Comments Add Comment

टर्कीको जंगलमा भीषण आगलागी, सयौं पर्यटकको उद्धार

१७ साउन, काठमाडौं । टर्कीको दक्षिण–पश्चिम समुद्री किनारासँग जोडिएको जंगलमा भीषण आगलागी भएको छ । आगलागी फैलिँदै गएका कारण सो क्षेत्रको होटल तथा घरमा बसेका सयौं पर्यटकको उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार पर्यटकको उद्धारको लागि टर्कीले जहाज, निजी डुङ्गाजस्ता साधनको प्रयोग गरेको छ । बोडरम सहरमा तीन र पाँचतारे होटल खाली गराइएको छ । बुधबारदेखि लागेको आगलागीमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । शनिबार थप दुईजनाको मृत्यु पुष्टि भएको हो ।

टर्कीको प्रमुख पर्यटकीय क्षेत्र भूमध्यसागर र एजियन सागरको किनारामा रहेको रिसोर्ट र गाउँका फरक–फरक एक सय स्थानमा आगलागी भएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार यीमध्ये १० स्थानबाहेक सबै स्थानमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।

एक स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा मानिसहरु आ–आफ्नो सामान बोकेर उक्त क्षेत्रबाट भागिरहेको देख्न सकिन्छ । यद्यपि यो भिडियो कहिले खिचिएको हो भन्ने खुलेको छैन । यो आगलागीको विषयमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको छ । जानाजान आगलागी गरिएको हुन सक्ने विषयमा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयव एर्दोगानले आगलागीबाट प्रभावित भएको एक शहरको भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले आफ्नो सरकारले मानिसहरुलाई आगलागीबाट बचाउन सक्दो प्रयास गर्ने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment