+
+

‘पारिवारिक विग्रह रोक्न तीनै तहका सरकारले काम गर्नुपर्छ’

कमलप्रसाद भट्टराई, प्रदेश सचिव, सामाजिक विकास मन्त्रालय कमलप्रसाद भट्टराई, प्रदेश सचिव, सामाजिक विकास मन्त्रालय
२०७८ कात्तिक ५ गते १९:०९

वैदेशिक रोजगारीले समाज र घरमा विग्रह मात्रै ल्याएको छैन यसबाट सकारात्मक परिवर्तन पनि धेरै भएका छन् । सही हो, वैदेशिक रोजगारीका राम्रा र नराम्रा दुवै पक्ष छन् ।

जल्दोबल्दो नराम्रो समस्याको रूपमा सामाजिक र घरायसी विवादहरू बढेर गएको देखिएको छ । तर सकारात्मक पक्ष पनि भएका कारण वैदेशिक रोजगारीलाई शतप्रतिशत गलत हो भन्न सक्ने अवस्था छैन ।

समाज विकासका क्रममा हिजो जे जस्तो थियो, आज त्यस्तै रहँदैन । आज जस्तो छ, भोलि त्यस्तै हुँदैन, परिवर्तन भइरहन्छ । सामाजिक मूल्यमान्यता समय अनुकूल परिवर्तन हुँदै जान्छन् ।

विकासको क्रममा आफैं पनि परिवर्तन हुन्छन् । सञ्चारमाध्यम शिक्षा, आत्मनिर्भरता लगायत कुराले यसमा परिवर्तन ल्याउँछ । समयसँगै व्यक्तिको इच्छा, चाहना, आकांक्षा पनि परिवर्तन हुँदै जान्छन् ।

पारिवारिक विग्रहको समस्या समाधान गर्ने अब राज्यको चिन्ताको विषय बन्नुपर्छ । अब सरकारका तीनै तहले यस क्षेत्रमा काम गर्नुपर्छ ।

नेपाली समाजमा विगतमा महिलाले सहेर बस्नुपर्ने साँघुरो दायरा थियो । अहिलेको खुला समाजमा आफ्नो स्वतन्त्र जीवन बिताउन खोज्ने चाहनाले पनि समाज खुला हुँदै गएको देखिन्छ ।

हाम्रो सामाजिक, सांस्कृतिक अवस्था पूर्वीय दर्शनमा आधारित छ । तर परिवेश, घरपरिवार र व्यक्तिगत जीवन चाहिं युरोपियन, अमेरिकन जस्तो बनाउन थालिएकाले सामाजिक सन्तुलन भएन । यसमा सन्तुलन बनाउनुपर्छ । सन्तुलन कायम गर्न चेतना र शिक्षाको स्तर विकास गरिनुपर्छ ।

ठूलो परिवर्तन आउँदा विग्रहको अवस्था निम्तिन पनि सक्छ । यसलाई जोगाउन मुख्य विषय स्वदेशमा रोजगारीको सिर्जना हो । स्वदेशमा रोजगारीको सिर्जना हुँदा पारिवारिक रूपमा मानिस एकआपसमा सँगै रहन पाउँछन् । जसले एक्लो जीवन व्यतीत गर्दा आउने विग्रहलाई रोक्न सक्छ । त्यसैले सामाजिक विग्रह रोक्ने मुख्य उपाय गरीबी निवारण हो ।

समाजमा हामीले साधारण शिक्षामा जोड दिएका छौं कि त प्राविधिक शिक्षालाई महत्व । समाज विकास, समाज शिक्षा, सामाजिक मनोविज्ञानका विषयलाई राम्रोसँग सम्बोधन गर्न नसकेको अवस्थाले पनि यो असर देखिएको हुन सक्छ ।

हाम्रो आर्थिक, सामाजिक परिवेश एक खालको छ । सूचना सञ्चारका कारण चेतना र पहुँच बढेको छ । चाहना त मान्छेको सकारात्मक परिवर्तनतर्फ नै हुन्छ । ठूलोले जे गर्‍यो त्यही गर्ने हुन्छ । विकसित देशले जस्तो गर्‍यो त्यस्तै गर्ने खालको हुन्छ । तर यसमा सन्तुलन मिलाउन नसकेको देखिन्छ ।

बाहिर (विदेशमा) खुला समाज देख्छौं । त्यो समाज पनि सामाजिक नियममा बाँधिएको हुन्छ । उसले अपनाउने गोपनीयताका विषयलाई समाज र कानूनी बन्धनले व्यवस्थित बनाएको हुन्छ ।

हामीसँग त्योभन्दा छुट्टै सामाजिक, आर्थिक र पारिवारिक परिवेश र कानून छ । तर हामीले अर्काको खुलापनलाई मात्रै नक्कल गर्न खोजेका छौं । यसबाट समाजमा विग्रहको अवस्था आएको देखिन्छ ।

यसलाई सम्बोधन गर्न स्वदेशमा लगानी, रोजगारी, व्यापार–व्यवसाय गर्ने वातावरण बनाउने, सामाजिक चेतनाको पनि बीजारोपण गर्न सकियो भने सहज हुन्छ । राज्यले यी विषयलाई सम्बोधन गर्नुपर्छ । यसमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने क्षेत्रहरू पर्छन् ।

वैदेशिक रोजगारीले आर्थिक हैसियत बढाए पनि यसले चेतनाको स्तरमा सुधार गर्न सकेको छैन । जसका कारण समाजमा नकारात्मक पक्षहरू देखिएका छन् तर यसमा धेरै सकारात्मक पक्ष पनि छन् । हाम्रो समाज र बाहिरको सामाजिक परिवेश फरक छ भन्ने बुझेर हामीले व्यवहार गर्‍यौं भने यो समस्या न्यून भएर जान्छ ।

सामाजिक परिवेशका कारणले यी समस्या देखिएका हुन् । पारिवारिक विग्रहको समस्या समाधान गर्ने अब राज्यको चिन्ताको विषय बन्नुपर्छ । हामीसँग तीन तहका सरकार छन् । अब तीनै तहले यस क्षेत्रमा काम गर्नुपर्छ ।

यसका लागि पहिलो स्वदेशमा रोजगारीको अवसर सृजना गरिनुपर्छ । दोस्रो राज्यले सामाजिक क्षेत्रमा सक्रियता बढाउनुपर्छ । र, तेस्रो कुरा भनेको सामाजिक, आर्थिक पक्षको विकाससँगै समाजिक चेतना विस्तारका लागि हामीले काम गर्नुपर्छ । तब मात्रै परिवारको विग्रह रोक्ने कदम प्रभावकारी हुनसक्छ ।

(प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?