Comments Add Comment

जहाजमा यात्रु बढेपछि प्रादेशिक उडानमा एयरलाइन्सको आकर्षण

२९ साउन, काठमाडौं । नेपालमा काठमाडौं केन्द्रित हवाई उडान अब क्रमशः क्षेत्रिय उडानमा बिस्तार हुने क्रममा छ । वायुसेवा कम्पनीहरुले एक प्रदेशबाट अर्को प्रदेशलाई लक्षित गरी शुरु गरेको यस्तो उडानबाट यात्रुलाई भने लाभ पुगेको छ ।

विगतमा नेपाल वायु सेवा निगम (नेवानी)ले क्षेत्रिय उडानमा योगदान गरिरहेको थियो । तर, नेवानीको आन्तरिक उडान धरासायी बनेसँगै नेपालमा निजी लगानीको बुद्ध एयरले प्रादेशिक उडानलाई प्राथमिकता दिएको छ ।

बुद्ध एयरका पाइलट क्याप्टेन शैलेस रावलका अनुसार पोखरालाई गन्तव्य बनाएर मोफसलहरुबाट आउन चाहने यात्रुलाई प्रादेशिक उडानले निकै सहयोग गरेको छ । ‘अब पोखरा आउन काठमाडौं पुगेर जहाज चढ्ने बाध्यता हट्दैछ,’ उनी भन्छन्, ‘हामी यात्रुलाई उहाहरुकै शहरबाट पोखरासँग जोड्दैछौं ।’

अहिले पोखराबाट काठमाडौंसहित नेपालगन्ज, भैरहवा र भरतपुरमा नियमित उडान भइरहेको छ । निकट भविश्यमा सिमरा, विराटनगर र जनकपुरसँग पनि पोखरालाई जोड्ने तयारी छ । यी गन्तव्यमा भने नेपाल–भारत सीमा नाकाहरु निर्वाध सुचारु भएपछि मात्र उडान बिस्तारको तयारी कम्पनीको छ ।

बस चढ्ने यात्रु जहाजतर्फ आकर्षित भए

काठमाडौंबाट सबैभन्दा बढी हवाई उडान हुने पोखरा, नेपालगञ्ज, विराटनगर, भैरहवासहितका गन्तव्यका जहाज अहिले करीब पूर्णक्षमतामा उडिरहेका छन् । बुद्ध एयरको पोखरा स्टेशनका म्यानेजर गौतम बरालका अनुसार अहिले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न सकेको छैन । तर, जहाज भने खाली उडाउनु परेको छैन ।

बस चढ्ने यात्रु क्रमशः जहाजतर्फ आकर्षित भइरहेको पाइएको उनी बताउँछन् । ‘दैनिक सयौं यात्रु पोखरा आएका छन्, तर होटेल व्यवसायी पाहुना नभएको गुनासो गर्छन्, उनी भन्छन्, त्यसो भए उनीहरु कहाँ गए त ?’ यसबाट पनि विगतमा बसमा यात्रा गर्ने यात्रुहरु क्रमशः जहाजमा आकर्षित भएको पाइएको उनको भनाइ छ ।

यसमा सहमत छन्, नेपाल पर्यटन बोर्डका सदस्य तथा होटेल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेल । अहिले एयरलाइन्स कम्पनीहरुले पोखरालाई लक्षित गरी ल्याएका प्रादेशिक उडानले यात्रुको चहलपहल बढेको देखिएको छ । पर्यटकीय गतिविधिले गति लिन भने सबै नागरिकमा खोप पुग्नु पर्ने उनको भनाइ छ । ‘खोप नआएसम्म घुमफिरमा निस्कन मानिस डराउँछन्,’ उनी भन्छन्, ‘हवाई यात्रु बढेको पर्यटकका कारण मात्र होइन ।’

प्रतिस्पर्धी भाडाले बढाउँदै छ यात्रु

पछिल्लो समय एयरलाइन्स कम्पनीले भाडामा समेत प्रतिस्पर्धा शुरु गरेका छन् । आन्तरिक उडानका दुई प्रतिस्पर्धी कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले मूल्यमा खुलेरै प्रतिस्पर्धा गरेका छन् । यसले विगतमा पर्यटक बसमा यात्रा गरेसरहमै गन्तव्यमा पुग्ने सम्भावना छ । एकातर्फ सुरक्षित यात्रा र अर्कोतर्फ मूल्य समेत प्रतिस्पर्धी भएका कारण जहाजमा यात्रुको चाप बढेको स्टेशन म्यानेजर गौतम बढाउँछन् ।

जहाज चढेपछि यात्रुहरु नझरेसम्म फेसशिल्ड अनिवार्य गरिएको छ । मास्क र स्यानिटाइजरको प्रयोग समेत अनिवार्य छ । अधिकतम एक घण्टाको दूरीमा नेपालभर यात्रा गर्न सक्ने भएका कारण समेत कोभिड सर्ने सम्भावना कम हुने एयरलाइन्स कम्पनीहरुको दाबी छ ।

वायुसेवा सन्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले केही दिन अगाडि एक विज्ञप्ती निकाल्दै हवाई यात्राका माध्यमबाट कोभिड संक्रमण हुने दर समेत अन्त्यन्तै कम हुने बताएका थिए । सोही प्रयोजनका लागि जहाजहरुले अहिले ‘इनफ्लाइट सर्भिस’समेत बन्द गरेका छन् ।

हवाई यात्रु र आन्तरिक पर्यटक आकर्षित गर्न बुद्ध होलिडेजले अहिले पोखरा र सौराहालाई लक्षित गरी अहिले भ्रमण प्याकेज समेत बिक्री गरिरहेको छ । पोखरामा दुई रात÷तीन दिनको प्याकेजबाट आन्तरिक पर्यटक आकर्षित गर्न थालिएको कम्पनीले जनाएको छ । यसका लागि एयरलाइन्स र विभिन्न होटेलसँग सम्झौता गरी प्याकेज बिक्री शुरु गरिएको हो ।

यात्रुसँगै पर्यटक पनि बढ्ने अपेक्षामा छन् व्यवसायी

सरकारले चालु आर्थिक वर्षको बजेटमा निजामती कर्मचारीलाई भ्रमण काजमा पठाउने निर्णय गरेको छ । यो कार्यक्रमलाई वर्तमान सरकारले समेत निरन्तरता दिने अपेक्षा व्यवसायीले गरेका छन् । त्यसो हुन सके कम्तिमा आन्तरिक पर्यटकबाट मात्र भए पनि गन्तव्यहरु चलायमान हुने विश्वास व्यवसायीहरुमा छ ।

पोखरामा साहसिक पर्यटकीय गतिविधि बन्जीजम्प र जिपलाइन संचालन गरिरहेको हाइग्राउण्ड एडभेन्चरका चिफ अपरेटिङ अफिसर दिनेश महर्जन बाह्य पर्यटक आउने वातावरण नबनेसम्म आन्तरिक पर्यटक बढाउने कार्यक्रममा जोड दिनुपर्ने बताउँछन् । यसका लागि प्रादेशिक उडानले निकै सहयोग पुग्ने उनले बताए ।

आफूहरु पनि नेपालगन्ज, विराटनगर, सिमरासहितका क्षेत्रबाट शाहसिक पर्यटकलाई पोखरा भित्राउन तयार रहेको भन्दै यसका लागि वायुसेवा कम्पनीहरुसँग सहकार्य समेत गर्ने तयारी रहेको उनले जानकारी दिए । होटेल, साहसिक पर्यटकीय प्रडक्ट दिने कम्पनी र एयरलाइन्सबीच सहमति हुने हो भने पर्यटकलाई आकर्षक प्याकेजमा सेवा दिन सकिने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी मुलतः पर्यटन तथा नागरिक उड्डयन बिषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment