+
+

उपराष्ट्रपति कार्यालयमा डिटेक्ट भएको जनयुद्धका घाइतेको शरीर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २०:३५
उपराष्ट्रपति पुनसँग सशस्त्र युद्धका घाइतेहरु ।

७ भदौ, काठमाडौं । १० वर्षे सशस्त्र विद्रोहका क्रममा घाइते भएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका ६ जना नियमित उपचारका सिलसिलामा काठमाडौं आएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, जो कुनै बेला उनीहरुको कमाण्डर थिए । घाइतेहरुले भेट्न चाहेपछि पुनले पनि समय दिए । रुकुम पश्चिमबाट आएका घाइतेहरु सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगे ।

सुरक्षाकर्मीले मोबाइल, झोला लगायतका सरसामान लकरमा राख्न लगाए र मेटल डिटेक्टर गेटबाट भित्र जान आग्रह गरे । हरेक घाइते गेट क्रस गर्दा मेटल डिटेक्ट भएको संकेत दिने आवाज आयो । एक सहभागी त्यो दृश्य यसरी सुनाउँछन्, ‘पहिलो साथी जाँदा मेटल डिटेक्ट भएको संकेत आयो, उहाँको खुट्टा नक्कली हो भन्यौं । अर्को साथी प्रवेश गर्दा त्यस्तै संकेत आयो, खुट्टामा रड छ भन्यौं । अर्को साथी प्रवेश गर्दा त्यही भयो, उहाँको शरीरभरि छर्रा छ भन्यौं ।’

आफ्नै कमाण्डर भेट्न जाँदा अपमानित भएको भेटमा सहभागी स्वर्णीम कुमार बाठा (आभास) ले सुनाए । तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र विद्रोहमा २०५८ सालबाट होमिएका आभास २०६० सालमा उदयपुरमा राज्य पक्षसँग भएको भिडन्तमा घाइते भए । त्यसबेला भारतको नयाँ दिल्ली लगेर उपचार गरेपनि उनको एउटा खुट्टा काट्नुपर्‍यो ।

‘पहिलो साथी जाँदा मेटल डिटेक्ट भएको संकेत आयो, उहाँको खुट्टा नक्कली हो भन्यौं । अर्को साथी प्रवेश गर्दा त्यस्तै संकेत आयो, खुट्टामा रड छ भन्यौं । अर्को साथी प्रवेश गर्दा त्यही भयो, उहाँको शरीरभरि छर्रा छ भन्यौं ।’

अहिले कृत्रिम गोडाको सहाराले जीवन जिइरहेका छन् । उनका अनुसार एक पटक हालेको कृत्रिम गोडाले ६ महिनादेखि एक वर्षसम्म धान्छ । भन्छन्, ‘अहिलेसम्म १०/११ वटा गोडा फेरियो । अहिले पनि गोडा फेर्न काडमाडौं आएको हुँ ।’

उनका अनुसार उपराष्ट्रपतिलाई भेट्न गएका ६ जनामध्ये उनी र अर्का एक जनाको कृत्रिम गोडा थियो । बाँकी चार जनामध्ये कसैको हात कृत्रिम, कसैको शरीरमा गोलीका छर्रा थियो । त्यही कारण मेटल डिटेक्टरले डिटेक्ट गरेको थियो ।

उनीहरुले उपराष्ट्रपति पुनलाई पनि त्यसरी डिटेक्ट हुँदा अप्ठ्यारो महसुस भएको सुनाएका थिए । ‘आफ्नै कमाण्डरलाई भेट्न जाँदा नागरिकता चाहिन्छ । मोबाइलसम्म लैजान दिएनन्’ स्वर्णीमले उपराष्ट्रपति कार्यालय जाँदाको पीडा पोखे, ‘मेटल डिटेक्ट भएपछि शरीर चेकिङ भयो । कसको हात कृत्रिम छ, कसको गोडा कृत्रिम छ, कसको शरीरमा गोलीको छर्रा छ भन्ने हुँदोरहेछ ।’

‘जनयुद्धका घाइते’ भनेर परिचय पत्र पाएको भएपनि यस्तो हुँदैनथ्यो कि भन्ने आफूलाई लागेको उनले सुनाए । डेढ घण्टा लामो कुराकानी क्रममा उनीहरुले हिजो केका लागि लडेका थियौं ? आज के भोगिरहेका छौं भन्ने मात्र प्रश्न गरेनन्, आफ्नै कमाण्डर भेट्न आउँदा अपमानित महसुस भएको सुनाए ।

‘उपराष्ट्रपतिले सुरक्षाका कारण चेकिङ भएको बताउनुभयो । हामीले कम्मितमा जनयुद्धका घाइते हौं, एउटा परिचयपत्र भए सहज हुन्थ्यो भन्यौं’ स्वर्णीम भन्छन्, ‘एउटा उद्देश्य बोकेर जनयुद्ध लडेका थियौं । अरु जे भए पनि उपराष्ट्रपति जस्तो गरिमामय पदमा आफ्नो कमाण्डर पुग्नुभएको छ भनेर चित्त बुझायौं ।’

‘५/६ हजार छन् नियमित उपचार गर्ने’

बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष राजन थापाका अनुसार तत्कालिन नेकपा माओवादीले २०५२ सालबाट १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा राज्य र माओवादी दुबैको तर्फबाट घाइते हुनेको संख्या १२ हजार छ । त्यसमध्ये ५/६ हजार नियमित उपचार गराउनुपर्ने प्रकृतिका घाइतेहरु छन् ।

तर माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशक नाघिसक्दा पनि जनयुद्धका घाइतेको परिचय पत्र समेत पाउन सकेका छैनन् । ‘परिचयपत्र पाउँदा सम्मानको महसुस हुन्थ्यो । उपचारका लागि सहुलियतका नीति ल्याउन राज्यलाई पनि सहज हुन्थ्यो’ बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष थापाले भने ।

उनीहरुले हरेक सरकारका मन्त्री/प्रधानमन्त्रीलाई यो माग राख्दै आएका छन् । पछिल्लो पटक माओवादी केन्द्र समेतको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि भेटेर आफ्ना माग राखेका छन् । सशस्त्र विद्रोहका घाइते स्वर्णीम भन्छन्, ‘उहाँले शान्ति प्रक्रियाका विषय टुंग्याउन गम्भीर छु भन्नुभएको छ ।सरकारले गर्छ कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?