+
+
विचार :

जबजलाई थप उन्नत बनाउँदै एमालेको विधान महाधिवेशन

डा. प्रेम दंगाल डा. प्रेम दंगाल
२०७८ असोज १३ गते २०:२१
डा. प्रेम दंगाल

नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरु हुन गइरहेको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू छलफलमा आइनसकेकाले त्यहाँ समाहित विचारको पृष्ठपोषण, टिप्पणी वा आलोचना महाधिवेशनमै सहभागी भएर गर्न उपयुक्त होला ।

नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई कार्यक्रम, मार्गदर्शन विचार हुँदै सिद्धान्तको रूपमा अंगीकार गरेको छ । नेपाली समाजको चरित्रमा आएको बदलावलाई तथ्यबाट होइन आग्रहबाट प्रेरित भई जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता सकियो भन्ने प्रयास नभएको हैन । आज फेरि यो विचारको व्याख्या भएन, पुगेको छैन भन्ने गरिएको पनि सुन्नमा आएको छ । जबजको विपक्षमा रहेका वा आलोचनात्मक चेतले हेर्नेहरूबाट कस्तो व्याख्या अपेक्षित होला त्यो भने भविष्यले देखाउला ।

रचनात्मक विचार आउन र यसलाई थप उन्नत र विकसित बनाउन सकियोस् यही आशा गरौं । अनि यो विचारलाई कार्यक्रमको रूपमा मात्र लिन सकिन्छ सिद्धान्त बनाउन सकिंदैन, अब जबज लागू गर्ने हैन समाजवादी क्रान्ति गर्नुपर्छ आदि इत्यादि भन्ने पनि नसुनिएको हैन । यिनै सन्दर्भमा यहाँ यो विचार के कारणले वैज्ञानिक विचार हो र यसलाई सिद्धान्तको रूपमा किन स्वीकार गर्न सकिन्छ भन्ने सन्दर्भमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१. नेपाली समाजको चरित्र निरुपणको विषय

मुलुकमा सामन्तवादको शोषण र उत्पीडन पूर्णरूपमा अन्त्य भइसकेको छैन । सामन्तवाद, सामन्ती उत्पादन–सम्बन्ध, सामन्ती उत्पादन पद्धति र सामन्ती सामाजिक–आर्थिक ढाँचाले पारेका प्रभाव र तिनका अवशेषहरू अझै पनि नेपाली समाजमा विद्यमान छन् । देशमा अझै औद्योगिक पूँजी र राष्ट्रिय उद्योग–व्यवसायको व्यापक विकास भइसकेको छैन । राष्ट्रिय पूँजीको विकास कमजोर अवस्थामा छ । सामन्तवाद, सामन्ती उत्पादन सम्बन्ध, सामन्ती उत्पादन पद्धति र सामन्ती सामाजिक–आर्थिक ढाँचाले पारेका प्रभाव र त्यसका अवशेषहरू अझै पनि नेपाली समाजमा विद्यमान छन् ।

जबसम्म वर्ग रहन्छ त्यस वर्गको हितको पक्षपोषण गर्ने पार्टीहरू रहन्छन् । सर्वहारा श्रमजीवी वर्गको पार्टीको हिसाबले पूँजीवादीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौं । सबै तहमा प्रतिस्पर्धा गर्न सक्छौं । अब समाजवादमा सङ्क्रमण गरिसकेपछि पनि जनहितको लोकतान्त्रिक पद्धतिको समाजवाद अवलम्बन गर्नुपर्छ ।

देशमा अझै औद्योगिक पूँजी र राष्ट्रिय उद्योग–व्यवसायको व्यापक विकास भइसकेको छैन । राष्ट्रिय पूँजीको विकास कमजोर अवस्थामा नै छ । कृषिमा गुजारा श्रमको प्रचलन अझै ठूलो मात्रामा रहनु, लाखौंको सङ्ख्यामा भूमिहीन किसान रहनु, जमीनको वितरणमा खाडल रहनु जस्ता स्थितिहरू विद्यमान छन् । तिनीहरू सामन्तवादका अवशेषहरू हुन् । सामाजिक–सांस्कृतिक क्षेत्रमा भने सामन्तवादको प्रभाव अझै पनि बलियो छ ।

छुवाछूत तथा जातीय विभेदका रूपमा, महिलामाथिको हिंसा र उत्पीडनका रूपमा तथा अन्धविश्वास, रूढी र धार्मिक जडताका रूपमा रहेका सामन्ती प्रभावलाई समाप्त पार्न सचेत, योजनाबद्ध र प्रभावकारी सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानको खाँचो छ ।

२. २०६२/६३ को परिवर्तनलाई कसरी हेर्ने

२०६२/६३ को परिवर्तनलाई कसरी हेर्ने भन्ने सन्दर्भमा पनि फरकफरक दृष्टिकोण पाइन्छ । नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओली पुरानो पूँजीवादी क्रान्तिको चश्माबाट हेर्नु नहुने विचार व्यक्त गर्नुहुन्छ । यस सम्बन्धमा आफ्नो पुस्तकमा यसरी व्याख्या गर्नुहुन्छ “… २०६२/६३ को परिवर्तनलाई पुरानो पूँजीवादी क्रान्तिको चश्माबाट हेर्दै परस्पर प्रतिस्पर्धी वर्गको सहकार्यबाट परिवर्तन सम्भव भएको तथ्यलाई महसूस नगर्ने र जनवादी क्रान्ति पूरा भएको तर समाज चाहिं दलाल पूँजीवादी बनेको निष्कर्ष निकाल्ने, क्रान्तिमा श्रमजीवी वर्गको भूमिका, जबजको मार्गदर्शन र आजको शक्ति संरचनामा श्रमजीवी वर्गको उपस्थितिलाई उपेक्षा गर्ने सोच पनि प्रकट भए ।

नेपाली जनवादी क्रान्तिको प्रक्रियालाई अस्वीकार गर्ने या सामन्तवादका अवशेषहरूलाई समाप्त पार्न भूमिसुधार र भूमि व्यवस्थापन, जातीय–लैङ्गिक उत्पीडन विरुद्ध सामाजिक–सांस्कृतिक आन्दोलनको आवश्यकतालाई असान्दर्भिक ठान्ने मान्यता समेत देखा परे । पार्टीको लोकतन्त्रीकरणलाई अस्वीकार गर्ने चिन्तन पनि प्रकट भए, भइरहेका छन् ।” (शर्मा ओली, २०७१)

केही मानिस नेपाली समाजको विद्यमान वर्गीय संरचना र यसको विश्लेषण, उत्पादन पद्धति र सम्बन्धको अवस्था र आमजनतामाथि रहेको शोषण–उत्पीडनको अवस्थालाई ठीक ढङ्गले बुझ्ने र विश्लेषण गर्न सक्दैनन् र आग्रहका आधारमा नेपाली समाज पूर्णरूपमा पूँजीवादमा पदार्पण भयो भन्दछन् । तर समाजको चरित्र निरुपण गर्न यस्ता विचारहरूले सहयोग नपुग्ने स्पष्ट छ । नेपाली समाजमा सामन्तवादका केही अवशेषहरू समाप्त भएको र पूँजीवादी व्यवस्थाका केही लक्षणहरू देखा परे भन्दैमा सामन्तवाद समाप्त भयो र नेपाली समाज सम्पूर्ण रूपमा पूँजीवादी भएको भन्ने विचारहरूले समाजको सही वर्गीय विश्लेषण भएको अवस्था छैन ।

३. जबज मार्क्सवादसम्मत वैज्ञानिक विचार

जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन भएको मार्क्सवादसम्मत वैज्ञानिक विचार हो । कुनै पनि विचार मार्क्सवादसम्मत र वैज्ञानिक बन्न सो विचारले समाजको रूपान्तरण गर्न तय गरिने कार्यक्रम, कार्यनीति, रणनीति, पार्टी सङ्गठन निर्माण र परिचालन तथा कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरूको दैनन्दिन आचरण र व्यवहारहरू समेत मार्क्सवादका सार्वभौम नियमसम्मत हुनुपर्छ । यस्तो विचारले जीवन र जगतमा घटेका वस्तु तथा घटनाहरू बुझ्ने, व्याख्या गर्ने र बदल्ने माक्र्सवादी दृष्टिकोणमा थप योगदान पुर्‍याएको हुनुपर्छ ।

जनताको बहुदलीय जनवाद (जबज) जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको मार्क्सवादसम्मत वैज्ञानिक विचार हो । तत्कालीन नेकपा (माले) को वि.सं. २०४६ मा सम्पन्न भएको चौथो राष्ट्रिय महाधिवेशनले पार्टीले लिंदै आएको नयाँ जनवादको कार्यक्रमलाई परिमार्जित गरी बहुदलीय नयाँ जनवाद कार्यक्रमको रूपमा पारित गर्‍यो । यही नीतिमा आधारित रही नेकपा (माले) निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध वाममोर्चा गठन गरी नेपाली कांग्रेससँग सहकार्य गर्दै सोही वर्ष सञ्चालित संयुक्त जनआन्दोलनमा सहभागी भएको थियो ।

सफल जनआन्दोलनपछि पार्टी संविधान निर्माणको प्रक्रियामा सहभागिता भयो र संविधानलाई सक्दो जनपक्षीय बनाउन प्रयत्न गरेको थियो ।

नेकपा (एमाले) को २०४९ सालमा आयोजना गरिएको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीले पार्टी महासचिवको हैसियतले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा उहाँले जबजका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो । महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार गर्‍यो ।

उक्त प्रतिवेदनमा जबजका सन्दर्भमा भनिएको छ– “सामन्तवाद र साम्राज्यवादको शोषण उन्मूलन गरी जनताको जनवादी व्यवस्था कायम गर्नु वर्तमान क्रान्तिको केन्द्रीय कार्यभार हो । जनताको हातमा सम्पूर्ण सत्ता कायम नगरी राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक सबै क्षेत्रमा आधारभूत जनवादी सुधार र परिवर्तन गर्नु सम्भव हुँदैन । त्यसकारण जनवादी क्रान्तिको केन्द्रीय कार्यभार पूरा गरेपछि जनताको जनतन्त्रले प्रथमतः सामन्तवाद र साम्राज्यवादका सबै क्षेत्रमा रहेका सम्पूर्ण अवशेषहरूलाई पूर्णरूपमा अन्त्य गर्नेछ ।”

उक्त प्रतिवेदनमा जनवादी व्यवस्थालाई समृद्ध बनाउने र समाजवादमा सङ्क्रमण गर्ने भन्ने बारेमा अगाडि भनिएको छ– “योजनाबद्ध रूपमा जनताको जनवादी व्यवस्थालाई विकसित, समृद्ध र सुदृढ बनाउने विषयमा प्रमुख ध्यान केन्द्रित गर्नेछ । सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टीको रूपमा हाम्रो पार्टी मार्क्सवाद—लेनिनवादको मार्गनिर्देशनमा क्रमशः समाजवादमा सङ्क्रमण गर्ने भौतिक तयारीको निम्ति चरणवद्ध कार्यक्रम बनाउँदै ठोस रूपमा केन्द्रित हुनेछ । क्रान्तिकारी पहलद्वारा जनवादी ढङ्गले आमजनताको नेतृत्व गर्दै समाजवादमा सङ्क्रमण गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्नेछ ।” (राजनीतिक प्रतिवेदन २०४९)

मार्क्सवाद–लेनिनवादको मार्गदर्शक सिद्धान्तमा चल्ने कम्युनिष्ट पार्टीको नेतृत्वबाट मात्र सर्वहारा श्रमजीवी वर्गको समृद्धि सम्भव छ । जनवादी राज्यसत्ताको नेतृत्व श्रमजीवी वर्गको कम्युनिष्ट पार्टीले गर्दा मात्र जनवादी व्यवस्था विकास र सदृढीकरण गर्दै नेपाली समाजलाई समाजवादमा सङ्क्रमण गराउन सकिन्छ । जबजको अवधारणा अनुसार यो कार्यभार पूरा गरिरहँदा पनि कम्युनिष्ट पार्टीको एकदलीय अधिनायकवादी राज्यसत्ता मार्फत होइन प्रतिस्पर्धा र पहलकदमीबाट नेतृत्व लिनुपर्छ । जनताको बहुदलीय जनवादको सार यही हो । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव–अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवाद जस्ता जबजका १४ विशेषतालाई आत्मसात् गर्दै समाज रूपान्तरणका क्रममा यिनको प्रयोग र थप समृद्ध बनाउनु जरूरी छ ।

यी विशेषताहरूमध्ये कतिपय कुरा पूँजीवादले प्रयोग गर्दै आएका हुन् । तर जननेता मदन भण्डारीले भन्नुभयो– यी विशेषतालाई पूँजीवादले आफ्नो निजी सम्पत्तिको रूपमा प्रयोग गर्‍यो । यथार्थमा यी आमजनताका सम्पत्ति हुन् । त्यसैले यी श्रमजीवी जनताको हितमा प्रयोग गर्नुपर्छ । जनताका यी अधिकारहरू पूँजीवादले हत्याएको थियो । जननेता मदन भण्डारीले जबजको सिद्धान्त मार्फत पूँजीवादले एकलौटी ढङ्गले प्रयोग गरेका अधिकार जनताको पक्षमा उपयोग गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।

१. द्वन्द्वात्मक भौतिकवादी दर्शनमा जबजको योगदान

मार्क्सवादका तीन संघटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद हुन् । दर्शनको क्षेत्रमा जनताको बहुदलीय जनवादले महत्त्वपूर्ण योगदान गरेको छ । दर्शन विभिन्न खाले भए पनि माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी हो । जबजले राज्यसत्तालाई हेर्ने दृष्टिकोणमा मार्क्सवादी विचारमा वैचारिक योगदान गरेको छ । जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो कुनै पनि वैज्ञानिक विचारलाई दर्शन र सिद्धान्तले पुष्टि गर्नुपर्दछ ।

द्वन्द्वात्मक भौतिकवादले द्वन्द्व जहाँ पनि छ, हुन्छ भन्छ । द्वन्द्व प्रकृतिको नियम नै हो । प्रकृतिका हरेक चीजहरूमा यो छ । मानव जीवनमा, मानव समाजमा, राजनीतिमा र राजनीतिक प्रणालीमा पनि द्वन्द्व हुन्छ । यस्तो अवस्थामा द्वन्द्वलाई या दबाएर राख्नु पर्‍यो जुन कुरा परम्परागत कम्युनिष्ट सत्तामा पनि देखियो या त यसलाई प्रकट हुन दिनु पर्‍यो । त्यसैले जबजले द्वन्द्वलाई विधिसम्मत तरिकाबाट प्रकट हुन दिनुपर्दछ भनी निष्कर्ष निकाल्यो । यसरी प्रकट हुने द्वन्द्ववादी नियमलाई जबजले राज्यसत्तामा प्रतिस्थापित गरेको छ । जबजको एउटा विशेषता प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक शासन प्रणालीको अवलम्बन हो ।

यो विचारले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली अहिलेको राजनीतिक व्यवस्थामा मात्र होइन कालान्तरसम्म अथवा राज्यसत्ताको अस्तित्व रहँदासम्म कायम रहने विचार अगाडि सारेको छ । राज्यसत्ता सञ्चालन गर्ने कम्युनिष्ट पार्टीहरूले यस्तो विचार विगतमा अवलम्बन गरेका थिएनन् । यो नयाँ विचार हो ।

जननेता मदन भण्डारीले जनताको जनवादी राज्यसत्ताको प्रयोगका सन्दर्भमा पनि आफ्ना विचार अगाडि सार्दै भन्नुभएको छ– “राज्यसत्ताको सारतत्व वर्गीय चरित्रको सबाल हो र शासनतन्त्र रूपको सबाल हो ।” यसको तात्पर्य राज्यसत्ताको रूप पक्ष शासनपद्धति वा प्रणालीसँग सम्बन्धित हुन्छ जुन बहुदलीय प्रतिस्पर्धा मार्फत प्रकट हुन्छ र सारपक्ष राज्यसंयन्त्रसँग सम्बन्धित हुन्छ भन्ने हो । हरेक वस्तुका रूप पक्ष र सारपक्ष हुन्छन् । राज्यसत्ताको विषयमा यो विषय झनै मुखरित हुन्छ ।

जननेता भण्डारीले यस विषयमा थप व्याख्या गर्दै भन्नुभएको छ— “बहुदलीय प्रणाली सार होइन, केवल रूप पक्ष मात्र हो । कुनै पनि राजनीतिक सत्ताले कुन कुन वर्गको हित साधना गर्छ र कुन वर्गमाथि अधिनायकत्व लागू गर्छ भन्ने कुरा सत्ताको सारतत्त्वसँग सम्बन्धित विषय हो । तर शासनतन्त्र भने सरकारको गठन कसरी गर्ने तथा दैनिक शासन–प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषयसँग सम्बन्धित हुन्छ । त्यसकारण यो राज्यको रूप पक्षसँग सम्बन्धित विषय हो ।”

उहाँ अगाडि भन्नुहुन्छ– “यस्तो बहुदलीय प्रतिस्पर्धा भएको शासनप्रणाली कुनै निश्चित एक खालको सारतत्त्व भएको राज्यसत्ताको रूप मात्र होइन । अनेक सारतत्त्व भएका राज्यहरूको स्वरूप बन्न सक्छ । यसबेला दुनियाँमा बहुदलीय शासनप्रणाली अन्तर्गत अनेक खालका राज्यहरूले काम गरिरहेका छन् ।” बहुदलीय प्रतिस्पर्धाको शासनप्रणाली बहुमतप्राप्त पार्टीले सरकार गठन गर्ने तथा अल्पमतले सरकारको विरुद्ध विपक्षको भूमिका निर्वाह गर्ने हुँदा उहाँ भन्नुहुन्छ– “जनवादी केन्द्रीयताको शासनप्रणाली बहुमतले शासन चलाउने, अल्पमतले त्यसको निरीक्षण गर्ने शासनप्रणाली हो ।”

उपरोक्त विचारले के स्पष्ट गर्दछ भने जनसमुदायको स्वनिर्णयको अधिकारलाई संगठित गर्नुपर्ने विषय जबजसँग मेल खाएको स्पष्ट हुन्छ । जबजले जनताको जनवादी व्यवस्थालाई सुदृढ गर्दै समाजवादसम्म पुग्न मार्गदर्शन गर्दछ । बुर्जुवा संसद् सारतत्त्वको विरोध गरेको र रूप पक्षको उपभोग,  माक्र्स तथा लेनिनले बुर्जुवा संसद्को आलोचना गरिरहेको बेला उहाँहरूले निर्वाचन एवम् निर्वाचित सत्ताको विरोध गरिरहनुभएको थिएन भन्ने कुराको दृष्टान्त दिंदै जननेता भण्डारी भन्नुहुन्छ– हाम्रो देशको सन्दर्भमा एकदलीय स्वरूप उचित हुँदैन भनेर बहुदलीय स्वरूपको पक्षमा छौं ।

यसरी माक्र्स र लेनिनको कार्यकालभन्दा पछि विकसित भएको विश्व परिस्थितिका विभिन्न पक्षलाई ख्याल गर्दै हामी बहुदलीय रूपबाट क्रान्तिकारी सारवस्तुको रक्षा र विकास गर्ने पक्षमा छौं ।” यिनै विश्लेषणकोे आधारमा बदलिएको परिवेशमा संसद्द्वारा प्रगतिशील रूपान्तरणको पक्षमा रचनात्मक काम गर्न सकिन्छ र गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको हो । यही वैचारिक जगमा मुलुकको कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको छ ।

२. जबज राजनीतिक अर्थशास्त्रको कसीमा

राजनीतिक अर्थशास्त्रले अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्रका विभिन्न क्षेत्रका विषयहरूलाई विभिन्न औजार र तरिका अवलम्बन गरी राज्य र बजार तथा व्यक्ति र समाजको सम्बन्धको अध्ययन गर्दछ । राज्य सञ्चालनका लागि आवश्यक पर्ने सबै आर्थिक तथा राजनीतिक विषय सामेल गरी कसरी त्यसलाई व्यवस्थित र सञ्चालित गरिएको हुन्छ भन्ने कुरा यसले अध्ययन गर्दछ । त्यस्तै उत्पादन, व्यापार र वाणिज्य अनि यिनीहरूको सरकार, भन्सार र कानूनसँगको सम्बन्धलाई अध्ययन गर्ने शास्त्रलाई राजनीतिक अर्थशास्त्र भनिन्छ ।

जबजले राजनीतिक अर्थशास्त्रमा थपेको योगदान क्रमिक वा चरणबद्ध आर्थिक विकास, राष्ट्रिय पूँजी निर्माण र सामाजिक न्यायमा आधारित समृद्धि हो । कुनै पनि समाज चरणबद्ध आर्थिक विकासको माध्यमबाट समृद्ध र सुदृढ जनवादी अर्थव्यवस्थाको निर्माण र सुदृढीकरण गरेर मात्र समाजवादमा सङ्क्रमण गर्दछ । जननेता मदन भण्डारीले समाजवादमा सङ्क्रमण गर्नु अगाडिका विभिन्न चरणलाई जनताको बहुदलीय जनवादको सुदृढीकरणको चरणका रूपमा अगाडि सार्नुभएको छ । यी चरणहरू पनि तुलनात्मक रूपमा निकै लामा हुनेछन् । यस समयावधिमा क्रमिक आर्थिक विकास वा योजनाबद्ध विकास गरी समृद्ध र सुदृढ जनवादी अर्थव्यवस्थाको निर्माण र सुदृढीकरण गर्नुपर्छ । यस अवधिमा राष्ट्रिय उत्पादक शक्तिको विकास गर्नुपर्छ ।

राजनीतिक क्षेत्रमा जसरी प्रतिस्पर्धा र पहलकदमी लिएर कम्युनिष्ट पार्टीले राज्यसत्ता सञ्चालन गर्दछ त्यसैगरी आर्थिक विकासको क्षेत्रमा पनि पूँजीवादको अस्तित्व रहँदासम्म यससँग जनवादी व्यवस्था तथा समाजवादसम्ममा पनि प्रतिस्पर्धा र सहकार्य गरेर आफूलाई विकास र समृद्ध गर्नेछ । यो नौलो विचार हो । जनवादी व्यवस्थाको विकास र सुदृढीकरणको चरणभरि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सार्वजनिक, सहकारी र सामुदायिक क्षेत्रको भूमिकालाई बढाउँदै लैजानुपर्दछ । राष्ट्रिय सम्पत्तिमा आमजनताको स्वामित्वको घेरालाई फराकिलो बनाउँदै राज्यलाई सशक्तीकरण गर्नुपर्दछ ।

जबजको तात्कालिक राजनीतिक कार्यदिशाले संसदमा बहुमत ल्याई प्रगतिशील सुधारका कार्यक्रमहरू लागू गरी मुलुकको सबै क्षेत्रमा विकास गर्ने सोच राखेको छ । त्यसैगरी राज्यका विभिन्न निकाय, नीति र सिद्धान्तको संरचनात्मक सुधार र जनताका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि शक्ति सञ्चय गर्ने हो । यिनै मान्यतामा आधारित रहेर नेपालका पहिला कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीको नेतृत्वको सरकारले समाजवाद–उन्मुख नीति तथा कार्यक्रम अगाडि सारेको थियो । यस क्रममा पछिल्लो पटक गठन भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने, जनजीविकालाई सम्बोधन गर्ने, आत्मनिर्भर अर्थव्यवस्था निर्माण गरी सामाजिक न्याय, समानता र आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको थियो । त्यस सरकारले ‘समृद्ध नेपाल, सुखी नेपालीे’को राष्ट्रिय सङ्कल्पलाई सार्थक तुल्याउँदै समाजवाद–उन्मुख अर्थव्यवस्था निर्माणमा जोड दिएको थियो ।

माक्र्सले राजनीतिक अर्थशास्त्रमा समाजको आधार र अधिसंरचनाको गहन विश्लेषण गर्र्दै समाजको आमूल परिवर्तन र विकासका लागि आधार नै निर्णायक तत्त्व हो भन्नुभयो । सिङ्गो समाज नै आधारमा अडेको हुन्छ र यो निर्णायक पक्ष हो । जननेता मदन भण्डारीले विभिन्न देशको अनुभवलाई आत्मसात् गर्दै आर्थिक आधार बलियो नभई समाजवादमा सङ्क्रमण गर्न सकिन्न र हुँदैन भन्नुभयो । त्यसैले जबजले जनवादी क्रान्ति सम्पन्न नहुँदैको अवस्थादेखि समाजवादसम्म चरणबद्ध आर्थिक विकास गर्दै समाज रूपान्तरणको कार्यभार पूरा गर्ने सङ्कल्प गरेको हो ।

जबजको आलोकमा समाजवादतर्फका रूपान्तरणका कार्यक्रमहरूमा निजी क्षेत्रलाई उचित प्रोत्साहन गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उत्पादनमा क्रमशः सार्वजनिक क्षेत्रको भूमिकालाई बढाउँंदै लैजानुपर्छ । यो काम निजी क्षेत्रका संस्थाहरूमा सार्वजनिक सेयरको अंश बढाएर गर्न सकिन्छ ।

समाजवादको यात्रा निश्चित गर्न निजी स्वामित्वमा सञ्चालित उद्योग र प्रतिष्ठानहरूलाई क्रमशः सार्वजनिकीकरण गराउनुपर्छ र सर्वसाधारणलाई पनि पूँजीमा हिस्सेदार बनाउनुपर्दछ । पूँजीवादीहरू सार्वजनिक क्षेत्रमा रहेका प्रतिष्ठानलाई निजीकरण वा वैयक्तीकरण गर्दछन् भने आमूल परिवर्तनकारी शक्तिले निजी क्षेत्रभित्र सार्वजनिक अंश बढाउने र बढीभन्दा बढी नागरिकलाई व्यवसायको हिस्सेदार बनाउने नीतिलाई प्रश्रय दिन्छन् । त्यसैले कांग्रेस र कम्युनिष्टहरूले समाजवादलाई हेर्ने दृष्टिकोणमा आधारभूत रूपमै फरक छ ।

निजी क्षेत्र मुनाफाको ध्येय राख्छ, जुन स्वाभाविक हो । यसले दक्षतापूर्वक उत्पादन गर्दछ । तर सार्वजनिक जीवनमा यो प्रवृत्ति देखिंदैन । सार्वजनिक क्षेत्रको यस पक्षमा आमूल परिवर्तन जरूरी छ । सार्वजनिक क्षेत्रमा काम हुँदैन र दक्षता पनि कम हुन्छ भन्ने गरिन्छ । यो सही कुरा होइन । सरकारी क्षेत्रले निजी क्षेत्रलाई प्रतिस्पर्धामा उछिन्नुपर्छ । राजनीतिक क्षेत्रमा मात्र होइन आर्थिक उत्पादनका क्षेत्रमा पनि श्रेष्ठता हासिल गर्नुपर्छ ।

जबजको आर्थिक नीतिले दक्षता एवम् प्रभावकारी कार्यप्रणाली मार्फत प्रतिस्पर्धा गर्ने विषयलाई जोड दिन्छ । यतिबेला अर्थतन्त्रमा निजी क्षेत्रको मुख्य भूमिका छ । सरकारी क्षेत्र क्रमशः बढ्दै गएको अवस्था छ । तर सहकारी र सामुदायिक क्षेत्रको अर्थतन्त्रमा योगदान ज्यादै कम छ । यी क्षेत्रहरूको भूमिका समाजवादसम्म पुग्दा अर्थतन्त्रमा नेतृत्वदायी हुनुपर्छ ।

जबजको अर्थराजनीतिक नीतिले उत्पादक शक्तिको मुक्तिमा जोड दिन्छ । जबजकै मार्गनिर्देशनमा क्रमिक आर्थिक विकास वा चरणबद्ध विकासको माध्यमबाट आमूल परिवर्तनका लागि शक्तिसञ्चय, प्रगतिशील सुधार, ‘समृद्ध नेपाल, सुखी’ नेपालीेको राष्ट्रिय सङ्कल्पका कार्यहरू भइरहेका छन् । यी सबै परिवर्तन र सुधारका कामहरू जनवादी क्रान्तिपछि होइन तात्कालिक राजनीतिक कार्यदिशाको आधारमा सङ्घीय संसद्समेत स्थानीय र प्रदेश सरकारमा बहुमत प्राप्त गरी समाजको रूपान्तरण गर्ने कार्य भइरहेका छन् । जनवादी क्रान्तिपछि भने समृद्ध जनवादी अर्थव्यवस्थाको निर्माण र सुदृढीकरणको कार्यलाई ध्यान दिनु आवश्यक छ ।

राजनीतिमा जस्तै अर्थतन्त्रको क्षेत्रमा पनि प्रतिस्पर्धा अपेक्षित छ । तर त्यहाँ भेदभाव हुनुभएन । सुविधासम्पन्न वर्ग र सुविधाविहीन वर्गका बीच प्रतिस्पर्धाको अवस्था हुनुभएन । त्यस अवस्थामा स्वस्थ प्रतिस्पर्धा समान अवसरका बीचमा र अवसरहरूलाई प्रयोग गर्ने मामिलामा पनि गुन्जायस हुन्छ, हुनुपर्छ । यो समाजवादमा पनि रहन्छ । तसर्थ समाजवादमा पनि जनताको लोकतन्त्र रहन्छ । जति बेलासम्म राज्य रहन्छ त्यति बेलासम्म संगठित संस्थाहरू रहन्छन् । त्यसबेलासम्म जनताको लोकतन्त्र रहन्छ । यो जबजको आधारभूत मान्यता हो ।

मार्क्सवादका तीन संघटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद हुन् । दर्शनको क्षेत्रमा जनताको बहुदलीय जनवादले महत्त्वपूर्ण योगदान गरेको छ । दर्शन विभिन्न खाले भए पनि माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी हो । जबजले राज्यसत्तालाई हेर्ने दृष्टिकोणमा मार्क्सवादी विचारमा वैचारिक योगदान गरेको छ ।

३. वैज्ञानिक समाजवादको सिद्धान्तलाई समृद्ध तुल्याउन जबजको योगदान

जनताको बहुदलीय जनवादले वैज्ञानिक समाजवादको सिद्धान्तलाई समृद्ध तुल्याउन महत्त्वपूर्ण योगदान गरेको छ । जबजका विशेषतामध्ये बहुलवादी खुल्ला समाजको अवधारणा एक महत्वपूर्ण तत्व हो । यो अवधारणा समाज विकासका सबै चरणमा लागू हुनेछ र हुँदै आएको छ । हिजो पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन यही अवधारणामा आधारित भएर एउटा भूमिगत कम्युनिष्ट पार्टी सहभागी भयो । त्यसयताका परिवर्तनमा पनि यो विचारले मार्गदर्शन गरेको छ ।

जनताको जनवादी कार्यक्रम लागू होउन्जेलसम्म र वर्ग रहुन्जेलसम्म पार्टीहरू रहन्छन् । जननेता मदन भण्डारीले भनेको कुरा पनि यही हो । जबसम्म वर्ग रहन्छ त्यस वर्गको हितको पक्षपोषण गर्ने पार्टीहरू रहन्छन् । सर्वहारा श्रमजीवी वर्गको पार्टीको हिसाबले पूँजीवादीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौं । सबै तहमा प्रतिस्पर्धा गर्न सक्छौं । अब समाजवादमा सङ्क्रमण गरिसकेपछि पनि जनहितको लोकतान्त्रिक पद्धतिको समाजवाद अवलम्बन गर्नुपर्छ ।

हामीले बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक शासनप्रणालीको कुरा गर्दै गर्दा प्रायः पार्टीहरूका बीचमा निर्वाचनका बखत एक–आपसमा प्रतिस्पर्धा गर्ने भन्ने बुझिन्छ । समाजमा राजनीतिक दल र यसमा आबद्ध रहेका जनसमुदायबाहेक पनि स्वतन्त्र व्यक्ति नागरिकको रूपमा रहेका हुन्छन् । नागरिक–समाजको रूपमा व्यक्तिहरू राज्य तथा दलहरूप्रति आलोचनात्मक भाव राख्ने हुन्छन् ।

त्यसैले हामीले बहुलवादी खुल्ला समाजको अवधारणालाई सैद्धान्तिक रूपमै स्वीकार गरेका हौं । यस सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओली भन्नुहुन्छ– “…बहुदलीय प्रतिस्पर्धा बहुदलवादी समाजको राजनीतिक अभिव्यक्ति मात्र हो । तर समाजमा दलमा आबद्ध नहुने व्यक्ति या समूह पनि हुन्छन् र समाजमा राजनीतिक दलका बाहेक विभिन्न सामाजिक, सांस्कृृतिक समूह एवम् नागरिक समाज पनि अस्तित्वमा हुन्छ । उनीहरूको अस्तित्व र अधिकारलाई ‘बहुदलीय प्रतिस्पर्धा’ पदावलीले समेट्न सक्तैन । बहुदलीय प्रतिस्पर्धाको कुरा मात्र गर्‍यौं भने हामीले समूह स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको मात्रै कुरा गरिरहेका हुन्छौं, हामीले वैयक्तिक स्वतन्त्रता, सामाजिक समूहको स्वतन्त्रता र समाजको बहुलतायुक्त जीवन्तता तथा गतिशीलतालाई बेवास्ता र अस्वीकार गरिरहेका हुन्छौं । त्यसैले जनताको बहुदलीय जनवादले (बहुदलीय प्रतिस्पर्धा बाहेक) बहुलवादी खुल्ला समाजको मूल्यलाई पनि आफ्नो सैद्धान्तिक प्रस्थापनामा अविभाज्य अङ्गको रूपमा स्थापित गरेको छ । यसो गरेर यसले आफूलाई समाजको लोकतन्त्रीकरणको अग्रिम मोर्चामा उभ्याएको छ ।” (शर्मा ओली, २०७१)

साम्यवादी समाजमा वर्ग हुँदैनन्, वर्गसङ्घर्ष पनि हुँदैन । राज्य विलोप हुन्छ । यस्तो समाज सभ्य, सुसंस्कृत र उन्नत हुन्छ । यस्तो समाजलाई आवश्यक पर्ने सबै भौतिक पूर्वाधारहरू विकसित अवस्थामा हुन्छन् । सबै मानिस आफ्नो आवश्यकता आफैं पूरा गर्ने तहमा हुन्छन् । यति हुँदाहुँदै पनि त्यस समाजमा उक्त समाजको सापेक्षतामा भिन्नभिन्न विचार, दृष्टिकोण र विश्लेषण राख्ने मानिस हुनु अस्वाभाविक होइन । फरकफरक सोच र चिन्तन भएका मानिसहरू हुन्छन् । यस्तो समाजमा देखिएका यस्ता विचार र चिन्तनबीच निरन्तर सहअस्तित्वमा आधारित रहेर अन्तर्घुलन हुन्छन् । यी विचारहरूबीच सङ्घर्ष चलिरहने र समाज पनि निरन्तर विकसित भइरहने भएकाले बहुलवादी खुल्ला समाजको अवधारणा जबजको एक विशेषताको रूपमा जननेता मदन भण्डारीले अगाडि सार्नुभएको हो । जनताको बहुदलीय जनवादले मार्क्सवादमा थपेको यो अर्को महत्त्वपूर्ण योगदान हो । यो विचार समृद्ध समाजवादसम्म लागू गर्न सकिन्छ ।

४. जबजलाई थप समृद्ध र विकसित ध्यान दिनुपर्ने केही पक्ष

जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा यहाँसम्म आइपुग्दा निम्न विषयहरूमा ठोस बदलाव आएको छः मुलुकको राष्ट्रिय राजनीतिक परिवेश, अन्तर्राष्ट्रिय परिवेश, भूमण्डलीकरण, उदारीकरण, विश्वव्यापीकरण र यसको प्रभाव, मुलुकको वर्गीय आधार र संरचना, आर्थिक आधार र अधिसंरचनामा आएको फेरबदल, २०६२/६३ सालको जनआन्दोलन र त्यसका उपलब्धिहरू, नेपालको संविधान मार्फत प्राप्त भएका मौलिक हकहरू समेतका जनअधिकार, संविधानले अङ्गीकार गरेका विभिन्न क्षेत्रगत तथा विषयगत मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरू, जनताको बहुदलीय जनवादको रक्षा, प्रयोग र विकास गर्ने सन्दर्भमा आर्जन भएका अनुभव, नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनले विकास गरेका अनुभव र उपलब्धि, आर्थिक विकासका विभिन्न पक्षहरूमा अगाडि आएका आयामहरू, नागरिक समाज र राज्यइतर पक्षको आवाज सम्बोधनको विषय । उपरोक्त विषयहरूलाई मध्यनजर गर्दा निम्न विषयहरूले जबजलाई थप समृद्ध र विकास गर्न मद्दत गर्दछ–

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद–उन्मुख राज्य (राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली), समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र/प्रतिनिधित्व, धर्मनिरपेक्षता, लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा परिपूर्ण लोकतन्त्र (कम्प्रिहेन्सिभ डेमोक्रेसी), समतामूलक र सामाजिक न्यायसहितको समाज, राष्ट्रिय एकतामा जोड (सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमानलाई माथि उठाउने), दिगो विकास, सुशासन, वर्गीय पक्षधरता, नागरिकका वर्गीय र मौलिक हकहरूको प्रत्याभूति, सामाजिक सुरक्षा र आयको न्यायोचित वितरण, सार्वजनिक, निजी तथा सहकारी र सामुदायिक क्षेत्रहरूको सहअस्तित्व, नाफाको चाहना र सामाजिक कल्याण दुवै साथ–साथ, विज्ञान र प्रविधिको क्षेत्रमा आएको विकास र परिवर्तन, सूचनाप्रविधिको क्षेत्रमा भइरहेको क्रान्ति, आर्थिक असमानताहरू हटाउँदै लगिने, जनसमर्थन सहित समाजवादमा सङ्क्रमण, विश्वशान्ति, भ्रातृत्व र पञ्चशीलको सिद्धान्तमा आधारित वैदेशिक नीति, जनताको बहुदलीय जनवाद समृद्ध समाजवादसम्म लागू गर्न सकिने हुन् ।

२०४९ सालमा आयोजना गरिएको पाँचौं राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार गर्‍यो । २०५४ सालमा आयोजित छैटौं राष्ट्रिय महाधिवेशनले यसलाई निर्देशक सिद्धान्तको रूपमा पारित गर्‍यो । अघिल्लो महाधिवेशनले मार्गनिर्देशक विचारको रूपमा लिएको पार्टीको वि.सं. २०५९ मा जनकपुरमा आयोजित सातौं महाधिवेशनले पनि उक्त विचारलाई निर्देशक विचारकै रूपमा अगाडि बढायो । वि.सं. २०६५ मा बुटवलमा आयोजित पार्टीको आठौं महाधिवेशनले जबजलाई सो पार्टीको मार्गनिर्देशक सिद्धान्तको रूपमा पारित गर्‍यो । यो विचारलाई अघिल्ला महाधिवेशनहरूबाट सिद्धान्तकै रूपमा स्वीकार गरेपछि पार्टीको वि.सं. २०७१ मा आयोजित नवौं महाधिवेशनले यो विचार मार्फत समाजवादमा सङ्क्रमण गर्ने र समृद्ध समाजवाद निर्माणसम्म पनि यही विचारले मार्गनिर्देशन गर्ने निष्कर्ष निकाल्यो । यी सबै सन्दर्भमा यो विधान महाधिवेशन भइरहेको छ । यो महाधिवेशनले जबजलाई थप उन्नत र विकसित गर्न जरूरी छ । जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्दै आइरहेको छ र गरिरहनेछ । विधान महाधिवेशनमा सहभागी हुनुहुने सबै प्रतिनिधि कमरेडहरूलाई शुभकामना ।

डा. दंगाल नेकपा (एमाले) आवद्ध अखिल नेपाल किसान महासंघको अध्यक्ष तथा विधान महाधिवेशन प्रतिनिधि हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?