+
+
दशैं बजार :

आयातित कपडालाई स्वदेशी गार्मेन्टको चुनौती

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ असोज ७ गते १३:२९

७ असोज, काठमाडौं । न्युरोडमा रेडिमेड कपडाको होलसेल पसल चलाउने आकाश श्रेष्ठलाई यो वर्ष चीनबाट तयारी पोशाक नआएकामा कुनै चिन्ता छैन । फिमेल रेडिमेट गार्मेन्टको उनको होलसेलमा अहिले अघिल्लो वर्ष जस्तो चीन र थाइल्याण्डका कपडा छैनन् । कोरोनाका कारण चीनतर्फको नाकामा भएको अवरोध र कडा कोभिड प्रोटोकलका कारण चीन पुग्न मुश्किल भएपछि नेपाली उत्पादन नै बजारको पहिलो रोजाइ र विकल्प भएको श्रेष्ठ बताउँछन् ।

कोभिडकै बीचमा नेपालमा खुलेका स्तरीय नेपाली गार्मेन्ट उद्योगका कारण रेडिमेड लत्ता कपडाको मूल्य, गुणस्तर र डिजायन निकै लोकप्रिय भएको उनले सुनाए । ‘नेपाली कम्पनीले तयार गरेको कपडा चीनबाट ल्याएको भन्दा स्तरीय, सस्तो र रुचाइने डिजाइनका छन्, हाम्रो होलसेल अहिले यसैबाट भरिएको छ,’ श्रेष्ठले भने । उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई रुचाएका कारण दुई वर्षदेखि तयारी कपडामा चीनकै मुख ताक्नुपर्ने अवस्था नरहेको उनले बताए ।

रञ्जना सपिङ मलमा तयारी जेन्स कपडाको होलसेल पसल गर्ने मोहन पाठकको पसलमा यो वर्ष तीन देशमा बनेका कपडा छन् । कुनैबेला चीन र बैंककका मात्रै कपडाले भरिने पसलमा पछिल्लो दुई वर्षदेखि नेपाली तयारी कपडाले स्थान बनाउँदै लगेको उनले बताए ।

स्वदेशमै स्तरीय कपडा उत्पादन हुन थालेपछि स्वदेशी गार्मेन्टमा बनेको कपडाको हिस्सा ५० प्रतिशत नाघेको पाठकले बताए । ‘कोरोनापछि मेरो होलसेलबाट ५० प्रतिशत विदेशमा बनेका कपडा विस्थापित भएका छन्,’ पाठकले भने । उनका अनुसार चीनबाटै कच्चा पदार्थ र मेशिन झिकाएर गार्मेन्टहरुले काम गरेका छन् । यसरी काम गर्दा सस्तो पनि र गुणस्तरमा खासै फरक नपरेकाले नेपालमा बनेको कपडा पहिलो रोजाइ बनेको उनको भनाइ छ ।

यस्ता छन् नेपालमा बनेका तयारी पोशाक

गर्मी सकिंदै गरेको तर जाडो सुरु नभएका कारण दशैंअघि पुरुष तथा महिलाका लागि हलुका खालका तयारी पोशाकको माग बजारमा उच्च रहेको व्यवसायीहरुले बताएका छन् । अहिले महिला पुरुष दुवैका लागि हुने टिसर्ट, कटन तथा हलुका कटराइज पाइन्ट, सर्ट, जिन्सका कपडा र हुडीदेखि विनचिटरको माग धेरै रहेको होलसेल तयारी कपडा पसल सन्चालकले जनाएका छन् । ती उत्पादनहरु अधिकांश नेपालमा बनेको रन्जना व्यापार संघले जनाएको छ ।

सरकारी बेवास्ता र उपलब्ध मध्यम खालका जनशक्तिकै बीचमा पनि नेपाली उपभोक्ताले रुचाउने उत्पादन बजारमा पाइएको संघका अध्यक्ष अञ्जान शाक्यले बताए । आयातित भन्दा सस्तो मूल्यका कारण पनि बजारमा स्वदेशी कपडाको प्रयोग बढेको ग्रे स्टुडियो गार्मेन्टकी सञ्चालिका ममता रावतले बताइन् । मौसमअनुसारको सबैखाले तयारी पोशाक स्वदेशी गार्मेन्टबाटै बजारमा उपलब्ध भएका कारण उपभोक्ताको रुचाइमा परेको रावतको भनाइ छ ।

दशैंमा उच्च माग

नागार्जुन नगरपालिका रानीवनमा उद्योग रहेको ग्रे स्टुडियोलाई यतिबेला भ्याइनभ्याइ छ । काठमाडौंको मुख्य होलसेल कपडा बजार असन, इन्द्रचोक, न्युरोड र रन्जना कम्प्लेक्सका अधिकांश पसलबाट स्वदेशी कपडाको माग उच्च भएको कम्पनीकी प्रमुख ममता रावत बताउँछिन् । देशैभरका खुद्रा पसलहरुले अहिले होलसेलबाट सामान खरिद गर्ने बेला भएको र उनीहरुको रोजाइमा नेपाली उत्पादन परेको उनले सुनाइन् ।

चीनको बाटो असहज हुनु र स्वदेशी स्तरीय कपडा बजारमा आउनुले स्वदेशी गार्मेन्टले फष्टाउने मौका पाएको उनको दाबी छ । ‘हामीले तयार गरेका कपडाहरु अहिले इन्द्रचोक र असनबाट देशभर फैलिरहेको छ, माग गत वर्षहरुमा भन्दा राम्रो छ,’ रावतले भनिन् ।

मकालु ब्राण्डमा नेपालमै तयारी पोशाक उत्पादन गर्ने मकालु गार्मेन्टका सञ्चालक गुरुदत्त शर्मा नेपालको तयारी पोशाकको बजार अहिले राम्रो रहेको बताउँछन् । चीन र थाइल्याण्डको बजारले धानेको मागलाई सम्बोधन गर्ने तहमा नेपाली बजार पुगेको तर यसलाई सरकारको संरक्षण चाहिएको उनले बताए । जाडो, गर्मी वा जुनसुकै अवस्थाअनुसारको स्तरीय तयारी पोशाक उत्पादन गर्न गार्मेन्टहरु सक्षम रहेको उनले दाबी गरे । तयारी पोशाक स्तरीय बनाउन गार्मेन्टहरुको क्षमता बढी रहेको भन्दै उनले भन्सारमा बदमासीका कारण सस्तोमा विदेशबाट सामान भित्रिने प्रथा रोकिनु पर्नेमा जोड दिए ।

फैलिंदै छ नेपाली गार्मेन्ट

कोभिडका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुनुको फाइदा स्वदेशी उद्योगलाई भएको नेपाल गार्मेन्ट एसोसिएसनले जनाएको छ । देशभर रहेका झण्डै २ सय बढी उद्योगका उत्पादन अहिले स्वदेशी बजारमा फैलिएको एशोसिएसनका उपाध्यक्ष सुमित प्रधानले बताए ।

कोभिडका कारण चिनियाँ वस्तु महँगो हुनुले पनि नेपाली उत्पादनलाई प्रोत्साहन मिलेको उनको भनाइ छ । यस वर्षको दशैंमा नेपालीले लगाउने अधिकांश तयारी पोशाक नेपालकै उत्पादन भएको हुने उनको दाबी छ । गार्मेन्ट उद्योगमा कम्तीमा १० लाखदेखि करोडौंसम्म लगानी भएको भन्दै उनले कच्चा पदार्थको आयात र भन्सार नीतिमा भने सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?