र प्रणालीको हुन्छ । भयो, हामी हाम्रै कुरा गरौं । के गर्दैछौं आजकल, कता छौं ?’

बिहे गर्‍यौ कि गरेकी छैनौं, वीरेनको घरतिरको खबर के छ ? आदि प्रश्नहरू पनि आएका थिए । तर तिनीहरूले पालो पाएनन् । मैले सोध्न सकिनँ ।

‘शान्ति प्रक्रियामा आएपछि केही समय भूगोलमा काम गरेँ । पार्टी यति विकृत र भ्रष्टीकृत हुन थाल्यो कि मलाई राजनीतिसँग नै घृणा लाग्न थाल्यो । कि म यही व्यवस्थामा अभ्यस्त हुनुपर्थ्यो, यसैमा रमाउनुपर्थ्यो, कि मैले यसलाई बदल्ने आँट गर्नुपर्थ्यो । घरबाट बिहे गर्न दबाव आयो । बिहे गरेँ । एउटा बाबु जन्मियो । म यी दुवै विकल्पलाई त्यागेर सामान्य जीवन बाँच्न थालेँ । म सामान्य जीवन बाँच्न चाहन्थेँ तर समयले हरेक दिन असामान्य बनाउँदै लग्यो ।’

रक्षा टक्क अडिइन् । बोल्न चाहन्थिन् तर सकिनन् । आँखाको डिलबाट उछिट्टिएर केही थोपा आँसु टेबुलमा रहेको हट लेमनमा मिसियो ।

यस्तो लाग्यो- महबिनाको हट लेमनभन्दा अमिलो जीवन बाँचिरहेकी रहिछिन् रक्षा ।

‘केही काम गर्नुपर्‍यो, उद्यमशील बन्नुपर्‍यो भनेर कृषिसँगै कुखुरापालन गर्न थाल्यौं । कुखुरामा रोग लाग्यो । तरकारीको भाउ आएन । दुई तीन सिजन गर्दा पनि केही भएन । उल्टो ऋण थपियो । यो देश गरिखानेका लागि नर्कजस्तै रहेछ । यहाँको प्रशासन/प्रशासक, संरचनाहरू लुट्नेका लागि अनुकूल छन् । हामीले सकेनौं । हार्‍यौं । बाबु पेटमा भएको बेला उहाँले विदेश जाने योजना बनाउनुभयो । भारी मनले बिदा गरेँ, सुनौलो भविष्यको कामना गरेर । तर, समयले यसपटक पनि मलाई कठीन परीक्षा लियो । ६ महिनाको बाबु बोकेर विमानस्थल पुगेको, मैले उहाँको मृत शरीरलाई स्वागत गर्नुपर्‍यो । ६ महिनाको नाबालक बच्चा लिएर रोएँ, कराएँ, चिच्याएँ । के गर्नु ? ऊ काठको बाकसमा मृत थियो । न उसले सुन्थ्यो, न मेरो नाबालक बाबुले बुझ्थ्यो । पछि लाग्न थाल्यो- म किन रुने, किन चिच्याउने ? के मेरो आँसुले यो निर्मम पत्थरजस्तो संसार पग्लिन्छ ?’

केही समयअघि उनी घुँक्कघुँक्क, सुँक्कसुँक्क गर्दैथिइन् र म सम्झाउँदै थिएँ । स्थिति उल्टियो ।

रक्षा रोकिइनन् । सम्भवतः अब उनी पत्थरजस्ती भइसकेकी छिन् । ‘डरके आगे जित’ भनिन्छ । पीडा र दुःखको पनि एउटा उत्कर्ष हुन्छ होला । त्यो भन्दा अगाडि के हुन्छ ?

‘वीरेनको सहादतपछि एकजना बुढो कमिसार मसँग नजिक हुन खोज्दै थियो । उसले मलाई कार्यालयमै राख्न खोज्यो । मैले फर्मेसन नै छाडिदिएँ । पछि केही कमरेडहरू लडाकु बनेर जागिर खुवाउने प्रस्ताव लिएर आएका थिए ।

वीरेनको सहादतसँग जोडेर राज्यबाट सहयोग लिने प्रस्ताव पनि आएको थियो । मलाई यी सबै कुरा बेकार लागे । वीरेनको मृत्युको मूल्य म पद र पैसासँग कसरी साट्न सक्छु ? एक थान जागिरको लागि थियो र हामी मुक्तियुद्धमा होमिएका ?’

रक्षा एकछिन मौन बसिन् । म पनि बोल्न सकिनँ ।

सोधेँ- ‘अहिले के गर्दैछौ ? कहाँ छौ ? काठमाडौंमै छौ ?’

रक्षाले आफ्नै शैलीमा आफ्नो हालखबर सुनाउन थालिन् । म नोस्टाल्जिक हुँदै विगतमा पुगेँ । हामी यसरी गफिँदा हामीसँग कम्मरमा ग्रिनेट र बन्दुक हुन्थ्यो । ‘दुश्मन’ आउने डर हुन्थ्यो आज हामीसँग त्यस्तो केही डर थिएन ।

उनले भनिन्, ‘म तिम्रो काठमाडौंमा बस्न सक्दिनँ । मेरो पहिलो प्रेम बिरेन नै थियो । ऊसँगको विश्वास र दोस्रो बिहेपछि जन्मिएको बाबु नासोको रूपमा मसँग छ । म वीरेनको सहादत भएको गाउँमा पुगेको छु । त्यहाँ एउटा स्कूलमा पढाउँछु । बाबु पनि त्यहीँ पढ्छ । बचेको पैसाबाट वीरेनको नाममा दुईचारजना बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरेकी छु । म साना बाबुनानीलाई सकेजति सघाउँछु, पढाउँछु, सकेजति राम्रो संस्कार सिकाउँछु । उनीहरू असाध्यै निर्दोष लाग्छन् । मलाई कुरा एउटा गर्ने काम अर्को गर्ने ढोंगीहरूसँग सर्वाधिक घृणा छ । लाग्छ- यस्ता मानिसहरूसँग संगत नै गर्नु नपरोस् । यसैले निर्दोष बच्चाहरूसँग समय बिताउँदा मलाई सबैभन्दा बढी खुशी मिल्छ । म एकजनाले १० जना बच्चाको उज्वल भविष्यको जग हाल्न सकेँ भने पनि नेपाल आमा मसँग खुशी हुनेछिन् । त्यो भन्दा नि ठूलो कुरो मसँग म आफैं खुशी हुनेछु । आफूले आफूलाई खुशी राख्न नसक्नेले संसारलाई खुसी दिन सक्दैन ।’

‘हैट ! तिमी त दार्शनिकजस्ती सुनिन थाल्यौ त,’ रक्षाले मलाई रोक्दै भनिन्, ‘आखिर विश्वास नै प्रेमको सबैभन्दा सर्वोत्तम अभिव्यक्ति रहेछ । वीरेनलाई म प्रेम गर्थेँ । उसलाई समयले मबाट खोसेर लग्यो । फुर्सदमा मैले समीक्षा गर्न थालेँ– हिजो मैले बदल्न सक्दिनँ । भोलि मेरो नियन्त्रणमा छैन । मैले बाँच्ने आजको लागि हो । आफ्नो आत्मसन्तुष्टिको लागि हो । हामीले सुदूर साम्यवादको सपना देखेर वर्तमान बर्बाद बनाएछौं । मैले आफ्नो जीवनलाई यहीँबाट सच्याउन थालेँ । म बालबालिकाको भविष्यको लागि जति समर्पित भएर पढाउँछु, त्यति बिरेन खुसी हुन्छ जस्तो लाग्छ यदि ऊ यताउता कतै छ भने ।’

रक्षाको वाक्य वाक्यले मलाई झस्काइरहेको थियो । ब्युँझाइरहेको थियो । धेरै समयदेखि सुन्न मन लागेको कुरा सुनिरहेझैं आनन्द आइरहेको थियो । तर, एक हप्तापछि अफिस आएको । त्यही पनि दुई घण्टा ढिला भइसक्यो ।

मलाई संवाद टुङ्ग्याउन मन लाग्यो । ‘साह्रै खुसी लाग्यो तिमीलाई भेटेर । बसमा तिमीले झाँक्रीबारे कुरा नगरेको भए सम्भवतः हाम्रो भेट हुँदैनथ्यो होला ?’ मैले भनेँ ।

‘हो, झाँक्रीबारे गलत टिप्पणी गरेको मलाई चित्त बुझिरहेको थिएन । हिजो के थिइन् र भोलि के गर्लिन् थाहा भएन, अहिले जे गरिन् । मलाई ठीक लागेको छ,’ उनले अगाडि थपिन्, ‘राजनीति अझ विद्रोहको झण्डा उठाउने कुरा केटाकेटीको खेल होइन । एमालेका दोस्रो तहका नेताले विद्रोहलाई खेलाँची सम्झिएँ । जसरी माओवादी नेताहरूले विद्रोहलाई गम्भीरतापूर्वक लिन सकेनन् । तर झाँक्रीमा एकप्रकारको कन्सिस्टेन्सी छ मुद्दामा, एजेन्डामा ।’

‘अँ साँच्चि तिमीले के विषय पढेकी हौ ?’ उनले कुरा लम्ब्याउन खोजिन् । मैले विषयान्तर गर्न चाहेँ ।

‘राजनीति मन पर्न छाडेको थियो । पछि गहिरिएर सोचेँ- मैले मन नपराए पनि राजनीतिले मलाई छाड्दैन । पछि राजनीतिशास्त्र नै पढेँ । अनि समाजशास्त्रमा पनि स्नातकोत्तर गरेँ,’ उनले भनिन्, ‘समयमा काँचुली फेर्न सकेन भने सर्पको पनि मृत्यु हुन्छ । यो नियम हरेक कुरामा लागु हुन्छ । नेपालको राजनीतिको बुढो पुस्ताले यस्तै सामाजिक दबाव खेपिरहेको छ । तर यो नियम यिनीहरूले बुझ्लान् जस्तो लाग्दैन । दोस्रो पुस्ता पनि बिलखबन्दमा छ । यिनीहरूले गलत प्रवृत्तिविरुद्ध निर्णायक विद्रोह गर्न सकेनन् भने काँचुली फेर्न नसकेको सर्प मरेजस्तै राजनीतिक रङ्गमञ्चबाट हराउँछन् ।’

‘भो करकट्टिएको यस्तो दास मनोवृत्तिबाट विद्रोहको अपेक्षा गरिरहेकी छौ ?’ रक्षा केही बोल्न खोज्दै थिइन् । मैले घडीमा आँखा लगाएँ । सम्भवतः उनले कुरा बुझिन् ।

फेरि भेट्ने वाचा गरेर नम्बर दिएँ । ‘नाम उही पुरानै कमरेड …. राखौं कि ?’ उनले सोधिन् ।

‘होइन, रियल नाम राख । फलानु,’ मेरो बोली भुईंमा नखस्दै उनले भनिन्, ‘अरे ! तिमी त्यही मान्छे हौ, जसलाई म असाध्यै मन पराएर नियमित पढ्छु ? हामी त फेसबुकमा साथी पनि छौं ।’

स्वीकारोक्तिमा म फिस्स हाँसिदिएँ । ‘अनि हाम्रो भेटको बारेमा पनि केही लेख न त पत्रकार महोदय !’ उनले जिस्क्याउँदै भनिन् ।

‘अवश्य लेख्छु’  भन्दै म बिदा भएँ ।

अफिसमा खासै काम रहेनछन् । चिया पनि पिउन नगई रक्षासँगको भेटघाटलाई समेटेर अक्षर र भावनाहरू मिलाउन खोजेँ । सकेपछि ड्राफ्ट रक्षालाई पठाएँ ।

***  *** *** ‍‍‍

ड्राफ्ट पढिसकेपछि रक्षाले म्यासेन्जरमा लेखिन्- ‘मलाई लाग्छ, यो ब्लग हो । कथा होइन । घटना वास्तविक छन् । पात्र वास्तविक छन् । तर तिमीले कथा भनिरहेका छौ ! हुँदा हुँदा झाँक्रीलाई पनि तिमीले कथाको पात्र बनाइदियौ ?’

म बोलिनँ । उनी थप लेख्न थालिन्, ‘हिजो युद्धको बेला हामी छापामारका रुपमा नायक थियौं । तर आजको मोर्चामा झाँक्रीहरू नायक हुन् । जसले राजनीतिको यथास्थितिविरुद्ध विद्रोहको झण्डा उठाइरहेका छन् । हाम्रोमा पार्टी भनेको जाति जस्तो छ । बदल्न नमिल्ने । पार्टीभित्रै एकप्रकारको कट्टरपन्थ विकास भएको छ । तालिवान बन्ने प्रतिस्पर्धा छ राजनीतिमा । उनीहरू नेताका खुट्टा समाउनुलाई पवित्र काम मान्छन्, हात समाएर डोर्‍याउनुलाई अपराध !’

‘हो रक्षा, यसलाई ब्लगकै रूपमा राख्दा पनि हुन्छ । तर तिमीलाई लाग्दैन र हाम्रो वास्तविकता कथाभन्दा कम्ता छैनन् ? अनि झाँक्रीले माधव नेपालको हात समातेर तान्दा कतिपयले यसलाई वास्तविकताको रूपमा विश्वास नै गर्न सकिरहेका छैनन् नि ?’ मैले आफ्नो बुझाई पस्किएँ ।

‘हो, तर …,’ उनको पूरा जवाफ नआउँदै मैले लेखेँ, ‘हेर रक्षा, तिम्रो हाम्रो जीवन यस्तै कथा र व्यथाहरूले भरिएका छन् । कथामा पोखिन साह्रै सजिलो हुन्छ । आफ्नो जीवनको कथा, आफ्नो समयको कथा धित मरुञ्जेल भन्न पाइएन भने म एकदमै गह्रुङ्गो हुनथाल्छु र यही कथाहरूको भारीले मलाई थिच्न थाल्छ ।’

रक्षाले पढिन् मात्रै । जवाफ लेखिनन् । सम्भवतः उनलाई लेख्न भन्दा पढ्न मज्जा आइरहेको थियो ।

मैले नै थपेँ, ‘अनि मलाई मैले सिर्जना गरेका शीर्षक आफ्नै सन्तानजस्ता लाग्छन् । के थाहा डेस्ककाले बदलिदिन सक्छन् उनीहरूकै बुझाई अनुसार । सम्भवतः कथामा त त्यसो न गर्लान् कि ?’

रक्षाले बेस्करी हाँसेका दर्जनौं इमोजीहरू पठाइन् ।

‘रक्षा, तिम्रो जीवन कहानी सुन्दा तिमी पनि एउटी नायिका हौं । तिमीले जुन काम जुन प्रतिवद्धता र विश्वासका साथ गरिरहेकी छौं, हरेक नयाँ पुस्ताका साथीहरूले केही सिक्न सक्छन् । वीरेन पनि खुशी होलान् । म एकपटक तिम्रो स्कूलसम्म आउन चाहन्छु । लैजान्छौं ?’

म्यासेज सिन भयो । घन्टौं कुरेँ । केही जवाफ आएन । शनिबार बिहानै उठेर रक्षाको फेसबुक प्रोफाइल खोलेँ । एकाउन्ट डिएक्टिभेट गरिएको रहेछ ।

उनैले भनेकी थिइन्- विश्वास प्रेमको सर्वोत्तम अभिव्यक्ति हो । म त्यही विश्वासको त्यान्द्रो समातेर उनको जवाफ कुरिरहेको छु ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment