+
+
फिचर समाचार :

हिउँ पोखरी र सिमेन्ट ट्यांकीले जुम्लामा ल्याएको खुशी 

कृष्णमाया उपाध्याय कृष्णमाया उपाध्याय
२०७८ असोज ३० गते २०:०३

असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि सिंचाइको विकल्प नभएको ठाउँमा हिउँ संकलन गरी पोखरी बनाउन थालिएको छ । दक्षिणी मोहोडा परेको (प्रकाश देखिने) जमीनमा सिंचाइको कुनै विकल्प नभएपछि हिउँदमा हिउँ र वर्षे मौसमका वर्षाको पानी संकलन गर्न थालिएको छ ।

पुसदेखि फागुनसम्म परेको हिउँ जम्मा गरेर पोखरीमा हाल्ने र त्यो पानी चैतदेखि असारसम्म सिंचाइ गर्न मिल्ने र वर्षे मौसममा संकलन गरेको पानी कात्तिक र मंसीर महीनासम्म सिंचाइमा प्रयोग गर्न थालेको किसानहरूले बताएका छन् ।

दक्षिणतर्फ फर्केको जमीनमा स्याउ बगैंचा स्थापना गर्न थाले पनि सिंचाइ नहुँदा घण्टौं हिंडेर गाग्रीमा पानी बोकेर सिंचाइ गर्नुपर्थ्यो । अहिले हिउँ संकलन पोखरी बनाएदेखि त्यस्तो दुःख गर्नु नपरेको जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ की किसान बासमती थापाले बताइन् ।

थापाले भनिन्, ‘स्याउको बगैंचाको माथिल्लो भागमा हिउँ संकलन पोखरी बनाएपछि स्याउ, ओखर, आरू तथा अन्य फलफूलका बिरुवामा सिंचाइ गर्न सहयोग पुग्छ । साथै पशु वस्तुलाई खुवाउन पनि सहज भइरहेको छ ।’ उनले थपिन्, ‘सिंचाइ गरेको स्याउको गुणस्तर नगरेको भन्दा राम्रो हुँदोरहेछ ।’

पहिला पहिला हामी बोकेर पानी हाल्थ्यौं तर त्यतिले बिरुवालाई पुग्दो रहेनछ । हिउँदमा हिउँ परेको बेला संकलन गरेर पोखरीमा जम्मा गर्ने, जति बेला खडेरी पर्छ त्यतिबेला मिलाएर स्याउमा सिंचाइ गर्दा असाध्यै राम्रो हुँदोरहेछ भन्ने अहिले थाहा भयो । थापा भन्छिन्, ‘सात वर्षयता हामी यो प्रविधि प्रयोग गरेर स्याउ तथा फलफूलका बगैंचामा सिंचाइ गर्दै आएका छौं ।’

‘सिंचाइले स्याउ राम्रो पनि, धेरै पनि फल्ने रहेछ । अहिले स्याउबाट राम्रो फाइदा छ । जसले गर्दा छोराछोरीको पढाइ खर्च जुटाउन सहज भइरहेको छ’, उनले भनिन् । सिंचाइ पाएको स्याउ हेर्दा पनि रातो र खाँदा पनि गुलियो हुने अनि तौल पनि राम्रो हुने उनको भनाइ थियो ।

पहिला धेरै हिउँ पर्थ्यो तर त्यतिबेला यस्तो प्रविधिको बारेमा जुम्लाका किसानलाई थाहा थिएन । अहिले हिउँ पर्ने दरमा कमी आए पनि किसानले वर्षात् र हिउँदको पानी संकलन गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालय र एसएनभी नेपाल नामक संस्थाको सहयोगमा आर्थिक वर्ष २०७०/७१ देखि यो प्रविधिको शुरुआत गरिएको कृषक बताउँछन् । कृषक बासमती थापाकै बगैंचाबाट हिउँ संकलन पोखरीको अध्ययन शुरू गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

महिलाको कार्यबोझमा कमी

पानीको स्रोत नभएको ठाउँमा सिंचाइको लागि हिउँ संकलन पोखरी तथा फेरो (गोलो) सिमेन्ट ट्यांकी बनाउन थालेपछि महिलाहरूको कार्यबोझमा पनि कमी आउन थालेको छ । पानी लिन तीन घण्टाको पैदल हिंडेर जानुपर्ने र त्यसमा पनि एउटै मुहान भएकोले लाइनमा बस्नुपर्ने बाध्यता थियो । अहिले त्यो दुःखबाट छुटकारा मिलेको जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ राँका गाउँकी उम्मकली धरालाले बताइन् ।

धराला भन्छिन्, ‘पहिला हामीले पानीकै लागि धेरै दुःख पायौं, पानी नहुँदा धेरै टाढा जानुपर्ने बाध्यता थियो । अहिले सिंचाइको लागि सिमेन्टको फेरो ट्यांकी बनेपछि त्यही पानी खाने, नुहाउने, पशुवस्तुलाई खुवाउने र स्याउ बगैंचामा सिंचाइ गर्न पनि पुगेको छ ।’

बर्खामा आकाशबाट आएको पानी टिनले छाएको छानाबाट सीधै ट्यांकीमा जाने र हिउँदमा हिउँ संकलन गरेर त्यसमा हाल्ने गरेकोले वर्षभरि पानीको अभाव झेल्न नपरेको उनले बताइन् । ‘अहिलेका महिलालाई त धेरै सजिलो भएको छ’ उनले भनिन्, ‘पहिला हामीले पानीकै लागि राति बास बस्नुपर्थ्यो । हाम्रै पालामा यस्तो सुविधा आएको देख्दा सारै खुशी लाग्छ ।’

राँकाको तरापी भन्ने ठाउँमा यसरी मान्छेको वस्ती बस्ला, स्याउ फल्ला भन्ने कल्पना नगरेकी उम्मकली अहिले यसरी लटरम्म स्याउ फलेको देख्दा हिजोका सबै दुःख बिर्सने बताउँछिन् ।

त्यही ठाउँमा सिंचाइलाई लक्षित गरेर हिउँ संकलन पोखरी बनाएकी फागुनी कठायतले भनिन्, ‘अहिले पानी लिन टाढा जानु परेको छैन । हिउँ र बर्खाको पानीले यस्तो सुविधा होला भनेर सोचेका पनि थिएनौं । गरेपछि हुँदोरहेछ ।’

आफ्नो स्याउको बगैंचा नजिक बनेको ट्यांकी देखाउँदै उम्मकलीले भनिन्, ‘यहाँ नजिक पानीका मुहान छैनन् तर यो फेरो सिमेन्ट ट्यांकी बनेपछि पहिला पानी ल्याउन खर्च गर्ने समयमा अहिले अरू काम गर्छौं । अहिले मलाई मात्रै होइन यहाँ स्याउ बगैंचा भएका सबै दिदीबहिनीलाई धेरै सजिलो हुन थालेको छ ।’

तातोपानी गाउँपालिकाको वडा नम्बर १ राँका गाउँका बासिन्दा पानीको स्रोत नहुँदा समस्या भोग्दै आएका थिए । दुई वर्षदेखि आफूहरू यस्तो समस्याबाट मुक्त भएको गाउँका किसान प्रेमबहादुर कठायत बताउँछन् । उनका भनाइमा, यहाँका ३८० घरधुरीका लागि सरकारले सहयोग गर्‍यो ।  हिउँ संकलन पोखरी तथा फेरो सिमेन्ट ट्यांकी बनाइयो । यसले खान, सिंचाइ गर्न र पशुवस्तुलाई खुवाउन टाढाको पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको कठायतको भनाइ छ ।

प्रदेश सरकार र स्थानीय सरकारको सहयोग

सिंचाइको विकल्प नभएको ठाउँ भएकोले जुम्लाको स्थानीय तरापी गाउँलाई लक्षित गरेर प्रदेश सरकार र स्थानीय सरकारले हिउँ संकलन पोखरी र लिफ्ट मार्फत खानेपानी पुर्‍याउने काम गरिरहेको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् ।

उपाध्यायले भनिन्, ‘यो ठाउँमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदान र किसानले २५ प्रतिशत श्रमदान गरेर एउटा सिमेन्टको फेरो ट्यांकी निर्माणको लागि १ लाख ५० हजार रुपैयाँको काम भएको छ । यसमा हिउँद र वर्षाको पानी संकलन गरेर जम्मा गर्न मिल्छ जसले गर्दा यहाँका किसानलाई धेरै सजिलो भइरहेको छ ।’

उनले यहाँको जनसंख्यालाई मध्यनजर गरेर खानेपानी सुविधा पुर्‍याउन लिफ्ट प्रविधिको उपयोग गरिएको बताइन् ।

उपाध्यक्ष उपाध्यायले भनिन्, ‘स्थानीय तहको ६० लाख र प्रदेश सरकारको ६० लाख गरेर १ करोड २० लाखको लागतमा तिला नदीबाट त्यो अग्लो डाँडामा पानी पुर्‍याउने काम भइरहेको छ । त्यो आयोजनाको निर्माण कार्य सकिएपछि खानेपानीको लागि लिफ्टबाट ल्याएको पानी र सिंचाइको लागि हिउँ संकलन पोखरीमा जम्मा भएको पानी प्रयोग गर्न पाइने भएपछि झनै सहज हुनेछ ।’

अहिलेसम्म तातोपानी गाउँपालिकाको वडा नम्बर १ राँका गाउँका किसानलाई लक्षित गरेर २१ वटा थाइजार तथा घैंटो सिंचाइ प्रविधि मार्फत सिंचाइ भइरहेको कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको योजना महाशाखाका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले बताए ।

उनले भने ‘म कृषि विकास कार्यालय जुम्लामा हुँदा हिउँ संकलन पोखरीको अवधारणा अगाडि सारिएको थियो । यो प्रविधि स्याउ तथा फलफूलका अन्य बिरुवामा सिंचाइ गर्नको लागि एकदमै उपयुक्त मानिएको हुनाले सरकारले नै यो प्रविधिलाई वार्षिक कार्यक्रममा राख्दै आएको छ ।’

यस अन्तर्गत गत वर्ष जुम्लाभरि ५० वटा र यस वर्ष २५ वटा हिउँ पोखरी निर्माणको लागि बजेट विनियोजन भइसकेको उनले बताए । जसमा १२ वटा प्लाष्टिक मार्फत निर्माण भएका हिउँ संकलन पोखरी र ५० वटा फेरो सिमेन्ट ट्यांकी जुम्लामा बनिसकेको उनको भनाइ छ । यो प्रविधि सफल मानिएको हुनाले जहाँ सिंचाइको विकल्प छैन त्यहाँ वार्षिक कार्यक्रम मार्फत समेट्दै जाने लक्ष्य राखिएको कठायत बताउँछन् ।

विज्ञहरू के भन्छन् ?

हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न जुम्ला जस्तो हिमाली जिल्लामा सिंचाइ सुविधा नपुगेको दक्षिणतर्फको जमीनमा हिउँ संकलन पोखरी एकदमै उपयुक्त मानिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा कार्यरत वरिष्ठ वैज्ञानिक वसन्तकुमार चालिसे बताउँछन् ।

बागवानी अनुसन्धान केन्द्र जाजिकोट जुम्लामा कार्यरत हुँदा यो प्रविधिको शुरुआत भएको र त्यस प्रविधिको अनुसन्धान टोलीमा आफू पनि संलग्न भएको हुनाले हिउँ संकलन पानी मार्फत सिंचाइ गरेको स्याउ एकदमै राम्रो फलेको आफूले थाहा पाएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७२/७३ बाट गैरसरकारी संस्था सूर्य सामाजिक सेवा संघ जुम्ला मार्फत यो प्रविधिको शुरुआत भए पनि अहिले नेपाल सरकारले नीतिगत तहमा नै यो कार्यक्रम अगाडि बढाएको छ । चालिसे भन्छन्, ‘सिंचाइ गरेको र नगरेको स्याउ बगैंचाको अनुसन्धान गर्दा सिंचाइ गरेको स्याउको दाना पनि ठूलो, हेर्दा पनि राम्रोे, तौल पनि राम्रो र खाँदा पनि चिनीको मात्रा सबै पुगेको पाइएपछि यो प्रविधिलाई हरेक वर्ष विस्तार गर्दै लैजाने विषयमा छलफल गरी अगाडि बढेको हो ।’

उनको भनाइ छ, स्याउको पालुवा पलाउने, फूल फुल्ने, चिचिला लाग्ने, फल टिप्ने र पात झर्ने बेलामा मिलाएर स्याउको बिरुवामा सिंचाइ गर्न सकेमा एकदमै राम्रो र गुणस्तरीय फल फलाउन सकिने भएको उनले बताएका छन् ।

जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले हिउँ संकलन पोखरी निर्माणको अवधारणा जुम्लाबाट शुरू गरिएको सूर्य सामाजिक सेवा संघ (फोर एस) जुम्लाका अध्यक्ष घनश्याम नगरकोटीले बताए । उनले भने, ‘पहिलो वर्ष अनुसन्धानको रूपमा शुरुआत गर्दा यो प्रविधि उपयुक्त मानिएपछि यसलाई अगाडि बढाइएको हो ।

यो पोखरी निर्माण गर्दा बागवानी अनुसन्धान केन्द्र राजिकोट जुम्लामा कार्यरत वैज्ञानिक, गैरसरकारी संस्था एसएनभीमा कार्यरत केही विज्ञ र कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिकको अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान गर्दा यो प्रविधि सफल भएको देखिएपछि हिउँ पोखरी अवधारणा नीतिगत तहमा समावेश गरिएको हो ।

‘एउटा पोखरीमा पाँच हजार लिटर पानी जम्मा गरेर स्याउलाई आवश्यकता परेको बेला सिंचाइ गर्न पाइयो । उत्पादन राम्रो भो, यसबाट स्थानीय महिलाको कार्यबोझ पनि कम भयो’ उनी भन्छन्, ‘भारतको लद्दाखमा हिउँको पिरामिड बनाएर सिंचाइ गरिएको थाहा पाएपछि हामी पनि शुरुआत गरौं न भनेर नेपालको जुम्लामा यो प्रविधि शुरू भएको हो ।’

यो प्रविधि जुम्लामा मात्रै नभएर जुम्ला जस्ता नेपालका हिमाली जिल्लामा प्रयोग गर्न सकिने भएको विज्ञहरूले बताएका छन् । कर्णाली प्रदेश सरकारले यसलाई वार्षिक कार्यक्रममा राख्न शुरू गरेको हुनाले अन्य प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पनि हिउँदमा हिउँको पानी र वर्षात्को समयमा वर्षाको पानी संकलन गरेर सिंचाइ गर्न सकिने कुरा प्रमाणित भएको विज्ञहरूको भनाइ छ ।

सबै तस्वीरहरु : कृष्णमाया उपाध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment